म सदैब तपाईको प्रतीक्षामा
तपाई आउने बाटो हेरेर बसेको हुनेछु !
मलाई थाहा छ, तपाई आउनु हुनेछ र
मलाई आफ्नो बनाउनु हुनेछ !!!

Saturday, August 27, 2011

मुक्तकहरु


दौरासुरुवाल, ढाकाटोपी नेपालीको भेष हो
बनजङ्गल, खोलानाला यही हाम्रो देश हो
सुन्दर, शान्त, हराभरा हराएर गईगयो
कंक्रिड जस्तो बाँकी चित्र देशको अवशेष हो


ओठहरु चुम्दै तिम्रो प्रातः काट्नु छ
सँगै बाँच्नुपर्छ जीवन साथ काट्नु छ
हाम्रो जोडी दीर्घकालीन हुन्छ–हुँदैन त्यो टाढाको कुरा
त्यसैले मलाई मात्र तिमीसँग एउटा रात काट्नु छ


फर्केर आउँछ्यौ भन्ने मलाई आश छैन
तराई, पहाड बेग्लै छन् प्रेमको मधुमास छैन
मिलाएर लैजान सबैलाई एउटा घर बनाइएको थियो
तर के गर्ने ? त्यहाँ बस्ने कसैको होसहवास छैन


बिहान–बेलुका छाक टार्न जग्गा बैंकमा धितो राखें
हुर्कनेछन् जहान–बच्चा सपना त्यति मीठो राखें
झरिले रुझाउँदै गयो असर बाँझै खेत छाडेर
एकमुट्ठी माटो सन्दुकमा रकमी बिटो राखें


आन्दोलनमा तातो देखें
देशको आफ्नै माटो देखें
संसदमा पुग्नुभएछ हजुर
अहिले त पूरै शरीर रातो देखें

adhikarishiva05@yahoo.com

Sunday, August 14, 2011

गीत - मेटियो भन्यौ

मेटियो भन्यौ हाम्रो प्रेम
खेतको गह्रा–गह्रामा छ
सुसेल्दै हिडेको सुसेली
पहाडको कुना–कन्दरामा छ

ओठ टोकी लजाउँथ्यौ
जब म नजिक सर्थें
मादक नजर झुकाउँथ्यौ
अनि मीठो माया गर्थें
हामीले साटेको मन, मुटुको
तस्वीर हाँगा–लहरामा छ
सुसेल्दै हिडेको सुसेली
पहाडको कुना–कन्दरामा छ

खुशि सधै साट्थ्यौं
दुःख पनि लुकाई हाँस्थ्यौं
प्रत्येक पल साथ दिन्थ्यौं
अनि सुन्दर जीवन बाँच्थ्यौं
हामीले गाँसेको नाता, सम्बन्धको
झल्को छाँगा–छहरामा छ
सुसेल्दै हिडेको सुसेली
पहाडको कुना–कन्दरामा छ

adhikarishiva05@yahoo.com



Monday, August 1, 2011

गीत - ए ! बा

ए ! बा सपनाको सहर कस्तो हुन्छ
परिवर्तनको नौलो प्रहर कस्तो हुन्छ

च्यातिएको छ गुन्युचोली
फाटेको छ कमिज सुरुवाल
आक्रान्त, व्याकुल, अस्थीर समाज छ
अन्याय, अत्याचारले ग्रस्त संस्कार छ
सम्पन्न देशको लहर कस्तो हुन्छ
परिवर्तनको नौलो प्रहर कस्तो हुन्छ

चट्टान फोडेर दिनभर
भोकै बस्छ पेट रातभर
सपनाको झोल आँसु पिउनु पर्छ
पसिनाको मोल रुँदै जिउनु पर्छ
मृत्यु मीठो दिने जहर कस्तो हुन्छ
परिवर्तनको नौलो प्रहर कस्तो हुन्छ


adhikarishiva05@yahoo.com