म सदैब तपाईको प्रतीक्षामा
तपाई आउने बाटो हेरेर बसेको हुनेछु !
मलाई थाहा छ, तपाई आउनु हुनेछ र
मलाई आफ्नो बनाउनु हुनेछ !!!

Sunday, September 25, 2011

पानी पुराण

अपरम्पार पानीको गुणगाण कहिल्यै भएन, लोडसेडिङ्ग भएको समयमा मानिसले सरकारप्रति लगाउने लाल्छना भन्दा बढी यसले आफ्नो शब्दगान कहिल्यै पाएन । पानी सर्वब्यापी छ, सर्वसम्मान छ । गुणी छ, बहुउपयोगी छ । त्यो भन्दा बढी यसको इतिहास सृष्ठीको रचनाकाल देखि अद्योपरान्त निरन्तर छ, निरन्तर मानवीय सेवाभावमा यो क्रियाशील छ । हे पानी ! तिम्रै स्तुतीका निमित्त मैले थोरै बचे–कुचेका समय श्रममा लगाएँ । यसमा न मेरो कुनै हरहिसाब, नाफा, नोक्सान र निहित स्वार्थ छ, यसमा त बस् तिम्रो निरन्तर रुझाईले पु¥याएको मेरो उद्धेलित मनका केही अखाद्य तत्वहरु छ ।
खानामा पानी, नुहाउन पानी, पिउन पानी, ट्वाइलेट जाँदा पानी । तरकारी पकाउँदा पानी, बाटोमा हिड्यो रुझाउने त्यही बानी, मानिस बिचरा बेहोस हुन्छ, होस खुलाउन छर्किने पनि पानी । आमा भाँडा माझ्छिन्, प्रयोग त्यही पानी । दिनभर कार्यालयको झ्यालबाट चिहायो, बाहिर पानी । रातभर मस्त निन्द्रामा निदाउन सहयोग गर्ने एकनासले भरिरहने अद्भुत पानी । हरेक दिन फरक–फरक लुगा लगाएर हिड्नुपर्ने बाध्यता बनाउने दुस्मन पनि पानी । जहिल्यै हिलो भएको लुगा धुन प्रयोग हुने के–के जातीको साबुन रस सोस्ने चाहिने पनि पानी ।
सोह्र श्राद्धभरी जल, हो त्यो पनि पानी । बह्मनालमा लासमाथी जर्बजस्ती मुखमा चढाउने त्यही पानी । तरकारीमा पानी, दालमा पानी, पखला लागेर ओछ्यानमा ढल्यो, पिउने त्यही जीवनजल पानी । बसन्त ऋतुमा पानी, शरद, गृष्म ऋतु जहिल्यै सुकै पानी । कति धेरै पानी ? हरेक वर्ष काठमाडौंमा हुने म्याराथुन भन्दा लामो पानी । ओहो पानी ! उफ् पानी !
दशरथ रंगशालामा पानी, टुँडिखेलमा पानी, नेपालको जीतमा पानी, हारमा पनि साक्षी त्यही पानी । खेलाडीको शक्ति पनि कागती र गुल्कोज पानी । ‘लिग’मा पानी ‘नकआउट’मा पानी, गोल गर्दा मीठो पानी, हार्दा नमीठो पानी, रुँदा आँखाबाट खसेका पनि त हो पानी । यति धेरै पानी । जताततै पानी । ए पानी ! कति दर्केको यसरी ? जहिल्यै साथै त हामीसँग पानी !
दशै आइसक्यो, घरतिर लम्कनुपर्ने, कस्ट बनायो, दुष्ट त्यही पानी । किनमेल कहिले गर्ने ? निरन्तर दर्केकै छ पानी । मौसम विभागले अब रोकिन्छ भन्ने पनि पानी, त्यही सुनेर निर्धक्क बाटोमा निस्केर हिड्ने मानिसलाई मुसो चुटिए झैं चुट्ने ओहो ! अचम्मको पानी । हे पानी ! तिमी कहिले जानी ? भो, अति भो ! अब त रोकिउ ! कति झरेको ? श्रीमतीले लुगा धुन सकिन भनेर गाली गर्न थाली कारण त्यही पानी । के गर्नु अफिस जानै नसकिने भो, हाकिमले कराएर चौपट, जागिरै जानेबेला भइसक्यो यसको दोषी त्यही हो–पानी ।
लौ फसाद पानी ! तिमी नरोकिने, ति बाटाका भरियाले कसरी कमाएर खानी ? सडकमै घर बनाएर सुत्नेहरुलाई कति दुःख दिएको ए पानी ? अब रोक्किइउ यार ! बरु आउ सर्वपक्षीय बैठक गरौं । सर्वसम्मत्ति गरौं तर त्यसकोलागि पहिला पानी बिसाएर आउ है पानी !

adhikarishiva05@yahoo.com

Sunday, September 18, 2011

भूईँचालो - अनुभव

दैनिक तालिकामा कुनै परिवर्तन थिएन, सदाको तालिका झैं दिन बित्दै गइरहेको थियो । बेलुकीको समय फुर्सदको दिन प्रायः शरीरको थकान मेटाउन घर जानुपूर्व चिया पिएर बस्ने गरेको एउटा क्याफे छ, चाबहिलमा । टोलछिमेकका साथीभाईहरुको भेटघाट हुने एउटा थलो पनि हो–चाबहिलको पूर्वेली क्याफे, हो म त्यहीँ थिए ।

क्याफेको ‘¥याक’ (दराज)मा अडेस लाएर ‘मुडा’ (कुर्सी) मा बसिरहेको थिएँ, जुन मेरो सधैंको बस्ने स्थान हो । भर्खरै पिइसकेको चियाको गिलास टेबलमै थियो, घरतर्फ लाग्ने तरखरगर्दै थिएँ । एक्कासी म बसेको मुडा हल्लिन थाल्यो, के हो निक्र्योल गर्न सकिन । सोचेँ–‘मलाई कमजोरी भए जस्तो छ, त्यसैले शरीर हल्लिरहेछ ।’ आफूलाई सम्हाल्न खोजें, तैपनि हल्लिन रोकिएन । अडेस लगाएको दराजै पो कसैले हल्लाइरहेको हो कि भनेर नजर लगाएँ, तर त्यहाँ कोही थिएन । यो घटना एकदमै छिटो छिटो भइरहेको थियो । क्याफेमा हामी जम्म ३ जना थिर्यौ, अर्को एकसाथी अलिपर मुडामानै बसिरहेका थिए । क्याफे साहु भाँडाकुँडा माझ्दै थिए । मुडामा बस्ने साथी पनि बोल्यो–‘यो मुडा किन हल्लिन छ, बेकारमा ?’ त्यसपछि आँकनल गरें–यो सबै भूकम्पको कारण भइरहेछ र अचानक मेरो मुखबाट शब्द निस्कियो–‘भूईंचोलो गयो ।’ अर्को साथीलाई पनि क्याफेबाट बाहिर निस्किन आग्रह गरें र क्याफे अगाडि नै ठूलो खाली ठाउँ छ, त्यहाँ गएर उभिएँ ।

म खाली ठाउँ पुग्दा त्यहाँ मान्छे कोही आइसकेका थिएनन् । विस्तारै कोलाहलको आवाजहरु सुनिन थालियो । मान्छेहरु हस्याङफस्याङ गर्दै त्यही खाली ठाउँमा आइपुगे । भूईंचालो गइरहँदा त्यहा सयौं मान्छेको झुण्ड बनिसकेको थियो । खाली ठाउँमा पुगेपछि एउटा ‘बाइक’नेर गएर उभ्भिएँ, जमिन एताउति हल्लिरहेको थियो । जमिन यस्तरी हल्लिरहको थियो कि कुनै छालमाथी भकुण्डो हल्लिने गर्छ, हो त्यतिखेर हामी त्यही भकुण्डो जस्ता भएका थियौं । आइमाई–केटाकेटी चिच्याउँदै थिएँ, म चारैतिर रहेको घरहरु हेर्दै थिएँ, घरहरु हल्लिरहेका थिए । भूईंचालो गइरहेकै समयमा अकाशमा विजुली पनि चम्किरहेको थियो, पानीका थोपाहरु पनि झरिरहेका थिए ।

मैले बुद्धि चलाउन खोजें–यदि जमिन फाटियो भने के गर्ने ? घरहरु ढल्न थाले के गर्ने, कता जाने ? बचिन्छ कि बचिदैन होला ? मान्छेहरु भागदौड गर्न थाले र भागदौडको किचाईमा परियो भने के गर्ने, कसरी बच्ने ? तर, जति नै बुद्धि चलाए पनि ती समस्याको निष्कर्ष मैले त्यतिखेर निकाल्न सकिनँ । तुरुन्तै सम्झे–‘घरपरिवार के गर्दैै होलान्, सुरक्षित स्थानमा छन् कि छैनन् ? सबैलाई राम्रो होस् भन्ने प्रार्थना गर्नुभन्दा केही गर्न सक्ने अवस्थै थिएन मसँग ! सबैजना हातमा मोबाइल बोकेर नम्बरहरु थिच्दै थिए तर नम्बर थिच्नु बाहेक त्यो मोबाइलको अर्को उपलब्धी भइरहेको थिएन–त्यतिबेला । एकैछिनमा हल्लिरहेको जमिन त रोकियो तर मन भने निकैबेर हल्लिरह्यो, डरले ।

भूकम्पको धक्का रोकिएपछि वरिपरि नजर लगाईयो, कतै कसैलाई केही भएको देखिएन । म भएको वरिपरि कसैलाई केही भएको थिएन । केहीबेरपछि घरबाट फोन आयो घरमा सबै सकुशल रहेको खबर पाएँ । त्यसपछि क्रमश क्याफेमा मानिसहरु जम्मा हुने थाले–भूकम्प सम्बन्धी आ–आफ्ना अनुभवहरु आदानप्रदान हुने थाले । सबैको मुहारमा त्रास फैलिरहेको थियो, सबै थकित देखिन्थे । सबैजना पुनः अर्को भूकम्प जान्छ कि भन्ने अड्कल काटिरहेका थिए । जिन्दगीमै पहिलो पटक मैले भूकम्पको यस्तो सामिप्यता अनुभव गरेको थिएँ, यसअघि भूकम्पको यस्तो अनुभव भएकै थिएन । म उपस्थित स्थानमा प्रायः सबैको अनूभुति यस्तै थियो ।

भूकम्प रोकिएपछि क्याफेमा आउने मानिसहरुका क्रियाकलाप हेर्न लायक बनेका थिए । सबैजना ‘बचियो–बचियो’ भन्दै क्याफे प्रवेश गरिरहेका थिए । चिनेजानेका एकले अर्कोलाई ‘बच्न’ सफल भएकोमा बधाई पनि दिईरहेका थिए । यो क्रम धेरै बेर नै चल्यो । मलाई भने देश–विदेशको घटना थाहा पाउने हुट्हुटीले पोल्न थाल्यो र घरतर्फ लागें । घरमा पुगेर समाचार हेरें, सुनें अनि दुखित भएँ, मान्छेको ज्यानै गएको घटनाले कसलाई पनि दुःखी बनाउँदैन र ?