म सदैब तपाईको प्रतीक्षामा
तपाई आउने बाटो हेरेर बसेको हुनेछु !
मलाई थाहा छ, तपाई आउनु हुनेछ र
मलाई आफ्नो बनाउनु हुनेछ !!!

Friday, December 31, 2010

लघुकथा जनगुनासो रचना मिति -२०६५, असार

                                                                     जनगुनासो
   
             म आफैं सरकारी कर्मचारी भएका कारण पनि सरकारी अफिसका धेरै चालचलनहरुसँग परिचित थिएँ । तर आम मानिसहरुले सरकारी कार्यालयहरुलाई लगाउने गरेको एउटा आक्षेप भने मलाई पटक्कै पचेको थिएन ।
          सहरसँगै जोडिएको गा.वि.स । काम भने १०–५ ले नभ्याएर अरु समयमा समेत गर्नुपर्ने । १ पैसाको हानीमानी र मोटो रकमको चाप्लुसी अहिलेसम्म भएको छैन, त्यति मात्रै कहाँ हो र ? त्यस्तो त देखिएको समेत छैन ।
       एकपटकको कुरो हो म आफ्नो व्यक्तिगत कामले एउटा सरकारी अफिसमा पुगें । अफिस खाली थियो, म अकमक्क भएँ, के त्यस्तो परेछ १०–५ को ड्यूटी हुने ठाउँमा साँढे दुई बजे नै अफिस खाली भैसकेको छ । सारा अफिस फन्को मारें, अन्त्यमा एक व्यक्ति वरिपरिबाट घेरिएर बसेको भेटें, खुशी लाग्यो, आफ्नो पनि नाक जोगिएको जस्तो लाग्यो ।
    मैले चिने, ती मानिस त्यहाँका सुब्बा रहेछन्, मानिसहरु आफ्नो काम गराउँदै फर्कदै गरे । म भन्दा अगाडिको एक व्यक्तिले फाइल अगाडि टेवलमा राख्यो र सुब्बालाई हेर्न भन्यो । फाइल हेरिसकेपछि सुब्बाले ३ दिनपछि आउने कुरा सुनायो तर त्यो व्यक्तिले “यसो मिलाई दिनुन चिया खाउँला नी” मात्र के भनेको थियो, सुब्बा टेवलबाट उठेर भन्न थाले– “तपाईंले मलाई भ्रष्टाचारी सोच्नु’भा ? तपाईको पैसा खाएर नमिल्ने काम गर्छु भन्न खोज्नुभा’को ? तपाई गई हाल्नु त !” भन्दै अफिसको पिउनलाई बोलाएर त्यो व्यक्तिलाई बाहिर पठाउन अहरायो ।
       म मनमनै खुशी भएँ, बाहिर सुनिने जनगुनासाहरु सबै जाली हुन्, वेबकुफ हुन् । सुब्बालाई मनमनै धन्यवाद दिएँ र आफ्नो सानो काम सकाएर बाहिर निस्कें ।
      म ढोकामा मात्र आइपुगेको थिएँ, अघिको पिउन फाइल बोकेर सुब्बाको कोठामा छि¥यो र बोल्यो– “कस्तरी गाली गर्नु’भा सर ? बिचराको त सातै गएछ, म काम गराइदिन्छु भन्दा पनि मान्दै मानेन बल्ल तल्ल फकाएर तीन हजार ल्याछु, अनि यी सर फाइल पनि ।”
       मैले आफ्नो पाइला रोकें र कानलाई ठाडा बनाएँ । “गाली गर्नु परेन त, अर्को एकजना मानिस बसेर सबै हेरिरा’छ, त्यो चाँही चिया खाउँला भन्छ । केही गरि त्यो मान्छे अप्ठ्यारो ठाउँको भ’को भए, अघि मलाई यहाँ ठाउँको ठाउँ अप्ठ्यारो पथ्र्यो ” सुब्बा बोल्दै थिए । “यस्तो अप्ठ्यारामा तपाई हुनुहुन्छ नी कामकुरो मिलाउने !” भन्दै दुईजना गललल हाँस्न थाले । मैले पाइला घरतिर लम्काएँ । मलाई लाज लाग्यो । म आफू पनि कर्मचारी, तिनीहरु पनि । साँच्चै हो रहेछ, जनगुनासा जिन्दावाद !!

Tuesday, December 28, 2010

फिचर - भड्किन सक्छन् माओवादी लडाकु

 भड्किन सक्छन् माओवादी लडाकुशिव अधिकारी
    एउटा यस्तो चिन्ता जसलाई देशले सम्झेकै छैन । एउटा यस्तो चासो जसलाई दलहरुले बुझेकै छैनन । बुझेर बुझ पनि पचाएका छन् । एउटा यस्तो खतरनाक दुर्घटना जसलाई आमनेपाली जनताले कल्पना समेत गरेका छैनन् । एउटा तालिम प्राप्त सैनिक, लडाकु वा त्यस्ताको जमात । जसले बन्दुक पड्काउन सिकेको छ । हतियार चलाउन जानेको छ । आत्मरक्षाको लागि र शत्रु छेद्नको लागि लड्न जानेको छ । युद्ध गर्ने कलाको ज्ञान हासिल गरेको छ । त्यहि बटालिएन अहिले बन्द शिविरमा छ, आफ्नो हतियार थन्काएर । आफ्नो कलाकौशललाई शारीरिक ब्यायाममा परिणत गरेर । तर त्यहि बटालिएनको भविष्य अहिले संकटमा छ । अझ यसो भनौंपूरै नेपाल र नेपालीको भविष्य संकटमा छ । लामो समय युद्ध लडेर, गोली चलाएर हिंडेको ब्यक्ति समाजमा पुनः फर्केर सस्त्रविहिन भएर बस्न सकेको सामाजिक तथ्य फेला पार्न सकिदैन । कि त त्यस्ता ब्यक्ति समाजमा सामाजिक अराजकता निम्ताउने प्रमुख घटक बन्न जान्छन् । कि त आफ्नो जीवनलाई आफैले तिलाञ्जली प्रदान गर्छन् । मृत्युवरण गर्छन् । हो, यो मनोवैज्ञानिक सत्यता हो । सामाजिक, सांस्कृतिक मान्यता हो ।
   
उनीहरु पनि नेपाली हुन्, हामी जस्तै । फरक यत्ति हो, उनीहरुले एउटा सीमित राजनैतिक प्रवचनमा आफूलाई युद्धमा होमेका हुन् । राजनीतिमा होमेका हुन् । हामीले देखे भन्दा ठूलो सपना तिनीहरुले साँचेकै हुन्, लडाईंमा होमिनेताका । दुःखी, पीडित, गरिब, अशिक्षितलाई राज्यको पहिलो शक्ति बनाउने । राज्यलाई संचालन गर्ने प्रमुख पात्र उनीहरुलाई बनाउने । यहि खोक्रो सपना संगालेर आफूलाई युद्धमा फसाएका हुन्, माओवादी लडाकुहरुले । आफ्ना अन्य दैनिक जिन्दगीलाई हत्या गरेर आफूलाई भड्खालोमा जाकेकै हुन्, त्यतिबेला उनीहरुले । भड्खालो यस अर्थमा कि सीमित राजीतिक स्वार्थ बोकेको राजनीतिक पार्टीको ढाल थिए, उनीहरु । उनीहरुको रक्षाकवच ओढेर तत्कालीन नेकपा माओवादीका नेतृत्व राजनीति गर्थे । अझ राजनीति भन्दा बढी उत्तेजनात्मक भाषण दिन्थे । विचार प्रदान गर्थे । माओवादी लडाकु उर्फ जनसेना आफ्नो सपना साकार पार्न नितान्त कपट रहित, जालझेल रहित अठोट लिएर युद्धका ढाल बनेका हुन्, त्यतिबेला । उनीहरुको जीतउनीहरुले सोंचे अनुसार त भएको देखिदैन । तर आफ्नो मन, मस्तिष्क र प्रपञ्ज लगाएर पार्टीले भने जितेकै होयसको ज्वलन्त उदाहरण संविधानसभाको निर्वाचन हो ।
   
माओवादी लडाकुको जिन्दगी यतिखेर गम्भीर चिन्ताको विषय बनेको छ । संविधानसभाको चुनावपछि निकै नै हर्षित र निकै नै उत्तेजित उनीहरुको मनोवल यतिबेला गिरिरहेको नहोला भन्न सकिन्न । हात्ति आयोहात्ति आयो फुस्साकै मञ्जित नाटक झैं निर्वाचनपछि पनि उनीहरुले देखेको सपनाले सार्थकता त पाएनपाएन । उनीहरुको आफ्नै जिन्दगी पनि धरापमा प¥यो । भविष्यको टुङ्गो भएन । नेपाली जनताको मुक्तिका लागि लडेको सम्झिने उनीहरु, आफ्नो र नेपाली सेनाको संयोजनबाट बन्ने राष्ट्रिय सेनामा आफ्नो अस्थित्व खोजिरहेका थिए । भाग्य नापिरहेका थिए र छन् पनि । तर त्यो हुन सकेन, हुन सकिरहेको छैन ।शत्रुशत्रुएकै स्थानमा रहनु हुँदैन भन्ने तथ्यले अहिले उनीहरुको जिन्दगी तौलिरहेको छ । शान्तिपूर्ण राजनीतिमा पर्दापण हुने बितिक्कैराष्ट्रिय सेनामा विलय हुने भनी उनीहरुले पटकपटक सुनेका भाषण अहिले फोकट भैरहेछ । राष्ट्रियहैन नेपाली सेना लगायत राजनीतिक दल र अन्य, छाति र तौलको लेखाजोखा गरेर सेनामा प्रवेश गराउने मनस्थितिमा छन् । तर जनमुक्ति सेनाले नाप र तौलको मैदानमा नउत्रिने पटकपटक दोहो¥याई रहेको छ । यस्तो स्थितिले कता पु¥याउँछ ? कोही न कोही एकले हार्नेसम्भावना छैन र ? अनि एउटा लडाकुलाई हार्नुपर्दा कस्तो हुन्छ ? के हुन्छ ?
   
नेपाली राष्ट्रिय राजनीति अहिलेको परिस्थितिमा दिनानुदिन झन् अस्थिर बन्दै गैरहेको छ । दलहरु सत्ताको वरिपरि घुमिरहेका छन् । यस्तोमा माओवादी लडाकुलाई सम्झिने फुर्सद कसैको छैन । उनीहरु मस्त छन्, आजसम्म शिविरमा सरकारी भत्ता पड्काएर बसेका छन् । तर के साँच्चै उनीहरुको मन स्थीर होला ? के उनीहरुलाई आफ्नो भविष्यको चिन्ता नहोला ? अस्थिर राजनीतिले उनीहरुलाई भड्काएको छैन होला ! लामो समय शिविरमा बस्दा पनि आफ्नो जिन्दगीको टुङ्गो नहुनुले उनीहरुलाई विचलित गराएको छैन होला । हो, पक्कै पनि केहि न केहि त खट्किहाल्छ नि ! केहि न केहि त कताकता मन चिसो भैहाल्छ नि ! यदि यो चिसोपना बढ्दै गयो भने के हुन्छ ? अर्थात् उनीहरु आफूभित्रै विद्रोह गरेर शिविरबाट बाहिर निस्किए भने के हुन्छ ? त्यो परिस्थितिको उपज देशमा गृहयुद्ध हुन जाने कुरा नकार्न सकिन्छ र ? तर यो त आमनेपाली जनताको मष्तिस्क भन्दा बाहिरको कुरा हो । र, स्वंय जनमुक्ति सेना अनि उसको माऊ पाट्र्टी एकिकृत नेकपा माओवादीको पनि ।
   
अर्को गम्भिर कुरा, एउटा लडाकुलाई अयोग्य घोषित गरी कोदाली खन्न पठाउँदा उसको कोदाली सधैं खेत उप्काउन मै लागिपर्छ भन्ने छ र ? अनि कथंकदाचित उसको कोदाली कसैको जीवन उखाड्न लागि प¥यो भने रोक्ने कल्ले ? जसले बन्दुक पड्काएर समाजमा आएको छ । त्यस्तासँग जुध्न जाने हिम्मत जुटाउन समाजका अरु ब्यक्तिलाई हम्मेहम्मे पर्छ । त्यसबाहेक अयोग्य ठह¥याएर घर पठाइएका लडाकुलाई समाजले हेर्ने दृष्टिकोण कस्तो हुन्छ ? पक्कै पनि उनीहरु प्रति समाजले हेयभावनाले हेर्नेछ । हेय भावनाले गर्दा उनीहरुलाई पार्ने मनोवैज्ञानिक असरको बारेमा के आंकलन गर्न सकिन्छ ? त्यसकारण यो कुरा सरासर गलत ठहरिन्छ । उनीहरुलाई रित्तो हात घर फर्काउनु सामाजिक स्थीरता बिथोल्ने कारणलाई जन्मदिनु नै हुनेछ ।
   
सेनामा संयोजन छाति र तौलले गर्दा अड्केको छ । अरु कुरा उनीहरु (जनमुक्ति सेना) मान्दैनन् । अर्थात् अन्य स्थानमा सुरक्षित अवतरण उनीहरुको अर्जुनदृष्टि होइन । उनीहरुको तारो सेनानै हो । सेनानभए गृहयुद्ध हुन सक्ने अपुष्ट संकेतहरु अहिले देखिन थालेका छन् । यस्तै परिस्थितिमा माओवादी लडाकु भड्किन के बेर ? यसै पनि एउटा लडाकुको मनोदशा हतियार समाउने नै हुन्छ । यदि उसको हतियार खोस्न खोजियो भने के हुन्छ पक्कै पनि त्यसको परिणाम नकारात्मक हुन्छचाहे त्यो  लडाकुलाई होस् या समाजलाई । फेरि, एउटा मनोदशाले ग्रसित गुरिल्लालाई आहारा दिए जस्तो गर्दै खोस्दै ग¥यो भने त्यस्तो स्थितिको जस्तो परिणाम सायदै हुन सक्छ । यसतर्फ ध्यान कसैको गएकै छैन । अझ एकिकृत नेकपा माओवादीलाई यहि परिरिस्थति अनुकुल हुन सक्छ । जनमुक्ति सेन कतै विलय पनि नहोस्, कतै समायोजन पनि नहोस् । केवल पार्टी हाँक्ने ढाल होस् अनि शिविर मै होस् । तर समाजको चाहना यो होइन । स्वंय जनमुक्ति सेनाको पनि छैन होला । समाजको चाहना उनीहरुको सुरक्षित अवतरण हो । अनि राष्ट्रको दायित्व उनीहरुलाई भड्किन नदिनुबाट जोगाउनु नै हो ।

Saturday, December 25, 2010

कविता यस्तो म ! रचना मिति - २०६७/०९/१०

दिमाग खाली भएपछि
मेरो चेतना रन्थन्निछ
विवेशून्य भएपछि
बुद्धि भौतारिन्छ
सुद्धि हराएपछिको बुद्धि
कोसी ब्यारेजको ढोका झैं बेकाम्मे
भनेको बेलामा चलाउन नसकिने
परेको बेलामा समेत खोल्न नमिल्ने
छातीमा खील गढे भन्दा बढी दुख्छ
भोटे ताल्चा थन्किए झैं
थन्किएको मेरो सुद्धि
छटपटाउँछ अनि चलमलाउँछ
रन्थनिएको मेरो बुद्धि
यस्तो बुद्धि !

दिनभर कता हराउँछ–हराउँछ
रात परेपछि एक्कासी पलाउँछ
हरेक बेलुका होटलमा
रक्सीका घुट्कोहरु बढ्दै गएपछि
धेरै कुरा चढ्न थाल्छ मगजमा
मातेको बुद्धि, तातेको बुद्धि
अनि, म फलानोलाई दोषी देख्छु
ढिस्कानोलाई गाली गर्छु
त्यो साला ! ‘भिजिलान्ते’
त्यसले देश डुवायो
यसले यो उडायो
उसले त्यो गुडायो
मलाई यत्ति बोल्न
साँचो कुरा खोल्न
नाथे ! रक्सी चाहिन्छ
मदहोश हुनुपर्छ
नसाले च्याप्नुपर्छ
नत्र त मेरो मष्तिस्क चेतनाशून्य नै हुन्छ
जाबो ! यत्ति भन्न नसा
त्यत्तिक्कै लागेको होइन मलाई दशा
त्यसैले लाग्छ, साला !
म झन भिजिलान्ते
मूख्य दोषी म
बेहोशी म
यस्तो म !

खल्ति रित्तिएपछि मात्र हो
मैले भरियाको चुड्न लागेको ‘नाम्लो’ देखेको
अरु बेला त उफ्रिने म
त्यसपछि त हो, कविता लेखेको
‘भोकभोकै मनुपर्छ यहाँ
चाकडी, चाप्लुसी र गुलामी गर्नुपर्छ यहाँ
नत्र कताबाट आउँथ्यो यस्तो ?
छुद्र वाणी, एउटा असल प्राणी
भोकाएपछि त हो, बौलाउने
एउटा आम मानिसले
पेट रित्तिएपछि त हो,
आफू कवि भएको ‘गुट्टी’ हाँक्ने
कलेज पढ्दा केटीले छोडेपछि त हो नि !
मैले ‘गीत’ लेखेको
नत्र यत्रो आउँथ्यो त्यो भन्दा अघि
जिन्दगी धरमराएपछि त
असल बनिन्छ, सफल बन्न खोजिन्छ
भुत्रो सकिन्छ ?
“मेरो बारेमा यस्तो भनिन्छ”

Friday, December 24, 2010

कविता - वाईह्यात रचना मिति २०६२/०८/१०

वाईह्यात

युवती–युवक–यौवना
एकवात–एकसाथ–एकरात
कुमारीत्व–कुमार–कुशलतापूर्वक
गहिरो–गोलो–गिलास
वोक्दै–वाम्लो–वोटमुनी
रसिलो–रक्सी–रसस्वादनसँगै
सुकोमल–शरीर
कल्पना–कहाँ ?–कालीकोट
नसामा–नेपाली–नाङ्गो
तरवार–तोप–तेस्र्याइ
चुम्बन–च्यानलको–चाकडी
जगत–जसले–जीवन
अन्तरीक्षमा–आईमाईको–अंग
खेदेको–खोइरो–खन्न
लालायित–लज्जालु–लमी
हँसिली–हिसिलाको–हिम्मत बहादुर

मानचित्रमा नेपाल

Tuesday, December 21, 2010

हमालले माफी माग्नुपर्छ


हमालले माफी माग्नुपर्छ

नेपाली चलचित्र क्षेत्रका हस्ती । सदावहार नायक । प्रतिभाशाली व्यक्तित्व । यस्ता थुप्रै पगरी गुथेका नेपाली फिल्म दुनियाका एकमात्र व्यक्ति हुन्, महानायक राजेश हमाल । हमालको व्यक्तित्व उँचो छ । छवि राम्रो छ । अभिनयकता त बेजोड नै छ । यसैकारण लामो समयदेखि कलिउडमा हमालको एकछत्र आधिपत्य छ । दर्शकले साथ दिएका छन् । माया गरेका छन् । त्यसैकारण निर्माता निर्देशक बाध्य छन्, फिल्ममा कुनै न कुनै रुपमा हमालको अपरिहार्यतालाई स्वीकारेका छन् ।

सवैले देखेको राजेशको लोकप्रियतालाई, प्रतिभालाई डावर नेपालले आफ्नो वस्तु बिकाउको अनौपचारिक दलाल बनायो । त्यो पनि मोटो रकम तिरेर । बिना सुझबुझ हमालले प्रस्ताव स्वीकारे । वस्तुको गुणस्तरीयताको अवलोकन नै नगरी । कमसेकम एकपटक वस्तुको परीक्षण गर्नुपथ्र्यो । वस्तु उत्पादन हुने कारखानाको निरिक्षण गर्नुपथ्र्यो । या अन्य कुनै माध्यमबाट वस्तुको सम्पूर्ण जानकारी हासिल गर्नुपथ्र्यो । रियल जुसको विज्ञापनमा अभिनय गर्नुअघि महानायक राजेश हमालले । तर दुभाग्य आम सोझासाझा नेपालीको । उनले अनुसन्धान गरे त केवल मोटो रकमको । जुन रकमलाई डावरले आफ्नो कमजोरीको भ¥याङ बनाएको थियो । राजेशको छवि लिलाम गरेर । नेपाली जनताको स्वास्थ्य माथि प्रतिकुल हाँक दिएको थियो । राजेशको वलिष्ठ शरीर बेचेर ।

डावर नेपाल त दोषी हो नै । दोषीलाई प्रत्यक्ष या परोक्ष रुपमा साथ दिने सवै कानूनका आँखामा दोषी ठहरिन्छन् । अझ हमाल त प्रत्यक्ष सहभागाी खेलाडी हुन्, यस खेलको । हमालकै कारण यसको विक्रि, वितरणमा ब्यापकता छाएको सवैले देखेकै कुरा हो । आफ्नो सुगठित शरीर, मजवुत अभिनयकला रियल जुसकै कारण अझ सशस्त भएको बताउने राजेश हमाल अपराधी मुक्त हुन सम्छन् र ? हमालले गरेको रियल जुसको अभिनयकै कारणले त हो नी ! लाखौं नेपाली जनताले रियल जुसलाई अपनाएका । आफूले मनपराएका व्यक्तिले अंगालेको वस्तु देउतासरी पूजा गर्छन्, नेपाली जनता । जुस पिउनु त चानचुने कुरो हो ।

माथिका सवै कुरालाई मध्यनजर गर्दा नेपाली महानायक राजेश हमाल नेपाली जनताका स्वास्थ्यका खलनायक हुन्, भन्न सकिन्न र ? त्यसकारण उनले डावर नेपालको ‘ब्राण्ड एम्बेसडर’ पद त्यागेर सार्वजनिक रुपमा रियल जुस पिउन उचित नभएको सन्देश प्रवाह गर्ने अभिनय गर्नु हाललाई मनासिव देखिन्छ । नेपाली जनतासँग माफी माग्नु उचित ठहरिन्छ । आफ्नो भूलको पश्चाताप गर्नु उपयुक्त हुन्छ ।

Sunday, December 12, 2010

नुवाकोतको साततले दरबार


येही दरबारमा पृथिबी नारायण शाहले आफ्नो जीवनको उत्तरार्धको समय बेतित गरेका थिय |

लघुकथा सपना रचना मिति २०६७/०८/१६

लघुकथा

सपना

भात पकाउन आउँछ ?
घर सफा गर्न ?, कुचो लाउन ?
अनि लुगा धुन नी ?
‘आउँछ’ भन्ने संकेत दिन्थ्यो, आफ्नो टाउको हल्लाएर । सांकेतिक भाषामा । त्यसपछि नै हो–यस्तै कामको लागि मैले उसलाई घरमा ल्याएको । भारी रकम तिरेर । माउन्ट रोर्वट–पूरा नाम । हरेकपल्ट प्रश्न गरेपछि एउटा हरियो वटम अवश्य थिच्नुपर्थो, उत्तर पाउनलाई ।
३० वर्षे मेरो उमेर । काठमाडौंमा ठूलो घर । आफ्नै घरमा बिजनेस । बाबुआमा गाँउमा खेती–किसानीमा मस्त । एक्लो जीवन । विवाह गर्नुप¥यो भनेर बाबुआमा कराइरहने । आफूलाई विवाह गर्ने सोंचाई नै आएन । कामले गर्दा पनि हुन सक्छ । अनि घरको काम कसले गर्ने ? सर्वोत्तम उपाए–रोर्वट । वटम थिच्यो–घरको सारा काम निमेषभरमा । आफू कम्प्युटरमा बस्यो । सि.सी टि.भी हेरेर कामदारलाई काम लगायो । चिया चाहियो–वटम थिच्यो । चिया आफ्नो अगाडि । लुगा धुनु प¥यो । फुकालीदिए पछि लुगा उठाउनेदेखि लिएर वासिङ मेसिनमा हाल्नेसम्मको सारा काम माउन्ट रोर्वटले गर्थो । घरबाट बाहिर जानै पर्दैन थियो । सामान चाहियो–सामान पु¥याउन आइपुग्थे, विक्रेताहरु । वस् ! क्रेडिटकार्डबाट रकम जम्मा गरिदिएपछि ।
प्रेमिकाले पनि विवाह गरौं नभनेकी होइन । विवाह गरेर एउटीसँगै त के जिन्दगी बिताउनु ? दैनिक ब्राण्ड चेन्ज गर्नुपर्ने आफूलाई । एउटै ब्राण्डमा अल्झिनै मन लागेन । बोतल फरक भएपछि स्वाद पनि फरक हुँदो रहेछ । झोल पो एउटै हो त ! अचानक थला परें–एकदिन । डाक्टर बोलाएँ–घरैमा । फोन नं. पनि थिच्न सकिन । वटम थिच्दे । नम्बर उसैले थिचिदियो–रोर्वटले । डाक्टरले चेकअप ग¥यो र गयो । ३ दिनपछि डाक्टर पुनः झुल्क्यो–रिपोर्ट लिएर । अनुहार मलिनो बनायो र बोल्यो । “सर ! तपाईंलाई प्यारालाइसिस भएको छ ।” म झसंङ्ग भएँ । एक्कासी ब्यूझिएँ । मुटु ढक्क फूल्यो । बत्ति बालें । घडी हेरें–रातको एक बजेको रहेछ । पानी पिएँ र अघि देखेको सपनालाई भुलेर पुनः निदाउने कोसिस गरें । गोठमा गाईभैंसी कराउँदै थिए ।