म सदैब तपाईको प्रतीक्षामा
तपाई आउने बाटो हेरेर बसेको हुनेछु !
मलाई थाहा छ, तपाई आउनु हुनेछ र
मलाई आफ्नो बनाउनु हुनेछ !!!

Sunday, September 18, 2011

भूईँचालो - अनुभव

दैनिक तालिकामा कुनै परिवर्तन थिएन, सदाको तालिका झैं दिन बित्दै गइरहेको थियो । बेलुकीको समय फुर्सदको दिन प्रायः शरीरको थकान मेटाउन घर जानुपूर्व चिया पिएर बस्ने गरेको एउटा क्याफे छ, चाबहिलमा । टोलछिमेकका साथीभाईहरुको भेटघाट हुने एउटा थलो पनि हो–चाबहिलको पूर्वेली क्याफे, हो म त्यहीँ थिए ।

क्याफेको ‘¥याक’ (दराज)मा अडेस लाएर ‘मुडा’ (कुर्सी) मा बसिरहेको थिएँ, जुन मेरो सधैंको बस्ने स्थान हो । भर्खरै पिइसकेको चियाको गिलास टेबलमै थियो, घरतर्फ लाग्ने तरखरगर्दै थिएँ । एक्कासी म बसेको मुडा हल्लिन थाल्यो, के हो निक्र्योल गर्न सकिन । सोचेँ–‘मलाई कमजोरी भए जस्तो छ, त्यसैले शरीर हल्लिरहेछ ।’ आफूलाई सम्हाल्न खोजें, तैपनि हल्लिन रोकिएन । अडेस लगाएको दराजै पो कसैले हल्लाइरहेको हो कि भनेर नजर लगाएँ, तर त्यहाँ कोही थिएन । यो घटना एकदमै छिटो छिटो भइरहेको थियो । क्याफेमा हामी जम्म ३ जना थिर्यौ, अर्को एकसाथी अलिपर मुडामानै बसिरहेका थिए । क्याफे साहु भाँडाकुँडा माझ्दै थिए । मुडामा बस्ने साथी पनि बोल्यो–‘यो मुडा किन हल्लिन छ, बेकारमा ?’ त्यसपछि आँकनल गरें–यो सबै भूकम्पको कारण भइरहेछ र अचानक मेरो मुखबाट शब्द निस्कियो–‘भूईंचोलो गयो ।’ अर्को साथीलाई पनि क्याफेबाट बाहिर निस्किन आग्रह गरें र क्याफे अगाडि नै ठूलो खाली ठाउँ छ, त्यहाँ गएर उभिएँ ।

म खाली ठाउँ पुग्दा त्यहाँ मान्छे कोही आइसकेका थिएनन् । विस्तारै कोलाहलको आवाजहरु सुनिन थालियो । मान्छेहरु हस्याङफस्याङ गर्दै त्यही खाली ठाउँमा आइपुगे । भूईंचालो गइरहँदा त्यहा सयौं मान्छेको झुण्ड बनिसकेको थियो । खाली ठाउँमा पुगेपछि एउटा ‘बाइक’नेर गएर उभ्भिएँ, जमिन एताउति हल्लिरहेको थियो । जमिन यस्तरी हल्लिरहको थियो कि कुनै छालमाथी भकुण्डो हल्लिने गर्छ, हो त्यतिखेर हामी त्यही भकुण्डो जस्ता भएका थियौं । आइमाई–केटाकेटी चिच्याउँदै थिएँ, म चारैतिर रहेको घरहरु हेर्दै थिएँ, घरहरु हल्लिरहेका थिए । भूईंचालो गइरहेकै समयमा अकाशमा विजुली पनि चम्किरहेको थियो, पानीका थोपाहरु पनि झरिरहेका थिए ।

मैले बुद्धि चलाउन खोजें–यदि जमिन फाटियो भने के गर्ने ? घरहरु ढल्न थाले के गर्ने, कता जाने ? बचिन्छ कि बचिदैन होला ? मान्छेहरु भागदौड गर्न थाले र भागदौडको किचाईमा परियो भने के गर्ने, कसरी बच्ने ? तर, जति नै बुद्धि चलाए पनि ती समस्याको निष्कर्ष मैले त्यतिखेर निकाल्न सकिनँ । तुरुन्तै सम्झे–‘घरपरिवार के गर्दैै होलान्, सुरक्षित स्थानमा छन् कि छैनन् ? सबैलाई राम्रो होस् भन्ने प्रार्थना गर्नुभन्दा केही गर्न सक्ने अवस्थै थिएन मसँग ! सबैजना हातमा मोबाइल बोकेर नम्बरहरु थिच्दै थिए तर नम्बर थिच्नु बाहेक त्यो मोबाइलको अर्को उपलब्धी भइरहेको थिएन–त्यतिबेला । एकैछिनमा हल्लिरहेको जमिन त रोकियो तर मन भने निकैबेर हल्लिरह्यो, डरले ।

भूकम्पको धक्का रोकिएपछि वरिपरि नजर लगाईयो, कतै कसैलाई केही भएको देखिएन । म भएको वरिपरि कसैलाई केही भएको थिएन । केहीबेरपछि घरबाट फोन आयो घरमा सबै सकुशल रहेको खबर पाएँ । त्यसपछि क्रमश क्याफेमा मानिसहरु जम्मा हुने थाले–भूकम्प सम्बन्धी आ–आफ्ना अनुभवहरु आदानप्रदान हुने थाले । सबैको मुहारमा त्रास फैलिरहेको थियो, सबै थकित देखिन्थे । सबैजना पुनः अर्को भूकम्प जान्छ कि भन्ने अड्कल काटिरहेका थिए । जिन्दगीमै पहिलो पटक मैले भूकम्पको यस्तो सामिप्यता अनुभव गरेको थिएँ, यसअघि भूकम्पको यस्तो अनुभव भएकै थिएन । म उपस्थित स्थानमा प्रायः सबैको अनूभुति यस्तै थियो ।

भूकम्प रोकिएपछि क्याफेमा आउने मानिसहरुका क्रियाकलाप हेर्न लायक बनेका थिए । सबैजना ‘बचियो–बचियो’ भन्दै क्याफे प्रवेश गरिरहेका थिए । चिनेजानेका एकले अर्कोलाई ‘बच्न’ सफल भएकोमा बधाई पनि दिईरहेका थिए । यो क्रम धेरै बेर नै चल्यो । मलाई भने देश–विदेशको घटना थाहा पाउने हुट्हुटीले पोल्न थाल्यो र घरतर्फ लागें । घरमा पुगेर समाचार हेरें, सुनें अनि दुखित भएँ, मान्छेको ज्यानै गएको घटनाले कसलाई पनि दुःखी बनाउँदैन र ?

Saturday, August 27, 2011

मुक्तकहरु


दौरासुरुवाल, ढाकाटोपी नेपालीको भेष हो
बनजङ्गल, खोलानाला यही हाम्रो देश हो
सुन्दर, शान्त, हराभरा हराएर गईगयो
कंक्रिड जस्तो बाँकी चित्र देशको अवशेष हो


ओठहरु चुम्दै तिम्रो प्रातः काट्नु छ
सँगै बाँच्नुपर्छ जीवन साथ काट्नु छ
हाम्रो जोडी दीर्घकालीन हुन्छ–हुँदैन त्यो टाढाको कुरा
त्यसैले मलाई मात्र तिमीसँग एउटा रात काट्नु छ


फर्केर आउँछ्यौ भन्ने मलाई आश छैन
तराई, पहाड बेग्लै छन् प्रेमको मधुमास छैन
मिलाएर लैजान सबैलाई एउटा घर बनाइएको थियो
तर के गर्ने ? त्यहाँ बस्ने कसैको होसहवास छैन


बिहान–बेलुका छाक टार्न जग्गा बैंकमा धितो राखें
हुर्कनेछन् जहान–बच्चा सपना त्यति मीठो राखें
झरिले रुझाउँदै गयो असर बाँझै खेत छाडेर
एकमुट्ठी माटो सन्दुकमा रकमी बिटो राखें


आन्दोलनमा तातो देखें
देशको आफ्नै माटो देखें
संसदमा पुग्नुभएछ हजुर
अहिले त पूरै शरीर रातो देखें

adhikarishiva05@yahoo.com

Sunday, August 14, 2011

गीत - मेटियो भन्यौ

मेटियो भन्यौ हाम्रो प्रेम
खेतको गह्रा–गह्रामा छ
सुसेल्दै हिडेको सुसेली
पहाडको कुना–कन्दरामा छ

ओठ टोकी लजाउँथ्यौ
जब म नजिक सर्थें
मादक नजर झुकाउँथ्यौ
अनि मीठो माया गर्थें
हामीले साटेको मन, मुटुको
तस्वीर हाँगा–लहरामा छ
सुसेल्दै हिडेको सुसेली
पहाडको कुना–कन्दरामा छ

खुशि सधै साट्थ्यौं
दुःख पनि लुकाई हाँस्थ्यौं
प्रत्येक पल साथ दिन्थ्यौं
अनि सुन्दर जीवन बाँच्थ्यौं
हामीले गाँसेको नाता, सम्बन्धको
झल्को छाँगा–छहरामा छ
सुसेल्दै हिडेको सुसेली
पहाडको कुना–कन्दरामा छ

adhikarishiva05@yahoo.com



Monday, August 1, 2011

गीत - ए ! बा

ए ! बा सपनाको सहर कस्तो हुन्छ
परिवर्तनको नौलो प्रहर कस्तो हुन्छ

च्यातिएको छ गुन्युचोली
फाटेको छ कमिज सुरुवाल
आक्रान्त, व्याकुल, अस्थीर समाज छ
अन्याय, अत्याचारले ग्रस्त संस्कार छ
सम्पन्न देशको लहर कस्तो हुन्छ
परिवर्तनको नौलो प्रहर कस्तो हुन्छ

चट्टान फोडेर दिनभर
भोकै बस्छ पेट रातभर
सपनाको झोल आँसु पिउनु पर्छ
पसिनाको मोल रुँदै जिउनु पर्छ
मृत्यु मीठो दिने जहर कस्तो हुन्छ
परिवर्तनको नौलो प्रहर कस्तो हुन्छ


adhikarishiva05@yahoo.com

Monday, July 11, 2011

गीत - रातै पर्‍यो

समयले गिज्याउन थाल्यो
बर्षादले तगारो हाल्यो
दोबाटोमा भेट्ने बाचा
केले–केले टार्‍यो
हो–हो रातै पर्‍यो

दोहोरी गाउँदा–गाउँदै
मायाप्रिति लाउँदा–लाउँदै
समयले डाहा गर्‍यो
हो–हो रातै पर्‍यो

रनवन डुल्दा–डुल्दै
एकान्तमा भुल्दा–भुल्दै
माहुरीले भुनभुन गर्‍यो
हो–हो रातै पर्‍यो

रुख–रुखमा खोप्दा–खोप्दै
अमरप्रेम रोप्दा–रोप्दै
अँध्येरीले घातै गर्‍यो
हो–हो रातै पर्‍यो

adhikarishiva05@yahoo.com

Friday, July 8, 2011

गीत - आँखीझ्याल

उदास–उदास आजभोलि रित्तो आँखीझ्याल
मेरो आँसु तिम्रो लागि धितो आँखीझ्याल

चोक पनि गल्ली पनि सुनसान हिजोआज
छाडी जाने निष्ठुरी तिम्रै गुनगान सबैमाझ
एक्लो–एक्लो जिन्दगीको, स्वाद तितो आँखीझ्याल
मेरो आँसु तिम्रो लागि धितो आँखीझ्याल

डबली खाली बार्दली खाली चकमन्न देवलपाटी
खुशी भयौ सधैभरी तिमी बज्रपात भो म माथी
खल्लो–खल्लो आज, हिजोको मीठो आँखीझ्याल
मेरो आँसु तिम्रो लागि धितो आँखीझ्याल

adhikarishiva05@yahoo.com

Sunday, July 3, 2011

गीत - मनको घाउ

मनको घाउ यस्तो हुन्छ आँखाले देखिदैन
कुनै पीडा यस्तो हुन्छ लेखेर लेखिदैन

हाँसो सबैले देख्छन् आँसु लुक्ने गर्छ
भित्र घाउ पारेर बाहिर सुक्ने गर्छ
मुटुको ब्यथा यस्तो हुन्छ छेकेर छेकिदैन
कुनै पीडा यस्तो हुन्छ लेखेर लेखिदैन

कथा अनेक हुन सक्छन् मर्म एउटै हुन्छ
दुःखी दुःखी बाँच्नु पर्ने कर्म बेग्लै हुन्छ
कुनै स्थान यस्तो हुन्छ टेकेर टेकिदैन
कुनै पीडा यस्तो हुन्छ लेखेर लेखिदैन

adhikarishiva05@yahoo.com