म सदैब तपाईको प्रतीक्षामा
तपाई आउने बाटो हेरेर बसेको हुनेछु !
मलाई थाहा छ, तपाई आउनु हुनेछ र
मलाई आफ्नो बनाउनु हुनेछ !!!

Friday, December 31, 2010

लघुकथा जनगुनासो रचना मिति -२०६५, असार

                                                                     जनगुनासो
   
             म आफैं सरकारी कर्मचारी भएका कारण पनि सरकारी अफिसका धेरै चालचलनहरुसँग परिचित थिएँ । तर आम मानिसहरुले सरकारी कार्यालयहरुलाई लगाउने गरेको एउटा आक्षेप भने मलाई पटक्कै पचेको थिएन ।
          सहरसँगै जोडिएको गा.वि.स । काम भने १०–५ ले नभ्याएर अरु समयमा समेत गर्नुपर्ने । १ पैसाको हानीमानी र मोटो रकमको चाप्लुसी अहिलेसम्म भएको छैन, त्यति मात्रै कहाँ हो र ? त्यस्तो त देखिएको समेत छैन ।
       एकपटकको कुरो हो म आफ्नो व्यक्तिगत कामले एउटा सरकारी अफिसमा पुगें । अफिस खाली थियो, म अकमक्क भएँ, के त्यस्तो परेछ १०–५ को ड्यूटी हुने ठाउँमा साँढे दुई बजे नै अफिस खाली भैसकेको छ । सारा अफिस फन्को मारें, अन्त्यमा एक व्यक्ति वरिपरिबाट घेरिएर बसेको भेटें, खुशी लाग्यो, आफ्नो पनि नाक जोगिएको जस्तो लाग्यो ।
    मैले चिने, ती मानिस त्यहाँका सुब्बा रहेछन्, मानिसहरु आफ्नो काम गराउँदै फर्कदै गरे । म भन्दा अगाडिको एक व्यक्तिले फाइल अगाडि टेवलमा राख्यो र सुब्बालाई हेर्न भन्यो । फाइल हेरिसकेपछि सुब्बाले ३ दिनपछि आउने कुरा सुनायो तर त्यो व्यक्तिले “यसो मिलाई दिनुन चिया खाउँला नी” मात्र के भनेको थियो, सुब्बा टेवलबाट उठेर भन्न थाले– “तपाईंले मलाई भ्रष्टाचारी सोच्नु’भा ? तपाईको पैसा खाएर नमिल्ने काम गर्छु भन्न खोज्नुभा’को ? तपाई गई हाल्नु त !” भन्दै अफिसको पिउनलाई बोलाएर त्यो व्यक्तिलाई बाहिर पठाउन अहरायो ।
       म मनमनै खुशी भएँ, बाहिर सुनिने जनगुनासाहरु सबै जाली हुन्, वेबकुफ हुन् । सुब्बालाई मनमनै धन्यवाद दिएँ र आफ्नो सानो काम सकाएर बाहिर निस्कें ।
      म ढोकामा मात्र आइपुगेको थिएँ, अघिको पिउन फाइल बोकेर सुब्बाको कोठामा छि¥यो र बोल्यो– “कस्तरी गाली गर्नु’भा सर ? बिचराको त सातै गएछ, म काम गराइदिन्छु भन्दा पनि मान्दै मानेन बल्ल तल्ल फकाएर तीन हजार ल्याछु, अनि यी सर फाइल पनि ।”
       मैले आफ्नो पाइला रोकें र कानलाई ठाडा बनाएँ । “गाली गर्नु परेन त, अर्को एकजना मानिस बसेर सबै हेरिरा’छ, त्यो चाँही चिया खाउँला भन्छ । केही गरि त्यो मान्छे अप्ठ्यारो ठाउँको भ’को भए, अघि मलाई यहाँ ठाउँको ठाउँ अप्ठ्यारो पथ्र्यो ” सुब्बा बोल्दै थिए । “यस्तो अप्ठ्यारामा तपाई हुनुहुन्छ नी कामकुरो मिलाउने !” भन्दै दुईजना गललल हाँस्न थाले । मैले पाइला घरतिर लम्काएँ । मलाई लाज लाग्यो । म आफू पनि कर्मचारी, तिनीहरु पनि । साँच्चै हो रहेछ, जनगुनासा जिन्दावाद !!

No comments:

Post a Comment