म सदैब तपाईको प्रतीक्षामा
तपाई आउने बाटो हेरेर बसेको हुनेछु !
मलाई थाहा छ, तपाई आउनु हुनेछ र
मलाई आफ्नो बनाउनु हुनेछ !!!

Saturday, June 30, 2012

मलाई मन परेकी केटी

म भोटाहिटी चोकमा थिएँ, कालो छाता ओढेर चारैतिर आँखा डुलाउँदै थिएँ । त्यस्तै दिउँसोको २ जति बजेको थियो । गर्मी ज्यादै थियो, टाउको माथी छाता त थियो तर त्यो माथीको चर्को घामले मेरा तालु निरन्तर पोलिरहेको थियो । जेठ महिनाको घाम के खपी सक्नु हुन्थ्यो र ? करिब पौने घण्टाको मेरो समय त्यही चोकमा बितिसकेको थियो ।

सडक सुनसान जस्तै थियो, छिट्टफुट्ट गाडी मात्रै सडकमा हुँइकिई रहेका थिए । नेपाल बन्द थिएन, हुने कुरा पनि थिएन । मानिसहरु आउँदै–जाँदै गर्दै थिए । एउटा कुनोमा म थिएँ, केही मानिसहरु मलाई हेर्दै जान्थे । मलाई भने उनीहरुले गिज्याएको जस्तो लाग्थ्यो र मुन्टो निहु¥याउँथे, कैदीलेझैं ।

म वास्तबमा पाटन जाँदै थिए, कामले । र, गाडी कुर्दै थिएँ । गाडी आएकै थिएन । हिडेरै जाउँ जस्तो लागेको थियो तर भोटाहिटीबाट पाटन धेरै टाढा भएकोले त्यो आँटै आएन । त्यसो त म गाडी एकदमै कम चढ्ने मान्छे, गाडी चढ्यो कि पैसा खर्च हुन्छ भनेर म जहाँ पनि हिडेरै पुग्थे । तर, भोटाहिटीबाट पाटनसम्म हिड्नुपर्दाको कल्पनाले अत्यास लागेपछि त्यो सोंच मेरो दिमागबाट हराएको थियो ।

सडकमा एउटा गाडी देखा प¥यो, सार्वजनिक यातायात । गाडी म भएतिरै आउँदै थियो । गाडी देखेर म त तीनछक ! त्यस्तो गाडी त मैले आजसम्म देखकै थिइन । मैले गाडी कुरेपछिको लगभग एकघण्टाको समयपछि आएको त्यो गाडी त दुईतले पो थियो । गाडी पनि दुईतले हुँदो रहेछ घर जस्तै भनेर मलाई यसअघि थाहा थिएन ।

गाडी पाटनतिरै जाँदै थियो भन्ने थाहा पाएपछि म गाडीमा उक्लिएँ । लौ ! अचम्म । गाडीको मुनि तलाको त सबै सिट टम्मै पो भरिएका रहेछन् । ‘भ¥याङ चढेर माथी जाउ’ भनेर त्यहाँका एक यात्रुले इशारा गरेपछि म भ¥याङ चढेर गाडीको ‘चोटा’मा गएँ । गाडीको चोटामा पुगेर यसो चारैतिर नजर फैलाएपछि म एक केटी भएको सिट नजिक पुगे, जहाँ एकसिट खाली थियो । म त्यही बसें ।

गाडी बिस्तारै चल्न सुरु ग¥यो । म गाडीको आकार–प्रकार र स्वरुप नियाल्नमै तल्लिन भएँ, केहीबेर । सँगै सिटमा बस्ने केटी झ्यालबाट बाहिरको दृष्य नियाली रहेकी थिई । मैले उसलाई हेरेपछि अड्कल काँटे–लगभग केटी मेरै उमेरको हुँदी हो । केटीलाई यसो नियालेर हेरें–केटी त बिछट्टै राम्री पो रहिछे । सलक्क परेका कपाल, गोरो अनुहार, गाजलभित्र लुकेका सुन्दर आँखा, पुष्ट छाती, रातो टीका ठूलो निधारमाथी, आहा ! कति राम्री ? मेरो मन नै अमिलो भएर आयो ।

दरबार हाई स्कुल पढ्दी रै’छ, हाम्रो कुरोकानी सुरु भो । म भन्दा सानो कक्षामा पढ्दी रहिछे, नत्र त म पनि त्यही पढ्ने, मैले चिन्नुपर्ने ! भर्खरै मात्र स्कुल सुरु गरेकी रै’छ, त्यसैले कसैलाई नचिन्ने रै’छे । उसले त्यतिखेर स्कुलभरीमै चिनेको भनेको ‘देवकोटा’ सर मात्रै रहेछन्, त्यो पनि सरको थर मात्रै थाहा रहेछ, जुन सर स्कुलभरीमै प्रख्यात थिए–सबैले चिन्ने ।

त्यो केटीसँग म केही नजिक भएँ, निसंकोच केटीसँग टाँस्सिएँ । केटीले पनि अप्ठ्यारो मानिन । केटीको हात समातेर मैले सोधे–‘तिम्रो नाम के हो ?’ उसले उत्तर दिई–‘सम्झना ।’ सम्झनाले आफ्नो गर्धनमा ओढिराखेको खास्टो झिकी र काँखमा राखी । साँच्चै सम्झना साह्रै सुन्दर थिई, उसका अंगहरु पनि उत्तिकै सुन्दर थिए । गर्मीले उनका कोमल अंग पसिनाले भिजेका थिए । सम्झनाले चोलीभित्रका भिजेको अंग छोडेर त्यसमाथीका अंगको पसिना खास्टोले पुछ्न थाली ।

गाडीबाट मानिसहरु चढ्ने र ओर्लिनेक्रम चलिरहेको थियो । गाडीमा केटी मान्छे एकदमै कम चढ्थे, चढेका पनि निकै फोहोरी देखिन्थे । तिनीहरुका शरीरमा जताततै नसुहाउँदो र फोहोरी देख्नेगरी रौंहरु उर्मिएका देखिन्थे । तर, सम्झना फरक थिई, निख्खर राम्री ।

गाडीमा चढेका केटाहरुले लुकिलुकी हाम्रो सिटमा आँखा लाउँथे । सायद, सम्झनाको जवानीले तिनीहरुलाई कुत्कुत्याउँदो हो । बिहे नगरेकी कुमारी केटी थिई–सम्झना, क्षत्री घरानको । मलाई पनि सम्झनाको जवानी देखेर इश्र्या लागिरहेको थियो ।

सम्झना पुनः झ्यालबाट बाहिरका दृष्यहरु नियाली रहेकी थिई । दुईतले बसको चोटामा बस्दा त निकै माथी आकाशमै बसे जस्तो लाग्ने रहेछ । बाटाका घरहरु, रुखहरु होचा–होचा देखिने । मानिसहरु त झन् सडकमै बिलाएझैं लाग्दा रहेछन् । बस बिस्तारै गुडिरहेको थियो ।

बसले माइतीघर हुँदै बाग्मती पुल पार ग¥यो । आहा ! कति सफा खोला ? बसमा भएका जति सबैले एकपटक खोलातिर हेरेर दर्शन गरे । बस कुपण्डोल पुगेर रोकियो । सम्झनाको ओर्लिनेबेला भएछ ! मलाई इशारा गरि, मैलो आफ्नो खुट्टो अलिकति सारिदिएँ । ऊ ओर्ली । बस फेरि आफ्नो दिशामा हुईंकियो, मलाई भने सम्झना ओर्लेपछि यात्राभरी खल्लो लागी रह्यो ।

–‘मैले जिन्दगीमा सम्झना जस्ती राम्री केटी देखेकी थिइन्, बुझिस् बाबु ? यो कुरा प्रजातन्त्र आउनुअघिको हो । अर्थात् २००७ सालअघिको, जतिबेला मुलुकमा भित्रभित्रै प्रजातन्त्र ल्याउने चलखेल भइरहेको थियो । हो, त्यहीबेला तेरा बाउ मेरो २ महिने गर्भमा थियो ।’ यति भन्दै मेरी हजुरआमाले आफूले लगाएको ठूलो–गोलो चस्मा फुकाल्नु भयो र नजिकैको चकटीमा राख्नुभयो ।

अनि, भित्तालाई आड लगाउँदै उठेर दराजको ऐनासम्म पुग्नुभयो र निधार खुम्च्याएर आफ्नो बुढ्यौली उमेर ऐनामा हेर्नुभयो । सायद, बुढ्यौली आँखाले देख्न सक्नु भएन कि के हो ? आँखा मिच्नु भो र पुनः ऐनामा हेर्नु भो अनि झरिसकेका दाँत देखाएर खिसिक्क हाँस्नु भो ।

–‘ म त्यतिबेला १५ वर्षकी थिएँ, तेरा हजुर’बा २६ वर्षका थिए । तेरा हजुर’बा पनि बिछट्टै राम्रा थिए, त्यतिबेला ।’ हजुरआमाको आँखामा अचानक आँसु टिल्पिलाए ।

–‘अनि हजुरआमा त्यो सम्झना भन्ने केटीलाई अर्कोपटक फेरि भेट भएन ?’ मैले बच्चाले जसरी नै प्रश्न गरिदिएँ ।

–‘भयो नाती, भयो । त्यसैसँग भेट भएर त मैले यस्तो दुःखको जिन्दगी बिताउनु प¥यो नि ।’
–‘कसरी, हजुरआमा ?’
–‘त्यो सम्झना, त्यही भेटको केही समयपछि तेरी कान्छी हजुरआमा बनेर घरमा आई । अर्थात् मेरो सौता भएर !’




No comments:

Post a Comment