म सदैब तपाईको प्रतीक्षामा
तपाई आउने बाटो हेरेर बसेको हुनेछु !
मलाई थाहा छ, तपाई आउनु हुनेछ र
मलाई आफ्नो बनाउनु हुनेछ !!!

Saturday, June 30, 2012

मलाई मन परेकी केटी

म भोटाहिटी चोकमा थिएँ, कालो छाता ओढेर चारैतिर आँखा डुलाउँदै थिएँ । त्यस्तै दिउँसोको २ जति बजेको थियो । गर्मी ज्यादै थियो, टाउको माथी छाता त थियो तर त्यो माथीको चर्को घामले मेरा तालु निरन्तर पोलिरहेको थियो । जेठ महिनाको घाम के खपी सक्नु हुन्थ्यो र ? करिब पौने घण्टाको मेरो समय त्यही चोकमा बितिसकेको थियो ।

सडक सुनसान जस्तै थियो, छिट्टफुट्ट गाडी मात्रै सडकमा हुँइकिई रहेका थिए । नेपाल बन्द थिएन, हुने कुरा पनि थिएन । मानिसहरु आउँदै–जाँदै गर्दै थिए । एउटा कुनोमा म थिएँ, केही मानिसहरु मलाई हेर्दै जान्थे । मलाई भने उनीहरुले गिज्याएको जस्तो लाग्थ्यो र मुन्टो निहु¥याउँथे, कैदीलेझैं ।

म वास्तबमा पाटन जाँदै थिए, कामले । र, गाडी कुर्दै थिएँ । गाडी आएकै थिएन । हिडेरै जाउँ जस्तो लागेको थियो तर भोटाहिटीबाट पाटन धेरै टाढा भएकोले त्यो आँटै आएन । त्यसो त म गाडी एकदमै कम चढ्ने मान्छे, गाडी चढ्यो कि पैसा खर्च हुन्छ भनेर म जहाँ पनि हिडेरै पुग्थे । तर, भोटाहिटीबाट पाटनसम्म हिड्नुपर्दाको कल्पनाले अत्यास लागेपछि त्यो सोंच मेरो दिमागबाट हराएको थियो ।

सडकमा एउटा गाडी देखा प¥यो, सार्वजनिक यातायात । गाडी म भएतिरै आउँदै थियो । गाडी देखेर म त तीनछक ! त्यस्तो गाडी त मैले आजसम्म देखकै थिइन । मैले गाडी कुरेपछिको लगभग एकघण्टाको समयपछि आएको त्यो गाडी त दुईतले पो थियो । गाडी पनि दुईतले हुँदो रहेछ घर जस्तै भनेर मलाई यसअघि थाहा थिएन ।

गाडी पाटनतिरै जाँदै थियो भन्ने थाहा पाएपछि म गाडीमा उक्लिएँ । लौ ! अचम्म । गाडीको मुनि तलाको त सबै सिट टम्मै पो भरिएका रहेछन् । ‘भ¥याङ चढेर माथी जाउ’ भनेर त्यहाँका एक यात्रुले इशारा गरेपछि म भ¥याङ चढेर गाडीको ‘चोटा’मा गएँ । गाडीको चोटामा पुगेर यसो चारैतिर नजर फैलाएपछि म एक केटी भएको सिट नजिक पुगे, जहाँ एकसिट खाली थियो । म त्यही बसें ।

गाडी बिस्तारै चल्न सुरु ग¥यो । म गाडीको आकार–प्रकार र स्वरुप नियाल्नमै तल्लिन भएँ, केहीबेर । सँगै सिटमा बस्ने केटी झ्यालबाट बाहिरको दृष्य नियाली रहेकी थिई । मैले उसलाई हेरेपछि अड्कल काँटे–लगभग केटी मेरै उमेरको हुँदी हो । केटीलाई यसो नियालेर हेरें–केटी त बिछट्टै राम्री पो रहिछे । सलक्क परेका कपाल, गोरो अनुहार, गाजलभित्र लुकेका सुन्दर आँखा, पुष्ट छाती, रातो टीका ठूलो निधारमाथी, आहा ! कति राम्री ? मेरो मन नै अमिलो भएर आयो ।

दरबार हाई स्कुल पढ्दी रै’छ, हाम्रो कुरोकानी सुरु भो । म भन्दा सानो कक्षामा पढ्दी रहिछे, नत्र त म पनि त्यही पढ्ने, मैले चिन्नुपर्ने ! भर्खरै मात्र स्कुल सुरु गरेकी रै’छ, त्यसैले कसैलाई नचिन्ने रै’छे । उसले त्यतिखेर स्कुलभरीमै चिनेको भनेको ‘देवकोटा’ सर मात्रै रहेछन्, त्यो पनि सरको थर मात्रै थाहा रहेछ, जुन सर स्कुलभरीमै प्रख्यात थिए–सबैले चिन्ने ।

त्यो केटीसँग म केही नजिक भएँ, निसंकोच केटीसँग टाँस्सिएँ । केटीले पनि अप्ठ्यारो मानिन । केटीको हात समातेर मैले सोधे–‘तिम्रो नाम के हो ?’ उसले उत्तर दिई–‘सम्झना ।’ सम्झनाले आफ्नो गर्धनमा ओढिराखेको खास्टो झिकी र काँखमा राखी । साँच्चै सम्झना साह्रै सुन्दर थिई, उसका अंगहरु पनि उत्तिकै सुन्दर थिए । गर्मीले उनका कोमल अंग पसिनाले भिजेका थिए । सम्झनाले चोलीभित्रका भिजेको अंग छोडेर त्यसमाथीका अंगको पसिना खास्टोले पुछ्न थाली ।

गाडीबाट मानिसहरु चढ्ने र ओर्लिनेक्रम चलिरहेको थियो । गाडीमा केटी मान्छे एकदमै कम चढ्थे, चढेका पनि निकै फोहोरी देखिन्थे । तिनीहरुका शरीरमा जताततै नसुहाउँदो र फोहोरी देख्नेगरी रौंहरु उर्मिएका देखिन्थे । तर, सम्झना फरक थिई, निख्खर राम्री ।

गाडीमा चढेका केटाहरुले लुकिलुकी हाम्रो सिटमा आँखा लाउँथे । सायद, सम्झनाको जवानीले तिनीहरुलाई कुत्कुत्याउँदो हो । बिहे नगरेकी कुमारी केटी थिई–सम्झना, क्षत्री घरानको । मलाई पनि सम्झनाको जवानी देखेर इश्र्या लागिरहेको थियो ।

सम्झना पुनः झ्यालबाट बाहिरका दृष्यहरु नियाली रहेकी थिई । दुईतले बसको चोटामा बस्दा त निकै माथी आकाशमै बसे जस्तो लाग्ने रहेछ । बाटाका घरहरु, रुखहरु होचा–होचा देखिने । मानिसहरु त झन् सडकमै बिलाएझैं लाग्दा रहेछन् । बस बिस्तारै गुडिरहेको थियो ।

बसले माइतीघर हुँदै बाग्मती पुल पार ग¥यो । आहा ! कति सफा खोला ? बसमा भएका जति सबैले एकपटक खोलातिर हेरेर दर्शन गरे । बस कुपण्डोल पुगेर रोकियो । सम्झनाको ओर्लिनेबेला भएछ ! मलाई इशारा गरि, मैलो आफ्नो खुट्टो अलिकति सारिदिएँ । ऊ ओर्ली । बस फेरि आफ्नो दिशामा हुईंकियो, मलाई भने सम्झना ओर्लेपछि यात्राभरी खल्लो लागी रह्यो ।

–‘मैले जिन्दगीमा सम्झना जस्ती राम्री केटी देखेकी थिइन्, बुझिस् बाबु ? यो कुरा प्रजातन्त्र आउनुअघिको हो । अर्थात् २००७ सालअघिको, जतिबेला मुलुकमा भित्रभित्रै प्रजातन्त्र ल्याउने चलखेल भइरहेको थियो । हो, त्यहीबेला तेरा बाउ मेरो २ महिने गर्भमा थियो ।’ यति भन्दै मेरी हजुरआमाले आफूले लगाएको ठूलो–गोलो चस्मा फुकाल्नु भयो र नजिकैको चकटीमा राख्नुभयो ।

अनि, भित्तालाई आड लगाउँदै उठेर दराजको ऐनासम्म पुग्नुभयो र निधार खुम्च्याएर आफ्नो बुढ्यौली उमेर ऐनामा हेर्नुभयो । सायद, बुढ्यौली आँखाले देख्न सक्नु भएन कि के हो ? आँखा मिच्नु भो र पुनः ऐनामा हेर्नु भो अनि झरिसकेका दाँत देखाएर खिसिक्क हाँस्नु भो ।

–‘ म त्यतिबेला १५ वर्षकी थिएँ, तेरा हजुर’बा २६ वर्षका थिए । तेरा हजुर’बा पनि बिछट्टै राम्रा थिए, त्यतिबेला ।’ हजुरआमाको आँखामा अचानक आँसु टिल्पिलाए ।

–‘अनि हजुरआमा त्यो सम्झना भन्ने केटीलाई अर्कोपटक फेरि भेट भएन ?’ मैले बच्चाले जसरी नै प्रश्न गरिदिएँ ।

–‘भयो नाती, भयो । त्यसैसँग भेट भएर त मैले यस्तो दुःखको जिन्दगी बिताउनु प¥यो नि ।’
–‘कसरी, हजुरआमा ?’
–‘त्यो सम्झना, त्यही भेटको केही समयपछि तेरी कान्छी हजुरआमा बनेर घरमा आई । अर्थात् मेरो सौता भएर !’




Sunday, June 17, 2012

‘नेपाल’सँग यमराजको अन्तर्वार्ता


नेपाल ठिङ्ग उभिएको थियो, हातमा हत्कडी लगाएको उसले टाउको यताउति घुमाउँदै थियो । सायद, ऊ यमलोकको वातावरण नियाल्न ब्यस्त थियो ।
–‘सतर्क ।’ जिब्रो लामो तन्काउँदै दुई द्धारपालले यमराज आएको जानकारी दिए । सधैंजस्तो यमराज बढो शानसँग अघि बढे र सरासर आफ्नो आशनमा गएर बसे । यमराजसँगै आएका ४ तरुनी सुसारेहरु पनि उनकै सामुन्नेमा थिए ।

सेता–सेता पिंडुल्ला देखिनेगरी स्कर्ट लगाएर यमराजसँग ती तरुनीहरु यमलोक भित्रिदा हामीलाई सधैं भित्रभित्रै कुतकुती लाग्ने गर्छ । यमलोकलाई पनि असारको उखरमाउलो गर्मीले गाँजेको थियो । यो कुरा तिनै ४ सुसारेहरुलाई हेर्दा थाहा पाउन सकिन्छ । गर्मीले दिनप्रति दिन तिनीहरुको छाती ‘ह्वाङ्गै’ हुँदै गइरहेको थियो । सम्भवतः यस्तै दृष्य नजर गर्दागर्दै यमराज बुढो भैसक्दा पनि ह्रष्टपुष्ट देखिएका हुन्, –‘नत्र त हामी सबै ख्याउटे हुँदा यमराज मात्रै कसरी मोटाउन सकेका ?’ यस्तै लाग्थ्यो, मलाई ।

–‘चित्रगुप्त, यमलोकमा आज हाजिर गराइएकाहरुका मृत्युकुण्डली लेउ ।’ यमराजले हुकुम दिए । हत्त न पत्त ठूलो, गोलो पावरवाला चस्मा आँखामा लगाएर चित्रगुप्त यमराजका सामुन्ने हाजिर भए, रित्तो हात लिएर ।
–‘आज यमलोकमा आएको यही एकजना हो, प्रभु । जो जिउँदै छ, मरेकै छैन । त्यसैले यसको मृत्युकुण्डली उपलब्ध छैन ।’ चित्रगुप्तले नेपालतर्फ संकेत गर्दै भने । चित्रगुप्तले आफ्नो वाक्य टुंगाएका मात्रै के थिए, यमराज बुढा त आफ्नो आशनबाट जुरुक्कै उठे, तरुनीहरु तर्सिएर ‘साइड’ लागे ।
–‘हे ! तिम्रो नाम के हो ?’ यमराज कड्किए ।
–‘नेपाल ।’ नेपालले उत्तर दियो ।
–‘अनि, मर्दै नमरी किन आको त ?’
–‘घिटिघिटी सास बोकेर बाँच्नु भन्दा त बरु यतैतिर आउन जाती जस्तो लाग्यो, त्यसैले यताको बाटो रोजें ।’ नेपालले बिनम्रतापूर्वक उत्तर दियो ।

–‘कसरी घिटिघिटी भयौ त ?’
–‘कसरी भएँ भन्नु प्रभु ? ६० वर्ष अगाडिदेखि मेरा सन्तानले मलाई उपचार गर्छु, ओखरी खुवाउँछु, स्वस्थ्य बनाउँछु भन्दै हिंडे तर कहिल्यै कसैले उपचार गरेनन् । त्यसैले म थलिएर घिटिघिटी भएको छु ।’ नेपाल रुँलारुँलाझैं ग¥यो ।
–‘तत् ! तत् ! तत् !’ यमराज बरबराए । यमराज बुढालाई रिस उठ्यो कि सधैं यसैगरी बरबराउँछन्, एकोहोरो ।
–‘जे जस्तो भएपनि नमरी यहाँ आउन पाइन्न, तिमीलाई कसले ह्याँ ल्यायो ?’

नेपाललाई बुढाले गरेको प्रश्नले मेरो होश हवास उड्यो । वास्तवमा नेपाललाई मैले नै मर्दै नमरी यमलोक पु¥याएको थिएँ, मेरो हितैषी जो थियो । अब यमराज बुढाको गाली म माथी पर्ने पक्का थियो । मैले घोसेमुन्टो लाउन सुरु गरें । नेपालले पनि मलाई संकेत गर्दै ‘यसैले लेराको’ भनेर तुरुन्तै जनाउ दियो ।

–‘हे ! यमदुत, यो नेपाल के भन्दैछ ?’
–‘यो जे भन्दैछ, ठीक भन्दैछ, प्रभु । यसलाई मैले नै जिउँदै यमलोक लेराको हो ।’ मैले डराउँदै उत्तर दिएँ ।
–‘अनि, मर्दै नमरी किन लेराको त ?’
–‘यसले म मर्न लागें, मलाई छिटो लैजा भन्यो । अनि, मैले पनि यसलाई परेको ठूलो चोटको बारेमा थाहा पाएँ, अनि दया लाग्यो, मलाई पनि यो मरेकै ठीक जस्तो लाग्यो । त्यसैले लेराउँदा लेराउँदै बाटैमा मर्छ कि भनेको मर्दै मरेन, प्रभु ।’ मैले स्पष्टीकरण पेश गरें ।
–‘ओहो ! यस्तो पनि हुन्छ ?’ बुढा अझ कड्किए ।
–‘प्रभु, मैले अस्ति एकजना व्यक्तिलाई मरेपछि लेराको थिएँ । त्यो मरेको व्यक्ति त २ मिनेछपछि पुनः ब्युँतियो अनि त्यसलाई मैले फिर्ता पठाई दिएको थिएँ । अब यो घिटिघिटी भको चाँही मरिहाल्छ कि भनेको.......। आजभोलि यस्तो घटना थुप्रै हुँदैछ, प्रभु । हजुर अपडेट नै हुनुहुन्न, कहिले–काँही यसो फेसबुक चलाउने गर्नु न, संसारकै बारेमा थाहा हुन्छ ।’ मैले आफूले देखेका, भोगेका र सुनेका सबै कुरा यमराज बुढालाई सुनाई दिएँ ।

–‘तिमी कुन देशको यमदुत ?’ बुढाले प्रसंग ‘चेन्ज’ गरे ।
–‘नेपालको प्रभु ।’ मैले शीर ठाडो पारेर उत्तर दिएँ ।
–‘अनि जिउँदै नेपाल बोकेर हिड्ने हो त ?’
–‘प्रभु, नेपालीले बोक्ने भनेकै नेपाल त हो नि ! अरु त केही भए पो ? नेपालीहरु नेपालको नामै मात्र बोकेर खुशि हुन्छन् । अरु त नेपालीसँग केही छैन, न जागिर छ, न पैसा, न शिक्षा, न सम्पत्ति, न अस्थित्व ।’ धेरै दिनदेखि उकुस–मुकुस भएर मेरो मनमा गुम्सिएका कुराहरु मैले एकै पटकमा जाहेर गरें ।
–‘यमदुत, तिमी कसरी ह्याँ जागिर खान आईपुग्यौ ?’
–‘आरक्षण कोटाबाट प्रभु ।’ मैले हतार–हतार उत्तर दिएँ ।
–‘त्यही भएर तिम्रो काम बिग्रेको रैछ ।’ यसपाली बुढा कड्केनन्, शालिन नै भएर भने–
‘तिम्रो गल्ती स्वरुप तिम्रो ३ महिनाको तलब रोक्का ।’

यमराजको यस कुराले भने मलाई झ्वाँक चल्यो । बुढाले मलाई थर्काउने ? मलाई भाउन्न भो । यमलोकमा भएका यमदुतहरुको छाता संगठन ‘यमदुत हक संरक्षण मञ्च’को सदस्य मलाई बुढाले ‘च्यालेन्ज’ गर्ने ? मलाई के गरुँ, के नगरुँ भएर आयो । मैले केहीबेरका लागि शान्त हुने निर्णय गरें, यमदुत हक संरक्षण मञ्चका सदस्यहरु यमलोकमा उपस्थित नहुन्जेलसम्मका लागि ।

–‘तिम्रो जग्गा बिक्रि हुँदैछ रे हो, प्लटिङ गरेर ?’ यमराजले प्रश्न गरे ।
–‘होइन प्रभु । हजुरलाई यस्तो नचाहिने कुरा कसले सुनायो ? नेपालले प्रतिप्रश्न ग¥यो ।
–‘यहाँको मिडियामा त्यस्तै हल्ला छ त ?’
–‘त्यस्तो होइन प्रभु । तलब नपाएर झोंक्किएका केही खराब रिपोर्टरहरुले त्यस्तो समाचार प्रेषित गरेका होलान् ।’ निडरकासाथ नेपाल बोल्यो ।
–‘त्यसो भए कुरा के हो ?’
–‘कुरा संघीयताको हो, प्रभु । सबैको कला, संस्कृति र पहिचान सुरक्षित गर्ने सवालको कुरा हो ।’ नेपालले यथार्थ वर्णन ग¥यो ।

यमराजलाई साह्रै गर्मी भएछ, उनका निधारभरी पसिना देखिए । यमराजले एउटी राम्री सुसारेलाई ‘फ्यान’ खोल्न अहराए र अर्की सुसारेलाई चिया पकाएर ल्याउन भने, हामी सबैलाई पुग्नेगरी । तुरुन्तै चित्रगुप्तले गर्मीमा ‘स्लाइस’ खाँदा उत्तम हुने कुरा जाहेर गरेपछि यमराजले सुसारेलाई चिसो स्लाइस ल्याउन हुकुम दिए ।

–‘अनि, तिमी त कसैलाई काँखा, कसैलाई पाखा गर्छै रे ?’ कसैलाई धेरै अधिकार दियौ रे, कसैलाई दिंदै दिएनौ रे ?’ स्लाइसको घट्की लाउँदै यमराजले सोधे ।
–‘त्यस्तो होइन प्रभु । यो सबै भ्रामक प्रचार हो ।’ नेपालले आश्वस्त पार्न खोज्यो ।
–‘अस्ति एकजना ह्याँ आको थियो, गोली खाएर मरेको रैछ, उसैले बेदना पोख्दै थियो ।’ यमराजले उदाहरण दिन खोजे ।
–‘सत्य प्रभु । मैले त्यसो गरेको छैन । झुटो बोलेको भए मरिजाउँ ।’
–‘के को मरिजाउँ ? मर्दै नमरी तिमीलाई यमलोक आउनु प¥या छ, तिम्रो कसमको के भर ?’ यमराज जंगिए ।
–‘म सत्य भन्दैछु, प्रभु । मैले कसैलाई काँखा, कसैलाई पाखा गरेको छैन ।’ नेपाल विनम्रतासाथ प्रस्तुत भयो ।

नेपालको यस स्पष्टीकरणले पनि यमराज सन्तुष्ट भएझैं देखिएनन् । यमराजले हाम्रा हातमा रहेका स्लाइसका बोत्तल रित्तिसकेको देखेपछि आफ्नो बोत्तलमा भएको आधी स्लाइसलाई एकै पटकमा स्वाट्टै पारे । र, एउटी सुसारेलाई खाली बोत्तल थमाईदिए । त्यो सुसारे क्याटवाकगर्दे हामी छेउ आई र हाम्रो हातको बोत्तल पनि क्याटवाकगर्दै लिएर गई । वास्तबमा हामीले ती राम्रा तरुनीहरुलाई स्पर्श गर्ने भनेकै यस्तै बेलामा हो, लिने र दिने बहानामा ।

–‘तिम्रो कुराबाट म अझै विश्वस्त भइन ।’ यमराजले शंका व्यक्त गरे ।
–‘प्रभु, जेठो छोरा धेरै पढेर डाक्टर हुन्छ । माहिलो हलो जोत्छ, खेतिपाती गर्छ । साईंलो बीचमै पढाई छाडेर विदेश जान्छ र कान्छो स्कुलदेखि अल्लिअल्ली पढेर राजनीति गर्छ, यसमा मेरो के दोश ? यो त उनीहरु आफैले रोजेको कुरा हो नि ! मेरा लागि त ती चारै सन्तान बराबर हुन् नि !’ नेपालले यत्ति भन्यो र खुईइय ग¥यो ।

नेपालले गरेको कुरा चाँही मलाई राम्रो जस्तो लाग्यो तर गाँठी अर्थ भने मैले खुट्याउन सकिन । मेरो शरीर भुईंचालो जाँदाझैं झट्का लागे जस्तोगरी काम्दै थियो । वास्तवमा हरेक दिन बेलुका पिएको ‘कोदो’को रक्सी धेरै भएपछि मलाई भोलिपल्टै यस्तै हुन्छ ।

–‘अनि, तिमी त विदेशीसँग ऋण मात्रै माग्छौ रे ?’
–‘प्रभु, उद्योगधन्दा–व्यवसाय गर्न नपाएपछि, कलकारखाना खोल्न नपाएपछि, वर्षैपिच्छे चुनाव मात्रै गर्नुपर्ने भएपछि ऋण नमागीकन सुख छ र ?’ नेपालले प्रश्न तेर्सायो ।
–‘अनि, तिमीसँग त पानी, विजुली के–के छ रे नि !, हैन ?’
–‘विजुली हैन प्रभु, पानी मात्रै छ । विजुली निकाल्न खोज्यो, टेण्डर खुल्ला गर्ने बेलासम्म काम राम्ररी हुन्छ । टेण्डर ‘पास’ भएर बजेट निकास भयो कि काम रोकिन्छ ।’ नेपालले उत्तर दियो ।
–‘तिम्रो मर्ने बेला भएको छैन । तिम्रो धेरै काम बाँकी छ । तिमी प्राविधिक त्रुटी भएर झुक्किएर यमलोक आइपुग्यौ, तिमीलाई फिर्ता पठाउनु पर्छ । जिउँदोलाई यमलोकमा राख्न सकिन्न ।’ यमराजले यमलोकको नियम सुनाए ।
–प्रभु, म फेरि अब घिटिघिटी नै भएर बाँच्नु पर्ने भो है ? मैले मर्न खोज्दा नि, नपाउने भएँ ।’ यत्ति भन्दै नेपाल क्वाँक्वाँ रुन थाल्यो ।

यमदुत हक संरक्षण मञ्चका सदस्यहरु क्रमश यमलोक प्रवेश गर्न थाले । म भने ती सदस्यहरु भएतिरै लागें । सदस्यहरुसँग छलफल गरेर मैले यमराजले मप्रति तोकेको सजायको विरोध गर्न आन्दोलनका कार्यक्रमहरु तय गर्नुपर्ने भयो ।

on mero report: http://meroreport.net/profiles/blogs/6365517:BlogPost:82167

Friday, June 15, 2012

मापसे चेकिङ ? ‘नो प्रब्लम !’



मेरो एकजना साथी छ, प्रमोद । प्रमोद एकताका फिल्म हलमा ‘क्यारिएर’को काम गथ्र्यो । हलको कर्मचारी उसको काम भनेको एउटा हलबाट अर्को हलसम्म फिल्मको ‘रिल’ पु¥याउने थियो । यतिसम्म सुन्दा त ठीकै थियो । तर, उसको काम निकै जटिल थियो । फिल्मको बीचमा हुने १० मिनेटको ‘ब्रेक’भित्र उसले रिल अर्को हलमा पु¥याईसक्नु पथ्र्यो ।

राजधानीमा हुने चर्को जामको मार प्रमोदले राम्ररी अनुभव गरेको थियो । गोपीकृष्ण हलबाट १० मिनेटमा मोटरसाइकलमा ग्वार्को (गुणहल)सम्म पुग्न उसले कहिले–काँही गरेको तीकडम सुनाउँदा हामी हाँस्थ्यौ । प्रमोदले अर्को हलसम्म पुग्न छानीछानी छोटकरी बाटोहरुको प्रयोग गथ्र्यो रे ! तर, यो कुरा धेरै अघिको हो । अहिले त प्रमोदले त्यो जागिर छोडिसक्यो ।

एकदिन प्रमोद हामीलाई भेट्न आएको थियो । कामबाट फुर्सद निकालेर उ बेलाबेलामा हामी (साथीभाइ)लाई भेट्न आउँथ्यो । अनि, हामी चाबेल स्तुपाको ‘पासा’को पसलमा चिया पिउँथ्यौ । त्यसदिन पनि त्यस्तै भयो, प्रमोदले ‘हट लेमन’ अर्डर ग¥यो । त्यस पसलको हट लेमनलाई प्रमोद हाजमोला भन्थ्यो, जुन उसको ‘फेभरेट’ थियो । बास्तबमा बुद्ध स्तुपाभित्र बसेर हटलेमन पिउँदाको मजै बेग्लै थियो ।

–‘राँडीका बान ! ट्राफिकले समात्यो, मलाई हिजो ।’ प्रमोदले सुनायो ।
–‘काँ ?’ कसले पो सोधेको थियो, अहिले मलाई ठ्याक्कै हेक्का भएन ।
–‘चाबेलचोकमा नि ! ग्वार्को जान लागेको थिएँ, लाइसेन्स ले भन्दै समात्यो ।’
–‘अनि के गरिस् त ?’ मैले सोधे । मलाई थाहा थियो, प्रमोदले लाइसेन्सबिनै लामो समयदेखि बाइक कुदाउँदै आएको थियो ।
–‘के गर्नु नि ? केही उपाय देखिन र गुहार–गुहार भन्दै बीच सडकमै क्वाँक्वाँ रोइदिएँ, ट्राफिकले मलाई हातपात ग¥यो भन्दै रोएजस्तो गरिदिएँ ।’
–‘अनि ?’
–‘त्यसपछि के भयो भन्दै मान्छेको भीड बढ्यो, गाडी जाम हुन थाल्यो, भीडले ट्राफिकको कुरा सुन्दै सुनेन र सबैले मलाई साथ दिन थाले । अनि, ट्राफिकले आजित भएर मेरो खोसेको चाबी दियो र जान भन्यो ।’
–‘हा हा हा हा हा हा ।’ हामी सबै हाँस्यौ, एकैपटक ।

प्रमोदले कामका सिलसिलामा अपनाएका यस्ता तीकडम त कति थिए, कति ? प्रायःजसो उसले ट्राफिक र बाइक हुँकाइको प्रसंग सुनाउँथ्यो । मान्छेका घरका पेटीपेटीबाट बाइक नकुदाएको दिन हुँदैनथ्यो–त्यतिबेला, यो उसकै अनुभव थियो । ऊ आफूले आफूलाई बाइक कुदाउन र ट्राफिक छक्याउन माहिर ठान्थ्यो ।
–‘ट्राफिकसँग बच्ने त कति उपाय छन्, छन् ?’ ऊ भन्थ्यो ।

केही दिनअघिको एकसाँझ हामी गणेशथान तलको विनायक नेवारी खाजा घरमा थियौं । त्यस होटेलको नाम मात्रै ‘विनायक नेवारी खाजा घर’ हो, वास्तवमा त त्यो ‘विनायक नेवारी रक्सी घर’ हो । हामी पनि रक्सी पिउन छिरेका थियौं । हामी भनेको प्रमोद र म त भईहाल्यौं । अर्को एकसाथी थिएँ, जसको नाम जीवन साथी हो ।

हामी रक्सी पिउँदै थियौं, बेलुकीको साँढे सात भईसकेको थियो । साथी, जीवनसाथीका पनि अचम्म–अचम्मका प्रसंग छन् । उसले एकदिन एक अफिसको हाकिमनीसँग कुरा गर्न अफिसको रिसेप्सनमा फोन गरेछ । रिसेप्सनिष्टले फोन उठाएर साथीको नाम सोधिछ–‘जीवनसाथी ।’ साथीले आफ्नो भनेको मात्रै के थियो रे रिसेप्सनिष्टले त तथानाम फलाक्न थाली रे !
–‘तपाईहरुलाई लाज लाग्दैन, यसरी अफिसमा फोन गरेर जिस्किन ?’
–‘तपाईहरुका दिदी, बहिनी, आमाहरु छैनन् ?’ गर्नुसम्म गाली गरेर रिसेप्सनिष्टले फोन काटिदिइछ, बिचरा ! जीवनसाथीले चुक्क बोल्न समेत पाएन छ । जीवनसाथीले आफ्नो नामकै कारण कति ठाउँमा गाली खाएको म स्वंयले समेत प्रत्यक्ष देखेको छु । जुनै स्थानमा पनि परिचय गर्दा आफ्नो नाम भन्नै प¥यो । नाम, जीवनसाथी भन्यो कि सबैले नाक खुम्चाउने, केटीहरुले त झन् झपार्न समेत बाँकी नराख्ने ।

यस्तै–यस्तै एकअर्काका अनुभव सुन्दै–सुनाउँदै हामी रक्सी पिइरहेका थियौं । यतिबेलासम्म हामीले ३ क्वाटर नेवारी रक्सी, ५ वटा चुरोट, तीन’टा माछा, एक–एक प्लेट उसिनेको खशीको टाउको र पाङ्ग्रा अनि तीन’टा पापड बुत्याईसकेका थियौं । हाम्रा स्वर बिस्तारै लरबरिदै थिए भने हरकतहरु पनि बरालिदै थियो ।

मैले छैटौं चुरोट सल्काउँदै गर्दा ढोकाबाट गोविन्द वर्तमान छिरेको देखें । यी साहित्कार बुढादेखि मलाई भित्रभित्रै डर लाग्थ्यो । एकपटक हामी साथीसाथी कुरो गरिरहेको बेला उनी हामीसँग कुरो गर्न आए, ज्यादै मात्तिएको अवस्थामा । र, तात्तो न छारोका तर्कहीन कुरा गरे । त्यहीबेला देखि म यिनीसँग चेतेको थिएँ । बुढा सरसर्ति ‘आफ्नो बेन्च’तर्फ अघि बढे, मैले हल्का टाउको निहु¥याएँ–देख्लान् कि भनेर ।

गोविन्द वर्तमान छिरेको पाँचै मिनेटजतिपछि अर्का लेखक पनि त्यही छिरे–खगेन्द्र संग्रौला । हो, यो होटलमा साहित्यकार, प्रोफेसरहरुका बेला–बेला जमघट हुने गर्छ । त्यसमा पनि खगेन्द्र संग्रौला र गोविन्द वर्तमान त होटलका ‘रेगुलर’ ग्राहक नै हुन्, म जस्तै । खगेन्द्र बुढा चुरोट अति तान्ने, छिनछिनमा नयाँनयाँ चुरोट सल्काउने उनको आदतै हो । खगेन्द्र बुढा लेखनमा जति खरो छन्, त्यो भन्दा बढी खरो त उनी शान्त भएर बसेको बेला लाग्थ्यो, मलाई । रक्सीले नलाग्नुजेल खगेन्द्र बुढा खासै बोल्दैनन् । ख्याउटे अनुहारका बुढा बुङबुङ्ती चुरोटका धुँवा उडाउँदै कता–कता, के–के सोचिरहेकाझैं देखिन्छन्, प्रायः त्यस ‘विनायक नेवारी रक्सी घर’मा ।

हामी तीनै जना ‘झ्याप’ भयौं । म र जीवनसाथीको तुलनामा प्रमोद अलिकम झ्याप भएजस्तो थियो । मैले अझै थपौं भन्दै थिएँ, प्रमोदले इन्कार ग¥यो । जीवनसाथी त १० मिनेट अघिदेखि नै टेबलमा घोसेमुन्टो लाएर बसेको थियो ।
–‘अब ठमेल जाऔं, मसाज गर्न । प्रमोदले प्रस्ताव राखेको थियो ।
–‘हट ! नजाने ।’ मैले ठाडै अस्वीकार गरिदिएँ ।
–‘त्यसो भए डान्स जाउँ न त ।’
–‘ह्याँऽऽऽ पर्दैन, अब घर गएर सुत्ने हो ।’ मलाई कतै जानै मन थिएन ।
–‘डान्स जाने भए म पनि जान तयार ।’ जीवनसाथीले लरबरिएको स्वरमा बोल्यो । अन्ततः डान्स जानेमै बहुमत पुगेपछि म हारें, मैले उम्किन पाईन ।

होटलको बिल प्रमोदले ति¥यो । बिल तिर्ने बेलामा म जहिले जहाँ पनि ट्वाईलेट लागेको बहानामा ट्वाईलेटतिर छिर्छु । म ट्वाईलेटबाट निस्कदा दुबैले बाइक स्टार्ट गरिसकेका थिए । मैले प्रमोदलाई ड्राइभर बनाएर आफू यात्रु बन्ने बिचार गरे । मेरो बाइक छैन, चलाउन पनि आउँदैन । हामी हुईंकियौ । प्रमोदले बाइक गौशला हुँदै अघि बढायो ।
–‘किन यति लामो घुमाको, सिधै नगएर ?’ कालोपुल हुँदै गएको भए हुन्थ्यो भन्ने मेरो आशय थियो ।
–‘गौशालामा तिघ्रा र दूध देखाएर ग्राहक कुर्दै बसेका छडौंलीहरुलाई हेर्न मजा आउँछ नि ! यार ।’ यति भन्दै प्रमोदले बाइकको गति तेज ग¥यो ।

द्धारिका होटल कटेको मात्रै थियो, प्रमोदले बाइक हस्याङ–फस्याङगर्दै निलोपुल निस्कन मिल्ने गल्लीतिर हुल्यो । र, केही पर पु¥याएर रोक्यो अनि चुरोट सल्कायो । जीवनसाथी पनि आइपुग्यो ।
–‘किन यता छिराको ?’
–‘तेराबाजे, चेकिङ देखिनस्, त्याँ ।’ प्रमोदले मलाई झपा¥यो ।
–‘यो ‘मापसे’ चेकिङले आज दुःख दिन्छ कि के हो ?’ जीवनसाथी निराश हुँदै थुचुक्क भुईंमा बस्यो ।
–‘केही हुँदैन, यस्तो त मैले कति भोगेको छु, भोगेको छु ।’ प्रमोदले आश्वस्त पार्न खोज्यो ।
–‘मुजी ! जति भोगे पनि एकपटक समात्यो भने सक्कि हाल्यो नि ! मुख गनाई हाल्छ क्यारे ।’ जीवनसाथी जंगियो ।
–‘त्यस्तो हुँदैन, खुरुक्क अगाडि हेरेर बाइक कुदा न, जहाँनेर चेकिङ देखिन्छ, त्यसको वरैबाट म बाइक घुमाउँछु । अनि, तँ पनि गुमाई हाल ।’ प्रमोदले उपाय सिकायो ।
–‘त्यसो गर्ने र ?’
–‘हैन, सिधै ट्राफिक भा ठाउँमा गएर आत्मसमर्पण गर्ने । मुजी ! जाँड खाएर हिड्नु छ, त्यसो गर्ने र, यसो गर्ने र ? भन्छ ।’ यसपटक प्रमोदले जीवनसाथीलाई थर्कायो । मलाई हाँस उठ्यो, हाँसे ।
–‘केहीगरी ट्राफिकले भेट्टाई हाल्यो भने ?’ जीवनसाथीले मलाई चुरोट ‘पास’ गर्दै प्रश्न तेर्सायो ।
–‘यी यस्को के काम ? सुन, ‘यस्तो’ गर, बुझिस् ?’ प्रमोदले मलाई केही जुक्ति सिकायो ।

हामी ठमेलको एउटा डान्स रेष्टुरेन्टमा पुग्यौं । जहाँ चर्को आवाजमा हिन्दी गीत घन्किरहेको थियो । नृत्यङ्गनाहरु नृत्य कम अंगप्रदर्शन बढी गरिरहेका थिए । यसअघि हाम्रो बाइकले धेरैपल्ट ‘घुम्ने’ र ‘गल्ली छिर्ने’ काम गरेको थियो । हामी डान्सबारबाट लगभग आधा घण्टामै बाहिरियौं, तीनजनाले एउटा वियर पिएर ।

प्रमोद बेलाबेलामा आफ्नो ‘आइडिया’ले काम गरेको भन्दै कुर्लिदै थियो । जीवनसाथीको बाइकतिर फर्केर चर्को ‘हर्न’ बजाउँथ्यो । जीवनसाथीले पनि मलिन ‘हर्न’ बजाउँदै हर्नको जवाफ हर्नबाट दिन्थ्यो ।
–‘बुद्धि हुने मान्छेलाई कसैले जित्न सक्दैन, मापसे चेकिङ त आइडिया नभएका त्यो जीवनसाथीहरु जस्ताको लागि हो ।’ प्रमोदले एकपटक गर्वका साथ पछाडि फर्केर हे¥यो र हर्न बजायो । उताबाट पनि उत्तर आयो–‘टिँटटिँट ।’
अचानक एउटा अँध्यारो–अँध्यारो स्थानमा बाइक ‘झ्याप्प’ रोकियो । यसो टाउको उठाएर हेरेको त वरिपरि हरिया बर्दीधारी ट्राफिकै–ट्राफिक पो रहेछन् । लौ ! बित्यास पर्ने भो ।
–‘काँ जान लाग्या ?’ एउटा ट्राफिकले सोध्यो ।
–‘हस्पिटल हजुर ।’ मैले उत्तर दिएँ । प्रमोदले हेल्मेट फुकालेन र बोल्दा पनि बोलेन, टाउको निहु¥याएर बसिरह्यो ।
–‘के रे ?’ ट्राफिकले फेरि सोध्यो ।
–‘टिचिङ हस्पिटल जान लाग्या हजुर, उहाँको श्रीमतीलाई भर्खरै इर्मेजेन्सीमा लगिएको रैछ । त्यही भएर हामी दुई समेत उहाँको लागि हिडेंको ।’ मैले पछाडिको बाइक पनि हाम्रो हो भन्ने जनाउनेगरी ट्राफिक समक्ष आत्तिदै बोलें ।
–‘साँच्चै हो ?’
–‘हो, सर ।’ प्रमोदले झोक्राउँदै बोल्यो ।
–‘कहाँबाट आ’को ?’ ट्राफिकले फेरि प्रश्न तेर्सायो ।
–‘कामबाट ।’
–‘कस्तो काम ?’
–‘न्यूज लेख्ने काम हजुर ।’
–‘कार्ड छ ?’ मैले हतार–हतार ‘प्रेसपास’ देखाईदिएँ । ट्राफिकले एक–एक पढ्यो र जान अनुमति दियो । हामी अघि बढ्यौं । त्यति बोल्दा ट्राफिकलाई हाम्रो मुख गनायो कि गनाएन थाहा छैन । तर, हामीले भने यसअघि नै बाइक रोकेको ठाउँमा ‘माउथ स्प्रे’ छर्केका थियौं, प्रमोदले भने बमोजिम । माउथ स्प्रे सधैं खल्तीमा बोकेर हिड्ने प्रमोदको पुरानै बानी हो । बास्तवमा प्रेसपास पनि मसँग मात्रै थियो । साथीहरु त अर्कै पेशाको उनीहरुसँग हुने कुरै भएन । ट्राफिकले साथीहरुको पनि प्रेसपास खोजेको भए त्यहाँ पुनः अर्को ‘कथा’ रच्नुपथ्र्यो ।

हामी त्यसरी त्यहाँबाट उम्किएका थियौं । अर्को एक ठाउँमा पनि हामी त्यसैगरी फसेका थियौं । त्यहाँ भने ‘मलामी’ हिंडेको ‘आर्यघाट’ भनेर उही पूरानै शैलीमा मैले प्रेसपास देखाएपछि ट्राफिकबाट बचेका थियौं । यस्तो ‘जुक्ति’ (तीकडम) भने उही प्रमोदले सिकाएको थियो, मलाई । द्धारिका होटलबाट भित्र छिरेको गल्लीमा, जहाँ हामीले बाइक रोकेर चुरोट तानेका थियौं ।

लौ ! हाम्रो बाइक त रविभवन पो पुगेछ, पत्तै भएन मलाई त । पछाडिबाट जीवनसाथी हर्न बजाको बजाकै थियो, प्रमोदले कुनै प्रतिक्रिया दिएको थिएन ।
–‘ओई, हामी कता जान ला ? मैले जिज्ञासा राखें ।
–‘मलेखु ।’
–‘किन, १० बजिसक्यो, के गर्न जाने ?’
–‘माछा, भात खान ।’
–‘ह्याँऽऽऽऽऽऽ ।’ मलाई रिस उठ्यो ।
–‘तँ चुप लागेर बस न, बाइक कुदाउने म छँदैछु, तँलाई जतिखेर भएपनि घरमा लगेर छाडिदिए भएन ?’ प्रमोदले यत्ति भनेपछि मैले बोल्ने ठाउँ पाइन ।
–‘मलेखु जाने रे, खाना खान ।’ मैले जीवनसाथीलाई जानकारी गरिदिएको थिएँ । जीवनसाथीलाई पनि प्रमोदको कुरा चित्त बुझेनछ क्यारे, टाउँको बटार्दै थियो ।

प्रमोदले बाइक छलाउन खोज्दा–खोज्दै पुनः एकपटक हामी ट्राफिकको घेरामा परिहाल्यौं । कंलकीको चोकमा त ट्राफिकको जत्थै हुने रहेछ, त्यतिमात्रै हो र ? त्यहाँ त पुलिसको पनि एउटा जत्था तैनाथ रहेछ ।
–‘साला ! भाग्न खोज्छस् ?, ओर्ली ।’ एउटा ट्राफिकले बाइकको चाबी खोस्दै धम्कायो । हामी बाइकबाट ओर्लियौं । पुलिसहरु हाम्रा नजिक आए, प्रमोदले उही पुरानै शैलीमा घोसेमुन्टो लगाउन सुरु ग¥यो ।
–‘काँ जान ला ?’
–‘हस्पिटल ।’
–‘कसलाई के भो ?’
–‘उहाँको श्रीमती इर्मेजेन्सीमा...........।’ मैले उही पुरानै डाइलग दोहो¥याई दिएँ । प्रमोदले भने मलाई चिमोट्दै थियो । मैले हामी आएको बाटोतिर एकपटक हेरेको थिए–ला ! जीवनसाथी त थिएन । कतिखेर हामीलाई छोडेर टाप कसिसकेछ ।

–‘श्रीमतीको नाम ?’
–‘सम्झना ।’ मैले प्रमोदको प्रेमिकाको नाम भनिदिएँ । बिहे त हामी कसैको भएकै छैन नि !
–‘अनि घरमा को–को छन् ?’ पुलिसले प्रमोदलाई इंगितगर्दै सोध्दै थियो, उत्तर भने म दिंदै थिएँ ।
–‘घरमा ३ जना दाजु, बुबा, आमा र एकजा फुपु ।’ मैले ढिलाई नगरी प्रमोदको परिवारको बारेमा बताईदिएँ ।
–‘अनि, दाइको नामहरु भनिदेउ न त ।’
–‘सरी दाजु ।’ भन्दै प्रमोदले कान समात्यो । त्यसपछि मेरो सातो गयो । वास्तबमा म प्रमोदका अन्य परिवार चिने पनि ठूल्दाई भने चिन्दिन थें, उहाँ पुलिसमा इनिस्पेक्टर हुनुहुन्छ भन्ने मात्रै थाहा थियो, जो तिनै इनिस्पेक्टर लक्ष्मी भट्टराई थिए, जसले हामीलाई प्रश्न सोधिरहेका थिए भन्ने चाँही मलाई थाहा थिएन । त्यसपछि त म चुप !
–‘श्रीमती हैन, श्रीमतीको नाम सम्झना हैन ? ल ! यिनीहरुलाई भ्यानमा कोच्नु ।’ यति भनेपछि प्रमोदको दाइ बाइकतिर लागे । हामी भने त्यस रातभर पुलिसचौकीमा ।




Friday, June 8, 2012

पूर्वराजा वीरेन्द्रसँग फेसबुक च्याट

‘वीरेन्द्र वीरबिक्रम शाहदेव, एड एज अ फ्रेन्ड’ भन्दै फेसबुकको दाहिने कुनोको माथीपट्टि एउटा पेज देखा प¥यो । पूर्वराजा ‘वीरेन्द्र’ भन्ने बितिक्कै एकैपटक बाढी आएझैं २०५८ साल जेठ १९ गतेको त्यो रात र घटना मेरो दिमागमा फन्फन्ती घुम्न थाल्यो । केही बेरमा म सम्हालिएँ । र, हतार नगरी पूर्वराजा ‘वीरेन्द्र’लाई ‘एड फ्रेन्ड’ गरें । बुढाको फ्रेन्डलिस्टमा ३ हजार बढी मानिस थुप्रिसकेका रहेनछन् । त्यसै भीडमा ‘फ्रेन्ड रिक्वेस्ट’ पठाउने अनेक ‘प्रजा’हरु मध्येमा म पनि मिसिएँ ।

कम्प्यूटरले रातको सवा बाह्र बजेको जनाईरहेको थियो । म एकोहोरो सोसियल साइटहरु ‘सफरिङ’मा ब्यस्त भइरहेको थिएँ । जेठको उखरमाउलो गर्मी छल्न नसकेर म राति अबेरसम्म नेटमा झुन्डिने गर्छु । गर्मीले निन्द्रा नलाग्ने र मौसम शित्तल बनाउन घरमा पंखा नभएका कारण राति अबेरसम्म जागा बस्नु मेरो सानै देखिको बाध्यता हो, अहिले भने केही राहत मिलेको छ–नेटका कारण । यो नेट भएपछि समय कटेको पत्तै हुँदैन, निन्द्रा पनि लाग्दैन ।

अचानक मेरो फेसबुक पेजमा एउटा नयाँ ‘नोटिफिकेशन’ देखा प¥यो । मैले नोटिफिकेशन हेर्न ढिलाई गरिन । ढिलाई होइन, जहिल्यै पनि म नोटिफिकेशन हेर्न आतुर हुन्छु । मरेर आक्कल–झुक्कल आउने एक–दुईवटा नोटिफिकेशन हेर्न को आतुर नहोस् ? लौजा ! म त चकित, नोटिफिकेशनले ! ‘वीरेन्द्र वीरबिक्रम शाहदेव एसेप्टेड योर फ्रेन्ड रिक्वेस्ट’ भनेर पो देखायो । बुढा त अनलाइनै पो रहेछन्, रिक्वेस्ट पठा’को पाँचै मिनेट जतिमा फ्रेन्ड रिक्वेस्ट एसेप्ट भयो ।

रातको १२ बजेपछि पनि वीरेन्द्र अनलाइन ? लौ ! यिनलाई पनि गर्मी भएछ कि के हो ?, पंखा रहेनछ कि के हो ?, निन्द्रा लाग्दैन कि के हो ? यस्तै कुरा मनमा आयो । त्यो भन्दा बढी मलाई वीरेन्द्रसँग ‘च्याट’ गर्ने कुतकुती चल्न थाल्यो । के भन्ने ?, कसरी भन्ने ?, कसरी सुरु गर्ने ? दोधारकैबीच एक्कासी किबोर्डमा औंला दाबें र ‘मौसुफ, नमस्कार !’ लेखेर ‘इन्टर’ गरिदिएँ । त्यसपछि पो मेरो मुटुको गति बढ्न थाल्यो त । बुढाले के सोचे होलान् ?, मैले त्यसरी लेख्न हुन्थ्यो–हुँदैनथ्यो ?, मेरा ती दुई शब्दले बुढाको सत्कारको स्तर ‘मेन्टेन’ ग¥यो–गरेन ? शरीरभरी चिटचिट पसिना आउन थाल्यो, डरले ।

–‘तिमी को ?’ बुढाले प्रश्न तेर्साए ।
–‘म हजुरको प्रजा, सरकार ।’ त्यसपछि भने डर कम भयो, टाइप गरेर जवाफ फकाईदिएँ । जे होस् बुढा अरुले भनेजस्तै मिजासिला रहेछन, मैले दुई वाक्यमै बुढाको बानी ब्यहोरा आंकलन गरें ।
–‘अनि सरकार, अहिले हजुर कता होइबक्सन्छ ?
–मरेपछि मान्छे कहाँ हुन्छ, तिमीलाई थाहा छैन ?
–के थाहा हुनु, सरकार ? आफू मरेको छैन ।’ ला ! ठाडो उत्तर पो दिएँ कि क्या हो ?


–‘म अहिले माथी छु ।
–कता माथी ?
–सबैभन्दा माथी ।
–अनि, हामीले कसरी देख्ने त ?
–सबैभन्दा माथी मन हुन्छ, मनको कुरा देख्ने होइन, अनुभव गर्ने हो, अहिले म तिमीहरुले अनुभव गर्ने ठाउँमा छु ।’ लौ ! बुढा त विद्धान् पनि पो रहेछन् त कस्तो सटिक उत्तर ?, गुट्टी पो दिए, मलाई ।

मेरो मन भित्रभित्रै चङ्गा हुँदै गइरहेको थियो । नहोस् पनि किन ? वीरेन्द्रको परिवार नास भएको दरबार हत्याकाण्डको ११ वर्षपछि म उनै वीरेन्द्रसँग च्याट गर्दै थिएँ । त्यो पनि त्यही दिन, जुन दिन दरबारमा गोली चलेको थियो । हो, जेठ १९ गतेकै राध्यरातमा म वीरेन्द्रसँगको फेसबुक च्याटमा थिएँ । सम्भवतः ११ वर्षअघि यही रात १२ बजेसम्म त वीरेन्द्रको मृत्यु भइसकेको थियो, तैपनी उनको मृत शरीरलाई ‘जिउँदै’ बनाई वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचारका लागि राखिएको थियो ।

–‘अनि सरकार, हजुरको हत्या कसले गरेको हो ?’ इन्टर थिचिसकेपछि चसक्क मुटुमा घोच्यो, यस्तो चाँही नसोधेको भए हुन्थ्यो !
–‘संस्कारले,
प्रवृतिले,
ईश्र्याले,
अंहमताले,
छट्पटाहाटले,
उत्कण्ठाले,
अज्ञानताले,
देखासिकीले
–हजुरले के भन्न खोजी बक्सनुभएको हो ? मैले केही बुझिन सरकार ।
मान्छेको अनुहार चिनिबक्सनु हुन्छ ?
–..............................................’ लौ ! बुढाले त ‘डटडटडटडट’ पो लेखेर पठाए त ।
–‘के लेखी बक्सेको सरकार ?
–मेरो हत्यारा तिमीहरु हौ................
–मऽऽऽऽ के रे, हामीऽऽऽऽऽ के रे, मतलबऽऽऽऽऽ
–हो, मलाई मार्ने नेपाली हो,
नेपाली मन हो,
नेपाली प्रवृति हो,
नेपाली संस्कार हो,
जुन संस्कारले ‘भीमसेन’ थापा मारिए,
त्यही संस्कारले मलाई मा¥यो,
यस्तो नेपालमा एकपटक होइन,
पटक–पटक भएको छ ।’

बुढाले के–के भन्न थाले–थाले, मैले केही ठम्याउन सकिन । बरु, मनमनले सोंचे–आज शुक्रबार, रातको साँढे बाह्र भइसकेको छ, कतै बुढाले ‘भ्याट–६९’ चिरिप्प लगाएर त बसेका छैनन् ? सोच्न पनि धेरैबेर पाइन, बुढाले लेखेर पठा’को संकेत ‘वान’ (१) भनेर देखियो, च्याटरुममा ।
–‘म मरेपछि नेपालमा के भो ?
–संविधानसभाको चुनाब भयो, सरकार ।
–अनि, नयाँसंविधान आयो त ? –आएन सरकार ।
–किन, कसरी आएन ? –जसरी मौसुफको हत्याराको ‘ठोस’ पहिचान र कारण बाहिर आएन, त्यसैगरी नयाँसंविधान किन, कसरी र कसले गर्दा आउन सकेन ? त्यो बाहिर आएन ।’

बुढाले त्यसपछि एकछिन केही लेखेनन् । मलाई पनि केही लेखिनै हालुँ न त भन्ने आँट आएन । तर, मेरो मनमा प्रश्नको भने सिङ्गै खात बाँकी नै थियो ।


–‘अनि, मेरो श्रीपेज कहाँ छ त ?
–यहाँ त गणतन्त्र आइसक्यो नि ! सरकार ।’ ला ! बर्बाद गरे कि के हो ? खुशी भएर लेखिदिएँ । बुढालाई त ‘गणतन्त्र’ शब्दले रिस पो उठ्छ कि क्या हो ?
–‘हो । श्रीपेच त होला नि ?
–छ, सरकार छ । हामीले श्रीपेचलाई बाक्साभित्र हालेर, भोटे ताल्चा लगाएर सुरक्षित राखेका छौं ।
–किन त्यसरी लुकाको ?
–सरकार, देखाउनु जति देखा’को ‘एटीएम’ फिल्म ‘बढी’ देखायो भनेर विरोध भयो, लुकाउन भनियो । त्यसैले विरोध आउला, हराउला भने लुकाको नि ! मौसुफ ग’को केही वर्षसम्म त ‘प्रोमो’ देखायौं, त्यसपछि विरोध भयो अनि लुकायौं । –हा हा हा हा हा........।’ बुढा हाँसे, के बुझे कुन्नी ?

–‘अनि, मेरो राजगद्दी नि ?
–त्यो त छ सरकार, सबैले देख्नेगरी राख्या छ ।
एकदिन चाँही त्यसमा पत्रकारहरुले हाली मुहाली गरे, लुछाचुँडी गरे ।
त्यसपछि भने त्यसलाई ‘तारबार’ लगाएर ‘जोगाएर’ राखिएको छ ।
–अनि, मेरो अरु कुराहरु ?
–ती सबै प्रदर्शनीमा राख्या छ, सरकार ।
हजुरको घर, पलङ सबै प्रदर्शनीमा राख्या छ ।
हजुर त गज्जबको शानसँग बसिबक्सेको रहेछ नि ! मैले नि हेरें, एकदिन शनिबार ।
सहकर्मी मित्र सुवास सुनुवारसँग मौसुफको घर हेर्न ग’को थिएँ, पैसा लाग्ने रहेछ, १०० रुपैयाँ ।
हामीले त ‘प्रेस पास’ देखाएर समाचार संकलन गर्ने भन्दै फोकटमा छि¥यौं, तर, समाचार भने लेखेनौं ।’

उफ् ! यो लामखुट्टेले पनि कति टोकेको ? निरन्तर किबोर्डमा औंला दाबेको मौका पारेर ४–५ ठाउँमा चुस्न भ्यायो । बिचरा ! लामखुट्टे, मेरो शरीरको रगत चुसेर कुन्नी कतातिर गएर ‘झ्याप’ भएर ढल्यो, होला ! मैले रक्सी नपिएको दिन छैन, अनि मेरो रगतमा नसा नहोला त ? ‘लाऽऽऽ !’ एउटा लामखुट्टेलाई त ठाउँको ठाउँ सिध्याइदिएँ, मेरो गाला टोक्न आउँदो रहेछ ! आफ्नो पनि गाला दुख्यो, आफ्नै थप्पडले ।

–‘अनि, सरकार के गर्दै हुनुहुन्छ, आजभोलि ?
–दीपेन्द्रको बिहे गराईदिने चक्करमा छु ।’ बुढाको यस लाइनले भने म रन्थनिएँ, पुनः मैले दरबार हत्याकाण्ड सम्झिन थालें । त्यही दीपेन्द्रकै बिहे गर्ने चक्करमा त्यत्रो घटना घट्न पुग्यो भनेर ‘फुकिएको’ छ–बाहिर ।

–‘त्यता पनि बिहे हुन्छ र सरकार ?
–किन, यता चाँही वंश–परम्परा धान्नु पर्दैन ?, देउताले पो ‘फु’ गरेर खरानी फुकेर मान्छेको उत्पत्ति गर्थे त....... –मौसुफको परिवारका अन्य सदस्यहरु नि ?
–सबै यतै छन्, सकुशलै छन् ।
–मौसुफ त्यता पनि राजा होइबक्सन्छ कि ?
–हैन, छैन, यता पनि गणतन्त्र आइसक्यो, अहिले म ...................
अनि, सरकार ?
अनि ?
कता पालीबक्सनु भो सरकार ?’ लौ ! बुढा त एक्कासी अफलाइन पो भएछन् । लोडसेडिङ्ग भएछ कि क्या हो ? हो कि नेट ‘डाउन’ भयो ।

–‘ए दाई ! दाइ..... हैन कति सुतेको ?
–को हँ, को आयो फेरि ?
–ल ! कलंकी आइसक्यो, उत्रिनु पर्दैन ?’

आच्या ! कलंकी पो आइसकेछ । उफ् ! कस्तो साह्रो निदाइएछ ? हिजो नेपालगञ्जबाट चढेको नाइट गाडी काठमाडौं आईपुगी सकेछ । बेलुकी खाना खाएपछि सुतेको त निदाको निदाकै भइएछ कि के हो ? लौ ! बसमा त कोही पनि पो रहेनछ त, सबै उत्रिसकेछन् । मैले पनि आफ्नो समान उठाएँ र बसबाट उत्रेर आफ्नो बाटो तताएँ ।

तस्बीरः एजेन्सी ।
Mero Report Link: http://meroreport.net/profiles/blogs/6365517:BlogPost:80217

मेरी श्रीमती मरी



त्यसको २ दिनअघि मेरी श्रीमती मरी
जुन दिन संविधानसभा मर्‍यो
हो, श्रीमतीले अन्तिम पटक भनेकी थिई–
संविधानसभा संविधान नबनाई भङ्ग हुन्छ
किन ? मैले सोधिन
श्रीमतीसँगको मेरो अन्तिम कुराकानी त्यही थियो


त्यही दिन मेरी श्रीमती छट्पटिएको अवस्थामा
अस्पताल पुगेकी थिई
जुन दिन एम्बुलेन्स फोडिएका थिए,
पत्रकार चुटिएका थिए
हो, एम्बुलेन्स बाटामा अवरोध भएको थियो
त्यसैले प्रसव ब्यथाले आजित भएर मेरी श्रीमती रोएकी थिई
दोस्रो बच्चाकी आमा बनिसकेकी
मेरी ६० वर्षीय श्रीमती
तेस्रो बच्चा जन्माउँदै नजन्माई मरी

प्रसव बेथाले थलिएर एम्बुलेन्स अवरोध भएको ७ दिनपछि
मेरी श्रीमती मरी
मेरी श्रीमती भुँडीमै बच्चा राखेर मरी
सास्ती गरी–गरी भुँडीमा बच्चा बोकी
र,
जन्माउने बेलामा पुगेर जन्माउँदै नजन्माई मरी

सायद,
अप्रेशन थिएटरमा छिर्नुअघि
उसले आफू बाँच्दिन ठानी छ कि के हो ?
आफ्नो बच्चालाई पेटमै मार्नुपर्ने अवस्थामा पुर्‍याउने
‘संविधानसभा–संविधान’ पनि मरोस् लागेछ कि के हो ?
भनेकी थिई–संविधानसभा संविधान नै नबनाई भङ्ग हुन्छ
अन्तिम कुराकानी पछि अप्रेशन थिएटरमा
छिरेकी मेरी श्रीमती फर्किन, त्यही मरी
हाम्रो बच्चा पनि उसकै भुँडीमा मर्‍यो
जन्मिदै नजन्मिई मर्‍यो
तर, जन्मिने समयमा आएर मर्‍यो

मेरी श्रीमती मरी के दुःखी हुनु ?
मेरा २ वच्चा टुहुरा भए,
तिनीहरुका आमा मरिन् के दुःखी हुनु ?
पुरै ३ करोड नेपालीको आशा मर्‍यो ,
सपना र भविष्य मर्‍यो
को दुःखी हुनु ?

तस्वीरः एजेन्सी ।

यो कविता इन्द्रध्वज क्षेत्रीको स्वरमा सुन्नको लागि: http://soundcloud.com/indra-dhoj-kshetri/ihqhlixxzaia Mero Report link: http://meroreport.net/profiles/blogs/6365517:BlogPost:79974