म सदैब तपाईको प्रतीक्षामा
तपाई आउने बाटो हेरेर बसेको हुनेछु !
मलाई थाहा छ, तपाई आउनु हुनेछ र
मलाई आफ्नो बनाउनु हुनेछ !!!

Tuesday, March 29, 2011

आख्यान - सरकारी कर्मचारी म

सरकारी कर्मचारी म

केही कुरा लेख्नलाई मन सधैं उद्धेलित भैरहन्छ–मेरो । अनि कापी, कलम लिएर बस्यो । तर रित्तो दिमागले सोच्न पो के सक्थ्यो र केही लेख्नलाई ! बिना सोच, बिना कल्पनाशीलता र बिना अध्ययन नै टुक्रे कुरा लेखेर साहित्यकार भै टोपल्न खोज्ने मेरा इच्छाहरु सफलै पो कसरी हुन्छन् र ? केही मगजमा पहिल्यै ‘सेट’ भएर बसे पो त्यसलाई परिष्कृत गरेर सर्रर उतार्नु ! न विषयबस्तु, न त विषयबस्तु पहिल्याउन सक्ने कला केही भएन–ममा । विषयबस्तु एउटा लेखकबाट, भाषाशैली अर्को लेखकबाट र संरचना अझ अर्को लेखकबाट ‘कपि’ गरेर एउटा पूर्ण लेख तयार गर्ने मेरो बानीले मलाई कहिले सफल बनाउला ? बास्तवमा म अहिले पनि लेख्न त कथा भनेर बसेको हो । तर, यो पूरै लेखिसक्दा पनि तयार चाँही के भयो म आफैले खुट्याउन सकिरहेको छैन ।
कताबाट उछिट्टिएर म एकपटक सरकारी मानो खान पुगें । बिना ‘पावर’ बिना ‘च्यानल’ म त्यहाँ पुगेको देखेर मेरा साथीभाइहरुले नै मप्रति इश्र्या गर्न थाले । हुन पनि हो–म कताको मान्छे ! कताबाट साइत बिग्रिएछ या सप्रिएछ–सरकारी कार्यालयमा पो हाजिर हुन पुगें । जसले जति नै इश्र्या गरे पनि मेरो पूरै शरीरमा खुशिको रक्तसञ्चार नहुने कुरो भने भएन । किनभने, म बक्कैदा जाँच दिएर, पास भएर काममा लागेको थिएँ । निर्वाचन आयोगको फोटो सहितको मतदाता नामावली संकलन कार्यक्रमले मेरो त्यति पूर्पुरो बनाइदिएको थियो–केही समयका लागि । संवैधानिक निकायमा पाएको दरबन्दीले मलाई कम्ता ‘मै हुँ’ भन्ने बनाएन–त्यतिबेला । ओहो ! त्यता काम गर्न थालेदेखि समाजमा बढेको मेरो प्रतीष्ठाको त झन् के कुरा गर्नु ? ‘तिमी’ भन्नेहरुको मुखमा ‘तपाई’ झुन्डिन थाल्यो । ‘भाइ’ भन्नेहरुले ‘सर’ को पगरी पहि¥याउन थाले । त्यतिक्कै हो त मेरो घमण्ड बढेको ? म मात्तिएको ?
बडो गज्जब भयो–एकदिन । काम गर्दै थिएँ–आफ्नो कार्यस्थानमा बसेर । एकजना महिला आएर टेबलका फाइलहरु जथाभावी चलाउन लागिन । मैले नचलाउन आग्रह गरेको मात्र के थिएँ–ति महिला जङ्गिइन– “भाई तिमी कुन पाटीको ?” मलाई झोंक चलेर आयो । एउटा कर्मचारीलाई कुन पाटीको भन्ने ? तैपनी मैले शान्त भएर उत्तर दिएँ– “म अहिले कर्मचारी हुँ, कुनै पाटीको मान्छे होइन ।” कुनै पाटी विशेषको त म कहिले पनि भइन । मेरो उत्तरले तिनी झनै चिंढिइन– “फलानो पाटीको होला, हैन ? म को हो चिनेको छौ ? तिमीलाई चाँहे भने अहिले म जागिरबाट हटाइदिन सक्छु ।” यस्तरी भनिन् कि मेरो हाकिमनी ऊ नै हो । । मैले उसैसँग तलब बुझ्ने गरेको छु । मेरो पनि पारो नतातेको त हैन तर एउटा कर्मचारीको आचारसंहिताले मलाई केही गर्ने आँट दिएन । यदि अन्त त्यसो हुँदो हो त ति महिलाले त्यति बोलुञ्जेल मैले उल्टै तिनको सातो लिई सकेको हुन्थेँ । पछि थहा भयो–ति महिला हाम्रो देशको छसय एक मध्ये कि रहिछिन् । अर्थात् संविधानसभा सदस्य ।
एकपटक काम गर्दै थिएँ–आफ्नो काम गराउन एउटी अधबंैशे आईमाई आइपुगिन । तिनको ‘डकुमेन्ट’ कमजोर रहेछ–हेर्ने बितिक्कै थाहा भैहाल्यो । ‘डकुमेन्ट’ मजबुत बनाउन आग्रह मात्र के गरेको थिएँ ! ति आईमाई त आफ्नो मादकता पो मजबुत बनाउन थालिन् । मसँगै आएर टाँस्सिन लागिन् । जिऊ सुम्सुम्याउन लागिन् । ‘बिहे भयोे, भएन’ सोध्न लागिन् । आफू अबिबाहित । ति आईमाईको त्यस्तो क्रियाकलापले मलाई भने खप्पिनसक्नु भयो । हुन त ति अधबैंशे पनि अबिबाहित नै रहिछिन् । उनको त्यत्रो ‘टिप्स’ को बाबजुद मैले काम गर्न नसक्ने जनाएपछि ति अधबैंशे ठुस्किदै गइन । त्यसपछि मलाई भने अचम्मको रोग लाग्यो । राम्रा–राम्रा केटीहरु आए भने–छोई हाल्न मन लाग्ने, जिस्किन मन लाग्ने, काम गर्न पनि आनन्द आउने । तर यदि अरु कोही काम गराउन आएको खण्डमा साह्रै पट्यार लाग्ने । कामै गर्नु नपरे हुन्थ्यो जस्तो पो हुने भन्या ! एकपटक एउटी काम परेर आएकी एकदमै राम्री तरुनीलाई त मज्जैसँग पो छोएछु ! पछि ति केटीले आनाकानी गरेपछि मात्र मैले आफूले आफूलाई संयमित बनाएको थिएँ । ति केटी फेरि त्यही सभासदको छोरी पो परिछिन् भन्या ! बुझ्दै जाँदा !
कहिले काँही त काम यति अचाक्ली हुन्थ्यो कि चुरोटसम्म तान्ने फूर्सद नहुने । आफ्नो भने छिनछिनमा चुरोट तानिरहनु पर्ने लतले साह्रै तनाब बनाउँथ्यो । ओठ, तालु सबै सुकेको जस्तो पीडा हुने । शरीर सबै फतक्क गल्ने । जब साँझ पथ्र्यो–मन हलुका भएर आउँथ्यो । घर निस्किने बेलामा मज्जैले सास फेरेर निस्कन्थें । त्यस्तै तनाब भएको दिन हो–काम हतार हतार सकाएर निस्कें–अफिसबाट । साथीलाई फोन गरें, भेटें र छिरें–भट्टीतिर–आफ्नो शरीरको थकान मेटाउन । जाँड टन्नै पिइएछ–त्यो साँझ । ३÷४ जना मिलेर मिलेर पिएको त्यो जाँडले यति मातिएछ कि ! के भन्नु ? भट्टीबाट निस्किएको मात्र थियौं–आँखै अगाडि पुलिस चेकिङ्ग रहेछ । साथीहरु डरले ‘बाइक’ चेकिङ्ग भएको बिपरित दिशातिर मोड्न खोजे । मैले भने पुलिस चेकिङ्ग भएकैतिर हिड्न कर गरेछु र भनेछु– “यस्ता मूला ! पुलिसहरु त को हुन् र ? म यिनीहरु भन्दा ठूलो कर्मचारी हुँ । मेरा सुरक्षाकालागि खटिन्छन्–यिनीहरु । यिनीहरुलाई मै थर्काइहाल्छु नि ! कसले के गर्न सक्छ, हामीलाई ?” भोलिपल्ट अफिसमा अघिल्लो दिनको ‘ह्याङ्ग’ भएर चौपट । अघिल्लो दिनको घटना सम्झेर ‘थुक्क–थुक्क’ भन्नुभन्दा मसँग अर्को उपाय केही रहेन ।
त्यो सरकारी जागिर खाउँन्जेलको मेरो रवाफ अहिले सुकिसकेको छ । यसो दुई÷चार जनाले कर्मचारी हुँदाको बखतकै जस्तो गर्ने इज्जत भन्दा बढी फूर्ति अहिले मसँग छैन । कति आनन्दका थिए–ति दिनहरु । काम भन्दा बढी नाम ! नाम भन्दा बढी दाम ! त्यो भन्दा रमाइलो जिन्दगीमा के नै हुन्छ र ? सबैले ‘सर÷सर’ भन्ने मेरो अनुहार अहिले थोत्रो भैसकेको छ र फेरि उही पूरानै लयमा फर्किसकेको छ । कतै हिड्दा पनि पछि लागिलागि बोलाउने मानिसहरु अहिले मलाई देख्ने बितिक्कै मुन्टो बटारेर हिड्न थालेका छन्् । कहिले काँही जाँड खाएको बेला मातेर ‘सरकारी कर्मचारी हुँ म’ भन्ने भन्दा ठूलो इज्जत अहिले मेरो छैन ।

Saturday, March 12, 2011

कविता - रुपैँयाको झोल र म

कविता
रुपैँयाको झोल र म

हिजो मात्र ‘केटीएम पब’ छिरेको
अस्ति मात्रै ‘जुङ्गे दाइ’ को पैसा तिरेको
आज ‘दोर्जे’ कोमा पसेको छु
रुपैँयाको झोलसँगै बसेको छु
अस्ति रहरले पिएको
हिजो साथीभाइको करले
आज अर्कै कारणले पिउँदै छु
नसाको मस्त मादकतामा
आजभोलि हरेकरात जिउँदै छु

एक प्याग, दुई प्याग, तीन प्याग गर्दै
क्रमश ‘प्याक’ हुँदैछ मेरो जिन्दगी
मलाई थाहा छ
मेरो आवाज फुट्दैन, हिम्मत जुट्दैन
‘यो’ बिना मेरो मस्तिष्क समेत चल्दैन
दिनभर म नाङ्गो हुन्छु
तरुनीको छाती र नितम्ब नियाँले भन्दा बढी
नियाल्छन्–मलाई मान्छेहरु
र, गिज्याउँछन्–दिनभर
म नतमस्तक आफूलाई लुटाईरहन्छु
जब रात पर्छ, मेरो शरीरमा ‘झोल’ पर्छ
अनि पूर्ण हुन्छ– ‘शिव’
र, गर्जिन्छन्–नन्दी÷भृङ्गीहरु
त्यसैले लाग्छ,
‘यो’ मेरो सबथोक भा’छ

जतिजति मात्दै जान्छु
त्यति–त्यति आफन्त पराई हुन्छन्
पराई आफन्त हुन्छन्
ओल्लो टेवल, पल्लो टेवल मिल्छन्
मिल्छौँ–हामी
म ‘देश’ ओकेल्छु सधैँ
परिवार÷तनाब÷थकान÷घाटा÷नाफा
उकेल्छन्–उनीहरु
त्यो ‘जाँड परिवार’ हामी
सबैभन्दा खुशी हुन्छौँ
आफ्नो घर÷परिवार भन्दा सुखि हुन्छौँ
लड्खडाउँछन्–खुट्टा, हात र बोलीहरु–जब
उठ्छु म
श्रीमतीको सुकोमल शरीर
झल्झली याद आउँछ
र, रातभरी शरीरसँग पौडी खेल्ने
तीब्र इच्छा पलाउँछ
अनि, हानिन्छु म, घरतिर
साँढे चिन्तन बोकेर
रुपैँयाको केही झोल बाटोतिरै पोखेर

म अब ‘यस’लाई छोड्न पनि सक्दिन
‘यो’ मेरो ऋण भैसकेको छ
आधा सम्पत्ति ‘यस’मै गैसकेको छ
हरेकरात पिउँदै जानेछु–रुपैँयाको झोल
मेरो पसिनाको मोल
विस्तारै तिर्दै जानेछु
म ‘यस’लाई पिउँदै छु
‘यो’ मलाई पिउँदै छ
म टन्नै छु
मलाई थाहा छ–एकदिन म
टन्नै भएर सकिनेछु