म सदैब तपाईको प्रतीक्षामा
तपाई आउने बाटो हेरेर बसेको हुनेछु !
मलाई थाहा छ, तपाई आउनु हुनेछ र
मलाई आफ्नो बनाउनु हुनेछ !!!

Friday, June 8, 2012

पूर्वराजा वीरेन्द्रसँग फेसबुक च्याट

‘वीरेन्द्र वीरबिक्रम शाहदेव, एड एज अ फ्रेन्ड’ भन्दै फेसबुकको दाहिने कुनोको माथीपट्टि एउटा पेज देखा प¥यो । पूर्वराजा ‘वीरेन्द्र’ भन्ने बितिक्कै एकैपटक बाढी आएझैं २०५८ साल जेठ १९ गतेको त्यो रात र घटना मेरो दिमागमा फन्फन्ती घुम्न थाल्यो । केही बेरमा म सम्हालिएँ । र, हतार नगरी पूर्वराजा ‘वीरेन्द्र’लाई ‘एड फ्रेन्ड’ गरें । बुढाको फ्रेन्डलिस्टमा ३ हजार बढी मानिस थुप्रिसकेका रहेनछन् । त्यसै भीडमा ‘फ्रेन्ड रिक्वेस्ट’ पठाउने अनेक ‘प्रजा’हरु मध्येमा म पनि मिसिएँ ।

कम्प्यूटरले रातको सवा बाह्र बजेको जनाईरहेको थियो । म एकोहोरो सोसियल साइटहरु ‘सफरिङ’मा ब्यस्त भइरहेको थिएँ । जेठको उखरमाउलो गर्मी छल्न नसकेर म राति अबेरसम्म नेटमा झुन्डिने गर्छु । गर्मीले निन्द्रा नलाग्ने र मौसम शित्तल बनाउन घरमा पंखा नभएका कारण राति अबेरसम्म जागा बस्नु मेरो सानै देखिको बाध्यता हो, अहिले भने केही राहत मिलेको छ–नेटका कारण । यो नेट भएपछि समय कटेको पत्तै हुँदैन, निन्द्रा पनि लाग्दैन ।

अचानक मेरो फेसबुक पेजमा एउटा नयाँ ‘नोटिफिकेशन’ देखा प¥यो । मैले नोटिफिकेशन हेर्न ढिलाई गरिन । ढिलाई होइन, जहिल्यै पनि म नोटिफिकेशन हेर्न आतुर हुन्छु । मरेर आक्कल–झुक्कल आउने एक–दुईवटा नोटिफिकेशन हेर्न को आतुर नहोस् ? लौजा ! म त चकित, नोटिफिकेशनले ! ‘वीरेन्द्र वीरबिक्रम शाहदेव एसेप्टेड योर फ्रेन्ड रिक्वेस्ट’ भनेर पो देखायो । बुढा त अनलाइनै पो रहेछन्, रिक्वेस्ट पठा’को पाँचै मिनेट जतिमा फ्रेन्ड रिक्वेस्ट एसेप्ट भयो ।

रातको १२ बजेपछि पनि वीरेन्द्र अनलाइन ? लौ ! यिनलाई पनि गर्मी भएछ कि के हो ?, पंखा रहेनछ कि के हो ?, निन्द्रा लाग्दैन कि के हो ? यस्तै कुरा मनमा आयो । त्यो भन्दा बढी मलाई वीरेन्द्रसँग ‘च्याट’ गर्ने कुतकुती चल्न थाल्यो । के भन्ने ?, कसरी भन्ने ?, कसरी सुरु गर्ने ? दोधारकैबीच एक्कासी किबोर्डमा औंला दाबें र ‘मौसुफ, नमस्कार !’ लेखेर ‘इन्टर’ गरिदिएँ । त्यसपछि पो मेरो मुटुको गति बढ्न थाल्यो त । बुढाले के सोचे होलान् ?, मैले त्यसरी लेख्न हुन्थ्यो–हुँदैनथ्यो ?, मेरा ती दुई शब्दले बुढाको सत्कारको स्तर ‘मेन्टेन’ ग¥यो–गरेन ? शरीरभरी चिटचिट पसिना आउन थाल्यो, डरले ।

–‘तिमी को ?’ बुढाले प्रश्न तेर्साए ।
–‘म हजुरको प्रजा, सरकार ।’ त्यसपछि भने डर कम भयो, टाइप गरेर जवाफ फकाईदिएँ । जे होस् बुढा अरुले भनेजस्तै मिजासिला रहेछन, मैले दुई वाक्यमै बुढाको बानी ब्यहोरा आंकलन गरें ।
–‘अनि सरकार, अहिले हजुर कता होइबक्सन्छ ?
–मरेपछि मान्छे कहाँ हुन्छ, तिमीलाई थाहा छैन ?
–के थाहा हुनु, सरकार ? आफू मरेको छैन ।’ ला ! ठाडो उत्तर पो दिएँ कि क्या हो ?


–‘म अहिले माथी छु ।
–कता माथी ?
–सबैभन्दा माथी ।
–अनि, हामीले कसरी देख्ने त ?
–सबैभन्दा माथी मन हुन्छ, मनको कुरा देख्ने होइन, अनुभव गर्ने हो, अहिले म तिमीहरुले अनुभव गर्ने ठाउँमा छु ।’ लौ ! बुढा त विद्धान् पनि पो रहेछन् त कस्तो सटिक उत्तर ?, गुट्टी पो दिए, मलाई ।

मेरो मन भित्रभित्रै चङ्गा हुँदै गइरहेको थियो । नहोस् पनि किन ? वीरेन्द्रको परिवार नास भएको दरबार हत्याकाण्डको ११ वर्षपछि म उनै वीरेन्द्रसँग च्याट गर्दै थिएँ । त्यो पनि त्यही दिन, जुन दिन दरबारमा गोली चलेको थियो । हो, जेठ १९ गतेकै राध्यरातमा म वीरेन्द्रसँगको फेसबुक च्याटमा थिएँ । सम्भवतः ११ वर्षअघि यही रात १२ बजेसम्म त वीरेन्द्रको मृत्यु भइसकेको थियो, तैपनी उनको मृत शरीरलाई ‘जिउँदै’ बनाई वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचारका लागि राखिएको थियो ।

–‘अनि सरकार, हजुरको हत्या कसले गरेको हो ?’ इन्टर थिचिसकेपछि चसक्क मुटुमा घोच्यो, यस्तो चाँही नसोधेको भए हुन्थ्यो !
–‘संस्कारले,
प्रवृतिले,
ईश्र्याले,
अंहमताले,
छट्पटाहाटले,
उत्कण्ठाले,
अज्ञानताले,
देखासिकीले
–हजुरले के भन्न खोजी बक्सनुभएको हो ? मैले केही बुझिन सरकार ।
मान्छेको अनुहार चिनिबक्सनु हुन्छ ?
–..............................................’ लौ ! बुढाले त ‘डटडटडटडट’ पो लेखेर पठाए त ।
–‘के लेखी बक्सेको सरकार ?
–मेरो हत्यारा तिमीहरु हौ................
–मऽऽऽऽ के रे, हामीऽऽऽऽऽ के रे, मतलबऽऽऽऽऽ
–हो, मलाई मार्ने नेपाली हो,
नेपाली मन हो,
नेपाली प्रवृति हो,
नेपाली संस्कार हो,
जुन संस्कारले ‘भीमसेन’ थापा मारिए,
त्यही संस्कारले मलाई मा¥यो,
यस्तो नेपालमा एकपटक होइन,
पटक–पटक भएको छ ।’

बुढाले के–के भन्न थाले–थाले, मैले केही ठम्याउन सकिन । बरु, मनमनले सोंचे–आज शुक्रबार, रातको साँढे बाह्र भइसकेको छ, कतै बुढाले ‘भ्याट–६९’ चिरिप्प लगाएर त बसेका छैनन् ? सोच्न पनि धेरैबेर पाइन, बुढाले लेखेर पठा’को संकेत ‘वान’ (१) भनेर देखियो, च्याटरुममा ।
–‘म मरेपछि नेपालमा के भो ?
–संविधानसभाको चुनाब भयो, सरकार ।
–अनि, नयाँसंविधान आयो त ? –आएन सरकार ।
–किन, कसरी आएन ? –जसरी मौसुफको हत्याराको ‘ठोस’ पहिचान र कारण बाहिर आएन, त्यसैगरी नयाँसंविधान किन, कसरी र कसले गर्दा आउन सकेन ? त्यो बाहिर आएन ।’

बुढाले त्यसपछि एकछिन केही लेखेनन् । मलाई पनि केही लेखिनै हालुँ न त भन्ने आँट आएन । तर, मेरो मनमा प्रश्नको भने सिङ्गै खात बाँकी नै थियो ।


–‘अनि, मेरो श्रीपेज कहाँ छ त ?
–यहाँ त गणतन्त्र आइसक्यो नि ! सरकार ।’ ला ! बर्बाद गरे कि के हो ? खुशी भएर लेखिदिएँ । बुढालाई त ‘गणतन्त्र’ शब्दले रिस पो उठ्छ कि क्या हो ?
–‘हो । श्रीपेच त होला नि ?
–छ, सरकार छ । हामीले श्रीपेचलाई बाक्साभित्र हालेर, भोटे ताल्चा लगाएर सुरक्षित राखेका छौं ।
–किन त्यसरी लुकाको ?
–सरकार, देखाउनु जति देखा’को ‘एटीएम’ फिल्म ‘बढी’ देखायो भनेर विरोध भयो, लुकाउन भनियो । त्यसैले विरोध आउला, हराउला भने लुकाको नि ! मौसुफ ग’को केही वर्षसम्म त ‘प्रोमो’ देखायौं, त्यसपछि विरोध भयो अनि लुकायौं । –हा हा हा हा हा........।’ बुढा हाँसे, के बुझे कुन्नी ?

–‘अनि, मेरो राजगद्दी नि ?
–त्यो त छ सरकार, सबैले देख्नेगरी राख्या छ ।
एकदिन चाँही त्यसमा पत्रकारहरुले हाली मुहाली गरे, लुछाचुँडी गरे ।
त्यसपछि भने त्यसलाई ‘तारबार’ लगाएर ‘जोगाएर’ राखिएको छ ।
–अनि, मेरो अरु कुराहरु ?
–ती सबै प्रदर्शनीमा राख्या छ, सरकार ।
हजुरको घर, पलङ सबै प्रदर्शनीमा राख्या छ ।
हजुर त गज्जबको शानसँग बसिबक्सेको रहेछ नि ! मैले नि हेरें, एकदिन शनिबार ।
सहकर्मी मित्र सुवास सुनुवारसँग मौसुफको घर हेर्न ग’को थिएँ, पैसा लाग्ने रहेछ, १०० रुपैयाँ ।
हामीले त ‘प्रेस पास’ देखाएर समाचार संकलन गर्ने भन्दै फोकटमा छि¥यौं, तर, समाचार भने लेखेनौं ।’

उफ् ! यो लामखुट्टेले पनि कति टोकेको ? निरन्तर किबोर्डमा औंला दाबेको मौका पारेर ४–५ ठाउँमा चुस्न भ्यायो । बिचरा ! लामखुट्टे, मेरो शरीरको रगत चुसेर कुन्नी कतातिर गएर ‘झ्याप’ भएर ढल्यो, होला ! मैले रक्सी नपिएको दिन छैन, अनि मेरो रगतमा नसा नहोला त ? ‘लाऽऽऽ !’ एउटा लामखुट्टेलाई त ठाउँको ठाउँ सिध्याइदिएँ, मेरो गाला टोक्न आउँदो रहेछ ! आफ्नो पनि गाला दुख्यो, आफ्नै थप्पडले ।

–‘अनि, सरकार के गर्दै हुनुहुन्छ, आजभोलि ?
–दीपेन्द्रको बिहे गराईदिने चक्करमा छु ।’ बुढाको यस लाइनले भने म रन्थनिएँ, पुनः मैले दरबार हत्याकाण्ड सम्झिन थालें । त्यही दीपेन्द्रकै बिहे गर्ने चक्करमा त्यत्रो घटना घट्न पुग्यो भनेर ‘फुकिएको’ छ–बाहिर ।

–‘त्यता पनि बिहे हुन्छ र सरकार ?
–किन, यता चाँही वंश–परम्परा धान्नु पर्दैन ?, देउताले पो ‘फु’ गरेर खरानी फुकेर मान्छेको उत्पत्ति गर्थे त....... –मौसुफको परिवारका अन्य सदस्यहरु नि ?
–सबै यतै छन्, सकुशलै छन् ।
–मौसुफ त्यता पनि राजा होइबक्सन्छ कि ?
–हैन, छैन, यता पनि गणतन्त्र आइसक्यो, अहिले म ...................
अनि, सरकार ?
अनि ?
कता पालीबक्सनु भो सरकार ?’ लौ ! बुढा त एक्कासी अफलाइन पो भएछन् । लोडसेडिङ्ग भएछ कि क्या हो ? हो कि नेट ‘डाउन’ भयो ।

–‘ए दाई ! दाइ..... हैन कति सुतेको ?
–को हँ, को आयो फेरि ?
–ल ! कलंकी आइसक्यो, उत्रिनु पर्दैन ?’

आच्या ! कलंकी पो आइसकेछ । उफ् ! कस्तो साह्रो निदाइएछ ? हिजो नेपालगञ्जबाट चढेको नाइट गाडी काठमाडौं आईपुगी सकेछ । बेलुकी खाना खाएपछि सुतेको त निदाको निदाकै भइएछ कि के हो ? लौ ! बसमा त कोही पनि पो रहेनछ त, सबै उत्रिसकेछन् । मैले पनि आफ्नो समान उठाएँ र बसबाट उत्रेर आफ्नो बाटो तताएँ ।

तस्बीरः एजेन्सी ।
Mero Report Link: http://meroreport.net/profiles/blogs/6365517:BlogPost:80217

No comments:

Post a Comment