म सदैब तपाईको प्रतीक्षामा
तपाई आउने बाटो हेरेर बसेको हुनेछु !
मलाई थाहा छ, तपाई आउनु हुनेछ र
मलाई आफ्नो बनाउनु हुनेछ !!!

Saturday, January 29, 2011

कविता - बलात्कृत भएकी छे ऊ - लेखन मितिः२०६७÷१०÷१५

 कविता
                                  बलात्कृत भएकी छे ऊ
ऊ नाबालिग हो
उसका शरीरका अंगहरु
मौलाई सकेका छैनन्
एउटा वैशालु तरुनी जस्तो
मादक उसको रुपमा छैन
ऊ एक्ली पनि हैन
पूरै तीन करोड मानिस
उसका अभिभावक हुन्
अर्थात् तीन करोड मानिसका
एक्ली आशा लाग्दी सन्तान हो–ऊ
तिनीहरुकी सपना हो
भविष्य हो
भाग्य विधाता  हो

कम्तिमा डेढ करोड अभिभावकको
प्रत्यक्ष निगरानीमा जन्मिएकी छे–ऊ
हुर्केकी छे, बढेकी छे
तर, अफसोच !
एउटा निर्जिव चुरोटको भन्दा
बढ्ता जिन्दगी उसको छैन
चुरोटको ठूटो सल्किए झैं
सल्किएकी छे–ऊ
कहिले एउटाको हातमा
कहिले अर्केको औंलाको कापमा
लुछाचुडी भैरहेछ–उनको
पलाउनै बाँकी रहेका
बक्षस्थलका मुन्टाहरु
हो, विक्षिप्त भएकी छे
रगताम्य आफ्नो योनीलाई
ललीपप र चुइङ्गमहरुमा
सम्झौता गरिरहेकी छे
सहमति गरिरहेकी छे
सिङ्गो चुरोट सबैले बाँडेर पिए झैं
जलिरहेकी छे–ऊ
छोट्टिरहेकी छे

तीन करोड उनको आफन्तले पनि
केही गर्न सकेनन्
हुर्काउन सकेनन्–स्याहार गर्न सकेनन्
गर्न नखोजेका त होइनन्, आफन्तले
तर, त्यही तीन करोडभित्र
केही भिजिलान्ते छन्
ठ्याक्कै २६ जना त्यस्ता छन्
जो बलवान छन्
जसले सबैलाई सर्कसको
चटकी बनाएका छन्
रौं समेत नउम्रेको उनको
योनीको रस पिएर
विजय उत्सव मनाएका छन्
अनि उद्यत छन्–उनको हत्या गर्न
हुतिहाराहरु !
पाल्न सकेनन्
फाल्न तम्सिएका छन्

लघुकथा सहिद लेखन मितिः२०६७÷१०÷१५

लघुकथा
                                     सहिद

         एकाविहानै सहरभरि नराम्रो खबर फैलियो–‘गाडीले किचेर मान्छे मा¥यो ।’ मन दुखित भयो–मेरो । मान्छे मर्नु राम्रो पटक्कै होइन । त्यो पनि दूघर्टनामा ज्यान जानु अझ नराम्रो हो । एकैछिनमा अर्को समाचार आयो–‘उत्तेजित भीडले पसल फोडे । टायर बाले । सडकमा गुडेका गाडी रोकेरै जलाउन थाले ।’ दिनभरी यस्ता थुप्रै घटना सञ्चार माध्यममा आए । मानिसले गफ्फिने बाटो पाए ।
          भोलिपल्ट घटना बिस्तृतमा थाहा भो ।  पैदल यात्रुलाई ठक्कर दिएर गाडी भागेछ । अस्पताल लाँदालाँदै घाइतेको बाटोमै मृत्यु भएछ । त्यसपछि जनता सडकमा उर्ले । आफन्त शोकमा मग्न । अझ चुरो कुरो एउटा राष्ट्रिय राजनीतिक पार्टीले मारिने ब्यक्ति आफ्नो पार्टीको सक्रिय कार्यकर्ता रहेको जनायो । पूरै राजनीतिक कार्यकर्ता सडकमा उत्रिए । लास सडकबाट उठ्न सकेन । हत्याराको पहिचान र कारबाही नभए सम्म लास कसैलाई पनि उठाउन नदिने अड्डी प्रदर्शनकारीले लिए । पुलिस आयो–अश्रुग्याँस प्रहार भयो । डुङ्गा र डुङ्गाका टुक्राहरु पूरै सडकैभरि छरिए । टायरको धूवाँले सहर पूरै कालो भयो । तैपनी भीड मत्थर भएन–झन् उग्र भयो । भीडको आवाज अझ चर्को भयो ।
                           “हत्यारालाई कारबाही गर ।”
                            “मर्नेलाई सहिद घोषण गर ।”
          अन्ततः सरकार निरीह भयो । मर्नेलाई सहिद घोषण गर्न राजी भयो । आफन्तलाई क्षतिपुर्ति स्वरुप दश लाख रुपैया उपलब्ध गराउने सरकारले प्रण ग¥यो र दोषीलाई कारबाही गरी छाड्ने प्रतिबद्धता जाहेर ग¥यो । त्यसपछि उत्तेजित भीड विजय उत्सव मनाउँदै क्रमशः सेलायो । पुलिसले लासको मुचुल्का उठायो । छानबिन ग¥यो । घटना घटेको एघारौं दिनको दिन पुलिसले घटनाको प्रतिवेदन सार्वजनिक ग¥यो–पत्रकार सम्मेलन गरेर । अन्य कुराहरु राखी सकेपछि प्रहरी प्रवक्ता बोले–“मर्ने ब्यक्तिको साथबाट प्राप्त यो पत्र तपाईंहरु सामु राख्दै छु ।”
            म चण्डीप्रसाद त्रिताल । आफ्नो पूरै होसहवासमा यो पत्र लेख्दै छु । मेरो घरमा सधैं हुने घरझगडा र किचलोले मलाई अत्यन्तै मर्माहत बनाईरहेको छ । मेरो तनाब बढाईरहेको छ । उक्त परिस्थितिको सामना गर्न सक्ने क्षमता मैले धेरै अगाडि नै गुमाईसकेको छु । अब मलाई मुक्ति चाहिएको छ । मलाई तनाबबाट उम्किन मन लागेको छ । मैले यसको समाधान पनि सोचिसकेको छु । अब उप्रान्त कथंकदाचित मेरो मृत्यु भएमा त्यसको जिम्मेवार म स्वंयम हुनेछु । अन्य कसैलाई दोषी नठह¥याउन सबैलाई आग्रह गर्दछु । चण्डीप्रसाद त्रिताल, गौशाला, काठमाडौं । हस्ताक्षर । सहीछाप–दायाँ, बायाँ ।

Thursday, January 27, 2011

गजल - लेखन मितिः २०५८ असार

गजल

धेरै बाँचे आजसम्म बाँच्ने अब रहर छैन
मेरो लागि खुशि दिने त्यस्तो कुनै सहर छैन

न दिनहरु साथी भयो न रात नै जाती भयो
मनको भारी बिसाउने त्यस्तो कुनै प्रहर छैन

अनेकथरीका मित्र मेरा धेरैथरीका चित्र
आँसुको निक्षेप लिने सङ्गीको कुनै लहर छैन

धेरै बाटो हेरें मैले धेरै पाटो फेरें मैले
मर्छुनी भन्दा पनि मार्ने कुनै जहर छैन

Wednesday, January 26, 2011

गीत - लेखन मितिः २०६७÷१०÷०९

गीत

आजलाई त देख्यौ–भोग्यौ भोलिको निम्ति साँच्नुपर्छ
आफ्ना लागि बाँच्यौ सबै देशको निम्ति बाँच्नुपर्छ

जाति, भाषा, धर्म, लिङ्ग एउटै रगत रातो
पीता–पुर्खाको आराधना हो नेपाली माटो
हिमाल जस्तै मुलुक बन्न कर्णाली पनि हाँस्नुपर्छ
आफ्ना लागि बाँच्यौ सबै देशको निम्ति बाँच्नुपर्छ


शान्ति, मैत्री, सद्भावको उत्तम एउटै बाटो
आफू–आफै मिल्ने गरौ झगडाको साटो
सफल, समृद्ध राष्ट्र बनाउन ह्रदयदेखि आँट्नुपर्छ
आफ्ना लागि बाँच्यौ सबै देशको निम्ति बाँच्नुपर्छ



Saturday, January 15, 2011

कथा - ब्रेकिङ्ग न्यूज - लेखन मितिः २०६७÷०९÷२९

कथा
                                ब्रेकिङ्ग न्यूज

        “के रे ? यो आइतबार बाँढ्छ रे ? गफै त होला नि ! यस्तो आइतबार त कत्ति गयो–कत्ति ।” –सुविन बोल्यो ।
“हैन, यसपाली त पक्का हो रे ! विज्ञापनको पैसा टन्नै उठाएर ल्या’का छन् रे !” –बिमलले आश्वस्त पार्न खोज्यो । अरु केके गुनगुन गर्दै थिए–दुई जना । तर, यत्ति कुरा आएर आफ्नो कानैमा ठोक्किएपछि काममा तल्लीन रमेश, चनाखो भयो र आफ्नो ‘डेस्क’ बाट ज¥याकजुरुक उठ्यो ।
    “कसले भन्यो ?” –सुविन र बिमल भए ठाउँमा गएर रमेशले प्रश्न ग¥यो ।
    “अघि म, ‘म्यानेजमेन्ट रुम’ को ढोका बाहिर पुग्दा यस्तै हल्ला चल्दै थियो ।” –बिमलले जवाफ फर्कायो ।
    “खै ! आज–आज, भोलि–भोलि भनेको चार–चार महिना भै’सक्यो । खल्ती पूरै रित्तो छ ।” –रमेश मलिन भयो ।
    “मलाई त अझै शंका लाईरा’छ । बत्ति, पानी, टेलिफोन, घरभाडाको बिल टन्नै छ रे–तिर्नु ! हाम्रो भागमा के पर्ला र ?” –रमेशको कुरामा सुविनले पनि आफ्नो कुरा थप्यो ।
    “ह्याँ, के चिन्ता गरि’रा ? छिट्टै सुखद समाचारको ‘फुटेज’ हेर्न पाइन्छ । जाऊँ बरु चिया खान–क्यान्टिनमा ।” –बिमलले दुवैको शंका निवारण गर्न खोज्यो ।
    “तिमेरु जाओ । म त जान्न । सुको न कौडी बजार–बजार दौडी । क्यान्टिनमा पनि थुप्रै भै’सक्यो–तिर्नुपर्ने ।” –यत्ति भनेर बिमल आफ्नो ‘डेस्क’ तिर लाग्यो ।

           आफूले ‘रिर्पोटिङ्ग’ गरेर ल्याएको ‘न्यूज’ टाइप गर्न थाल्यो–रमेशले । बडो स्फुर्तिकासाथ किबोर्डमा औंलाहरु नचाउन सुरु ग¥यो । एकैछिन अघि त्यही समाचार टाइप गर्न अल्छि गर्दै थियो–ऊ । तर अहिले उसका औंलाका वेग उन्मक्त भएका थिए । “आइतबार बाँढ्छ रे !” को प्रभाव उसमा परेको ठोकुवा ऊ आफैंले गर्न लाग्यो । अनुहारमा चमकता थियो, अहिले–अघि एकछिन अगाडिको भन्दा । टोलायो ऊ–सायद सोच्दो हो– “चार महिनाको तलबले यस्तो गर्छु । त्यहाँ तिर्छु । त्यो सामान किन्छु । अलिकति पैसा घर पठाइदिन्छु । अनि, अलिकति पैसा ‘एटिएम’ मा हाल्छु अप्ठ्यारोमा काम दिन्छ ।” किवोर्डमाथि टाउको राखेर घोप्टियो–रमेश एकचोटी । तुरुन्तै टाउको उठायो र बोल्यो– “हात्ती आयो–हात्ती आयो फुस्सा ।” फेरि, आफ्नो समाचार टाइप गर्नतिर लाग्यो–झर्को मानिमानि ।

         “साहुजी, एउटा चुरोट ल्याउनुस् त !” –बुङबुङती चुरोटको धूवाँ उडायो रमेशले–क्यान्टिनमा बसेर । हिजोको दिनको घटना फनफन्ती उसको मगजमा घुम्न लागेको थियो–यतिबेला । ‘न्यूज रिर्पोटिङ्ग’ गर्न कीर्तिपूर पुगेको थियो–ऊ । जाने बेलामा अफिसको गाडीले छोडिदियो । फर्किने बेलामा अफिसको गाडी आएन । समाचार तयार भै’सकेको थियो । उसलाई प्रतीक्षा गाडीको थियो । तर, त्यही गाडी नआउने जनाऊ गाडी चालकले ‘म्यासेज’ बाट दिए । आफ्नो मोबाईल हेरेर एकपटक नराम्रोसँग रन्थनियो–रमेश । चिन्ता उसलाई यो थियो– ‘अब कोठा कसरी जाने ?’ उसको खल्ती रित्तो थियो । अर्थात् आफूसँग भएको पैसा उसले अफिसको गाडीको प्रतीक्षा गर्दा–गर्दै चिया र चुरोटको धूवाँमा उडाएको थियो । उसलाई थाहा थियो–अब ऊसँग पैसा छैन । तैपनी एकपटक आफ्नो मन बुझाउनलाई खल्तीबाट ‘पर्स’ निकालेर हे¥यो र बोल्यो– “यति पैसाले त यहाँबाट बानेश्वर पुगिदैन । फेरि, चुरोट पनि त तान्नु छ ।” आफ्नो मोबाईल निकाल्यो र ‘मिसकल’ मा¥यो, अफिसमा–रमेशले । अनि, फोनको प्रतीक्षा गर्दै एउटा चुरोट किनेर सल्कायो । आफ्नो तनाबलाई कम गर्न खोज्यो । तर, तनाब भने झन्झन् बढ्न थाल्यो । यस्तै महशुस ग¥यो–उसले ।

          कर्मचारीको एउटा धर्म पूरा गर्न खोजेको हो–उसले । आफूले तयार पारेको सामाग्री टिपाईदिन्छु भनेर ‘मिसकल’ गरेको हो–अफिसमा । तर सधैं उताबाट आउने फोन आज आएन । अफिसको चलन नै यस्तै थियो । ‘मिसकल’ गरेपछि फोन आउथ्यो । “तर, आज के भो ?” रमेश चिन्तित भयो । आफैं फोन गर्नलाई पनि ‘मिसकल’ जाने भन्दा बढ्ता ब्यालेन्स नभएको कुरा उसलाई राम्रैसँग जानकारी थियो । मन अमिलो भएको थियो–एकपटक रमेशको । अर्को कुनै विकल्प नदेखेपछि आफ्नो बाटो तताउने निर्णय ग¥यो–त्यहाँबाट रमेशले । पैदलै–पैदल ऊ घरतर्फ लागेको थियो । हिजो–अस्ति भए, सहकर्मी हुन्थे । तर, आज ऊ एक्लै परेको थियो । क्यामराम्यान अघि नै हिंडिसकेको थियो–केही फुटेच खिचेर । झर्कियो बेस्सरी– “साला! जागिर ।” साह्रै विलखबन्दमा परेको थियो–रमेश । कति पटक फोन दाब्यो–अफिसमा । तर परिणाम उस्तै । हुन त अरु सहकर्मीलाई पनि ‘मिसकल’ गर्न सक्थ्यो । साथीहरुले फोन फर्काउँथे । “अफिसमा फोन गरेर मलाई फोन गर्न लगाई देउन भन्न पनि मिल्थ्यो ।” तर आफूलाई झुकाउन चाहेन–रमेशले ।

       एउटा खेल हारेर फर्केको खेलाडी झैं भएर बेलुकीपख आफ्नो कोठा छिरेको थियो,रमेश–निन्याउरो अनुहार बनाएर । तर, श्रीमतीको अगाडि चाँही मुहारमा खुशीको भावहरु ल्याउने चेष्टा गरेको थियो–उसले । त्यहि हिजोको घटनाले गर्दा गाली पाएको थियो–आज रमेशले । समाचार नदिएको कारणले हाकिमले कराएको थियो–उसलाई । त्यसैले त तनाबमा चुरोट पिउन झरेको थियो–क्यान्टिनमा । तर टोलाउँदा–टोलाउँदै उसले तानेको चुरोट, ठूटोमा परिणत भएको त्यतिबेला चाल पायो–जतिबेला उसको हातमा आगोले पोल्यो ।
   
         “ओहो ! दाइ नमस्कार । तपाई, रमेश दाइ हैन ?” पसलमा चुरोट किन्न लागेकै बेलामा एकजना आगन्तुकले सोध्यो ।
    “हो ।” सटिक उत्तर दियो–रमेशले ।
    “तपाई टि.भी. मा देखिन्छ नि ! ‘लाइभ प्रसारण’ भएको बेला ।” आगन्तुकले थप्यो ।
    “तपाईको आवाज राम्रो छ । मलाई एकदम मनपर्छ । मेरो साथीहरुमाझ पनि कहिले–काँही तपाईको प्रशंसा हुने गर्छ ।” आगन्तुकले रमेशलाई चिन्नुको अर्थ प्रष्ट्यायो अनि बिदा माग्यो र लाग्यो–आफ्नो गन्तब्यतिर । रमेश–एउटा टेलिभिजन च्यानलको रिर्पोटर । उसको रिर्पोटिङ्ग नआएको निकै कम दिन हुन्थ्यो–उसको च्यानलमा । उसको प्रतीष्ठा थियो–समाजमा । टेलिभिजनकै कारणले चर्चित थियो–ऊ, आममानिसका माझ । तर ऊ आफैंमा भने ‘फ्रष्टेड’ थियो–आफ्नो जिन्दगी देखेर । चुरोट अधिक तान्ने उसको आदतै हो ।

          “हाम्रो बिहे भा’को पनि डेढ वर्ष भएछ, है ?” छेउमै आएर श्रीमती बोली । रमेश खाना खाएर ‘नेट’ चलाउँदै थियो–चुरोट तान्दै ।
    “हो र ? मलाई त पत्तै हुँदैन ।  कामले गर्दा अरु कुरा सोच्ने फुर्सदै हुन्न ।” एकचोटी श्रीमतीतिर फर्केर बोल्यो–उसले र फेरि ‘नेट’ चलाउन थाल्यो ।
    “मलाई पनि भुल्नु हुन्छ कि ! क्या हो ?” माया मिश्रित आवाजमा श्रीमती बोली–रमेशको कपाल मुसारिदिदैं ।
    “तिमीलाई भुल्नु भनेको त आफूलाई नै भुल्नु जतिक्कै त हो नि ! लाटी ।” श्रीमतीको गाला चिमोटी दियो–उसले ।
    “सुत्ने बेला भएन ? कतिखेर सुत्ने ? मलाई त निन्द्रा लाग्न थाल्यो ।” ‘नाइट ड्रेस’ मा तयार हुँदै श्रीमतीले भनी ।
    “सुत्ने अब । तिमी जाऊ न, म आउँछु ।” रमेशले कम्प्युटर ‘सर्ट डाउन’ ग¥यो र लाग्यो पलङतिर ।
    “बत्ति निभाउनु पर्दैन ? मान्छेले देख्लान् !”
    “के भो त देखेर ? श्रीमान्–श्रीमती सुतेको त हो नि !” हाँस्यो–मज्जैले रमेश एकपटक । बत्ति निभायो र ‘बेड’ मा पल्टियो–कपडा खोलेर ।
   
         श्रीमतीको शरीर चलाउन थाल्यो–रमेशले । बिस्तारै–बिस्तारै, बडो आनन्दकासाथ । सारा तनाबबाट मुक्त भै’रहेछ–ऊ यतिबेला । उसका सम्पूर्ण थकानले बिश्राम गरिरहेछन्–यतिखेर । यस्तै महशुस गरिरहेछ–ऊ । गाला चुमिदियो एकैपटक श्रीमतीको । आफ्नो दुबै हातलाई श्रीमतीको अंग–अंगमा कुदाउन छोडेको छैन–उसले । श्रीमतीले पनि नकारिन–उसका क्रियाकलापलाई ।
“एउटा कुरा भनुँ ?” रमेशको छातीमा आफ्नो हात नचाउँदै बोली–श्रीमती ।
“भन न ।” श्रीमतीको स्तनमा आफ्नो हात घुसाउँदै बोल्यो–ऊ ।
“तपाईंको तलब आएन ?” आफ्नो स्तनमा चलमलाउँदै गरेको रमेशको हातलाई सुमसुमाउँदै बोली–ऊ ।
“किन ?” प्रतिपश्न ग¥यो–रमेशले ।
“बजारमा अहिले नयाँ ‘ब्रा’ आ’को छ । जसले छातीलाई चिटिक्क देखाउँछ । त्यो किन्नु प¥यो क्या !” लाड्लिन थाली–श्रीमती ।
“किन बनाउनु प¥यो, चिटिक्क ? कपडाले छोप्ने चिजलाई ? कपडा खोलेपछि सधैं चिटिक्क नै देख्छु म त !” आफ्नो बाध्यता ढाक्न खोज्यो–उसले ।
“बिहेपछि मैले केही किनेको छु ? त्यही बिहेमा किनेको ‘ब्रा’ । त्यो पनि साह्रै थोत्रो भै’सक्यो । ‘यो’ पूरै झोल्लिन्छ ।” आफ्नो स्तनलाई इंगित गर्दै ठुस्किई–ऊ ।

            मोबाईलको “रिङ्ग” बज्यो । श्रीमतीको छातिबाट हात उठाउँदै मोबाईल उचाल्यो–रमेशले । “यतिबेला अफिसको फोन ? हेलो... हेलो.... ए ! हो ? हुन्छ....हस्....हस्...हुन्छ..... ।”
“के भो ?”
“जानुपर्ने भो ।”
“यति राति कहाँ ?”
“जागिर खाएपछि दिनरात भन्न नपाइने र’छ ।”
“पैसा–सैसा नआउने जागिर !” श्रीमती झर्किई । लगभग आफ्नो ५ मिनेटको क्रिडाकर्म सक्काएर रमेश उठ्यो । एकपटक सन्तुष्टीको अनुभव उसले ग¥यो । श्रीमतीको निधारमा चुम्यो । श्रीमती भने उसलाई तान्दै थिई–आफ्नो अंगालोमा कस्न खोज्दै थिई । सायद श्रीमानको संसर्ग उसलाई यति छिट्टै तृप्त भै’सकेको छैन । रमेशले आफ्नो कपडा लगायो र कोठाबाट निस्क्यो ।
    
           आफ्नो कोठा भन्दा करिब २०० मिटर पर भएको आगलागीको तात्तातो समाचार संकलन गर्न रमेश निस्केको थियो । श्रीमतीसँगको तातो ओछ्यान छोडेर । आगो एउटा ‘बिजनेस कम्प्लेक्स’ मा लागेको थियो । वरिपरि मान्छेको भीड थियो । सुरक्षाकर्मी थिए, दमकल पनि थियो–आगो निभाउँदै । रमेशले सबैसँग सोधपुछ ग¥यो र डायरीमा टिप्यो । अनि, लाग्यो–आफ्नो कोठातिर । आफ्नो कोठा छिर्ने पहिलो गल्ली मात्र के छिरेको थियो–ऊ । ८÷९ जनाको केटाहरुको हूल ऊ भएतिर आइरहेको देख्यो–रमेशले । केटाहरु बेसुरामा बरबराई रहेका थिए । रमेश सर्तक भयो । हूलका केटाहरु नसामा लठ्ठ भएको आंकलन गर्न उसलाई समय लागेन ।

       “ए..... को हो, त्यो ? समात् ।” आवाज आएको सुनेको थियो–रमेशले । त्यसपछि एकैपटक आफू रित्तो भएको चाल पायो–उसले । केटाहरु ऊसँग भएको सबैथोक लुटेर भागिसकेका थिए । रमेश आफ्नो लाज धान्ने एकसरो कपडाको साथमा घर पुग्यो–धरमराउँदै । श्रीमतीले ढोका खोली । श्रीमतीलाई अंगालो हालेर रुन थाल्यो–ऊ । श्रीमती पनि झस्कि एकचोती त ! तर, रमेशको हालत देखेर उसालाई सान्त्वना दिन थाली । श्रीमतीको फोन हातमा उठायो । आफ्नो आँसु पुछ्यो र नम्बर थिच्यो–रमेशले आफ्नै अफिसमा ।

“हेलो...... को...... ए.... ल टिप्नुस त ! ‘ब्रेकिङ्ग न्यूज’–पत्रकारमाथि हातपात ।” लरबराउँदै बोल्यो–ऊ । “....... फलानो ठाउँमा............................. छ ।” न्यूज सक्काएपछि एउटा चुरोट जलायो–रमेशले । बुङ्बुङ्ति धूवाँ उडायो–बत्तिको प्रकाश पनि छोपिएला झैं गरी ।

Thursday, January 13, 2011

गजल - लेखन मितिः २०६७ पौष

गजल
                  बरालिएर कताकता....

बरालिएर कताकता माया लाइने भइयो
तिमीले छोडेपछि बजारतिर धाइने भइयो

हरेक रात छटपटीमा बाँच्न पनि गाह्रो भो
प्रत्येक साँझ दुई–चार प्याला चाहिने भइयो

सुखी थिए दिनहरु, खुशी थियो जीवन मेरो
चोट लाग्यो अचानक, पीर–ब्यथा गाइने भइयो

चोखो थियो मन–मुटु, पवित्र थियो माया सधैं
भोकाए पछि अहिले जुठो पनि खाइने भइयो

रहर गए, इच्छा गए, सपना तिमीसँगै गए
कुनै गल्लीमा कुन दिन जिन्दगी चढाइने भइयो

Tuesday, January 11, 2011

अनुभूति - रातो टीका - लेखन मितिः२०६५÷०२÷१८

                         रातो टीका

     चबेलबाट भीससेनगाला–भीमसेनगोलाबाट चाबेल । गएको ४–५ वर्षमा यो मेरो दैनिक कार्य तालिका भएको थियो । एक्लै भएको समयमा बिहान १० बजे घरबाट सडकको लम्बाई नाप्दै त्यहाँसम्म पुग्नु र साँझ ५ बजे पुनः त्यहाँबाट उही क्रम दोहो¥याउँदै घरसम्म फर्कनु । तर, अन्य ब्यक्ति भएको बेलामा भने यो क्रम केही फरक हुन सक्थ्यो । उसो त फरक केही लाग्दैन थियो अनि झन्झट पनि । आपसेआप बिहान पाइला भीमसेनगोलाई पछ्याइरहेका हुन्थे भने साँझ पाइलाले चाबेलको दिशा पक्डिएको हुन्थ्यो । सधैं यस्तै त हुँदैन थियो तर प्रायः यही गतिमा उमेर बढ्दै थियो–आयु छोट्टिदै थियो ।
     सडकपेटीका घर, पसल, रेष्टुराँ, होटल प्रायः सबै त्यही हुन्थे । केही नयाँ चिज आएछ भने त्यो चाँही आँखामा परिहाल्थ्यो । बीचमा पशुपति क्षेत्र (मित्रपार्क, जयबागेश्वरी, गौशला) पर्ने हुनाले मानिसको आवत–जावत बाक्लै हुनु स्वभाविक नै हो । फेरि, काठमाडौंमा आजकाल बाक्लो उपस्थिति मानिसको कहाँ नै पो नभएको छ र ? बाटोमै पर्ने भण्डारखाल जंगलको थोरै क्षेत्र एक कक्षा पढ्दा देखेको आज पनि त्यस्तै छ । आकार–प्रकार र पर्खालको बनोटमा भने केही नौलोपन आएको पक्कै हो । कहिले काँही बाटामा बाँदरले मानिसले बोकेका फलफूल खोस्ने अनि अग्लो स्थानमा बसेर खान थाल्ले जस्ता क्रियाकलाप चाँही आँखाका रोमाञ्चित दृश्य हुन् । यसमा एक–दुई पटक त म आफैं पनि परेको छु । गएको ४–५ वर्षमा देशमा धेरै उथलपुथलका घटनाहरु भए ! धेरै कुराहरु आँखाले देख्न पाईयो । संकटकाल, द्धन्द्ध, संसद विघटन, संसद पुर्नस्थापना, शान्तिवार्ता, संविधानसभा, चुनाब आदि एउटै जीवनमा देख्न पाएकाले कहिलेकाँही आफू भाग्यशाली भएको जस्तो पनि लाग्छ । तर यही बीचमा फेरि, अपाङ्ग केटाकेटी, बेसाहरा विधुवा महिला, टुहुरा बालबालिका, क्षत–बिक्षत सामाजिक धरोहरहरु, द्धन्द्धले बिस्थापित मानिसहरु संझिदा भने भित्रैदेखि दुःख, पीडा भरिएर आउँछ र सहानुभुतिका भावहरु छल्किन थाल्छ ।
     सधैं खासै फरक नलाग्ने त्यो बाटोमा त्यसदिन भने एकदमै अनौठो लागिरहेको थियो । गाडीको ओहोर–दोहोर निकै पातलो थियो । मानिसहरु भने उत्साहका साथ सडकमा हिंडेका थिए । सबैको छुट्टि भएको त्यसदिन अफिस आउने उर्दी प्राप्त भएकाले म भने अफिस पुगें । “बिहान अफिस बिदा गर्ने निर्णय आयो–तपाईलाई खबर गर्न भुलिएछ ।” अफिस गार्डको यस वाक्यले जानकारी दियो । अफिस त छुट्टि भएछ ! मनमा अलिकति शान्ति भयो । सबैको बिदा भएको दिन कर्मचारीलाई आफूले काम गर्नुपर्दा भित्र–भित्र पोल्ने गर्छ नि ! झन् त्यस्तो महान् उत्सब पर्नेवाला दिनमा ।
     फेरि, सडक नाप्न थालें । तर आज अन्य दिनभन्दा बेग्लै–महशुसका साथ । बाह्र बजेको प्रचण्ड गर्मी त्यसमा पनि एक्लै कहाँ जाने ? सडकभरि मानिसको उत्साहित पैदल यात्राको भीडमा आफू एक्लो हराइरहे झैं लाग्न थाल्यो । ‘मेरो पनि साथी भै’दिएको भए आफ्नो अस्थित्व बडो गौरबकासाथ सडकमा उभिन्थ्यो होला नि !’ मनमा जरा गाड्न थाल्यो । तर पनि भित्र मनमा छुट्टै किसिमको हर्ष भने दौडिरहेकै थियो । सडकमा मानिसको हुल झन्–झन् बढ्दै जान थाल्यो । विभिन्न किसिमका झण्डा, नारा र जुलुसका साथ । अघि केही अगाडि अफिस आउँदै गर्दा यस्ता झण्डा बोक्ने मानिसहरुको संख्या फाट्टफुट्ट मात्रै थियो । तर, अहिले निकै ठूलो संख्या यसमा परिणत भईसकेको थियो । निधारमा राता–राता अविरका टीका लगाएर, कपालभरि अविर छर्किएर बडो हर्षोल्लासका साथ मानिसहरु अगाडि बढ्दै जान्थे । मलाई पनि त्यही जुलुसमा गएर मिसियुँ–नेपालको झण्डा बोकेर, भन्ने चाँही नलागेको होइन । तर, एउटा कुरा–जुलुसमा सहभागी कसैले पनि राष्ट्रिय झण्डा भने बोकेको देखिएन । पार्टीगत झण्डा मात्र मानिसहरुको हातमा थियो । उनीहरुले लगाउने नारामा आफ्नो आवाज मिसाउँन नपाउँदाको त्यतिखेरको मेरो अवस्था आफैलाई दयनीय लागिरहे झैं लागेको थियो । विभिन्न समुदाय, पेशाकर्मी, राजनीतिक दल, नागरिक समाज आदिका जुलुस फटाफट आउँदै–जाँदै गर्ने क्रम जारी रह्रयो । म भने अवोध बालक झैं एकटकसँग त्यसैलाई नियाल्मै गौरवान्वित अनुभव गरिरहें ।
     म एक्लै अगाडि बढि रहें । बाटामा झन् तीब्र रुपमा नारा र जुलुसको आवाज सुनिन थाल्यो । । मानिसको भीड त्यो गर्मीमा झन् बाक्लो हुँदै गैरहेको थियो । म आफैंमा एक्लो भएको अनुभव हुन थाल्यो । सबै मानिस निधारमा रातो टीका र टाउकोभरि अविर छर्केर हिंडेका थिए । मेरो भने निधार खाली थियो । म सोच्थे– “किन कसैले आएर मलाई रातो टीका लगाइदिंदैनन् ? म पनि त रातो टीका लगाउन आतुर छु नि ! खै, मानिसहरुले कुरा बुझेका ? म पनि त एकअर्कासँग खुशि बाँड्न चाहान्थे तर मेरो चहाना त्यसै तुहिन थालेको कुरा अरुले किन नबुझेका होलान् ?” हो, यो त्यही दिन थियो–जेठ १५ गते । अर्थात् गणतन्त्र घोषणा हुने दिन ।
     गणतन्त्र घोषणा हुन लागेको प्रतीक थियो–मनिसका निधारका राता टीका । त्यसैले पनि आफ्नो निधार खाली भएकोमा मलाई खल्लो लागेको थियो । गणतन्त्र घोषणाको ब्यग्र प्रतीक्षा गर्दै मानिसहरु एकआपसमा खुशि बाँड्दै थिए । मैले कोसँग कसरी खुशि बाँड्ने त्यत्रो भीडका बीचमा ? त्यो पनि खाली निधार अनि रित्तो टाउको लिएर । स्पीकरहरु गुन्जिएका थिए– ‘गणतन्त्र जिन्दाबाद’ का साथ । मादल र खैंजडीका साथ मानिसहरुले गणतन्त्रको स्वागत गर्दै थिए । एक हिसाबले भनौं– विजय उल्लास सडकमा थियो । त्यहाँ के थिएन ? सम्पूर्ण जातजाति, नागरिकहरुको स्वतन्त्र सहभागीता थियो–आनन्ददायक नाचगानका साथ । सम्पूर्ण जनशक्ति सडकमा थियो । त्यत्रो जनशक्तिका बीच मैले आफूलाई छुट्टै महशुस गरें । त्यस्तो महान् दिनमा म एकालकाँटे भएको थिएँ । तर मेरो भावना भने त्यही भीडको माझमा खुशिहरु बाँड्दै थियो । मेरो मन भीडसँगै काँधमा काँध मिलाउँदै–नाच्दै थियो । कसैले मलाइै भीडमा तानेनन् र पो सडकको छेउमा उभिएर चुप थिएँ । नत्र एकपटक दिल खोलेर मज्जैसँग नाँची दिन्थे–सडकको बीचमै पुगेर ! आफूले आफैंलाई धिक्कारें–त्यतिखेर ।
       मेरो पाइला नाप्ने कार्य सकिएको थियो । तर, पनि निधार र टाउको खाली थियो । अर्थात् विजयको चिनो मैले ग्रहण गर्न पाइन । घोषणा राती भयो । म टि.भी हेरिरहेको थिएँ । मनमा केके कुरा उम्लिन थाल्यो–त्यतिबेला– “टुहुरा बालबालिकाले नयाँ नेपाल, गणतान्त्रिक नेपालमा सहारा पाउनेछन् ? के विधवाको पोल्टो भरिनेछ ? अपाङ्ग र अङ्गभङ्ग भएकाले आफ्ना अङ्ग पाउँछन्–सम्मान पाउँनेछन् ? साँच्चै बिस्थापितहरु घर फर्किनेछन् ? अब सामाजिक धरोहरको भग्नावशेषहरु हामीले देख्नुपर्ने छैन ? के अब स्थायी शान्ति हुन्छ ? अनि सबै नेपालीले नयाँ र अभावमुलक जिन्दगी पाउँनेछन् ? साँच्चै हुन्छ–नयाँ नेपाल ?, गणतान्त्रिक नेपाल–रातो चम्किने टीका जस्तै ?” यस्तै कुराहरुले मन हलचल भईरह्रयो, त्यतिबेला–मेरो ।

Monday, January 10, 2011

कथा - आन्दोलनको अनुहार - लेखन मिति–२०६७÷०१÷२३

           आन्दोलनको अनुहार


       हड्ताल निरन्तर जारी थियो । रोक्किने छाँटकाँट एक रत्ति थिएन । कार्यालय, विद्यालय, औधोगिक क्षेत्र सबै ठप्प । न त गाडी नै चल्थे । यस्तो समयमा जानु पनि कता ? कतै अलि टाढा हिंडिहालुँ न त भन्दा पनि लगातारको बन्दले खल्तिमा भएको पैसा चिया, चुरोटमै रित्तिसकेको थियो । फेरि कतै यदि गै’हालियो भने पनि भोकभोकै परिएला भन्ने ठूलो चिन्ता । न त कतै पसल भेटिन्थे ! भेटिनु पनि कसरी त ? खोल्ने वातावरण भए पो पसल खोल्थे व्यापारीहरु । जाबो २÷४ घण्टाको कफ्र्यू ‘सिस्टम’ मा खुल्ने पसलहरुले २४ घण्टै अनवरत गुडिरहने पेटको इन्जिनलाई शान्त पार्न कम्ता हन्डर हुँदो रै’नछ । २÷४ घण्टा खुल्ने पसलमा पनि सामानको अभाव । सामान आए पो बेच्थे व्यापारीहरु । गाडी नचलिकन खुलेका पसलहरुको के अर्थ ? अनि भएका स्टकले कतिन्जेल धान्ने ?
        आन्दोलनमा होमिनु मेरो रहर होइन, बाध्यता थियो । उसो त म होमिएको पनि होइन । साइडमा बसेर रमिता मात्र हेरेको हो । गन्नेले त मेरो टाउको पनि गनेर आन्दोलनकारीको सुचि तयार पारेकी कुन्नी ! म के जान्नु ? म जस्तै अरु पनि थुप्रै थिए, साइडमा बस्ने । तिनीहरु को थिए ? आन्दोलनकारी कि सर्वसाधारण । म जस्तै रमिता हेर्न आएका पो थिए कि ! म के जान्नु ? त्यसो त मेरो एउटा समस्याले मलाई यतिबेला पनि हैरान पारेको थियो । म एक्लै कहिल्यै बस्न नसक्ने, भीडभाड र भेटघाटमा रमाउन मन पराउने मान्छे ! घरमा पट्यार लाग्दो अनिर्णित समाचार हेरेर÷सुनेर कुँजिएर बस्न पो के सक्थे र ? निस्कन्थे आन्दोलनमा । अनि साइडमा बस्यो, ‘रोड कन्सर्ट’ हे¥यो । चुरोटको धुवाँ उडायो । बस्–क्या मज्जा ।
“यो हड्ताल कहिले अन्तः हुन्छ होला ?” एउटा एफ.एम रेडियोको मिडिया कार्ड भिरेकी सुन्दर युवतीलाई उसैको नगिजमा गएर मैले सोधें । यूवतीले ठूला आँखा पार्दै मतिर हेरि–मानौं कि ऊ सोचिरहिछे– ‘केटी जिस्काउन यस्तो उपाए अपनाउने !’
“सहमति भएपछि ।” मतिर खासै ध्यान नै नदिई यूवतीले सटिक उत्तर दिई ।
“सहमति कहिले हुन्छ ?”
“कुरा मिलेपछि ।”
“कुरा कहिले मिल्छ ?”
“विस्तृत छलफलपछि ।” म एकोहोरो प्रश्नमाथि प्रश्न सोध्दै जान थाले । एउटा अवोध बालक जास्तो गरी । यूवती जवाफ फकाउँदै जान थाली, अवोध बालकको मास्र्टनी जस्तो बनी ।
“अनि छलफल भै’राछ हैन ? कता–कता भै’राछ ?” फेरि प्रश्न तेर्साएँ ।
“भै’राछ । फलानो.....फलानो ठाउँमा ” उसले अलि अन्कनाउँदै उत्तर दिई । उत्तर दिने बेलामा यूवती यसो एताउता नजर फिजाएर अलिक चनाखो बन्थी । म प्रश्न छोडेर एकटक उनका क्रियाकलाप नियाल्न थालें । उनी आफ्नो डायरीमा केही लेख्न थाली, निहुरिएर ।
        समीक्षा मैले यूवतीको नाम पत्ता लगाएँ । काँधमा डोरी भिरिएको उनको कार्ड दुई’टा स्तनका बीच भागबाट तल झरेको थियो । सेतो टिर्सटको माथिबाट । कार्डलाई नियालेर हेर्नतिर लागें म । फलानो एफ.एम. यति मेगाहर्ज, पद..... । मैले हेर्दाहेर्दै ऊ चली । सायद लेख्न अप्ठ्यारो भएर शरीरलाई मिलाएर बसेकी होली । पद पुनः हेर्न खोजें । उनले भिरेको कार्डको एकातिरको डोरी उनको स्तनको टुप्पो माथिबाट तल झरेको थियो । म लजाएँ अनि झक्झकाएँ । सेतो टिर्सट भित्रको कालो ब्राले स्तनको आकार र आकर्षणलाई चरमकोत्सर्कमा पु¥याएको थियो ।
“किन प्रश्न रोकेको ?”
“हँ.....एएए......हैन, हैन..... त्यतिक्कै ।” आफ्नै कार्यमा लिन हुँदै उसले आवाज मात्र मतिर फ्याँकी । म भने हढबडाएँ । म भित्र उब्जिरहेको काऊकुती एक्कासी छताछुल्ल भएर पोखियो ।
“एकैछिन ल ! म, मेरो काम सकिहाल्छु ।” उसले पुलुक्क मतिर हेरि र बोली । अनि, मीठो मुस्कान छर्दै निहुरिएर आफ्नो कार्यलाई निरन्तरता दिन थाली ।

        आन्दोलन रोकिएको थिएन । ठाउँठाउँमा आन्दोलन अझ बढी सशक्त र हिंसात्मक बन्दै जान थालेको थियो । आन्दोलनकारी र प्रतिकार गर्न खोज्ने समूह बीच ठाउँठाउँमा हिंसा भड्किएको खबर सुनिन थालिई सकेको थियो । हामी अथात् समीक्षा र म उभिएको स्थानमा भने आन्दोलन शान्तिपूर्ण नै थियो । नाच्ने, नाच्न मै मस्त । गाउने, गाउनमै ब्यस्त । भाषण गर्ने, भाषण गर्दै थिए । शीलत खोज्नेहरु पसलको पेटीमा सुस्ताउँदै थिए । कोही चुरोटको धूँवा उडाउँदै थिए । कोही रेडियो हातमा बोकेर ट्युनिङ घुमाउन मस्त थिए । एम्बुलेन्स शान्त वातावरणमा खैलाबैला मच्चाउँदै बाक्लो समूहको ध्यान आफूतिर केन्द्रित हुनेगरि साइरन बजाउँदै आउँदै–जाँदै गथ्र्यो । पानीका भरि र रित्ता गाडी पनि सडकमा बोतोड कुदिरहेका थिए । मिडियाको बाक्लो उपस्थिति । मानवअधिकारकर्मीको हुल पनि थोरै थिएन । प्रहरीहरु एउटा कुनो च्यापेर ठिङ्ग उभिइरहेका थिए ।
“ल ! सोध्नुस् ।” कलमको बिर्को लगाउँदै समीक्षा बोली ।
“कति राम्रो नाम तपाईको समीक्षा जी ।” अनायासै मेरा मुखबाट शब्दहरु बाहिर निस्के । म सम्हालिन खोजें । उनी फिसफिसाइन मात्रै ।
“कत्ति छिट्टो तपाई त ! अनि, तपाईको नाम नि !” मादक बोलीमा उनले सोधिन् । आफ्नो नाम बताएँ–मैले ।
“घर नि !” त्यो पनि बताएँ ।
“के गर्नु हुन्छ ?”
“पढ्ने काम गर्छु ।” सरल जवाफ फर्काएँ ।
“के पढ्नु हुन्छ ?” ‘मन’ भनिदिउँ जस्तो लागेको थियो–आँटै आएन । “यस्तै पढ्न पर्ने कुराहरु” भन्दै टारें ।
“रोमान्टिक हुनुहँदो रहेछ । आइलाइक ।” छड्के आँखा घुमाउँदै अंग्रजी शब्द बोली ।
“आगाका अगाडि घिऊ ! जमि रहन सक्छ र !” सोच–बिचारै नगरी बोलिदिएँ । उसले के बुझि । तर, एकपटक मज्जैसँग मेरो पाखुरा चिमोटी दिई–जिब्रो टोक्दै । अनि, आफ्नो मोबाइलमा आएको ‘कल’ देखाउँदै बोली– “एकैछिन ल ! समाचार भन्दिन्छु ।” भन्दै अलि पर लागी ।

        सायद पहिलो दिनमै मैले समीक्षालाई आन्दोलनको यस माहोलमा नदेखेको भए, त्यसपछिका दिनमा म आन्दोलन हेर्न आउँदिन थिएँ कि ! तर, पहिलो दिनमै मैले समीक्षालाई देखें रत अनि अर्को दिन, अझ अर्को दिन, झन्........ आन्दोलनमा मेरो सहभागिता अनिवार्यता नै भयो । अलिकति चुलबुले । मीठो, मन्द मुस्कान । मादक हाऊभाऊ । उत्तेजक नखरा । सुमधुर, शिष्ट बोली÷लवज । बिना मेकअप सरल, सहज पहिरन । बस् ! यत्ति काफी थियो मेरो लागि । त्यसैले त बिहानको खाना खाएपछिको मेरो मन आन्दोलनमा खिंचिन थालेको थियो । त्यसमा पनि उनी एक्ली नै थिइन्–उनको यस कार्यक्षेत्रमा । पहिलो दिन त हेरें मात्रै । उनले बोलेका सुमधुर आवाज सुन्नमै आफ्नो ध्यान केन्द्रित गरें । उनेल आफ्नो ‘स्टेशन’ को लागि टिपाएको समाचार, मेरो लागि राम्रो खुराक बन्यो दिन कटाउने । बेलुका उनी हिंडेपछि म पनि आफ्नो घरतर्फ लागेको थिएँ ।

         उनलाई भेटेको दोस्रो दिन एउटा अभिष्ट आशा लिएर आन्दोलन स्थल पुगेको थिएँ । मेरा आशा खेर गएनन् । अर्थात् समीक्षालाई त्यसदिन पनि देखें तर बोलिन । उही पहिलो दिनको जस्तै क्रियाकलापमा नै ६ घण्टा बित्यो । विस्तारै–विस्तारै हिम्मत जुटाएर आज कुरा गर्न सकेको छु । एकै पटक त एउटी नचिनेकी नवयौवनासँग कुरा गर्ने सामथ्र्ये ममा कताबाट आउँथ्यो ? तर जेहोस् कुनै यूवतीले मलाई यो भन्दा अगाडि यस्तरी खिंचेकी चाँही थिइनन्–है ! यसरी आन्दोलनसम्मै आउने गरी ।
“सकियो ?”
“अँ.... सक्काएँ ।” मतिर आउँदै उनले बोलिन् ।
“साच्चि ! तपाई त मिडियाको मान्छे, आन्दोलनमा अराजकता मिसिंदै गा’को छ नि ! तपाईले यसालाई कसरी हेर्नुभएको छ ?”
“तपाईले त मेरो अन्तर्वार्ता पो लिन थाल्नु भो !” मेरो प्रश्नमा उनी यत्ति बोलिन् । कुरा गरिरहन मन थियो । तर के कुरा गर्ने, गर्ने ? दोधारमा मैले माथिको प्रश्न गरेको थिएँ ।
“हैन–हैन ।” म हाँसे । उनी पनि मुस्कुराईन ।
“तपाई पनि एक्लै हो ?”
“होइन, दुई जना ।”
“अनि साथी खोई त ? कोही पनि देख्दिन त !”
“तिमी के त !” आफू भन्दा कम उमेरकी आँकेरै, अचानक ‘तिमी’ भन्न पुगें । तर समीक्षा अचम्मित भइनन् । बरु खित्का छाडेर हाँस्न लागिन । मलाई भने कता–कता अप्ठ्यारो अनुभव भयो । म चुप लागें ।
“किन चुप ? बोल्नुस् न ! तपाईंको आवाजमा मिठास छ ।” मलाई भने ब्यङ्ग्य ग¥या जस्तो लाग्यो ।
“पत्रकारहरु ब्यङ्ग्य गर्न खप्पिस हुन्छन् नि !”
“कालेलाई काले भन्दा रिसाउँछन् । गोरालाई राम्रो भन्दा ठूला मान्छे पल्टिन्छन् ।” मेरो बोली सुनेर उनी झर्किन र ठुस्स परिन् ।
“तपाईको गालामा फोहोर लागेछ, झारिदिउँ ?” स्वीकृतिवाचक टाउको हल्लाईदिई ।
“ए...ए...ए.. कोठी पो रहेछ ।” जानिजानि नाटक गरें । गाला छामें । ओठको इच्छालाई हातमै सीमित पारें ।

        आन्दोलन हुँदै थियो । तर मलाई आन्दोलन भए नभएको पत्तो हुनै छोडि सकेको थियो । समीक्षा भने कहिले काँही डायरीमा केही कुरा टिप्दै मसँग गफ्फिन थाल्थी । मेरा आँखा पनि समीक्षाको जवानी नियाल्नमा मात्रै ब्यस्त थियो । उनका हरेक क्रियाकलाप र शारीरिक हाऊभाऊले मलाई थप उत्तेजित र उमङ्गिग बनाउँदै लगिरहेको थियो । आन्दोलनको बीच बीचमा भएको चर्को नारा कानसम्म त आइपुथ्यो तर बिना महत्व नै एकाएक सून्यतामा बिलिन हुन पुग्थ्यो ।
“पत्रकार हुनु मज्जा छ, है ? जतिखेर जता पनि स्वतन्त्रतापूर्वक हिड्न पाइन्छ ।” समीक्षालाई अर्को प्रश्न तेर्साएँ । एक हिसाबले भनौं जिस्काउन खोंजे ।
“मज्जा नै छ । अचानाको चोट खुकुरीलाई के पत्तो ?” शालीन हुँदै उनेल जवाफ फर्काइन र सुस्ताइन ।
“कसरी तपाई पत्रकार बन्नु भो ? यस्तो मान्छे........ ” म अझ रोमान्चित हुन खोंजे र उनलाई पनि रोमान्चित बनाउन खोंजे ।
“खै ! के भन्नु आफ्नो ब्यथा ?” उनी अझ मधुर भइन् ।
“मेरो ममी, बुबा दुबै पत्रकार हुनुहन्थ्यो । तर, केही समय अघि दुबैले एकै ठाउँमा आफ्नो जीवनयात्रा समाप्त पार्नुभयो । समाप्त पारिदिए–पापीहरुले ।” उनी सुँक्क–सुँक्क गर्न लागिन् । मैले उनलाई ढाडस दिन खोंजे र आँसु पुछ्ने चेष्टा गर्न थालें । तर  मलाई रोक्दै उनले आफ्नै हातले आँसु पुछिन् ।
“त्यसैले म, यो पेशामा आएकी हुँ । ममी, बाबाको...... ममी,बाबाको कोंखको.... कोंखको चाहानालाई पुरा गर्न ।” म भावुक भएँ । उनको अड्केको आवाजले मलाई पनि अड्काई दियो ।

         वातावरण सन्नाटा भयो । वा भनौं मलाई त्यस्तो भान भयो । हामी दुवै चुप भयौं । म उनलाई नियाली मात्र रहें । “यत्ति चुलबुलता, यत्ति प्रशन्नताभित्रको जीवन त कारुणिकताको भुँमरीमा पो फसेको रहेछ ।” यस्तै सोंचे त्यतिबेला । म टोलाउँन थालें– “समुन्द्रको गहिराई, समुन्द्रको बालुवा हेरेर के जानिदो रहेछ र ?” मैले आफैंलाई मनमनै प्रश्न गरें ।
“ल ! पाँच बज्यो । अब छुट्टिने कि !” सून्यता चिर्दै उनले गरेकी प्रश्नले पो म झल्याँस भएँ ।
“अँ.... हुन्छ ।”
“तपाईले आफ्नो बारेका केही सुनाउनु भए नि !”
“सबै कुरा आजै गरे, भोलि के गर्ने..... ?” म जर्बजस्ति हाँस्न थालें । उनले पनि समर्थन जनाइन ।
“म पनि पत्रकार हुँ । तर पत्रकार कम, लेखक बढी हुँ ।” मैले बोंले ।
“ यू, चिटर ! तपाईं त केटी मान्छे भन्दा बढ्ता हुनुहुँदो रहेछ–कुरो लुकाउन ।” हल्का लजाइन उनी ।
“भिजिलान्ते तपाई ! मनको अनि आन्दोलनको ।” यति भन्दै उनले मेरो कुममा यसो टाउको राखि र भोलि पुनः भेट्ने संकेतका आँखा चलमलाउँदै हात उठाइ र बाई गरी । मैले पनि हात उठाएँर बाई गरें । उनी पछाडि हेर्दै, अगाडि बढ्दै गरिन् । म पनि उनी नछेकिउन्जेल हेरि रहें । उनी देखिन छोडेपछि उनको अनुहारलाई आँखामा मज्जैसँग कैद गर्दै बिर्सजनतिर लागेको आन्दोलनको स्वरुपलाई एकटक नियाँले । अनि, खल्तिबाट एउटा चुरोट निकालेर जलाएँ । स्वाँट–स्वाँट पारेर धूँवा उडाएँ र आफ्नो गन्तब्यतर्फ लागें ।

Sunday, January 9, 2011

कविता - दूघर्टना हुन्छ ? - लेखन मितिः २०६६÷०५÷०१

दूघर्टना हुन्छ ?

बुबाले भन्नु भा’को
बाजेको पालामा अहिलेको जस्तो
गाडी थिएन रे !
पहिरो, भूक्षय, बाढी पनि थिएन रे !
हो ! म छु आज, गाडीमा सवार छु
आज भन्दा अल्ली अगाडि
अनि त्यो भन्दा पनि झन् अगाडि
बाजे पनि गाडी चढ्नु हुन्थ्यो रे !
फरक दुवै एक अर्का भन्दा
भिन्न, वाटो पनि पहिले त, अहिले भन्दा
थोत्रो, लथालिङ्ग, अनि बिग्रिएको पनि
लथालिङ्ग त छ, बिग्रेको पनि छ
तर थोत्रो होइन, अहँ पटक्कै म मान्दिन
नयाँ छ, एकदम नयाँ, साँच्चै नयाँ
चालक नयाँ, यात्रु नयाँ, सडक नयाँ
चालक पनि उस्तै उतिखेर
होइन यात्रु पनि उस्तै
भो नसम्झौ ! घटनाले छुनेछ
दूघर्टना !
के आज पनि दूघर्टना हुनेछ ?


पञ्चिस वर्ष आजसम्म बाँचेको छु
जम्माजम्मी तीन’टा गाडी चढेको छु
६ वर्षको उमेरमा पहिलो गाडी ‘चेन्ज’ गरें
अनि दोस्रो चढें, अझ अघि बढें
किनकी, पहिलो गाडी थोत्रो भो अनि पल्टियो
धन्न म बाँचे ! अरु केही बाँचे
फेरि आशा साँचे, फेरि यात्रु बन्छु
दोस्रो गाडी अस्ति भर्खर
बैसठ्ठी÷ त्रिसठ्ठीमा ‘चेन्ज’ गरेको
अनि नयाँको भर परेको, अझ नयाँको
पुरानो त्यागेको,
त्यो साह्रै झर्को लाग्यो, आत्माले उन्नत माग्यो
अनि जाग्यो नयाँ गाडीको मोह
र, सुरु भयो मेरो तेस्रो गाडीको यात्रा
हो, म आज यसमै छु, यात्रामा छु
यात्रु भा’को छु, नयाँ पा’को छु
तर, फेरि भित्र–भित्र एउटा कुराले छुन्छ
के, यो गाडी पनि दूघर्टना हुन्छ ?


गाडी अगाडि बढ्दै छ
सीट पछाडि सम्मै भर्दै छ
वाटो अप्ठ्यारो रहेछ, सारै अप्ठ्यारो
कति गाह्रो, गन्तव्यमा पुग्नलाई
गन्तव्य ? ला ! भुलें त
म जान खोजेको ठाऊँ,
गाडी ‘चेन्ज’ गर्दा आत्माले नयाँ रोजेको ठाऊँ
गाडी कहिले सुस्त छ, कहिले चुस्त छ
अहिले त रोकियो, भित्तातिर ठोक्कियो
मेरो आँट रुन्छ, सहास रुन्छ अनि पौरख पनि रुन्छ
हो, उत्साह, उमङ्ग र बलिदान पनि रुन्छ
के साँच्चै, यो गाडी पनि दूघर्टना हुन्छ ?


एउटा घुम्ती गयो, अर्को मोड आयो
कुन–कुन स्थानबाट बहेर जोडले हावा लायो
ए ! गाडीमा त गाऊँको दाइ,
दर्जी दाइ हुनुहुँदो रहेछ
ओहो ! म त कस्तो अन्धो यतिबेर सम्म
निद्रामा रहेछु कत्तिखेर सम्म ?
गाऊँकै चौधरी दाइ हुनुहुँदो रहेछ
अस्ति मात्र चिनेको चमार दाइ,
समलिङ्गी दिदी÷दाइ सवै–सवै हुनुहुँदो रहेछ
मिल्नु भा’को रहेछ, गाडीमा अटाउनु भा’को रहेछ
आफन्तले÷ शुभचिन्तकले,
दिशाहीन यात्रामा पठाउनु भा’को रहेछ
खुशी छु म सवैलाई देखेर
फेरि, दुखि पनि छु, यात्रा कठिन हँुदैछ
हामी यात्रुको जीवन÷यात्रा समस्यामा पर्छ की ?
फेरि, गाडी लड्छ की ?
मनले कता–कता शंकै–शंका बुन्छ
के फेरि अर्को दूघर्टना हुन्छ ?



म अचेत छुइन, सचेत छु
जे छु ठीक छु, यात्रु सवै ठीक छन्
चालक कमजोर भए जस्तो छ
आँखाको ज्योति गए जस्तो छ
तिनले बुक्ष्नुपर्छ, तिनको पछाडि हामी छौं
होइन, हामीले पनि बुक्ष्नुपर्छ
हाम्रा अगाडि तिनी छन्
तिनलाई हामीले नै अगाडि लगा’को
हो, तिनलाई हामीले चालक बना’को
लडे, हामी सवै लड्छौ
यही रिति, यही परिस्थिति बोकेर
सधैं–सधैं आशा टोकेर
यात्रा गर्ने यात्राका जोगी हामी
सधैं भीक मग्छौ, आफ्नो लागि
गाडी भत्काउँछौ, बिगार्छौ
फेरि भीक मग्छौ
कति, कहिले सम्म यसरी यस्तै सड्छौ ?
यही एउटा चिन्ताले,
मन छिया–छिया हुन्छ
दूघर्टना !
के फेरि अर्को नयाँ दूघर्टना हुन्छ ?

Wednesday, January 5, 2011

कविता - म तिमीलाई माया गर्छु - लेखनः २०६५ जेठ

म तिमीलाई माया गर्छु
आई लभ यू,
म तिमीलाई माया गर्छु
चोखो दिलले माया गर्छु
सच्चा दिलले माया गर्छु
म, आफूलाई भन्दा बढी
अरुलाई भन्दा पनि बढी
सवैलाई भन्दा अझ बढी
तिमीलाई नै माया गर्छु
साँच्चै, पत्याएनौ तिमीले ?
धरोधर्म,
तिमीलाई तिमीलाई छातिमा टाँस्दा पाए
जस्तो शीतलता म अन्त भेट्न सक्दिन
सम्झिदा मात्र पनि तिमीहरुलाई,
हुने गरेको हौसला जस्तो
अरुबाट मिल्न सक्दैन
हो, म फेरि भन्दैछु
म तिमीलाई मन पराउँछु,
माया गर्छु

यस्तो माया
छलकपट रहित, स्वार्थ रहित,
फाइदा, बेफाइदा रहित
कञ्चन माया, स्वतन्त्र माया
तिमीलाई अझ विश्वास छैन ?
हेर, म अरु जस्तो होइन
हुन त तिमीले विश्वास पनि
कसरी गर्न सक्छ्यौ र ?
पटक–पटक धोका पायौ
माया गर्ने खोक्रो नाटक देखाउनेहरुबाट
तिम्रै लागि जन्मेको हुँ भनि
प्रेमपत्र लेख्नेहरुबाट
तर, अब त्यस्तो हुने छैन
म त्यो हुँइन र हुन पनि सक्दिन
किनकी, म तिम्रो लागि जन्मेको हुँ
तिम्रै लागि मर्छु
किरिया खान्न भो
जति सिंढि चढ्छु, तिम्रै लागि चढ्छु
जेजति गर्छु, तिम्रै लागि गर्छु
तर, फेरि चाहे जेहोस्
आई लभ यू
म तिमीलाई माया गर्छु

लाग्छ, तिमीलाई हरेक क्षण
चुमिरहन पाऊँ
तिम्रो काँखमा निदाइरहन पाऊँ
कति सुन्दर र बृहत छाति छ तिम्रो
जहाँ म सधैभरी अटाइरहन पाऊँ
तिम्रो उपस्थितिले मलाई तताई दिन्छ
अनि बताईदिन्छ, म भाग्यमानी छु
तिम्रो सच्चा प्रेमी हुन पाएको छु
रुन पाएको छु, तिमी रुँदासँगै
उदास पनि हुन्छु, तिमी हुँदासँगै
किन बोल्दिनौ ? उत्तर देउन !
के, यो माया होइन ?
ठीक छ, यत्तिमात्र माया होइन
सङ्कल्प त होला नी !
तर म.... किन पत्याउँदिनौ ?
जे गर्छु, जति गर्छु, भने नी !
म तिमीलाई माया गर्छु

बेचे, बेच्ने बानी लागेका दलालहरुले
मिचे, मिच्न पल्केका मिचुवाहरुले
तर, तिमी केही बोलिनौ किन ?
किन आफ्नो अस्थित्वमा कसैले धावा बोल्दा
तिमी चुप हुन्छ्यौ ?
तिम्रो इज्जत लुटे, मलाई थहा छ
तिमीले धेरै क्रन्दन ग¥यौ
आँसु झा¥यौ तर कसैले सुनेनन्
सुन्थे पनि कसरी ?
तिनीहरुको त कामै हो
इज्जत लुट्ने, दलाल गर्ने
सकेसम्म मिच्ने नसके थिच्ने
महाकाली लगे, टनकपूर लगे
तिमीलाई बोकाएर बिजुली लगे
अनि, नाङ्गो बनाएर तिमीलाई पठाउँदा
मेरो कत्ति चित्त दुख्यो
तिमीले धेरै संघर्ष ग¥यौ
सबैलाई मिलाउन खोज्यौ
तर, सबै मिलेर तिमीलाई नै भत्काए
तिमीले प्रेमी फे¥यौ
तर, गति उस्तै–रिति उस्तै
सबै बिग्रेको मति उस्तै
हेर अब म छु
म तिमीलाई माया गर्छु

तिम्रो आकर्षकीय शरीरलाई
खेल मैदान बनाए
तिम्रो गर्भ तुहियो, मलाई थहा छ
तिमी अत्तालियौ,
दुनियाँलाई बहादुरी देखाउने तिमी
पौरख सिकाउने तिमी
आफैं घरवारविहिन भयौ
तिम्रो ज्योति गयो, दियो गयो
सीयोले घोच्यो, तिम्रो मुटु
कुनै क्रान्तिमा पुगेर एकतमासले
थापेको गोलीको प्वालहरु÷छिद्रहरु
भन्दा बढी भयो
म मान्छु, तिम्रो सहासलाई
म ताली मार्छु तिम्रो लागि
तिमी सुतेनौ, तिमी थाकेनौ, तिमी गलेनौ
धैर्य गरिरह्रयौ तर ढल्न चाँही ढलिनौ
जेहोस् अब म छु
म तिमीलाई माया गर्छु
एकचोटी होइन, दुईचोटी होइन
पटक–पटक तिमी तुहिएकी छ्रयौ
झेल्ला गरेका छन् झेल्लीहरुले
झेल्लाको जवाफ अब हामी तयार गरौं, है ?
म तिमीलाई साथ दिन्छु, आँट दिन्छु
तिम्रो लागि सकेजति गर्छु
आई लभ यू
म तिमीलाई माया गर्छु