म सदैब तपाईको प्रतीक्षामा
तपाई आउने बाटो हेरेर बसेको हुनेछु !
मलाई थाहा छ, तपाई आउनु हुनेछ र
मलाई आफ्नो बनाउनु हुनेछ !!!

Thursday, January 13, 2011

गजल - लेखन मितिः २०६७ पौष

गजल
                  बरालिएर कताकता....

बरालिएर कताकता माया लाइने भइयो
तिमीले छोडेपछि बजारतिर धाइने भइयो

हरेक रात छटपटीमा बाँच्न पनि गाह्रो भो
प्रत्येक साँझ दुई–चार प्याला चाहिने भइयो

सुखी थिए दिनहरु, खुशी थियो जीवन मेरो
चोट लाग्यो अचानक, पीर–ब्यथा गाइने भइयो

चोखो थियो मन–मुटु, पवित्र थियो माया सधैं
भोकाए पछि अहिले जुठो पनि खाइने भइयो

रहर गए, इच्छा गए, सपना तिमीसँगै गए
कुनै गल्लीमा कुन दिन जिन्दगी चढाइने भइयो

Tuesday, January 11, 2011

अनुभूति - रातो टीका - लेखन मितिः२०६५÷०२÷१८

                         रातो टीका

     चबेलबाट भीससेनगाला–भीमसेनगोलाबाट चाबेल । गएको ४–५ वर्षमा यो मेरो दैनिक कार्य तालिका भएको थियो । एक्लै भएको समयमा बिहान १० बजे घरबाट सडकको लम्बाई नाप्दै त्यहाँसम्म पुग्नु र साँझ ५ बजे पुनः त्यहाँबाट उही क्रम दोहो¥याउँदै घरसम्म फर्कनु । तर, अन्य ब्यक्ति भएको बेलामा भने यो क्रम केही फरक हुन सक्थ्यो । उसो त फरक केही लाग्दैन थियो अनि झन्झट पनि । आपसेआप बिहान पाइला भीमसेनगोलाई पछ्याइरहेका हुन्थे भने साँझ पाइलाले चाबेलको दिशा पक्डिएको हुन्थ्यो । सधैं यस्तै त हुँदैन थियो तर प्रायः यही गतिमा उमेर बढ्दै थियो–आयु छोट्टिदै थियो ।
     सडकपेटीका घर, पसल, रेष्टुराँ, होटल प्रायः सबै त्यही हुन्थे । केही नयाँ चिज आएछ भने त्यो चाँही आँखामा परिहाल्थ्यो । बीचमा पशुपति क्षेत्र (मित्रपार्क, जयबागेश्वरी, गौशला) पर्ने हुनाले मानिसको आवत–जावत बाक्लै हुनु स्वभाविक नै हो । फेरि, काठमाडौंमा आजकाल बाक्लो उपस्थिति मानिसको कहाँ नै पो नभएको छ र ? बाटोमै पर्ने भण्डारखाल जंगलको थोरै क्षेत्र एक कक्षा पढ्दा देखेको आज पनि त्यस्तै छ । आकार–प्रकार र पर्खालको बनोटमा भने केही नौलोपन आएको पक्कै हो । कहिले काँही बाटामा बाँदरले मानिसले बोकेका फलफूल खोस्ने अनि अग्लो स्थानमा बसेर खान थाल्ले जस्ता क्रियाकलाप चाँही आँखाका रोमाञ्चित दृश्य हुन् । यसमा एक–दुई पटक त म आफैं पनि परेको छु । गएको ४–५ वर्षमा देशमा धेरै उथलपुथलका घटनाहरु भए ! धेरै कुराहरु आँखाले देख्न पाईयो । संकटकाल, द्धन्द्ध, संसद विघटन, संसद पुर्नस्थापना, शान्तिवार्ता, संविधानसभा, चुनाब आदि एउटै जीवनमा देख्न पाएकाले कहिलेकाँही आफू भाग्यशाली भएको जस्तो पनि लाग्छ । तर यही बीचमा फेरि, अपाङ्ग केटाकेटी, बेसाहरा विधुवा महिला, टुहुरा बालबालिका, क्षत–बिक्षत सामाजिक धरोहरहरु, द्धन्द्धले बिस्थापित मानिसहरु संझिदा भने भित्रैदेखि दुःख, पीडा भरिएर आउँछ र सहानुभुतिका भावहरु छल्किन थाल्छ ।
     सधैं खासै फरक नलाग्ने त्यो बाटोमा त्यसदिन भने एकदमै अनौठो लागिरहेको थियो । गाडीको ओहोर–दोहोर निकै पातलो थियो । मानिसहरु भने उत्साहका साथ सडकमा हिंडेका थिए । सबैको छुट्टि भएको त्यसदिन अफिस आउने उर्दी प्राप्त भएकाले म भने अफिस पुगें । “बिहान अफिस बिदा गर्ने निर्णय आयो–तपाईलाई खबर गर्न भुलिएछ ।” अफिस गार्डको यस वाक्यले जानकारी दियो । अफिस त छुट्टि भएछ ! मनमा अलिकति शान्ति भयो । सबैको बिदा भएको दिन कर्मचारीलाई आफूले काम गर्नुपर्दा भित्र–भित्र पोल्ने गर्छ नि ! झन् त्यस्तो महान् उत्सब पर्नेवाला दिनमा ।
     फेरि, सडक नाप्न थालें । तर आज अन्य दिनभन्दा बेग्लै–महशुसका साथ । बाह्र बजेको प्रचण्ड गर्मी त्यसमा पनि एक्लै कहाँ जाने ? सडकभरि मानिसको उत्साहित पैदल यात्राको भीडमा आफू एक्लो हराइरहे झैं लाग्न थाल्यो । ‘मेरो पनि साथी भै’दिएको भए आफ्नो अस्थित्व बडो गौरबकासाथ सडकमा उभिन्थ्यो होला नि !’ मनमा जरा गाड्न थाल्यो । तर पनि भित्र मनमा छुट्टै किसिमको हर्ष भने दौडिरहेकै थियो । सडकमा मानिसको हुल झन्–झन् बढ्दै जान थाल्यो । विभिन्न किसिमका झण्डा, नारा र जुलुसका साथ । अघि केही अगाडि अफिस आउँदै गर्दा यस्ता झण्डा बोक्ने मानिसहरुको संख्या फाट्टफुट्ट मात्रै थियो । तर, अहिले निकै ठूलो संख्या यसमा परिणत भईसकेको थियो । निधारमा राता–राता अविरका टीका लगाएर, कपालभरि अविर छर्किएर बडो हर्षोल्लासका साथ मानिसहरु अगाडि बढ्दै जान्थे । मलाई पनि त्यही जुलुसमा गएर मिसियुँ–नेपालको झण्डा बोकेर, भन्ने चाँही नलागेको होइन । तर, एउटा कुरा–जुलुसमा सहभागी कसैले पनि राष्ट्रिय झण्डा भने बोकेको देखिएन । पार्टीगत झण्डा मात्र मानिसहरुको हातमा थियो । उनीहरुले लगाउने नारामा आफ्नो आवाज मिसाउँन नपाउँदाको त्यतिखेरको मेरो अवस्था आफैलाई दयनीय लागिरहे झैं लागेको थियो । विभिन्न समुदाय, पेशाकर्मी, राजनीतिक दल, नागरिक समाज आदिका जुलुस फटाफट आउँदै–जाँदै गर्ने क्रम जारी रह्रयो । म भने अवोध बालक झैं एकटकसँग त्यसैलाई नियाल्मै गौरवान्वित अनुभव गरिरहें ।
     म एक्लै अगाडि बढि रहें । बाटामा झन् तीब्र रुपमा नारा र जुलुसको आवाज सुनिन थाल्यो । । मानिसको भीड त्यो गर्मीमा झन् बाक्लो हुँदै गैरहेको थियो । म आफैंमा एक्लो भएको अनुभव हुन थाल्यो । सबै मानिस निधारमा रातो टीका र टाउकोभरि अविर छर्केर हिंडेका थिए । मेरो भने निधार खाली थियो । म सोच्थे– “किन कसैले आएर मलाई रातो टीका लगाइदिंदैनन् ? म पनि त रातो टीका लगाउन आतुर छु नि ! खै, मानिसहरुले कुरा बुझेका ? म पनि त एकअर्कासँग खुशि बाँड्न चाहान्थे तर मेरो चहाना त्यसै तुहिन थालेको कुरा अरुले किन नबुझेका होलान् ?” हो, यो त्यही दिन थियो–जेठ १५ गते । अर्थात् गणतन्त्र घोषणा हुने दिन ।
     गणतन्त्र घोषणा हुन लागेको प्रतीक थियो–मनिसका निधारका राता टीका । त्यसैले पनि आफ्नो निधार खाली भएकोमा मलाई खल्लो लागेको थियो । गणतन्त्र घोषणाको ब्यग्र प्रतीक्षा गर्दै मानिसहरु एकआपसमा खुशि बाँड्दै थिए । मैले कोसँग कसरी खुशि बाँड्ने त्यत्रो भीडका बीचमा ? त्यो पनि खाली निधार अनि रित्तो टाउको लिएर । स्पीकरहरु गुन्जिएका थिए– ‘गणतन्त्र जिन्दाबाद’ का साथ । मादल र खैंजडीका साथ मानिसहरुले गणतन्त्रको स्वागत गर्दै थिए । एक हिसाबले भनौं– विजय उल्लास सडकमा थियो । त्यहाँ के थिएन ? सम्पूर्ण जातजाति, नागरिकहरुको स्वतन्त्र सहभागीता थियो–आनन्ददायक नाचगानका साथ । सम्पूर्ण जनशक्ति सडकमा थियो । त्यत्रो जनशक्तिका बीच मैले आफूलाई छुट्टै महशुस गरें । त्यस्तो महान् दिनमा म एकालकाँटे भएको थिएँ । तर मेरो भावना भने त्यही भीडको माझमा खुशिहरु बाँड्दै थियो । मेरो मन भीडसँगै काँधमा काँध मिलाउँदै–नाच्दै थियो । कसैले मलाइै भीडमा तानेनन् र पो सडकको छेउमा उभिएर चुप थिएँ । नत्र एकपटक दिल खोलेर मज्जैसँग नाँची दिन्थे–सडकको बीचमै पुगेर ! आफूले आफैंलाई धिक्कारें–त्यतिखेर ।
       मेरो पाइला नाप्ने कार्य सकिएको थियो । तर, पनि निधार र टाउको खाली थियो । अर्थात् विजयको चिनो मैले ग्रहण गर्न पाइन । घोषणा राती भयो । म टि.भी हेरिरहेको थिएँ । मनमा केके कुरा उम्लिन थाल्यो–त्यतिबेला– “टुहुरा बालबालिकाले नयाँ नेपाल, गणतान्त्रिक नेपालमा सहारा पाउनेछन् ? के विधवाको पोल्टो भरिनेछ ? अपाङ्ग र अङ्गभङ्ग भएकाले आफ्ना अङ्ग पाउँछन्–सम्मान पाउँनेछन् ? साँच्चै बिस्थापितहरु घर फर्किनेछन् ? अब सामाजिक धरोहरको भग्नावशेषहरु हामीले देख्नुपर्ने छैन ? के अब स्थायी शान्ति हुन्छ ? अनि सबै नेपालीले नयाँ र अभावमुलक जिन्दगी पाउँनेछन् ? साँच्चै हुन्छ–नयाँ नेपाल ?, गणतान्त्रिक नेपाल–रातो चम्किने टीका जस्तै ?” यस्तै कुराहरुले मन हलचल भईरह्रयो, त्यतिबेला–मेरो ।

Monday, January 10, 2011

कथा - आन्दोलनको अनुहार - लेखन मिति–२०६७÷०१÷२३

           आन्दोलनको अनुहार


       हड्ताल निरन्तर जारी थियो । रोक्किने छाँटकाँट एक रत्ति थिएन । कार्यालय, विद्यालय, औधोगिक क्षेत्र सबै ठप्प । न त गाडी नै चल्थे । यस्तो समयमा जानु पनि कता ? कतै अलि टाढा हिंडिहालुँ न त भन्दा पनि लगातारको बन्दले खल्तिमा भएको पैसा चिया, चुरोटमै रित्तिसकेको थियो । फेरि कतै यदि गै’हालियो भने पनि भोकभोकै परिएला भन्ने ठूलो चिन्ता । न त कतै पसल भेटिन्थे ! भेटिनु पनि कसरी त ? खोल्ने वातावरण भए पो पसल खोल्थे व्यापारीहरु । जाबो २÷४ घण्टाको कफ्र्यू ‘सिस्टम’ मा खुल्ने पसलहरुले २४ घण्टै अनवरत गुडिरहने पेटको इन्जिनलाई शान्त पार्न कम्ता हन्डर हुँदो रै’नछ । २÷४ घण्टा खुल्ने पसलमा पनि सामानको अभाव । सामान आए पो बेच्थे व्यापारीहरु । गाडी नचलिकन खुलेका पसलहरुको के अर्थ ? अनि भएका स्टकले कतिन्जेल धान्ने ?
        आन्दोलनमा होमिनु मेरो रहर होइन, बाध्यता थियो । उसो त म होमिएको पनि होइन । साइडमा बसेर रमिता मात्र हेरेको हो । गन्नेले त मेरो टाउको पनि गनेर आन्दोलनकारीको सुचि तयार पारेकी कुन्नी ! म के जान्नु ? म जस्तै अरु पनि थुप्रै थिए, साइडमा बस्ने । तिनीहरु को थिए ? आन्दोलनकारी कि सर्वसाधारण । म जस्तै रमिता हेर्न आएका पो थिए कि ! म के जान्नु ? त्यसो त मेरो एउटा समस्याले मलाई यतिबेला पनि हैरान पारेको थियो । म एक्लै कहिल्यै बस्न नसक्ने, भीडभाड र भेटघाटमा रमाउन मन पराउने मान्छे ! घरमा पट्यार लाग्दो अनिर्णित समाचार हेरेर÷सुनेर कुँजिएर बस्न पो के सक्थे र ? निस्कन्थे आन्दोलनमा । अनि साइडमा बस्यो, ‘रोड कन्सर्ट’ हे¥यो । चुरोटको धुवाँ उडायो । बस्–क्या मज्जा ।
“यो हड्ताल कहिले अन्तः हुन्छ होला ?” एउटा एफ.एम रेडियोको मिडिया कार्ड भिरेकी सुन्दर युवतीलाई उसैको नगिजमा गएर मैले सोधें । यूवतीले ठूला आँखा पार्दै मतिर हेरि–मानौं कि ऊ सोचिरहिछे– ‘केटी जिस्काउन यस्तो उपाए अपनाउने !’
“सहमति भएपछि ।” मतिर खासै ध्यान नै नदिई यूवतीले सटिक उत्तर दिई ।
“सहमति कहिले हुन्छ ?”
“कुरा मिलेपछि ।”
“कुरा कहिले मिल्छ ?”
“विस्तृत छलफलपछि ।” म एकोहोरो प्रश्नमाथि प्रश्न सोध्दै जान थाले । एउटा अवोध बालक जास्तो गरी । यूवती जवाफ फकाउँदै जान थाली, अवोध बालकको मास्र्टनी जस्तो बनी ।
“अनि छलफल भै’राछ हैन ? कता–कता भै’राछ ?” फेरि प्रश्न तेर्साएँ ।
“भै’राछ । फलानो.....फलानो ठाउँमा ” उसले अलि अन्कनाउँदै उत्तर दिई । उत्तर दिने बेलामा यूवती यसो एताउता नजर फिजाएर अलिक चनाखो बन्थी । म प्रश्न छोडेर एकटक उनका क्रियाकलाप नियाल्न थालें । उनी आफ्नो डायरीमा केही लेख्न थाली, निहुरिएर ।
        समीक्षा मैले यूवतीको नाम पत्ता लगाएँ । काँधमा डोरी भिरिएको उनको कार्ड दुई’टा स्तनका बीच भागबाट तल झरेको थियो । सेतो टिर्सटको माथिबाट । कार्डलाई नियालेर हेर्नतिर लागें म । फलानो एफ.एम. यति मेगाहर्ज, पद..... । मैले हेर्दाहेर्दै ऊ चली । सायद लेख्न अप्ठ्यारो भएर शरीरलाई मिलाएर बसेकी होली । पद पुनः हेर्न खोजें । उनले भिरेको कार्डको एकातिरको डोरी उनको स्तनको टुप्पो माथिबाट तल झरेको थियो । म लजाएँ अनि झक्झकाएँ । सेतो टिर्सट भित्रको कालो ब्राले स्तनको आकार र आकर्षणलाई चरमकोत्सर्कमा पु¥याएको थियो ।
“किन प्रश्न रोकेको ?”
“हँ.....एएए......हैन, हैन..... त्यतिक्कै ।” आफ्नै कार्यमा लिन हुँदै उसले आवाज मात्र मतिर फ्याँकी । म भने हढबडाएँ । म भित्र उब्जिरहेको काऊकुती एक्कासी छताछुल्ल भएर पोखियो ।
“एकैछिन ल ! म, मेरो काम सकिहाल्छु ।” उसले पुलुक्क मतिर हेरि र बोली । अनि, मीठो मुस्कान छर्दै निहुरिएर आफ्नो कार्यलाई निरन्तरता दिन थाली ।

        आन्दोलन रोकिएको थिएन । ठाउँठाउँमा आन्दोलन अझ बढी सशक्त र हिंसात्मक बन्दै जान थालेको थियो । आन्दोलनकारी र प्रतिकार गर्न खोज्ने समूह बीच ठाउँठाउँमा हिंसा भड्किएको खबर सुनिन थालिई सकेको थियो । हामी अथात् समीक्षा र म उभिएको स्थानमा भने आन्दोलन शान्तिपूर्ण नै थियो । नाच्ने, नाच्न मै मस्त । गाउने, गाउनमै ब्यस्त । भाषण गर्ने, भाषण गर्दै थिए । शीलत खोज्नेहरु पसलको पेटीमा सुस्ताउँदै थिए । कोही चुरोटको धूँवा उडाउँदै थिए । कोही रेडियो हातमा बोकेर ट्युनिङ घुमाउन मस्त थिए । एम्बुलेन्स शान्त वातावरणमा खैलाबैला मच्चाउँदै बाक्लो समूहको ध्यान आफूतिर केन्द्रित हुनेगरि साइरन बजाउँदै आउँदै–जाँदै गथ्र्यो । पानीका भरि र रित्ता गाडी पनि सडकमा बोतोड कुदिरहेका थिए । मिडियाको बाक्लो उपस्थिति । मानवअधिकारकर्मीको हुल पनि थोरै थिएन । प्रहरीहरु एउटा कुनो च्यापेर ठिङ्ग उभिइरहेका थिए ।
“ल ! सोध्नुस् ।” कलमको बिर्को लगाउँदै समीक्षा बोली ।
“कति राम्रो नाम तपाईको समीक्षा जी ।” अनायासै मेरा मुखबाट शब्दहरु बाहिर निस्के । म सम्हालिन खोजें । उनी फिसफिसाइन मात्रै ।
“कत्ति छिट्टो तपाई त ! अनि, तपाईको नाम नि !” मादक बोलीमा उनले सोधिन् । आफ्नो नाम बताएँ–मैले ।
“घर नि !” त्यो पनि बताएँ ।
“के गर्नु हुन्छ ?”
“पढ्ने काम गर्छु ।” सरल जवाफ फर्काएँ ।
“के पढ्नु हुन्छ ?” ‘मन’ भनिदिउँ जस्तो लागेको थियो–आँटै आएन । “यस्तै पढ्न पर्ने कुराहरु” भन्दै टारें ।
“रोमान्टिक हुनुहँदो रहेछ । आइलाइक ।” छड्के आँखा घुमाउँदै अंग्रजी शब्द बोली ।
“आगाका अगाडि घिऊ ! जमि रहन सक्छ र !” सोच–बिचारै नगरी बोलिदिएँ । उसले के बुझि । तर, एकपटक मज्जैसँग मेरो पाखुरा चिमोटी दिई–जिब्रो टोक्दै । अनि, आफ्नो मोबाइलमा आएको ‘कल’ देखाउँदै बोली– “एकैछिन ल ! समाचार भन्दिन्छु ।” भन्दै अलि पर लागी ।

        सायद पहिलो दिनमै मैले समीक्षालाई आन्दोलनको यस माहोलमा नदेखेको भए, त्यसपछिका दिनमा म आन्दोलन हेर्न आउँदिन थिएँ कि ! तर, पहिलो दिनमै मैले समीक्षालाई देखें रत अनि अर्को दिन, अझ अर्को दिन, झन्........ आन्दोलनमा मेरो सहभागिता अनिवार्यता नै भयो । अलिकति चुलबुले । मीठो, मन्द मुस्कान । मादक हाऊभाऊ । उत्तेजक नखरा । सुमधुर, शिष्ट बोली÷लवज । बिना मेकअप सरल, सहज पहिरन । बस् ! यत्ति काफी थियो मेरो लागि । त्यसैले त बिहानको खाना खाएपछिको मेरो मन आन्दोलनमा खिंचिन थालेको थियो । त्यसमा पनि उनी एक्ली नै थिइन्–उनको यस कार्यक्षेत्रमा । पहिलो दिन त हेरें मात्रै । उनले बोलेका सुमधुर आवाज सुन्नमै आफ्नो ध्यान केन्द्रित गरें । उनेल आफ्नो ‘स्टेशन’ को लागि टिपाएको समाचार, मेरो लागि राम्रो खुराक बन्यो दिन कटाउने । बेलुका उनी हिंडेपछि म पनि आफ्नो घरतर्फ लागेको थिएँ ।

         उनलाई भेटेको दोस्रो दिन एउटा अभिष्ट आशा लिएर आन्दोलन स्थल पुगेको थिएँ । मेरा आशा खेर गएनन् । अर्थात् समीक्षालाई त्यसदिन पनि देखें तर बोलिन । उही पहिलो दिनको जस्तै क्रियाकलापमा नै ६ घण्टा बित्यो । विस्तारै–विस्तारै हिम्मत जुटाएर आज कुरा गर्न सकेको छु । एकै पटक त एउटी नचिनेकी नवयौवनासँग कुरा गर्ने सामथ्र्ये ममा कताबाट आउँथ्यो ? तर जेहोस् कुनै यूवतीले मलाई यो भन्दा अगाडि यस्तरी खिंचेकी चाँही थिइनन्–है ! यसरी आन्दोलनसम्मै आउने गरी ।
“सकियो ?”
“अँ.... सक्काएँ ।” मतिर आउँदै उनले बोलिन् ।
“साच्चि ! तपाई त मिडियाको मान्छे, आन्दोलनमा अराजकता मिसिंदै गा’को छ नि ! तपाईले यसालाई कसरी हेर्नुभएको छ ?”
“तपाईले त मेरो अन्तर्वार्ता पो लिन थाल्नु भो !” मेरो प्रश्नमा उनी यत्ति बोलिन् । कुरा गरिरहन मन थियो । तर के कुरा गर्ने, गर्ने ? दोधारमा मैले माथिको प्रश्न गरेको थिएँ ।
“हैन–हैन ।” म हाँसे । उनी पनि मुस्कुराईन ।
“तपाई पनि एक्लै हो ?”
“होइन, दुई जना ।”
“अनि साथी खोई त ? कोही पनि देख्दिन त !”
“तिमी के त !” आफू भन्दा कम उमेरकी आँकेरै, अचानक ‘तिमी’ भन्न पुगें । तर समीक्षा अचम्मित भइनन् । बरु खित्का छाडेर हाँस्न लागिन । मलाई भने कता–कता अप्ठ्यारो अनुभव भयो । म चुप लागें ।
“किन चुप ? बोल्नुस् न ! तपाईंको आवाजमा मिठास छ ।” मलाई भने ब्यङ्ग्य ग¥या जस्तो लाग्यो ।
“पत्रकारहरु ब्यङ्ग्य गर्न खप्पिस हुन्छन् नि !”
“कालेलाई काले भन्दा रिसाउँछन् । गोरालाई राम्रो भन्दा ठूला मान्छे पल्टिन्छन् ।” मेरो बोली सुनेर उनी झर्किन र ठुस्स परिन् ।
“तपाईको गालामा फोहोर लागेछ, झारिदिउँ ?” स्वीकृतिवाचक टाउको हल्लाईदिई ।
“ए...ए...ए.. कोठी पो रहेछ ।” जानिजानि नाटक गरें । गाला छामें । ओठको इच्छालाई हातमै सीमित पारें ।

        आन्दोलन हुँदै थियो । तर मलाई आन्दोलन भए नभएको पत्तो हुनै छोडि सकेको थियो । समीक्षा भने कहिले काँही डायरीमा केही कुरा टिप्दै मसँग गफ्फिन थाल्थी । मेरा आँखा पनि समीक्षाको जवानी नियाल्नमा मात्रै ब्यस्त थियो । उनका हरेक क्रियाकलाप र शारीरिक हाऊभाऊले मलाई थप उत्तेजित र उमङ्गिग बनाउँदै लगिरहेको थियो । आन्दोलनको बीच बीचमा भएको चर्को नारा कानसम्म त आइपुथ्यो तर बिना महत्व नै एकाएक सून्यतामा बिलिन हुन पुग्थ्यो ।
“पत्रकार हुनु मज्जा छ, है ? जतिखेर जता पनि स्वतन्त्रतापूर्वक हिड्न पाइन्छ ।” समीक्षालाई अर्को प्रश्न तेर्साएँ । एक हिसाबले भनौं जिस्काउन खोंजे ।
“मज्जा नै छ । अचानाको चोट खुकुरीलाई के पत्तो ?” शालीन हुँदै उनेल जवाफ फर्काइन र सुस्ताइन ।
“कसरी तपाई पत्रकार बन्नु भो ? यस्तो मान्छे........ ” म अझ रोमान्चित हुन खोंजे र उनलाई पनि रोमान्चित बनाउन खोंजे ।
“खै ! के भन्नु आफ्नो ब्यथा ?” उनी अझ मधुर भइन् ।
“मेरो ममी, बुबा दुबै पत्रकार हुनुहन्थ्यो । तर, केही समय अघि दुबैले एकै ठाउँमा आफ्नो जीवनयात्रा समाप्त पार्नुभयो । समाप्त पारिदिए–पापीहरुले ।” उनी सुँक्क–सुँक्क गर्न लागिन् । मैले उनलाई ढाडस दिन खोंजे र आँसु पुछ्ने चेष्टा गर्न थालें । तर  मलाई रोक्दै उनले आफ्नै हातले आँसु पुछिन् ।
“त्यसैले म, यो पेशामा आएकी हुँ । ममी, बाबाको...... ममी,बाबाको कोंखको.... कोंखको चाहानालाई पुरा गर्न ।” म भावुक भएँ । उनको अड्केको आवाजले मलाई पनि अड्काई दियो ।

         वातावरण सन्नाटा भयो । वा भनौं मलाई त्यस्तो भान भयो । हामी दुवै चुप भयौं । म उनलाई नियाली मात्र रहें । “यत्ति चुलबुलता, यत्ति प्रशन्नताभित्रको जीवन त कारुणिकताको भुँमरीमा पो फसेको रहेछ ।” यस्तै सोंचे त्यतिबेला । म टोलाउँन थालें– “समुन्द्रको गहिराई, समुन्द्रको बालुवा हेरेर के जानिदो रहेछ र ?” मैले आफैंलाई मनमनै प्रश्न गरें ।
“ल ! पाँच बज्यो । अब छुट्टिने कि !” सून्यता चिर्दै उनले गरेकी प्रश्नले पो म झल्याँस भएँ ।
“अँ.... हुन्छ ।”
“तपाईले आफ्नो बारेका केही सुनाउनु भए नि !”
“सबै कुरा आजै गरे, भोलि के गर्ने..... ?” म जर्बजस्ति हाँस्न थालें । उनले पनि समर्थन जनाइन ।
“म पनि पत्रकार हुँ । तर पत्रकार कम, लेखक बढी हुँ ।” मैले बोंले ।
“ यू, चिटर ! तपाईं त केटी मान्छे भन्दा बढ्ता हुनुहुँदो रहेछ–कुरो लुकाउन ।” हल्का लजाइन उनी ।
“भिजिलान्ते तपाई ! मनको अनि आन्दोलनको ।” यति भन्दै उनले मेरो कुममा यसो टाउको राखि र भोलि पुनः भेट्ने संकेतका आँखा चलमलाउँदै हात उठाइ र बाई गरी । मैले पनि हात उठाएँर बाई गरें । उनी पछाडि हेर्दै, अगाडि बढ्दै गरिन् । म पनि उनी नछेकिउन्जेल हेरि रहें । उनी देखिन छोडेपछि उनको अनुहारलाई आँखामा मज्जैसँग कैद गर्दै बिर्सजनतिर लागेको आन्दोलनको स्वरुपलाई एकटक नियाँले । अनि, खल्तिबाट एउटा चुरोट निकालेर जलाएँ । स्वाँट–स्वाँट पारेर धूँवा उडाएँ र आफ्नो गन्तब्यतर्फ लागें ।

Sunday, January 9, 2011

कविता - दूघर्टना हुन्छ ? - लेखन मितिः २०६६÷०५÷०१

दूघर्टना हुन्छ ?

बुबाले भन्नु भा’को
बाजेको पालामा अहिलेको जस्तो
गाडी थिएन रे !
पहिरो, भूक्षय, बाढी पनि थिएन रे !
हो ! म छु आज, गाडीमा सवार छु
आज भन्दा अल्ली अगाडि
अनि त्यो भन्दा पनि झन् अगाडि
बाजे पनि गाडी चढ्नु हुन्थ्यो रे !
फरक दुवै एक अर्का भन्दा
भिन्न, वाटो पनि पहिले त, अहिले भन्दा
थोत्रो, लथालिङ्ग, अनि बिग्रिएको पनि
लथालिङ्ग त छ, बिग्रेको पनि छ
तर थोत्रो होइन, अहँ पटक्कै म मान्दिन
नयाँ छ, एकदम नयाँ, साँच्चै नयाँ
चालक नयाँ, यात्रु नयाँ, सडक नयाँ
चालक पनि उस्तै उतिखेर
होइन यात्रु पनि उस्तै
भो नसम्झौ ! घटनाले छुनेछ
दूघर्टना !
के आज पनि दूघर्टना हुनेछ ?


पञ्चिस वर्ष आजसम्म बाँचेको छु
जम्माजम्मी तीन’टा गाडी चढेको छु
६ वर्षको उमेरमा पहिलो गाडी ‘चेन्ज’ गरें
अनि दोस्रो चढें, अझ अघि बढें
किनकी, पहिलो गाडी थोत्रो भो अनि पल्टियो
धन्न म बाँचे ! अरु केही बाँचे
फेरि आशा साँचे, फेरि यात्रु बन्छु
दोस्रो गाडी अस्ति भर्खर
बैसठ्ठी÷ त्रिसठ्ठीमा ‘चेन्ज’ गरेको
अनि नयाँको भर परेको, अझ नयाँको
पुरानो त्यागेको,
त्यो साह्रै झर्को लाग्यो, आत्माले उन्नत माग्यो
अनि जाग्यो नयाँ गाडीको मोह
र, सुरु भयो मेरो तेस्रो गाडीको यात्रा
हो, म आज यसमै छु, यात्रामा छु
यात्रु भा’को छु, नयाँ पा’को छु
तर, फेरि भित्र–भित्र एउटा कुराले छुन्छ
के, यो गाडी पनि दूघर्टना हुन्छ ?


गाडी अगाडि बढ्दै छ
सीट पछाडि सम्मै भर्दै छ
वाटो अप्ठ्यारो रहेछ, सारै अप्ठ्यारो
कति गाह्रो, गन्तव्यमा पुग्नलाई
गन्तव्य ? ला ! भुलें त
म जान खोजेको ठाऊँ,
गाडी ‘चेन्ज’ गर्दा आत्माले नयाँ रोजेको ठाऊँ
गाडी कहिले सुस्त छ, कहिले चुस्त छ
अहिले त रोकियो, भित्तातिर ठोक्कियो
मेरो आँट रुन्छ, सहास रुन्छ अनि पौरख पनि रुन्छ
हो, उत्साह, उमङ्ग र बलिदान पनि रुन्छ
के साँच्चै, यो गाडी पनि दूघर्टना हुन्छ ?


एउटा घुम्ती गयो, अर्को मोड आयो
कुन–कुन स्थानबाट बहेर जोडले हावा लायो
ए ! गाडीमा त गाऊँको दाइ,
दर्जी दाइ हुनुहुँदो रहेछ
ओहो ! म त कस्तो अन्धो यतिबेर सम्म
निद्रामा रहेछु कत्तिखेर सम्म ?
गाऊँकै चौधरी दाइ हुनुहुँदो रहेछ
अस्ति मात्र चिनेको चमार दाइ,
समलिङ्गी दिदी÷दाइ सवै–सवै हुनुहुँदो रहेछ
मिल्नु भा’को रहेछ, गाडीमा अटाउनु भा’को रहेछ
आफन्तले÷ शुभचिन्तकले,
दिशाहीन यात्रामा पठाउनु भा’को रहेछ
खुशी छु म सवैलाई देखेर
फेरि, दुखि पनि छु, यात्रा कठिन हँुदैछ
हामी यात्रुको जीवन÷यात्रा समस्यामा पर्छ की ?
फेरि, गाडी लड्छ की ?
मनले कता–कता शंकै–शंका बुन्छ
के फेरि अर्को दूघर्टना हुन्छ ?



म अचेत छुइन, सचेत छु
जे छु ठीक छु, यात्रु सवै ठीक छन्
चालक कमजोर भए जस्तो छ
आँखाको ज्योति गए जस्तो छ
तिनले बुक्ष्नुपर्छ, तिनको पछाडि हामी छौं
होइन, हामीले पनि बुक्ष्नुपर्छ
हाम्रा अगाडि तिनी छन्
तिनलाई हामीले नै अगाडि लगा’को
हो, तिनलाई हामीले चालक बना’को
लडे, हामी सवै लड्छौ
यही रिति, यही परिस्थिति बोकेर
सधैं–सधैं आशा टोकेर
यात्रा गर्ने यात्राका जोगी हामी
सधैं भीक मग्छौ, आफ्नो लागि
गाडी भत्काउँछौ, बिगार्छौ
फेरि भीक मग्छौ
कति, कहिले सम्म यसरी यस्तै सड्छौ ?
यही एउटा चिन्ताले,
मन छिया–छिया हुन्छ
दूघर्टना !
के फेरि अर्को नयाँ दूघर्टना हुन्छ ?

Wednesday, January 5, 2011

कविता - म तिमीलाई माया गर्छु - लेखनः २०६५ जेठ

म तिमीलाई माया गर्छु
आई लभ यू,
म तिमीलाई माया गर्छु
चोखो दिलले माया गर्छु
सच्चा दिलले माया गर्छु
म, आफूलाई भन्दा बढी
अरुलाई भन्दा पनि बढी
सवैलाई भन्दा अझ बढी
तिमीलाई नै माया गर्छु
साँच्चै, पत्याएनौ तिमीले ?
धरोधर्म,
तिमीलाई तिमीलाई छातिमा टाँस्दा पाए
जस्तो शीतलता म अन्त भेट्न सक्दिन
सम्झिदा मात्र पनि तिमीहरुलाई,
हुने गरेको हौसला जस्तो
अरुबाट मिल्न सक्दैन
हो, म फेरि भन्दैछु
म तिमीलाई मन पराउँछु,
माया गर्छु

यस्तो माया
छलकपट रहित, स्वार्थ रहित,
फाइदा, बेफाइदा रहित
कञ्चन माया, स्वतन्त्र माया
तिमीलाई अझ विश्वास छैन ?
हेर, म अरु जस्तो होइन
हुन त तिमीले विश्वास पनि
कसरी गर्न सक्छ्यौ र ?
पटक–पटक धोका पायौ
माया गर्ने खोक्रो नाटक देखाउनेहरुबाट
तिम्रै लागि जन्मेको हुँ भनि
प्रेमपत्र लेख्नेहरुबाट
तर, अब त्यस्तो हुने छैन
म त्यो हुँइन र हुन पनि सक्दिन
किनकी, म तिम्रो लागि जन्मेको हुँ
तिम्रै लागि मर्छु
किरिया खान्न भो
जति सिंढि चढ्छु, तिम्रै लागि चढ्छु
जेजति गर्छु, तिम्रै लागि गर्छु
तर, फेरि चाहे जेहोस्
आई लभ यू
म तिमीलाई माया गर्छु

लाग्छ, तिमीलाई हरेक क्षण
चुमिरहन पाऊँ
तिम्रो काँखमा निदाइरहन पाऊँ
कति सुन्दर र बृहत छाति छ तिम्रो
जहाँ म सधैभरी अटाइरहन पाऊँ
तिम्रो उपस्थितिले मलाई तताई दिन्छ
अनि बताईदिन्छ, म भाग्यमानी छु
तिम्रो सच्चा प्रेमी हुन पाएको छु
रुन पाएको छु, तिमी रुँदासँगै
उदास पनि हुन्छु, तिमी हुँदासँगै
किन बोल्दिनौ ? उत्तर देउन !
के, यो माया होइन ?
ठीक छ, यत्तिमात्र माया होइन
सङ्कल्प त होला नी !
तर म.... किन पत्याउँदिनौ ?
जे गर्छु, जति गर्छु, भने नी !
म तिमीलाई माया गर्छु

बेचे, बेच्ने बानी लागेका दलालहरुले
मिचे, मिच्न पल्केका मिचुवाहरुले
तर, तिमी केही बोलिनौ किन ?
किन आफ्नो अस्थित्वमा कसैले धावा बोल्दा
तिमी चुप हुन्छ्यौ ?
तिम्रो इज्जत लुटे, मलाई थहा छ
तिमीले धेरै क्रन्दन ग¥यौ
आँसु झा¥यौ तर कसैले सुनेनन्
सुन्थे पनि कसरी ?
तिनीहरुको त कामै हो
इज्जत लुट्ने, दलाल गर्ने
सकेसम्म मिच्ने नसके थिच्ने
महाकाली लगे, टनकपूर लगे
तिमीलाई बोकाएर बिजुली लगे
अनि, नाङ्गो बनाएर तिमीलाई पठाउँदा
मेरो कत्ति चित्त दुख्यो
तिमीले धेरै संघर्ष ग¥यौ
सबैलाई मिलाउन खोज्यौ
तर, सबै मिलेर तिमीलाई नै भत्काए
तिमीले प्रेमी फे¥यौ
तर, गति उस्तै–रिति उस्तै
सबै बिग्रेको मति उस्तै
हेर अब म छु
म तिमीलाई माया गर्छु

तिम्रो आकर्षकीय शरीरलाई
खेल मैदान बनाए
तिम्रो गर्भ तुहियो, मलाई थहा छ
तिमी अत्तालियौ,
दुनियाँलाई बहादुरी देखाउने तिमी
पौरख सिकाउने तिमी
आफैं घरवारविहिन भयौ
तिम्रो ज्योति गयो, दियो गयो
सीयोले घोच्यो, तिम्रो मुटु
कुनै क्रान्तिमा पुगेर एकतमासले
थापेको गोलीको प्वालहरु÷छिद्रहरु
भन्दा बढी भयो
म मान्छु, तिम्रो सहासलाई
म ताली मार्छु तिम्रो लागि
तिमी सुतेनौ, तिमी थाकेनौ, तिमी गलेनौ
धैर्य गरिरह्रयौ तर ढल्न चाँही ढलिनौ
जेहोस् अब म छु
म तिमीलाई माया गर्छु
एकचोटी होइन, दुईचोटी होइन
पटक–पटक तिमी तुहिएकी छ्रयौ
झेल्ला गरेका छन् झेल्लीहरुले
झेल्लाको जवाफ अब हामी तयार गरौं, है ?
म तिमीलाई साथ दिन्छु, आँट दिन्छु
तिम्रो लागि सकेजति गर्छु
आई लभ यू
म तिमीलाई माया गर्छु

Friday, December 31, 2010

लघुकथा जनगुनासो रचना मिति -२०६५, असार

                                                                     जनगुनासो
   
             म आफैं सरकारी कर्मचारी भएका कारण पनि सरकारी अफिसका धेरै चालचलनहरुसँग परिचित थिएँ । तर आम मानिसहरुले सरकारी कार्यालयहरुलाई लगाउने गरेको एउटा आक्षेप भने मलाई पटक्कै पचेको थिएन ।
          सहरसँगै जोडिएको गा.वि.स । काम भने १०–५ ले नभ्याएर अरु समयमा समेत गर्नुपर्ने । १ पैसाको हानीमानी र मोटो रकमको चाप्लुसी अहिलेसम्म भएको छैन, त्यति मात्रै कहाँ हो र ? त्यस्तो त देखिएको समेत छैन ।
       एकपटकको कुरो हो म आफ्नो व्यक्तिगत कामले एउटा सरकारी अफिसमा पुगें । अफिस खाली थियो, म अकमक्क भएँ, के त्यस्तो परेछ १०–५ को ड्यूटी हुने ठाउँमा साँढे दुई बजे नै अफिस खाली भैसकेको छ । सारा अफिस फन्को मारें, अन्त्यमा एक व्यक्ति वरिपरिबाट घेरिएर बसेको भेटें, खुशी लाग्यो, आफ्नो पनि नाक जोगिएको जस्तो लाग्यो ।
    मैले चिने, ती मानिस त्यहाँका सुब्बा रहेछन्, मानिसहरु आफ्नो काम गराउँदै फर्कदै गरे । म भन्दा अगाडिको एक व्यक्तिले फाइल अगाडि टेवलमा राख्यो र सुब्बालाई हेर्न भन्यो । फाइल हेरिसकेपछि सुब्बाले ३ दिनपछि आउने कुरा सुनायो तर त्यो व्यक्तिले “यसो मिलाई दिनुन चिया खाउँला नी” मात्र के भनेको थियो, सुब्बा टेवलबाट उठेर भन्न थाले– “तपाईंले मलाई भ्रष्टाचारी सोच्नु’भा ? तपाईको पैसा खाएर नमिल्ने काम गर्छु भन्न खोज्नुभा’को ? तपाई गई हाल्नु त !” भन्दै अफिसको पिउनलाई बोलाएर त्यो व्यक्तिलाई बाहिर पठाउन अहरायो ।
       म मनमनै खुशी भएँ, बाहिर सुनिने जनगुनासाहरु सबै जाली हुन्, वेबकुफ हुन् । सुब्बालाई मनमनै धन्यवाद दिएँ र आफ्नो सानो काम सकाएर बाहिर निस्कें ।
      म ढोकामा मात्र आइपुगेको थिएँ, अघिको पिउन फाइल बोकेर सुब्बाको कोठामा छि¥यो र बोल्यो– “कस्तरी गाली गर्नु’भा सर ? बिचराको त सातै गएछ, म काम गराइदिन्छु भन्दा पनि मान्दै मानेन बल्ल तल्ल फकाएर तीन हजार ल्याछु, अनि यी सर फाइल पनि ।”
       मैले आफ्नो पाइला रोकें र कानलाई ठाडा बनाएँ । “गाली गर्नु परेन त, अर्को एकजना मानिस बसेर सबै हेरिरा’छ, त्यो चाँही चिया खाउँला भन्छ । केही गरि त्यो मान्छे अप्ठ्यारो ठाउँको भ’को भए, अघि मलाई यहाँ ठाउँको ठाउँ अप्ठ्यारो पथ्र्यो ” सुब्बा बोल्दै थिए । “यस्तो अप्ठ्यारामा तपाई हुनुहुन्छ नी कामकुरो मिलाउने !” भन्दै दुईजना गललल हाँस्न थाले । मैले पाइला घरतिर लम्काएँ । मलाई लाज लाग्यो । म आफू पनि कर्मचारी, तिनीहरु पनि । साँच्चै हो रहेछ, जनगुनासा जिन्दावाद !!

Tuesday, December 28, 2010

फिचर - भड्किन सक्छन् माओवादी लडाकु

 भड्किन सक्छन् माओवादी लडाकुशिव अधिकारी
    एउटा यस्तो चिन्ता जसलाई देशले सम्झेकै छैन । एउटा यस्तो चासो जसलाई दलहरुले बुझेकै छैनन । बुझेर बुझ पनि पचाएका छन् । एउटा यस्तो खतरनाक दुर्घटना जसलाई आमनेपाली जनताले कल्पना समेत गरेका छैनन् । एउटा तालिम प्राप्त सैनिक, लडाकु वा त्यस्ताको जमात । जसले बन्दुक पड्काउन सिकेको छ । हतियार चलाउन जानेको छ । आत्मरक्षाको लागि र शत्रु छेद्नको लागि लड्न जानेको छ । युद्ध गर्ने कलाको ज्ञान हासिल गरेको छ । त्यहि बटालिएन अहिले बन्द शिविरमा छ, आफ्नो हतियार थन्काएर । आफ्नो कलाकौशललाई शारीरिक ब्यायाममा परिणत गरेर । तर त्यहि बटालिएनको भविष्य अहिले संकटमा छ । अझ यसो भनौं–पूरै नेपाल र नेपालीको भविष्य संकटमा छ । लामो समय युद्ध लडेर, गोली चलाएर हिंडेको ब्यक्ति समाजमा पुनः फर्केर सस्त्रविहिन भएर बस्न सकेको सामाजिक तथ्य फेला पार्न सकिदैन । कि त त्यस्ता ब्यक्ति समाजमा सामाजिक अराजकता निम्ताउने प्रमुख घटक बन्न जान्छन् । कि त आफ्नो जीवनलाई आफैले तिलाञ्जली प्रदान गर्छन् । मृत्युवरण गर्छन् । हो, यो मनोवैज्ञानिक सत्यता हो । सामाजिक, सांस्कृतिक मान्यता हो ।
   
उनीहरु पनि नेपाली हुन्, हामी जस्तै । फरक यत्ति हो, उनीहरुले एउटा सीमित राजनैतिक प्रवचनमा आफूलाई युद्धमा होमेका हुन् । राजनीतिमा होमेका हुन् । हामीले देखे भन्दा ठूलो सपना तिनीहरुले साँचेकै हुन्, लडाईंमा होमिनेताका । दुःखी, पीडित, गरिब, अशिक्षितलाई राज्यको पहिलो शक्ति बनाउने । राज्यलाई संचालन गर्ने प्रमुख पात्र उनीहरुलाई बनाउने । यहि खोक्रो सपना संगालेर आफूलाई युद्धमा फसाएका हुन्, माओवादी लडाकुहरुले । आफ्ना अन्य दैनिक जिन्दगीलाई हत्या गरेर आफूलाई भड्खालोमा जाकेकै हुन्, त्यतिबेला उनीहरुले । भड्खालो यस अर्थमा कि सीमित राजीतिक स्वार्थ बोकेको राजनीतिक पार्टीको ढाल थिए, उनीहरु । उनीहरुको रक्षाकवच ओढेर तत्कालीन नेकपा माओवादीका नेतृत्व राजनीति गर्थे । अझ राजनीति भन्दा बढी उत्तेजनात्मक भाषण दिन्थे । विचार प्रदान गर्थे । माओवादी लडाकु उर्फ जनसेना आफ्नो सपना साकार पार्न नितान्त कपट रहित, जालझेल रहित अठोट लिएर युद्धका ढाल बनेका हुन्, त्यतिबेला । उनीहरुको ‘जीत’ उनीहरुले सोंचे अनुसार त भएको देखिदैन । तर आफ्नो मन, मस्तिष्क र प्रपञ्ज लगाएर पार्टीले भने जितेकै हो–यसको ज्वलन्त उदाहरण संविधानसभाको निर्वाचन हो ।
   
माओवादी लडाकुको जिन्दगी यतिखेर गम्भीर चिन्ताको विषय बनेको छ । संविधानसभाको चुनावपछि निकै नै हर्षित र निकै नै उत्तेजित उनीहरुको मनोवल यतिबेला गिरिरहेको नहोला भन्न सकिन्न । हात्ति आयो–हात्ति आयो फुस्साकै मञ्जित नाटक झैं निर्वाचनपछि पनि उनीहरुले देखेको सपनाले सार्थकता त पाएन–पाएन । उनीहरुको आफ्नै जिन्दगी पनि धरापमा प¥यो । भविष्यको टुङ्गो भएन । नेपाली जनताको मुक्तिका लागि लडेको सम्झिने उनीहरु, आफ्नो र नेपाली सेनाको संयोजनबाट बन्ने ‘राष्ट्रिय सेना’ मा आफ्नो अस्थित्व खोजिरहेका थिए । भाग्य नापिरहेका थिए र छन् पनि । तर त्यो हुन सकेन, हुन सकिरहेको छैन । ‘शत्रु–शत्रु’ एकै स्थानमा रहनु हुँदैन भन्ने तथ्यले अहिले उनीहरुको जिन्दगी तौलिरहेको छ । शान्तिपूर्ण राजनीतिमा पर्दापण हुने बितिक्कै ‘राष्ट्रिय सेना’ मा विलय हुने भनी उनीहरुले पटक–पटक सुनेका भाषण अहिले फोकट भैरहेछ । ‘राष्ट्रिय’ हैन नेपाली सेना लगायत राजनीतिक दल र अन्य, छाति र तौलको लेखाजोखा गरेर सेनामा प्रवेश गराउने मनस्थितिमा छन् । तर जनमुक्ति सेनाले नाप र तौलको मैदानमा नउत्रिने पटक–पटक दोहो¥याई रहेको छ । यस्तो स्थितिले कता पु¥याउँछ ? कोही न कोही एकले ‘हार्ने’ सम्भावना छैन र ? अनि एउटा लडाकुलाई हार्नुपर्दा कस्तो हुन्छ ? के हुन्छ ?
   
नेपाली राष्ट्रिय राजनीति अहिलेको परिस्थितिमा दिनानुदिन झन् अस्थिर बन्दै गैरहेको छ । दलहरु सत्ताको वरिपरि घुमिरहेका छन् । यस्तोमा माओवादी लडाकुलाई सम्झिने फुर्सद कसैको छैन । उनीहरु मस्त छन्, आजसम्म शिविरमा सरकारी भत्ता पड्काएर बसेका छन् । तर के साँच्चै उनीहरुको मन स्थीर होला ? के उनीहरुलाई आफ्नो भविष्यको चिन्ता नहोला ? अस्थिर राजनीतिले उनीहरुलाई भड्काएको छैन होला ! लामो समय शिविरमा बस्दा पनि आफ्नो जिन्दगीको टुङ्गो नहुनुले उनीहरुलाई विचलित गराएको छैन होला । हो, पक्कै पनि केहि न केहि त खट्किहाल्छ नि ! केहि न केहि त कता–कता मन चिसो भैहाल्छ नि ! यदि यो चिसोपना बढ्दै गयो भने के हुन्छ ? अर्थात् उनीहरु आफूभित्रै विद्रोह गरेर शिविरबाट बाहिर निस्किए भने के हुन्छ ? त्यो परिस्थितिको उपज देशमा गृहयुद्ध हुन जाने कुरा नकार्न सकिन्छ र ? तर यो त आमनेपाली जनताको मष्तिस्क भन्दा बाहिरको कुरा हो । र, स्वंय जनमुक्ति सेना अनि उसको माऊ पाट्र्टी एकिकृत नेकपा माओवादीको पनि ।
   
अर्को गम्भिर कुरा, एउटा लडाकुलाई अयोग्य घोषित गरी कोदाली खन्न पठाउँदा उसको कोदाली सधैं खेत उप्काउन मै लागिपर्छ भन्ने छ र ? अनि कथंकदाचित उसको कोदाली कसैको जीवन उखाड्न लागि प¥यो भने रोक्ने कल्ले ? जसले बन्दुक पड्काएर समाजमा आएको छ । त्यस्तासँग जुध्न जाने हिम्मत जुटाउन समाजका अरु ब्यक्तिलाई हम्मे–हम्मे पर्छ । त्यसबाहेक अयोग्य ठह¥याएर घर पठाइएका लडाकुलाई समाजले हेर्ने दृष्टिकोण कस्तो हुन्छ ? पक्कै पनि उनीहरु प्रति समाजले ‘हेय’ भावनाले हेर्नेछ । हेय भावनाले गर्दा उनीहरुलाई पार्ने मनोवैज्ञानिक असरको बारेमा के आंकलन गर्न सकिन्छ ? त्यसकारण यो कुरा सरासर गलत ठहरिन्छ । उनीहरुलाई रित्तो हात घर फर्काउनु सामाजिक स्थीरता बिथोल्ने कारणलाई जन्मदिनु नै हुनेछ ।
   
सेनामा संयोजन छाति र तौलले गर्दा अड्केको छ । अरु कुरा उनीहरु (जनमुक्ति सेना) मान्दैनन् । अर्थात् अन्य स्थानमा सुरक्षित अवतरण उनीहरुको अर्जुनदृष्टि होइन । उनीहरुको तारो ‘सेना’ नै हो । ‘सेना’ नभए ‘गृहयुद्ध हुन सक्ने अपुष्ट संकेत’ हरु अहिले देखिन थालेका छन् । यस्तै परिस्थितिमा माओवादी लडाकु भड्किन के बेर ? यसै पनि एउटा लडाकुको मनोदशा हतियार समाउने नै हुन्छ । यदि उसको हतियार खोस्न खोजियो भने के हुन्छ ?  पक्कै पनि त्यसको परिणाम नकारात्मक हुन्छ–चाहे त्यो  लडाकुलाई होस् या समाजलाई । फेरि, एउटा मनोदशाले ग्रसित गुरिल्लालाई आहारा दिए जस्तो गर्दै खोस्दै ग¥यो भने त्यस्तो स्थितिको जस्तो परिणाम सायदै हुन सक्छ । यसतर्फ ध्यान कसैको गएकै छैन । अझ एकिकृत नेकपा माओवादीलाई यहि परिरिस्थति अनुकुल हुन सक्छ । जनमुक्ति सेन कतै विलय पनि नहोस्, कतै समायोजन पनि नहोस् । केवल पार्टी हाँक्ने ढाल होस् अनि शिविर मै होस् । तर समाजको चाहना यो होइन । स्वंय जनमुक्ति सेनाको पनि छैन होला । समाजको चाहना उनीहरुको सुरक्षित अवतरण हो । अनि राष्ट्रको दायित्व उनीहरुलाई भड्किन नदिनुबाट जोगाउनु नै हो ।