म सदैब तपाईको प्रतीक्षामा
तपाई आउने बाटो हेरेर बसेको हुनेछु !
मलाई थाहा छ, तपाई आउनु हुनेछ र
मलाई आफ्नो बनाउनु हुनेछ !!!

Tuesday, April 26, 2011

आख्यान - पूर्वेली क्याफे

नाम पूर्वेली भएपनि यो पूर्वमा छैन । काठमाडौ्रमा अबस्थित यसको रुपरेखा यस्तो छ–दुईचार वटा खुइलिएका कुर्सी, एउटा चिटिक्क परेको सोकेस र सानो कोठामा आफ्नो दूब्लो र पातलो शरीरमा रङ्ग लेराउने छाला चाउरी सकेका ख्याउटे अनुहारकामुनी ङिच्च हाँस्दा देखिने पसलेका दाँत । यत्ति हो, यसको विशेषता । अर्को विशेषता भनेको यो चोकमा छ । यहाँ चिया, चुरोट, चाउचाउ लगायतका केही थोक छ । नामसँग ठाउँ नमिले पनि नाम र पसलेको गाउँ चैं मिल्छन् है !
नाम सुहाउँदो काम र काम सुहाउँदो नाम कुनै पनि क्षेत्र वा विषयमा नहुन नै हामी नेपालीहरुको दूभाग्य हो । यस्ता कुराहरु हाम्रो परिवेशमा कति छन्, कति ! जो हाम्रा आँखा अगाडि झल्झली नाँचिरहेछन् । नेपाल औषधी लिमिटेड–जो औषधी उत्पादन गर्ने भण्डार हो तर आफै उपयुक्त उपचारको खोजीमा थन्केको नै कति भैसक्यो । नेपाल विद्युत प्राधिकरणको त नाम सुन्ने बितिक्कै पनि कति मानिसको कन्सिरीको रौं नै समेत तात्ने गरेको छ । नेपाल आयल निगमको नाम ‘चेन्ज’ गरेर ‘ऋण उत्पादन निगम’ राख्दा कस्तो हुन्छ ? भनेर बाटोमा हिड्दा चार–पाँच जना साथीहरु एकआपसमा गफ्फिएको त मैले नै सुनेको छ ।
नेपाल खानेपानी संस्थान–खानेपानी हो कि पिउने पानी हो ! पहिला त यही कुरामा ‘कन्फ्यूज’ छु । होइन, खानेपानी नै भन्दा कहिले काँही त धाराबाट लेग्रालेग्री झरेको देखेर साँच्चै ठीकै पो भनिएको हो कि क्या हो जस्तो नलागेको पनि होइन । फेरि, हप्तामा एकपटक २÷३ घण्टा धारामा तुरुक्क चुहिन आइपुगे पछि, त्यो पानीले के गर्ने ? त्यसलाई के भन्ने ? टट्टी जाने पानी भन्ने कि ! नुहाउने पानी भन्ने कि ! लुगाधुने पानी भन्ने कि ! के भन्ने मैले त निक्र्यौल नै गर्न सकेको छैन ।
स्वस्थ्य ब्यक्ति समेत त्यहाँ छिरेपछि बिरामी हुन बेर लाग्दैन, त्यसलाई नै हामी वीर अस्पताल भनी टोपलिरहेका छौं । हाम्रा दिवंगत कविले ठम्याएका कुरा ब्यबहारमा एकदमै सान्र्दभिक लाग्छ, कहिले काँही । वीर अस्पताल–धनीले छिःछि गर्ने, गरिबले आफ्नो ठान्ने एकमात्र अस्पताल । वीर अस्पताल–थोत्रा र जीर्ण सामाग्रीहरुको अस्पताल । वीर अस्पताल–सरकारी अस्पताल । त्यसैले कहिले मजबुत हुन नसकेको हाम्रो नेपालको ‘सरकार’ जस्तो अस्पताल । जो जहिले लुलो–लङ्गडो हुन्छ । अन्धो हुन्छ । शरीर सहि सलामत हुन्छ तर त्यसका पाटपूर्जाहरु अपाङ्ग भैसकेका हुन्छन् । वीर अस्पताल–‘वीर छ तर बुद्धु छ ।’
लौ ! यो मेरो लेख पनि नाम अनुसारको त हुनै सकेन । म पूर्वेली क्याफेको यात्रामा निस्केको कताबाट कता उछिट्टिएँ ! एउटा अदक्ष चालकले कुदाएको गाडी, जसले दिशा कम ‘स्टेरिङ’ बढी समाएको हुन्छ । त्यस्तै पो भैरहेछ कि ! जो होस्, अब ‘कसम’ त्यस्तो हुन दिन्न ।
क्याफे धेरै किसिमका हुन्छन् । साइबर क्याफे, बेकरी क्याफे आदि । माथी भनिसकेको छु, यो चिया–चुरोट पाउने क्याफे हो । बास्तबमा ‘चिया होटल’ हो । यही चिया होटललाई सन्तुलित र आधुनिक नाम प्रदान गरिदिएका हुन्, ग्राहकहरुले–पूर्वेली क्याफे । साइबर क्याफे–जहाँ त्यतिक्कै बस्न पाइन्न । यदी बसियो भने घण्टै पिच्छे बसेको ‘मूल्य’ आफे बढेर जान्छ । यस्ता पूर्वेली क्याफेहरुमा आफ्नो इच्छा बमोजिम दिनैभरी बसेपनि एकसुको बढ्दैन । त्यसैले दिनैभरी चोक र गल्लीहरुमा टहलिने बेरोजगारहरु सम्मानित हुन यस्ता क्याफेहरुको ओतमा सजिलै आइपुग्छन् । चोक र गल्लीहरुमा धुम्धुम्ती बस्दा समाजले गिज्याउँछ । क्याफेमा छि¥यो कसले गिज्याउँछ ? भलै ‘फोकट’मै किन नबसियोस् । ‘टाइमपास्ट’ मज्जैले भै’हाल्छ ।
वरिपरि ‘ट्युसन इन्सिच्युट’हरु हुनु पनि यस क्याफेको अप्रत्यक्ष विशेषता हो । ट्युसन इन्सिच्युट भन्ने बितिक्कै ‘टीन एजर्स’हरुको भीड सबैको आँखा अगाडि नाची नै हाल्छ । कलेजमा ‘क्यान्टिन’ बस्ने र ‘एक्जाम’ आउने बेलामा ट्युसन धाउने किशोर–किशोरीको आदतै भैसक्यो । क्यान्टिन नगए–काइते भैइन्छ । ‘भुक्काटुरिष्ट’ भन्छन्, अरुले । अनि क्यान्टिन नधाए केटाले केटीसँग र केटीले केटासँग टाँस्सिने र जिस्किने अबसर कलेजभित्र कता पो मिल्छ र ? अझ ‘टिचर’हरुको आँखा छलिछली क्यान्टिनमा हतार–हतार चुरोट तानेर सन्तुष्टीको श्वास फाल्नु पनि त क्यान्टिन छिर्नुको लाभदायक पक्ष हो । स्थिति यस्तो भैसकेपछि ट्युसन नपढेर भो ! अनि ट्युसन पढ्न आइसकेपछि फेरि ट्युसन छिर्नु अगाडि र निस्केपछि त्यही पूर्वेली क्याफेमा बसेर चुरोट नतानी भो !
किशोर–किशोरीको भीडले यस क्याफे दिनप्रदिदिन फस्टाएको फस्टाएकै छ । किशोरीहरु भन्दा पनि मूख्यतः किशोरहरुको कारणले । किशोरीहरु त तिनै किशोरहरुसँग बेला मौकामा टाँस्सिएर आइपुग्ने हुन् । त्यो भन्दा पनि बेसि त किशोरीहरुसँग टाँस्सिने बाहनाको सुरुवात गर्नलाई नै किशोरहरु उनीहरुलाई तानितानी यस्ता क्याफेहरुमा छिराउँदा रहेछन् । अनि किशोरीहरु पनि के कम ? पैसा केटाहरुले नै तिर्ने भएपछि जाबो एउटा क्याफे छिरिदिंदा के नै जान्छ र ? छिर्छन्, उनीहरु । किशोरीहरु क्याफेमा छिरेपछि दिनभरी क्याफेमा टहलिने बेरोजगारहरु किशोरीहरुका छाती र नितम्बहरु नियाले आफ्नो सन्तुष्टीको चरम आनन्द लिन कुनै कसर बाँकी राख्दैनन् ।
साहु पनि कम्ता खप्पिस पो छैनन् त ग्राहक तान्नलाई । ग्राहकका उमेर र स्थिति अनुसारका गफ हाँक्न सक्नु पनि क्याफे साहुको आन्तरिक विशेषता हो । बौद्धिक बर्ग आए–बौद्धिक कुरा गरी हाल्ने । यूवतीहरु आए–सम्मान गर्ने, माया गर्ने र आदर गरेको जस्तो गर्ने । अनि यूवकहरु मात्र भए आफ्नो श्रीमतीको आँखा छलिछली उत्च्छृङ्खल कुराहरु दोहो¥याई तेहे¥याई केटाहरुलाई सुनाइहाल्ने । हुन पनि क्याफेका प्रमुख ग्राहकहरु भनेका नै तिनै यूवाहरु त हुन् । क्याफे साहुको ब्यापार प्रवर्धनको यो गजबको तरिका पनि मैले त्यही क्याफे छिरिछिरि नियाल्न पाएँ ।
क्याफे चल्नुको प्रमुख कारण वरपरका पसलहरु र पसलमा झुम्मिरहने ठिटाहरु नै मान्छन्–क्याफे साहु । त्यसैले त्यस्ता पसलहरु र ठिटाहरुको आगमन हुन्जेल क्याफे नसुक्ने ठोकुवा गर्न समेत उनी पछि पर्दैनन् । घर–परिवारबाट बच्न र लुकिलुकी चुरोट तान्न, खैनी च्याप्न हतार–हतार फूर्सद निकालेर केटाहरु क्याफे आइपुग्दा रहेछन् । तिनै केटाहरुका अभिभाबकहरु पनि त्यसैगरी त्यही पूर्वेली क्याफेमा चिया–चुरोट तान्न आउने थाले भने भुत्राको ब्यापार फस्टाउँछ–साहुको ! ब्यापार त उनीहरु पनि गरिदिन्छन् नि ! तर केटाहरुले जस्तो एक कप चिया पिउँदा ३ वटा चुरोट उनीहरुले सेवन गर्दैनन् अनि कसरी ब्यापार उँभो लाग्छ ? बुढाखाडाको खालले राजनैतिक बहस सुरु गरेपछि त्यस्ता अल्लारेहरुका कान टट्याईहाल्छ र कुलेलम ठोकिहाल्छन् । फेरि, अभिभाबकको अगाडि ‘आज्ञाकारी कुकुर’ भएर को बसिरहन्छ र ? यस्तो भएपछि साहु चिल्लाराम ! केटाहरु जिल्लाराम ! हुन सक्दैनन् र !
हामी जस्ता थुप्रैका लागि भने यस्ता क्याफेहरु बिश्राम स्थल हुन् । अफिस जाँदा र आएपछि सुस्ताउने चौतारी हुन् । क्याफै मै बसिबसी नवयुवकहरुले नवयौवनाहरुलाई मदमस्त भएर जिस्काएको नियाल्ने स्वर्णीम अवसर पनि हो । आफ्नो थकान मेटाउने, शरीरमा स्फूर्ति जगाउने उत्तम स्थान हो । बास्तबमा हामी जस्ता चाँही त्यस्ता क्याफेका एक हिसाबले ‘भिजिलान्ते’ नै हौं । जो अरुकै क्याफेमा बस्छौं । अरुकै कुरा सुन्छौं । अरुकै क्रियाकलाप नियाल्छौं र मनोरञ्जन लिन्छौं । अनि त्यहाँको सबै कुरा टपक्क टिपेर यसरी सार्वजनिकरण गरिदिन्छौ । गोप्यता भङ्ग गरिदिन्छौं । माफ हौ !

Saturday, April 16, 2011

गीत - हिमाल चढ्दा–तराई झर्दा

हिमाल चढ्दा–तराई झर्दा
छुट्टाछुट्टै बतास आयो
एकैपल तिमीलाई सम्झिएँ
साह्रै मीठो सुवास आयो

लालीगुराँसको रातो रङ्ग, जस्तो तिम्रो चोली
गाजलु आँखा, झ्याउरे भाका, कति मीठो बोली
हिड्दा–हिड्दै उकालीमा
एउटा भिन्न सहास आयो
एकैपल तिमीलाई सम्झिएँ
साह्रै मीठो सुवास आयो

फाँटहरु फराकिला, जस्तो तिम्रो विशाल छाती
सँगै बस्दा, सँगै डुल्दा भयौँ हामी एकै ताँती
तरिसक्दा खोलीहरु
नजिक–नजिक चाडपर्वहरु आयो
एकैपल तिमीलाई सम्झिएँ
साह्रै मीठो सुवास आयो

बाटैभरी आनन्द यहाँ, जस्तो तिमीले दिने माया
ढुङ्गा छोउँ, माटो छोउँ सफल हुन्छ छाँया
भित्राईसक्दा बालीहरु
अर्को एउटा असार आयो
एकैपल तिमीलाई सम्झिएँ
साह्रै मीठो सुवास आयो