म सदैब तपाईको प्रतीक्षामा
तपाई आउने बाटो हेरेर बसेको हुनेछु !
मलाई थाहा छ, तपाई आउनु हुनेछ र
मलाई आफ्नो बनाउनु हुनेछ !!!

Saturday, January 15, 2011

कथा - ब्रेकिङ्ग न्यूज - लेखन मितिः २०६७÷०९÷२९

कथा
                                ब्रेकिङ्ग न्यूज

        “के रे ? यो आइतबार बाँढ्छ रे ? गफै त होला नि ! यस्तो आइतबार त कत्ति गयो–कत्ति ।” –सुविन बोल्यो ।
“हैन, यसपाली त पक्का हो रे ! विज्ञापनको पैसा टन्नै उठाएर ल्या’का छन् रे !” –बिमलले आश्वस्त पार्न खोज्यो । अरु केके गुनगुन गर्दै थिए–दुई जना । तर, यत्ति कुरा आएर आफ्नो कानैमा ठोक्किएपछि काममा तल्लीन रमेश, चनाखो भयो र आफ्नो ‘डेस्क’ बाट ज¥याकजुरुक उठ्यो ।
    “कसले भन्यो ?” –सुविन र बिमल भए ठाउँमा गएर रमेशले प्रश्न ग¥यो ।
    “अघि म, ‘म्यानेजमेन्ट रुम’ को ढोका बाहिर पुग्दा यस्तै हल्ला चल्दै थियो ।” –बिमलले जवाफ फर्कायो ।
    “खै ! आज–आज, भोलि–भोलि भनेको चार–चार महिना भै’सक्यो । खल्ती पूरै रित्तो छ ।” –रमेश मलिन भयो ।
    “मलाई त अझै शंका लाईरा’छ । बत्ति, पानी, टेलिफोन, घरभाडाको बिल टन्नै छ रे–तिर्नु ! हाम्रो भागमा के पर्ला र ?” –रमेशको कुरामा सुविनले पनि आफ्नो कुरा थप्यो ।
    “ह्याँ, के चिन्ता गरि’रा ? छिट्टै सुखद समाचारको ‘फुटेज’ हेर्न पाइन्छ । जाऊँ बरु चिया खान–क्यान्टिनमा ।” –बिमलले दुवैको शंका निवारण गर्न खोज्यो ।
    “तिमेरु जाओ । म त जान्न । सुको न कौडी बजार–बजार दौडी । क्यान्टिनमा पनि थुप्रै भै’सक्यो–तिर्नुपर्ने ।” –यत्ति भनेर बिमल आफ्नो ‘डेस्क’ तिर लाग्यो ।

           आफूले ‘रिर्पोटिङ्ग’ गरेर ल्याएको ‘न्यूज’ टाइप गर्न थाल्यो–रमेशले । बडो स्फुर्तिकासाथ किबोर्डमा औंलाहरु नचाउन सुरु ग¥यो । एकैछिन अघि त्यही समाचार टाइप गर्न अल्छि गर्दै थियो–ऊ । तर अहिले उसका औंलाका वेग उन्मक्त भएका थिए । “आइतबार बाँढ्छ रे !” को प्रभाव उसमा परेको ठोकुवा ऊ आफैंले गर्न लाग्यो । अनुहारमा चमकता थियो, अहिले–अघि एकछिन अगाडिको भन्दा । टोलायो ऊ–सायद सोच्दो हो– “चार महिनाको तलबले यस्तो गर्छु । त्यहाँ तिर्छु । त्यो सामान किन्छु । अलिकति पैसा घर पठाइदिन्छु । अनि, अलिकति पैसा ‘एटिएम’ मा हाल्छु अप्ठ्यारोमा काम दिन्छ ।” किवोर्डमाथि टाउको राखेर घोप्टियो–रमेश एकचोटी । तुरुन्तै टाउको उठायो र बोल्यो– “हात्ती आयो–हात्ती आयो फुस्सा ।” फेरि, आफ्नो समाचार टाइप गर्नतिर लाग्यो–झर्को मानिमानि ।

         “साहुजी, एउटा चुरोट ल्याउनुस् त !” –बुङबुङती चुरोटको धूवाँ उडायो रमेशले–क्यान्टिनमा बसेर । हिजोको दिनको घटना फनफन्ती उसको मगजमा घुम्न लागेको थियो–यतिबेला । ‘न्यूज रिर्पोटिङ्ग’ गर्न कीर्तिपूर पुगेको थियो–ऊ । जाने बेलामा अफिसको गाडीले छोडिदियो । फर्किने बेलामा अफिसको गाडी आएन । समाचार तयार भै’सकेको थियो । उसलाई प्रतीक्षा गाडीको थियो । तर, त्यही गाडी नआउने जनाऊ गाडी चालकले ‘म्यासेज’ बाट दिए । आफ्नो मोबाईल हेरेर एकपटक नराम्रोसँग रन्थनियो–रमेश । चिन्ता उसलाई यो थियो– ‘अब कोठा कसरी जाने ?’ उसको खल्ती रित्तो थियो । अर्थात् आफूसँग भएको पैसा उसले अफिसको गाडीको प्रतीक्षा गर्दा–गर्दै चिया र चुरोटको धूवाँमा उडाएको थियो । उसलाई थाहा थियो–अब ऊसँग पैसा छैन । तैपनी एकपटक आफ्नो मन बुझाउनलाई खल्तीबाट ‘पर्स’ निकालेर हे¥यो र बोल्यो– “यति पैसाले त यहाँबाट बानेश्वर पुगिदैन । फेरि, चुरोट पनि त तान्नु छ ।” आफ्नो मोबाईल निकाल्यो र ‘मिसकल’ मा¥यो, अफिसमा–रमेशले । अनि, फोनको प्रतीक्षा गर्दै एउटा चुरोट किनेर सल्कायो । आफ्नो तनाबलाई कम गर्न खोज्यो । तर, तनाब भने झन्झन् बढ्न थाल्यो । यस्तै महशुस ग¥यो–उसले ।

          कर्मचारीको एउटा धर्म पूरा गर्न खोजेको हो–उसले । आफूले तयार पारेको सामाग्री टिपाईदिन्छु भनेर ‘मिसकल’ गरेको हो–अफिसमा । तर सधैं उताबाट आउने फोन आज आएन । अफिसको चलन नै यस्तै थियो । ‘मिसकल’ गरेपछि फोन आउथ्यो । “तर, आज के भो ?” रमेश चिन्तित भयो । आफैं फोन गर्नलाई पनि ‘मिसकल’ जाने भन्दा बढ्ता ब्यालेन्स नभएको कुरा उसलाई राम्रैसँग जानकारी थियो । मन अमिलो भएको थियो–एकपटक रमेशको । अर्को कुनै विकल्प नदेखेपछि आफ्नो बाटो तताउने निर्णय ग¥यो–त्यहाँबाट रमेशले । पैदलै–पैदल ऊ घरतर्फ लागेको थियो । हिजो–अस्ति भए, सहकर्मी हुन्थे । तर, आज ऊ एक्लै परेको थियो । क्यामराम्यान अघि नै हिंडिसकेको थियो–केही फुटेच खिचेर । झर्कियो बेस्सरी– “साला! जागिर ।” साह्रै विलखबन्दमा परेको थियो–रमेश । कति पटक फोन दाब्यो–अफिसमा । तर परिणाम उस्तै । हुन त अरु सहकर्मीलाई पनि ‘मिसकल’ गर्न सक्थ्यो । साथीहरुले फोन फर्काउँथे । “अफिसमा फोन गरेर मलाई फोन गर्न लगाई देउन भन्न पनि मिल्थ्यो ।” तर आफूलाई झुकाउन चाहेन–रमेशले ।

       एउटा खेल हारेर फर्केको खेलाडी झैं भएर बेलुकीपख आफ्नो कोठा छिरेको थियो,रमेश–निन्याउरो अनुहार बनाएर । तर, श्रीमतीको अगाडि चाँही मुहारमा खुशीको भावहरु ल्याउने चेष्टा गरेको थियो–उसले । त्यहि हिजोको घटनाले गर्दा गाली पाएको थियो–आज रमेशले । समाचार नदिएको कारणले हाकिमले कराएको थियो–उसलाई । त्यसैले त तनाबमा चुरोट पिउन झरेको थियो–क्यान्टिनमा । तर टोलाउँदा–टोलाउँदै उसले तानेको चुरोट, ठूटोमा परिणत भएको त्यतिबेला चाल पायो–जतिबेला उसको हातमा आगोले पोल्यो ।
   
         “ओहो ! दाइ नमस्कार । तपाई, रमेश दाइ हैन ?” पसलमा चुरोट किन्न लागेकै बेलामा एकजना आगन्तुकले सोध्यो ।
    “हो ।” सटिक उत्तर दियो–रमेशले ।
    “तपाई टि.भी. मा देखिन्छ नि ! ‘लाइभ प्रसारण’ भएको बेला ।” आगन्तुकले थप्यो ।
    “तपाईको आवाज राम्रो छ । मलाई एकदम मनपर्छ । मेरो साथीहरुमाझ पनि कहिले–काँही तपाईको प्रशंसा हुने गर्छ ।” आगन्तुकले रमेशलाई चिन्नुको अर्थ प्रष्ट्यायो अनि बिदा माग्यो र लाग्यो–आफ्नो गन्तब्यतिर । रमेश–एउटा टेलिभिजन च्यानलको रिर्पोटर । उसको रिर्पोटिङ्ग नआएको निकै कम दिन हुन्थ्यो–उसको च्यानलमा । उसको प्रतीष्ठा थियो–समाजमा । टेलिभिजनकै कारणले चर्चित थियो–ऊ, आममानिसका माझ । तर ऊ आफैंमा भने ‘फ्रष्टेड’ थियो–आफ्नो जिन्दगी देखेर । चुरोट अधिक तान्ने उसको आदतै हो ।

          “हाम्रो बिहे भा’को पनि डेढ वर्ष भएछ, है ?” छेउमै आएर श्रीमती बोली । रमेश खाना खाएर ‘नेट’ चलाउँदै थियो–चुरोट तान्दै ।
    “हो र ? मलाई त पत्तै हुँदैन ।  कामले गर्दा अरु कुरा सोच्ने फुर्सदै हुन्न ।” एकचोटी श्रीमतीतिर फर्केर बोल्यो–उसले र फेरि ‘नेट’ चलाउन थाल्यो ।
    “मलाई पनि भुल्नु हुन्छ कि ! क्या हो ?” माया मिश्रित आवाजमा श्रीमती बोली–रमेशको कपाल मुसारिदिदैं ।
    “तिमीलाई भुल्नु भनेको त आफूलाई नै भुल्नु जतिक्कै त हो नि ! लाटी ।” श्रीमतीको गाला चिमोटी दियो–उसले ।
    “सुत्ने बेला भएन ? कतिखेर सुत्ने ? मलाई त निन्द्रा लाग्न थाल्यो ।” ‘नाइट ड्रेस’ मा तयार हुँदै श्रीमतीले भनी ।
    “सुत्ने अब । तिमी जाऊ न, म आउँछु ।” रमेशले कम्प्युटर ‘सर्ट डाउन’ ग¥यो र लाग्यो पलङतिर ।
    “बत्ति निभाउनु पर्दैन ? मान्छेले देख्लान् !”
    “के भो त देखेर ? श्रीमान्–श्रीमती सुतेको त हो नि !” हाँस्यो–मज्जैले रमेश एकपटक । बत्ति निभायो र ‘बेड’ मा पल्टियो–कपडा खोलेर ।
   
         श्रीमतीको शरीर चलाउन थाल्यो–रमेशले । बिस्तारै–बिस्तारै, बडो आनन्दकासाथ । सारा तनाबबाट मुक्त भै’रहेछ–ऊ यतिबेला । उसका सम्पूर्ण थकानले बिश्राम गरिरहेछन्–यतिखेर । यस्तै महशुस गरिरहेछ–ऊ । गाला चुमिदियो एकैपटक श्रीमतीको । आफ्नो दुबै हातलाई श्रीमतीको अंग–अंगमा कुदाउन छोडेको छैन–उसले । श्रीमतीले पनि नकारिन–उसका क्रियाकलापलाई ।
“एउटा कुरा भनुँ ?” रमेशको छातीमा आफ्नो हात नचाउँदै बोली–श्रीमती ।
“भन न ।” श्रीमतीको स्तनमा आफ्नो हात घुसाउँदै बोल्यो–ऊ ।
“तपाईंको तलब आएन ?” आफ्नो स्तनमा चलमलाउँदै गरेको रमेशको हातलाई सुमसुमाउँदै बोली–ऊ ।
“किन ?” प्रतिपश्न ग¥यो–रमेशले ।
“बजारमा अहिले नयाँ ‘ब्रा’ आ’को छ । जसले छातीलाई चिटिक्क देखाउँछ । त्यो किन्नु प¥यो क्या !” लाड्लिन थाली–श्रीमती ।
“किन बनाउनु प¥यो, चिटिक्क ? कपडाले छोप्ने चिजलाई ? कपडा खोलेपछि सधैं चिटिक्क नै देख्छु म त !” आफ्नो बाध्यता ढाक्न खोज्यो–उसले ।
“बिहेपछि मैले केही किनेको छु ? त्यही बिहेमा किनेको ‘ब्रा’ । त्यो पनि साह्रै थोत्रो भै’सक्यो । ‘यो’ पूरै झोल्लिन्छ ।” आफ्नो स्तनलाई इंगित गर्दै ठुस्किई–ऊ ।

            मोबाईलको “रिङ्ग” बज्यो । श्रीमतीको छातिबाट हात उठाउँदै मोबाईल उचाल्यो–रमेशले । “यतिबेला अफिसको फोन ? हेलो... हेलो.... ए ! हो ? हुन्छ....हस्....हस्...हुन्छ..... ।”
“के भो ?”
“जानुपर्ने भो ।”
“यति राति कहाँ ?”
“जागिर खाएपछि दिनरात भन्न नपाइने र’छ ।”
“पैसा–सैसा नआउने जागिर !” श्रीमती झर्किई । लगभग आफ्नो ५ मिनेटको क्रिडाकर्म सक्काएर रमेश उठ्यो । एकपटक सन्तुष्टीको अनुभव उसले ग¥यो । श्रीमतीको निधारमा चुम्यो । श्रीमती भने उसलाई तान्दै थिई–आफ्नो अंगालोमा कस्न खोज्दै थिई । सायद श्रीमानको संसर्ग उसलाई यति छिट्टै तृप्त भै’सकेको छैन । रमेशले आफ्नो कपडा लगायो र कोठाबाट निस्क्यो ।
    
           आफ्नो कोठा भन्दा करिब २०० मिटर पर भएको आगलागीको तात्तातो समाचार संकलन गर्न रमेश निस्केको थियो । श्रीमतीसँगको तातो ओछ्यान छोडेर । आगो एउटा ‘बिजनेस कम्प्लेक्स’ मा लागेको थियो । वरिपरि मान्छेको भीड थियो । सुरक्षाकर्मी थिए, दमकल पनि थियो–आगो निभाउँदै । रमेशले सबैसँग सोधपुछ ग¥यो र डायरीमा टिप्यो । अनि, लाग्यो–आफ्नो कोठातिर । आफ्नो कोठा छिर्ने पहिलो गल्ली मात्र के छिरेको थियो–ऊ । ८÷९ जनाको केटाहरुको हूल ऊ भएतिर आइरहेको देख्यो–रमेशले । केटाहरु बेसुरामा बरबराई रहेका थिए । रमेश सर्तक भयो । हूलका केटाहरु नसामा लठ्ठ भएको आंकलन गर्न उसलाई समय लागेन ।

       “ए..... को हो, त्यो ? समात् ।” आवाज आएको सुनेको थियो–रमेशले । त्यसपछि एकैपटक आफू रित्तो भएको चाल पायो–उसले । केटाहरु ऊसँग भएको सबैथोक लुटेर भागिसकेका थिए । रमेश आफ्नो लाज धान्ने एकसरो कपडाको साथमा घर पुग्यो–धरमराउँदै । श्रीमतीले ढोका खोली । श्रीमतीलाई अंगालो हालेर रुन थाल्यो–ऊ । श्रीमती पनि झस्कि एकचोती त ! तर, रमेशको हालत देखेर उसालाई सान्त्वना दिन थाली । श्रीमतीको फोन हातमा उठायो । आफ्नो आँसु पुछ्यो र नम्बर थिच्यो–रमेशले आफ्नै अफिसमा ।

“हेलो...... को...... ए.... ल टिप्नुस त ! ‘ब्रेकिङ्ग न्यूज’–पत्रकारमाथि हातपात ।” लरबराउँदै बोल्यो–ऊ । “....... फलानो ठाउँमा............................. छ ।” न्यूज सक्काएपछि एउटा चुरोट जलायो–रमेशले । बुङ्बुङ्ति धूवाँ उडायो–बत्तिको प्रकाश पनि छोपिएला झैं गरी ।

No comments:

Post a Comment