दैनिक तालिकामा कुनै परिवर्तन थिएन, सदाको तालिका झैं दिन बित्दै गइरहेको थियो । बेलुकीको समय फुर्सदको दिन प्रायः शरीरको थकान मेटाउन घर जानुपूर्व चिया पिएर बस्ने गरेको एउटा क्याफे छ, चाबहिलमा । टोलछिमेकका साथीभाईहरुको भेटघाट हुने एउटा थलो पनि हो–चाबहिलको पूर्वेली क्याफे, हो म त्यहीँ थिए ।
क्याफेको ‘¥याक’ (दराज)मा अडेस लाएर ‘मुडा’ (कुर्सी) मा बसिरहेको थिएँ, जुन मेरो सधैंको बस्ने स्थान हो । भर्खरै पिइसकेको चियाको गिलास टेबलमै थियो, घरतर्फ लाग्ने तरखरगर्दै थिएँ । एक्कासी म बसेको मुडा हल्लिन थाल्यो, के हो निक्र्योल गर्न सकिन । सोचेँ–‘मलाई कमजोरी भए जस्तो छ, त्यसैले शरीर हल्लिरहेछ ।’ आफूलाई सम्हाल्न खोजें, तैपनि हल्लिन रोकिएन । अडेस लगाएको दराजै पो कसैले हल्लाइरहेको हो कि भनेर नजर लगाएँ, तर त्यहाँ कोही थिएन । यो घटना एकदमै छिटो छिटो भइरहेको थियो । क्याफेमा हामी जम्म ३ जना थिर्यौ, अर्को एकसाथी अलिपर मुडामानै बसिरहेका थिए । क्याफे साहु भाँडाकुँडा माझ्दै थिए । मुडामा बस्ने साथी पनि बोल्यो–‘यो मुडा किन हल्लिन छ, बेकारमा ?’ त्यसपछि आँकनल गरें–यो सबै भूकम्पको कारण भइरहेछ र अचानक मेरो मुखबाट शब्द निस्कियो–‘भूईंचोलो गयो ।’ अर्को साथीलाई पनि क्याफेबाट बाहिर निस्किन आग्रह गरें र क्याफे अगाडि नै ठूलो खाली ठाउँ छ, त्यहाँ गएर उभिएँ ।
म खाली ठाउँ पुग्दा त्यहाँ मान्छे कोही आइसकेका थिएनन् । विस्तारै कोलाहलको आवाजहरु सुनिन थालियो । मान्छेहरु हस्याङफस्याङ गर्दै त्यही खाली ठाउँमा आइपुगे । भूईंचालो गइरहँदा त्यहा सयौं मान्छेको झुण्ड बनिसकेको थियो । खाली ठाउँमा पुगेपछि एउटा ‘बाइक’नेर गएर उभ्भिएँ, जमिन एताउति हल्लिरहेको थियो । जमिन यस्तरी हल्लिरहको थियो कि कुनै छालमाथी भकुण्डो हल्लिने गर्छ, हो त्यतिखेर हामी त्यही भकुण्डो जस्ता भएका थियौं । आइमाई–केटाकेटी चिच्याउँदै थिएँ, म चारैतिर रहेको घरहरु हेर्दै थिएँ, घरहरु हल्लिरहेका थिए । भूईंचालो गइरहेकै समयमा अकाशमा विजुली पनि चम्किरहेको थियो, पानीका थोपाहरु पनि झरिरहेका थिए ।
मैले बुद्धि चलाउन खोजें–यदि जमिन फाटियो भने के गर्ने ? घरहरु ढल्न थाले के गर्ने, कता जाने ? बचिन्छ कि बचिदैन होला ? मान्छेहरु भागदौड गर्न थाले र भागदौडको किचाईमा परियो भने के गर्ने, कसरी बच्ने ? तर, जति नै बुद्धि चलाए पनि ती समस्याको निष्कर्ष मैले त्यतिखेर निकाल्न सकिनँ । तुरुन्तै सम्झे–‘घरपरिवार के गर्दैै होलान्, सुरक्षित स्थानमा छन् कि छैनन् ? सबैलाई राम्रो होस् भन्ने प्रार्थना गर्नुभन्दा केही गर्न सक्ने अवस्थै थिएन मसँग ! सबैजना हातमा मोबाइल बोकेर नम्बरहरु थिच्दै थिए तर नम्बर थिच्नु बाहेक त्यो मोबाइलको अर्को उपलब्धी भइरहेको थिएन–त्यतिबेला । एकैछिनमा हल्लिरहेको जमिन त रोकियो तर मन भने निकैबेर हल्लिरह्यो, डरले ।
भूकम्पको धक्का रोकिएपछि वरिपरि नजर लगाईयो, कतै कसैलाई केही भएको देखिएन । म भएको वरिपरि कसैलाई केही भएको थिएन । केहीबेरपछि घरबाट फोन आयो घरमा सबै सकुशल रहेको खबर पाएँ । त्यसपछि क्रमश क्याफेमा मानिसहरु जम्मा हुने थाले–भूकम्प सम्बन्धी आ–आफ्ना अनुभवहरु आदानप्रदान हुने थाले । सबैको मुहारमा त्रास फैलिरहेको थियो, सबै थकित देखिन्थे । सबैजना पुनः अर्को भूकम्प जान्छ कि भन्ने अड्कल काटिरहेका थिए । जिन्दगीमै पहिलो पटक मैले भूकम्पको यस्तो सामिप्यता अनुभव गरेको थिएँ, यसअघि भूकम्पको यस्तो अनुभव भएकै थिएन । म उपस्थित स्थानमा प्रायः सबैको अनूभुति यस्तै थियो ।
भूकम्प रोकिएपछि क्याफेमा आउने मानिसहरुका क्रियाकलाप हेर्न लायक बनेका थिए । सबैजना ‘बचियो–बचियो’ भन्दै क्याफे प्रवेश गरिरहेका थिए । चिनेजानेका एकले अर्कोलाई ‘बच्न’ सफल भएकोमा बधाई पनि दिईरहेका थिए । यो क्रम धेरै बेर नै चल्यो । मलाई भने देश–विदेशको घटना थाहा पाउने हुट्हुटीले पोल्न थाल्यो र घरतर्फ लागें । घरमा पुगेर समाचार हेरें, सुनें अनि दुखित भएँ, मान्छेको ज्यानै गएको घटनाले कसलाई पनि दुःखी बनाउँदैन र ?
its was terrible yes
ReplyDelete