म सदैब तपाईको प्रतीक्षामा
तपाई आउने बाटो हेरेर बसेको हुनेछु !
मलाई थाहा छ, तपाई आउनु हुनेछ र
मलाई आफ्नो बनाउनु हुनेछ !!!

Friday, June 15, 2012

मापसे चेकिङ ? ‘नो प्रब्लम !’



मेरो एकजना साथी छ, प्रमोद । प्रमोद एकताका फिल्म हलमा ‘क्यारिएर’को काम गथ्र्यो । हलको कर्मचारी उसको काम भनेको एउटा हलबाट अर्को हलसम्म फिल्मको ‘रिल’ पु¥याउने थियो । यतिसम्म सुन्दा त ठीकै थियो । तर, उसको काम निकै जटिल थियो । फिल्मको बीचमा हुने १० मिनेटको ‘ब्रेक’भित्र उसले रिल अर्को हलमा पु¥याईसक्नु पथ्र्यो ।

राजधानीमा हुने चर्को जामको मार प्रमोदले राम्ररी अनुभव गरेको थियो । गोपीकृष्ण हलबाट १० मिनेटमा मोटरसाइकलमा ग्वार्को (गुणहल)सम्म पुग्न उसले कहिले–काँही गरेको तीकडम सुनाउँदा हामी हाँस्थ्यौ । प्रमोदले अर्को हलसम्म पुग्न छानीछानी छोटकरी बाटोहरुको प्रयोग गथ्र्यो रे ! तर, यो कुरा धेरै अघिको हो । अहिले त प्रमोदले त्यो जागिर छोडिसक्यो ।

एकदिन प्रमोद हामीलाई भेट्न आएको थियो । कामबाट फुर्सद निकालेर उ बेलाबेलामा हामी (साथीभाइ)लाई भेट्न आउँथ्यो । अनि, हामी चाबेल स्तुपाको ‘पासा’को पसलमा चिया पिउँथ्यौ । त्यसदिन पनि त्यस्तै भयो, प्रमोदले ‘हट लेमन’ अर्डर ग¥यो । त्यस पसलको हट लेमनलाई प्रमोद हाजमोला भन्थ्यो, जुन उसको ‘फेभरेट’ थियो । बास्तबमा बुद्ध स्तुपाभित्र बसेर हटलेमन पिउँदाको मजै बेग्लै थियो ।

–‘राँडीका बान ! ट्राफिकले समात्यो, मलाई हिजो ।’ प्रमोदले सुनायो ।
–‘काँ ?’ कसले पो सोधेको थियो, अहिले मलाई ठ्याक्कै हेक्का भएन ।
–‘चाबेलचोकमा नि ! ग्वार्को जान लागेको थिएँ, लाइसेन्स ले भन्दै समात्यो ।’
–‘अनि के गरिस् त ?’ मैले सोधे । मलाई थाहा थियो, प्रमोदले लाइसेन्सबिनै लामो समयदेखि बाइक कुदाउँदै आएको थियो ।
–‘के गर्नु नि ? केही उपाय देखिन र गुहार–गुहार भन्दै बीच सडकमै क्वाँक्वाँ रोइदिएँ, ट्राफिकले मलाई हातपात ग¥यो भन्दै रोएजस्तो गरिदिएँ ।’
–‘अनि ?’
–‘त्यसपछि के भयो भन्दै मान्छेको भीड बढ्यो, गाडी जाम हुन थाल्यो, भीडले ट्राफिकको कुरा सुन्दै सुनेन र सबैले मलाई साथ दिन थाले । अनि, ट्राफिकले आजित भएर मेरो खोसेको चाबी दियो र जान भन्यो ।’
–‘हा हा हा हा हा हा ।’ हामी सबै हाँस्यौ, एकैपटक ।

प्रमोदले कामका सिलसिलामा अपनाएका यस्ता तीकडम त कति थिए, कति ? प्रायःजसो उसले ट्राफिक र बाइक हुँकाइको प्रसंग सुनाउँथ्यो । मान्छेका घरका पेटीपेटीबाट बाइक नकुदाएको दिन हुँदैनथ्यो–त्यतिबेला, यो उसकै अनुभव थियो । ऊ आफूले आफूलाई बाइक कुदाउन र ट्राफिक छक्याउन माहिर ठान्थ्यो ।
–‘ट्राफिकसँग बच्ने त कति उपाय छन्, छन् ?’ ऊ भन्थ्यो ।

केही दिनअघिको एकसाँझ हामी गणेशथान तलको विनायक नेवारी खाजा घरमा थियौं । त्यस होटेलको नाम मात्रै ‘विनायक नेवारी खाजा घर’ हो, वास्तवमा त त्यो ‘विनायक नेवारी रक्सी घर’ हो । हामी पनि रक्सी पिउन छिरेका थियौं । हामी भनेको प्रमोद र म त भईहाल्यौं । अर्को एकसाथी थिएँ, जसको नाम जीवन साथी हो ।

हामी रक्सी पिउँदै थियौं, बेलुकीको साँढे सात भईसकेको थियो । साथी, जीवनसाथीका पनि अचम्म–अचम्मका प्रसंग छन् । उसले एकदिन एक अफिसको हाकिमनीसँग कुरा गर्न अफिसको रिसेप्सनमा फोन गरेछ । रिसेप्सनिष्टले फोन उठाएर साथीको नाम सोधिछ–‘जीवनसाथी ।’ साथीले आफ्नो भनेको मात्रै के थियो रे रिसेप्सनिष्टले त तथानाम फलाक्न थाली रे !
–‘तपाईहरुलाई लाज लाग्दैन, यसरी अफिसमा फोन गरेर जिस्किन ?’
–‘तपाईहरुका दिदी, बहिनी, आमाहरु छैनन् ?’ गर्नुसम्म गाली गरेर रिसेप्सनिष्टले फोन काटिदिइछ, बिचरा ! जीवनसाथीले चुक्क बोल्न समेत पाएन छ । जीवनसाथीले आफ्नो नामकै कारण कति ठाउँमा गाली खाएको म स्वंयले समेत प्रत्यक्ष देखेको छु । जुनै स्थानमा पनि परिचय गर्दा आफ्नो नाम भन्नै प¥यो । नाम, जीवनसाथी भन्यो कि सबैले नाक खुम्चाउने, केटीहरुले त झन् झपार्न समेत बाँकी नराख्ने ।

यस्तै–यस्तै एकअर्काका अनुभव सुन्दै–सुनाउँदै हामी रक्सी पिइरहेका थियौं । यतिबेलासम्म हामीले ३ क्वाटर नेवारी रक्सी, ५ वटा चुरोट, तीन’टा माछा, एक–एक प्लेट उसिनेको खशीको टाउको र पाङ्ग्रा अनि तीन’टा पापड बुत्याईसकेका थियौं । हाम्रा स्वर बिस्तारै लरबरिदै थिए भने हरकतहरु पनि बरालिदै थियो ।

मैले छैटौं चुरोट सल्काउँदै गर्दा ढोकाबाट गोविन्द वर्तमान छिरेको देखें । यी साहित्कार बुढादेखि मलाई भित्रभित्रै डर लाग्थ्यो । एकपटक हामी साथीसाथी कुरो गरिरहेको बेला उनी हामीसँग कुरो गर्न आए, ज्यादै मात्तिएको अवस्थामा । र, तात्तो न छारोका तर्कहीन कुरा गरे । त्यहीबेला देखि म यिनीसँग चेतेको थिएँ । बुढा सरसर्ति ‘आफ्नो बेन्च’तर्फ अघि बढे, मैले हल्का टाउको निहु¥याएँ–देख्लान् कि भनेर ।

गोविन्द वर्तमान छिरेको पाँचै मिनेटजतिपछि अर्का लेखक पनि त्यही छिरे–खगेन्द्र संग्रौला । हो, यो होटलमा साहित्यकार, प्रोफेसरहरुका बेला–बेला जमघट हुने गर्छ । त्यसमा पनि खगेन्द्र संग्रौला र गोविन्द वर्तमान त होटलका ‘रेगुलर’ ग्राहक नै हुन्, म जस्तै । खगेन्द्र बुढा चुरोट अति तान्ने, छिनछिनमा नयाँनयाँ चुरोट सल्काउने उनको आदतै हो । खगेन्द्र बुढा लेखनमा जति खरो छन्, त्यो भन्दा बढी खरो त उनी शान्त भएर बसेको बेला लाग्थ्यो, मलाई । रक्सीले नलाग्नुजेल खगेन्द्र बुढा खासै बोल्दैनन् । ख्याउटे अनुहारका बुढा बुङबुङ्ती चुरोटका धुँवा उडाउँदै कता–कता, के–के सोचिरहेकाझैं देखिन्छन्, प्रायः त्यस ‘विनायक नेवारी रक्सी घर’मा ।

हामी तीनै जना ‘झ्याप’ भयौं । म र जीवनसाथीको तुलनामा प्रमोद अलिकम झ्याप भएजस्तो थियो । मैले अझै थपौं भन्दै थिएँ, प्रमोदले इन्कार ग¥यो । जीवनसाथी त १० मिनेट अघिदेखि नै टेबलमा घोसेमुन्टो लाएर बसेको थियो ।
–‘अब ठमेल जाऔं, मसाज गर्न । प्रमोदले प्रस्ताव राखेको थियो ।
–‘हट ! नजाने ।’ मैले ठाडै अस्वीकार गरिदिएँ ।
–‘त्यसो भए डान्स जाउँ न त ।’
–‘ह्याँऽऽऽ पर्दैन, अब घर गएर सुत्ने हो ।’ मलाई कतै जानै मन थिएन ।
–‘डान्स जाने भए म पनि जान तयार ।’ जीवनसाथीले लरबरिएको स्वरमा बोल्यो । अन्ततः डान्स जानेमै बहुमत पुगेपछि म हारें, मैले उम्किन पाईन ।

होटलको बिल प्रमोदले ति¥यो । बिल तिर्ने बेलामा म जहिले जहाँ पनि ट्वाईलेट लागेको बहानामा ट्वाईलेटतिर छिर्छु । म ट्वाईलेटबाट निस्कदा दुबैले बाइक स्टार्ट गरिसकेका थिए । मैले प्रमोदलाई ड्राइभर बनाएर आफू यात्रु बन्ने बिचार गरे । मेरो बाइक छैन, चलाउन पनि आउँदैन । हामी हुईंकियौ । प्रमोदले बाइक गौशला हुँदै अघि बढायो ।
–‘किन यति लामो घुमाको, सिधै नगएर ?’ कालोपुल हुँदै गएको भए हुन्थ्यो भन्ने मेरो आशय थियो ।
–‘गौशालामा तिघ्रा र दूध देखाएर ग्राहक कुर्दै बसेका छडौंलीहरुलाई हेर्न मजा आउँछ नि ! यार ।’ यति भन्दै प्रमोदले बाइकको गति तेज ग¥यो ।

द्धारिका होटल कटेको मात्रै थियो, प्रमोदले बाइक हस्याङ–फस्याङगर्दै निलोपुल निस्कन मिल्ने गल्लीतिर हुल्यो । र, केही पर पु¥याएर रोक्यो अनि चुरोट सल्कायो । जीवनसाथी पनि आइपुग्यो ।
–‘किन यता छिराको ?’
–‘तेराबाजे, चेकिङ देखिनस्, त्याँ ।’ प्रमोदले मलाई झपा¥यो ।
–‘यो ‘मापसे’ चेकिङले आज दुःख दिन्छ कि के हो ?’ जीवनसाथी निराश हुँदै थुचुक्क भुईंमा बस्यो ।
–‘केही हुँदैन, यस्तो त मैले कति भोगेको छु, भोगेको छु ।’ प्रमोदले आश्वस्त पार्न खोज्यो ।
–‘मुजी ! जति भोगे पनि एकपटक समात्यो भने सक्कि हाल्यो नि ! मुख गनाई हाल्छ क्यारे ।’ जीवनसाथी जंगियो ।
–‘त्यस्तो हुँदैन, खुरुक्क अगाडि हेरेर बाइक कुदा न, जहाँनेर चेकिङ देखिन्छ, त्यसको वरैबाट म बाइक घुमाउँछु । अनि, तँ पनि गुमाई हाल ।’ प्रमोदले उपाय सिकायो ।
–‘त्यसो गर्ने र ?’
–‘हैन, सिधै ट्राफिक भा ठाउँमा गएर आत्मसमर्पण गर्ने । मुजी ! जाँड खाएर हिड्नु छ, त्यसो गर्ने र, यसो गर्ने र ? भन्छ ।’ यसपटक प्रमोदले जीवनसाथीलाई थर्कायो । मलाई हाँस उठ्यो, हाँसे ।
–‘केहीगरी ट्राफिकले भेट्टाई हाल्यो भने ?’ जीवनसाथीले मलाई चुरोट ‘पास’ गर्दै प्रश्न तेर्सायो ।
–‘यी यस्को के काम ? सुन, ‘यस्तो’ गर, बुझिस् ?’ प्रमोदले मलाई केही जुक्ति सिकायो ।

हामी ठमेलको एउटा डान्स रेष्टुरेन्टमा पुग्यौं । जहाँ चर्को आवाजमा हिन्दी गीत घन्किरहेको थियो । नृत्यङ्गनाहरु नृत्य कम अंगप्रदर्शन बढी गरिरहेका थिए । यसअघि हाम्रो बाइकले धेरैपल्ट ‘घुम्ने’ र ‘गल्ली छिर्ने’ काम गरेको थियो । हामी डान्सबारबाट लगभग आधा घण्टामै बाहिरियौं, तीनजनाले एउटा वियर पिएर ।

प्रमोद बेलाबेलामा आफ्नो ‘आइडिया’ले काम गरेको भन्दै कुर्लिदै थियो । जीवनसाथीको बाइकतिर फर्केर चर्को ‘हर्न’ बजाउँथ्यो । जीवनसाथीले पनि मलिन ‘हर्न’ बजाउँदै हर्नको जवाफ हर्नबाट दिन्थ्यो ।
–‘बुद्धि हुने मान्छेलाई कसैले जित्न सक्दैन, मापसे चेकिङ त आइडिया नभएका त्यो जीवनसाथीहरु जस्ताको लागि हो ।’ प्रमोदले एकपटक गर्वका साथ पछाडि फर्केर हे¥यो र हर्न बजायो । उताबाट पनि उत्तर आयो–‘टिँटटिँट ।’
अचानक एउटा अँध्यारो–अँध्यारो स्थानमा बाइक ‘झ्याप्प’ रोकियो । यसो टाउको उठाएर हेरेको त वरिपरि हरिया बर्दीधारी ट्राफिकै–ट्राफिक पो रहेछन् । लौ ! बित्यास पर्ने भो ।
–‘काँ जान लाग्या ?’ एउटा ट्राफिकले सोध्यो ।
–‘हस्पिटल हजुर ।’ मैले उत्तर दिएँ । प्रमोदले हेल्मेट फुकालेन र बोल्दा पनि बोलेन, टाउको निहु¥याएर बसिरह्यो ।
–‘के रे ?’ ट्राफिकले फेरि सोध्यो ।
–‘टिचिङ हस्पिटल जान लाग्या हजुर, उहाँको श्रीमतीलाई भर्खरै इर्मेजेन्सीमा लगिएको रैछ । त्यही भएर हामी दुई समेत उहाँको लागि हिडेंको ।’ मैले पछाडिको बाइक पनि हाम्रो हो भन्ने जनाउनेगरी ट्राफिक समक्ष आत्तिदै बोलें ।
–‘साँच्चै हो ?’
–‘हो, सर ।’ प्रमोदले झोक्राउँदै बोल्यो ।
–‘कहाँबाट आ’को ?’ ट्राफिकले फेरि प्रश्न तेर्सायो ।
–‘कामबाट ।’
–‘कस्तो काम ?’
–‘न्यूज लेख्ने काम हजुर ।’
–‘कार्ड छ ?’ मैले हतार–हतार ‘प्रेसपास’ देखाईदिएँ । ट्राफिकले एक–एक पढ्यो र जान अनुमति दियो । हामी अघि बढ्यौं । त्यति बोल्दा ट्राफिकलाई हाम्रो मुख गनायो कि गनाएन थाहा छैन । तर, हामीले भने यसअघि नै बाइक रोकेको ठाउँमा ‘माउथ स्प्रे’ छर्केका थियौं, प्रमोदले भने बमोजिम । माउथ स्प्रे सधैं खल्तीमा बोकेर हिड्ने प्रमोदको पुरानै बानी हो । बास्तवमा प्रेसपास पनि मसँग मात्रै थियो । साथीहरु त अर्कै पेशाको उनीहरुसँग हुने कुरै भएन । ट्राफिकले साथीहरुको पनि प्रेसपास खोजेको भए त्यहाँ पुनः अर्को ‘कथा’ रच्नुपथ्र्यो ।

हामी त्यसरी त्यहाँबाट उम्किएका थियौं । अर्को एक ठाउँमा पनि हामी त्यसैगरी फसेका थियौं । त्यहाँ भने ‘मलामी’ हिंडेको ‘आर्यघाट’ भनेर उही पूरानै शैलीमा मैले प्रेसपास देखाएपछि ट्राफिकबाट बचेका थियौं । यस्तो ‘जुक्ति’ (तीकडम) भने उही प्रमोदले सिकाएको थियो, मलाई । द्धारिका होटलबाट भित्र छिरेको गल्लीमा, जहाँ हामीले बाइक रोकेर चुरोट तानेका थियौं ।

लौ ! हाम्रो बाइक त रविभवन पो पुगेछ, पत्तै भएन मलाई त । पछाडिबाट जीवनसाथी हर्न बजाको बजाकै थियो, प्रमोदले कुनै प्रतिक्रिया दिएको थिएन ।
–‘ओई, हामी कता जान ला ? मैले जिज्ञासा राखें ।
–‘मलेखु ।’
–‘किन, १० बजिसक्यो, के गर्न जाने ?’
–‘माछा, भात खान ।’
–‘ह्याँऽऽऽऽऽऽ ।’ मलाई रिस उठ्यो ।
–‘तँ चुप लागेर बस न, बाइक कुदाउने म छँदैछु, तँलाई जतिखेर भएपनि घरमा लगेर छाडिदिए भएन ?’ प्रमोदले यत्ति भनेपछि मैले बोल्ने ठाउँ पाइन ।
–‘मलेखु जाने रे, खाना खान ।’ मैले जीवनसाथीलाई जानकारी गरिदिएको थिएँ । जीवनसाथीलाई पनि प्रमोदको कुरा चित्त बुझेनछ क्यारे, टाउँको बटार्दै थियो ।

प्रमोदले बाइक छलाउन खोज्दा–खोज्दै पुनः एकपटक हामी ट्राफिकको घेरामा परिहाल्यौं । कंलकीको चोकमा त ट्राफिकको जत्थै हुने रहेछ, त्यतिमात्रै हो र ? त्यहाँ त पुलिसको पनि एउटा जत्था तैनाथ रहेछ ।
–‘साला ! भाग्न खोज्छस् ?, ओर्ली ।’ एउटा ट्राफिकले बाइकको चाबी खोस्दै धम्कायो । हामी बाइकबाट ओर्लियौं । पुलिसहरु हाम्रा नजिक आए, प्रमोदले उही पुरानै शैलीमा घोसेमुन्टो लगाउन सुरु ग¥यो ।
–‘काँ जान ला ?’
–‘हस्पिटल ।’
–‘कसलाई के भो ?’
–‘उहाँको श्रीमती इर्मेजेन्सीमा...........।’ मैले उही पुरानै डाइलग दोहो¥याई दिएँ । प्रमोदले भने मलाई चिमोट्दै थियो । मैले हामी आएको बाटोतिर एकपटक हेरेको थिए–ला ! जीवनसाथी त थिएन । कतिखेर हामीलाई छोडेर टाप कसिसकेछ ।

–‘श्रीमतीको नाम ?’
–‘सम्झना ।’ मैले प्रमोदको प्रेमिकाको नाम भनिदिएँ । बिहे त हामी कसैको भएकै छैन नि !
–‘अनि घरमा को–को छन् ?’ पुलिसले प्रमोदलाई इंगितगर्दै सोध्दै थियो, उत्तर भने म दिंदै थिएँ ।
–‘घरमा ३ जना दाजु, बुबा, आमा र एकजा फुपु ।’ मैले ढिलाई नगरी प्रमोदको परिवारको बारेमा बताईदिएँ ।
–‘अनि, दाइको नामहरु भनिदेउ न त ।’
–‘सरी दाजु ।’ भन्दै प्रमोदले कान समात्यो । त्यसपछि मेरो सातो गयो । वास्तबमा म प्रमोदका अन्य परिवार चिने पनि ठूल्दाई भने चिन्दिन थें, उहाँ पुलिसमा इनिस्पेक्टर हुनुहुन्छ भन्ने मात्रै थाहा थियो, जो तिनै इनिस्पेक्टर लक्ष्मी भट्टराई थिए, जसले हामीलाई प्रश्न सोधिरहेका थिए भन्ने चाँही मलाई थाहा थिएन । त्यसपछि त म चुप !
–‘श्रीमती हैन, श्रीमतीको नाम सम्झना हैन ? ल ! यिनीहरुलाई भ्यानमा कोच्नु ।’ यति भनेपछि प्रमोदको दाइ बाइकतिर लागे । हामी भने त्यस रातभर पुलिसचौकीमा ।




No comments:

Post a Comment