कविता
रुपैँयाको झोल र म
हिजो मात्र ‘केटीएम पब’ छिरेको
अस्ति मात्रै ‘जुङ्गे दाइ’ को पैसा तिरेको
आज ‘दोर्जे’ कोमा पसेको छु
रुपैँयाको झोलसँगै बसेको छु
अस्ति रहरले पिएको
हिजो साथीभाइको करले
आज अर्कै कारणले पिउँदै छु
नसाको मस्त मादकतामा
आजभोलि हरेकरात जिउँदै छु
एक प्याग, दुई प्याग, तीन प्याग गर्दै
क्रमश ‘प्याक’ हुँदैछ मेरो जिन्दगी
मलाई थाहा छ
मेरो आवाज फुट्दैन, हिम्मत जुट्दैन
‘यो’ बिना मेरो मस्तिष्क समेत चल्दैन
दिनभर म नाङ्गो हुन्छु
तरुनीको छाती र नितम्ब नियाँले भन्दा बढी
नियाल्छन्–मलाई मान्छेहरु
र, गिज्याउँछन्–दिनभर
म नतमस्तक आफूलाई लुटाईरहन्छु
जब रात पर्छ, मेरो शरीरमा ‘झोल’ पर्छ
अनि पूर्ण हुन्छ– ‘शिव’
र, गर्जिन्छन्–नन्दी÷भृङ्गीहरु
त्यसैले लाग्छ,
‘यो’ मेरो सबथोक भा’छ
जतिजति मात्दै जान्छु
त्यति–त्यति आफन्त पराई हुन्छन्
पराई आफन्त हुन्छन्
ओल्लो टेवल, पल्लो टेवल मिल्छन्
मिल्छौँ–हामी
म ‘देश’ ओकेल्छु सधैँ
परिवार÷तनाब÷थकान÷घाटा÷नाफा
उकेल्छन्–उनीहरु
त्यो ‘जाँड परिवार’ हामी
सबैभन्दा खुशी हुन्छौँ
आफ्नो घर÷परिवार भन्दा सुखि हुन्छौँ
लड्खडाउँछन्–खुट्टा, हात र बोलीहरु–जब
उठ्छु म
श्रीमतीको सुकोमल शरीर
झल्झली याद आउँछ
र, रातभरी शरीरसँग पौडी खेल्ने
तीब्र इच्छा पलाउँछ
अनि, हानिन्छु म, घरतिर
साँढे चिन्तन बोकेर
रुपैँयाको केही झोल बाटोतिरै पोखेर
म अब ‘यस’लाई छोड्न पनि सक्दिन
‘यो’ मेरो ऋण भैसकेको छ
आधा सम्पत्ति ‘यस’मै गैसकेको छ
हरेकरात पिउँदै जानेछु–रुपैँयाको झोल
मेरो पसिनाको मोल
विस्तारै तिर्दै जानेछु
म ‘यस’लाई पिउँदै छु
‘यो’ मलाई पिउँदै छ
म टन्नै छु
मलाई थाहा छ–एकदिन म
टन्नै भएर सकिनेछु
Saturday, March 12, 2011
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment