रातो टीका
चबेलबाट भीससेनगाला–भीमसेनगोलाबाट चाबेल । गएको ४–५ वर्षमा यो मेरो दैनिक कार्य तालिका भएको थियो । एक्लै भएको समयमा बिहान १० बजे घरबाट सडकको लम्बाई नाप्दै त्यहाँसम्म पुग्नु र साँझ ५ बजे पुनः त्यहाँबाट उही क्रम दोहो¥याउँदै घरसम्म फर्कनु । तर, अन्य ब्यक्ति भएको बेलामा भने यो क्रम केही फरक हुन सक्थ्यो । उसो त फरक केही लाग्दैन थियो अनि झन्झट पनि । आपसेआप बिहान पाइला भीमसेनगोलाई पछ्याइरहेका हुन्थे भने साँझ पाइलाले चाबेलको दिशा पक्डिएको हुन्थ्यो । सधैं यस्तै त हुँदैन थियो तर प्रायः यही गतिमा उमेर बढ्दै थियो–आयु छोट्टिदै थियो ।
सडकपेटीका घर, पसल, रेष्टुराँ, होटल प्रायः सबै त्यही हुन्थे । केही नयाँ चिज आएछ भने त्यो चाँही आँखामा परिहाल्थ्यो । बीचमा पशुपति क्षेत्र (मित्रपार्क, जयबागेश्वरी, गौशला) पर्ने हुनाले मानिसको आवत–जावत बाक्लै हुनु स्वभाविक नै हो । फेरि, काठमाडौंमा आजकाल बाक्लो उपस्थिति मानिसको कहाँ नै पो नभएको छ र ? बाटोमै पर्ने भण्डारखाल जंगलको थोरै क्षेत्र एक कक्षा पढ्दा देखेको आज पनि त्यस्तै छ । आकार–प्रकार र पर्खालको बनोटमा भने केही नौलोपन आएको पक्कै हो । कहिले काँही बाटामा बाँदरले मानिसले बोकेका फलफूल खोस्ने अनि अग्लो स्थानमा बसेर खान थाल्ले जस्ता क्रियाकलाप चाँही आँखाका रोमाञ्चित दृश्य हुन् । यसमा एक–दुई पटक त म आफैं पनि परेको छु । गएको ४–५ वर्षमा देशमा धेरै उथलपुथलका घटनाहरु भए ! धेरै कुराहरु आँखाले देख्न पाईयो । संकटकाल, द्धन्द्ध, संसद विघटन, संसद पुर्नस्थापना, शान्तिवार्ता, संविधानसभा, चुनाब आदि एउटै जीवनमा देख्न पाएकाले कहिलेकाँही आफू भाग्यशाली भएको जस्तो पनि लाग्छ । तर यही बीचमा फेरि, अपाङ्ग केटाकेटी, बेसाहरा विधुवा महिला, टुहुरा बालबालिका, क्षत–बिक्षत सामाजिक धरोहरहरु, द्धन्द्धले बिस्थापित मानिसहरु संझिदा भने भित्रैदेखि दुःख, पीडा भरिएर आउँछ र सहानुभुतिका भावहरु छल्किन थाल्छ ।
सधैं खासै फरक नलाग्ने त्यो बाटोमा त्यसदिन भने एकदमै अनौठो लागिरहेको थियो । गाडीको ओहोर–दोहोर निकै पातलो थियो । मानिसहरु भने उत्साहका साथ सडकमा हिंडेका थिए । सबैको छुट्टि भएको त्यसदिन अफिस आउने उर्दी प्राप्त भएकाले म भने अफिस पुगें । “बिहान अफिस बिदा गर्ने निर्णय आयो–तपाईलाई खबर गर्न भुलिएछ ।” अफिस गार्डको यस वाक्यले जानकारी दियो । अफिस त छुट्टि भएछ ! मनमा अलिकति शान्ति भयो । सबैको बिदा भएको दिन कर्मचारीलाई आफूले काम गर्नुपर्दा भित्र–भित्र पोल्ने गर्छ नि ! झन् त्यस्तो महान् उत्सब पर्नेवाला दिनमा ।
फेरि, सडक नाप्न थालें । तर आज अन्य दिनभन्दा बेग्लै–महशुसका साथ । बाह्र बजेको प्रचण्ड गर्मी त्यसमा पनि एक्लै कहाँ जाने ? सडकभरि मानिसको उत्साहित पैदल यात्राको भीडमा आफू एक्लो हराइरहे झैं लाग्न थाल्यो । ‘मेरो पनि साथी भै’दिएको भए आफ्नो अस्थित्व बडो गौरबकासाथ सडकमा उभिन्थ्यो होला नि !’ मनमा जरा गाड्न थाल्यो । तर पनि भित्र मनमा छुट्टै किसिमको हर्ष भने दौडिरहेकै थियो । सडकमा मानिसको हुल झन्–झन् बढ्दै जान थाल्यो । विभिन्न किसिमका झण्डा, नारा र जुलुसका साथ । अघि केही अगाडि अफिस आउँदै गर्दा यस्ता झण्डा बोक्ने मानिसहरुको संख्या फाट्टफुट्ट मात्रै थियो । तर, अहिले निकै ठूलो संख्या यसमा परिणत भईसकेको थियो । निधारमा राता–राता अविरका टीका लगाएर, कपालभरि अविर छर्किएर बडो हर्षोल्लासका साथ मानिसहरु अगाडि बढ्दै जान्थे । मलाई पनि त्यही जुलुसमा गएर मिसियुँ–नेपालको झण्डा बोकेर, भन्ने चाँही नलागेको होइन । तर, एउटा कुरा–जुलुसमा सहभागी कसैले पनि राष्ट्रिय झण्डा भने बोकेको देखिएन । पार्टीगत झण्डा मात्र मानिसहरुको हातमा थियो । उनीहरुले लगाउने नारामा आफ्नो आवाज मिसाउँन नपाउँदाको त्यतिखेरको मेरो अवस्था आफैलाई दयनीय लागिरहे झैं लागेको थियो । विभिन्न समुदाय, पेशाकर्मी, राजनीतिक दल, नागरिक समाज आदिका जुलुस फटाफट आउँदै–जाँदै गर्ने क्रम जारी रह्रयो । म भने अवोध बालक झैं एकटकसँग त्यसैलाई नियाल्मै गौरवान्वित अनुभव गरिरहें ।
म एक्लै अगाडि बढि रहें । बाटामा झन् तीब्र रुपमा नारा र जुलुसको आवाज सुनिन थाल्यो । । मानिसको भीड त्यो गर्मीमा झन् बाक्लो हुँदै गैरहेको थियो । म आफैंमा एक्लो भएको अनुभव हुन थाल्यो । सबै मानिस निधारमा रातो टीका र टाउकोभरि अविर छर्केर हिंडेका थिए । मेरो भने निधार खाली थियो । म सोच्थे– “किन कसैले आएर मलाई रातो टीका लगाइदिंदैनन् ? म पनि त रातो टीका लगाउन आतुर छु नि ! खै, मानिसहरुले कुरा बुझेका ? म पनि त एकअर्कासँग खुशि बाँड्न चाहान्थे तर मेरो चहाना त्यसै तुहिन थालेको कुरा अरुले किन नबुझेका होलान् ?” हो, यो त्यही दिन थियो–जेठ १५ गते । अर्थात् गणतन्त्र घोषणा हुने दिन ।
गणतन्त्र घोषणा हुन लागेको प्रतीक थियो–मनिसका निधारका राता टीका । त्यसैले पनि आफ्नो निधार खाली भएकोमा मलाई खल्लो लागेको थियो । गणतन्त्र घोषणाको ब्यग्र प्रतीक्षा गर्दै मानिसहरु एकआपसमा खुशि बाँड्दै थिए । मैले कोसँग कसरी खुशि बाँड्ने त्यत्रो भीडका बीचमा ? त्यो पनि खाली निधार अनि रित्तो टाउको लिएर । स्पीकरहरु गुन्जिएका थिए– ‘गणतन्त्र जिन्दाबाद’ का साथ । मादल र खैंजडीका साथ मानिसहरुले गणतन्त्रको स्वागत गर्दै थिए । एक हिसाबले भनौं– विजय उल्लास सडकमा थियो । त्यहाँ के थिएन ? सम्पूर्ण जातजाति, नागरिकहरुको स्वतन्त्र सहभागीता थियो–आनन्ददायक नाचगानका साथ । सम्पूर्ण जनशक्ति सडकमा थियो । त्यत्रो जनशक्तिका बीच मैले आफूलाई छुट्टै महशुस गरें । त्यस्तो महान् दिनमा म एकालकाँटे भएको थिएँ । तर मेरो भावना भने त्यही भीडको माझमा खुशिहरु बाँड्दै थियो । मेरो मन भीडसँगै काँधमा काँध मिलाउँदै–नाच्दै थियो । कसैले मलाइै भीडमा तानेनन् र पो सडकको छेउमा उभिएर चुप थिएँ । नत्र एकपटक दिल खोलेर मज्जैसँग नाँची दिन्थे–सडकको बीचमै पुगेर ! आफूले आफैंलाई धिक्कारें–त्यतिखेर ।
मेरो पाइला नाप्ने कार्य सकिएको थियो । तर, पनि निधार र टाउको खाली थियो । अर्थात् विजयको चिनो मैले ग्रहण गर्न पाइन । घोषणा राती भयो । म टि.भी हेरिरहेको थिएँ । मनमा केके कुरा उम्लिन थाल्यो–त्यतिबेला– “टुहुरा बालबालिकाले नयाँ नेपाल, गणतान्त्रिक नेपालमा सहारा पाउनेछन् ? के विधवाको पोल्टो भरिनेछ ? अपाङ्ग र अङ्गभङ्ग भएकाले आफ्ना अङ्ग पाउँछन्–सम्मान पाउँनेछन् ? साँच्चै बिस्थापितहरु घर फर्किनेछन् ? अब सामाजिक धरोहरको भग्नावशेषहरु हामीले देख्नुपर्ने छैन ? के अब स्थायी शान्ति हुन्छ ? अनि सबै नेपालीले नयाँ र अभावमुलक जिन्दगी पाउँनेछन् ? साँच्चै हुन्छ–नयाँ नेपाल ?, गणतान्त्रिक नेपाल–रातो चम्किने टीका जस्तै ?” यस्तै कुराहरुले मन हलचल भईरह्रयो, त्यतिबेला–मेरो ।
Tuesday, January 11, 2011
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment