म सदैब तपाईको प्रतीक्षामा
तपाई आउने बाटो हेरेर बसेको हुनेछु !
मलाई थाहा छ, तपाई आउनु हुनेछ र
मलाई आफ्नो बनाउनु हुनेछ !!!

Friday, March 16, 2012

त्यो भ्यालेन्टाइन डे–‘कहिल्यै विर्सन सकिन्न’

‘त्यो भ्यालेन्टाइन डे’को अमिट छाप अध्यावधी ह्रदयमा गढेकै छ, दिमागमा अटेकै छ । वास्तवमा कहिल्यै विर्सन नसकिने भ्यालेन्टाइन डेको रुपमा चित्रित हुन पुग्यो–त्यो भ्यालेन्टाइन डे । हाम्रो सन्दर्भमा पनि त्यही भयो । याद छ, फागुन २ गतेको भ्यालेन्टाइन डे ? किन याद नहोला र ? त्यही दिन के त ! जुन दिन काठमाडौंमा ३२ वर्षपछि हिउँ परेको थियो । हो, अब भने सम्भवतः धेरै कुरा ‘क्लिक’ भयो होला, तपाईहरुको दिमागमा पनि । अनि, धेरै कुरा उद्दीग्न भएर आयो होला, ह्रदयमा पनि ।

दिनभरीको एकनासे झरी, राजधानीमै दूर्लभ रुपमा परेको हिउँ र भ्यालेन्टाइन डेको संयुक्त अवसर–त्यसपछि के ? प्रेमालापको अनुपम दिन सावित भएको २०६३ सालको भ्यालेन्टाइन डेको दिन हामी ३ जना सहकर्मी दाजु अशोक शिवाकोटी, सहकर्मी मित्र योगेन्द्र चौलागाईं र मलाई भने छुट्टै चटारोले गाँजेको थियो । हामी त्यही दिन युनिसेफको क्षेत्रीय कार्यालय, जावलाखेलमा ‘मिटिङ एटेन्ड’ गर्न जाँदै थियौं । अर्थात् भ्यालेन्टाइन डेको दिन हाम्रो मिटिङ तय भएको थियो । त्यसैले छाता बोक्ने बानी नभएका हामी अल्लारेहरु घरैबाट रुझ्दै निस्केर जावलाखेलको चोकमा भेट भएका थियौं । सहरका बाटाघाटा, पसल, चोक, क्याफे पूरै गुलावमय बनेका थिए । सहर पूरै प्रेमिल भएको थियो ।

जावलाखेलको ‘मिटिङ प्वाइन्ट’मा हामी भेट्दा तीनै जनाको अंग–अंगमा झरीले स्पर्श गरिसकेको थियो । हाम्रो शरीरको अंग–अंगलाई पानीले खोजी–खोजी चुम्बन गर्न कुनै कसर बाँकी राखेको थिएन । त्यसैले त हामो ओठै समेत निलो भएको थियो–मुसा चुटिएझैं चुटिएका थियौं, हामी–त्यो प्रेमिल दिनमा । र, लुथ्रुक परेर आवाजमा ‘दम’ लेराउने असफल चेष्टगर्दै युनिसेफको कार्यालय छिरेका थियौं । अनि, केही समयको भलाकुसारी लगत्तै त्यहाँबाट बाहिरिएका थियौं ।

पानीले हामीलाई गिज्जाउन छाडकै थिएन, पानी रोकिएकै थिएन । हामी भने कपडा निचोरेर जमेको पानी फाल्दै ‘हट टी’ पिउन जावलाखेल चोकैको क्याफेमा छिरेका थियौं–जुन क्याफे आजसम्मै त्यहीँ ठाउँमा छँदैछ । र, क्याफेभित्र प्रवेशपछि तीनै जनाले लामो श्वास फेरेका थियौं किनकी केही समयको लागि हामी ‘पानी आतंक’बाट बच्न सफल भएका थियौं । हामीले ‘हट–डे’को ‘कोल्ड–मौसम’मा हट टी अर्डर ग¥यौ र युद्धभूमिमा लडेर, बचेर फर्केका लडाकूझैं उत्तेजित भएर तातो चियोको चुस्की लगाउन थाल्यौं ।

हामी तीनै जनाको ‘मन’ त्यतिखेर पुलकित भयो–जतिखेर हाम्रै अगाडिको टेवलमा कसैको प्रतिक्षामा प्रतिक्षारत एक केटी देखिइन् । त्यसो त हामी एक हिसावले खुशी पनि भयौं–क्याफेमा अन्य आगन्तुक कोही पानीबाट चुटिएका जस्तो देखिएका थिएनन् । अरुहरु सबै ‘साधन’ प्रयोग गरेर पानीको चुटाईबाट बचेका देखिन्थे । तर, त्यो केटी पनि हामी जस्तै पानीले चुटिएकी रहिछिन् । पानीले तिनको पनि अंग–अंग स्पर्श गरेकै रहेछ । र, त सेतो सर्ट र रातो कलरको स्कुले स्कर्टमा सजिएकी तिनको वक्षस्थल ढाक्न पहिरिएको रातो रङ्गको भित्रि कपडा बाहिरैबाट सजिलै देख्न सकिनेगरी टल्किरहेको थियो । त्यतिबेलाको त्यो ‘दूर्लभ दृष्य’को देन पानीकै थियो, निरन्तर बर्सिरहेको झरीकै थियो ।

त्यो माहोलको मादकतामा तब पो रंग आयो–जब एक यूवक हातमा ‘रातो गुलाव’ बोकेर क्याफे आयो र त्यो केटीको टेवलमा गएर बस्यो । केटीकै उमेरको त्यो गोरोवर्णको स्कुलकै ड्रेस पहिरिएको केटोले रातो गुलाव केटीतर्फ बढायो र प्रेम ‘प्रपोज’ ग¥यो । केटीले गुलाव सहर्ष स्वीकारिन् र मुसुक्क मुस्कुराई । माहोल जम्यो–अथवा हामी तीन जनालाई चाँही माहोल जमेको जस्तो लाग्यो । हामीले जाडो कम भएको महशुस ग¥यौं । त्यसपछि त्यो प्रपोज गर्ने केटो त्यहाँबाट निस्कियो तर केटी त्यही बसि–एक्लै । हाम्रो चिया सकिएको थिएन, सकिएको भएपनि हामी त्यहाँबाट निस्किने ‘मुड’मा पुगेकै थिएनौं । त्यसपछि त्यो केटीले केटाले दिएको रातो गुलाव आफ्नो ब्यागमा राखि । एकैछिनमा अर्को एक केटो आयो, त्यही केटीनिर गएर बस्यो । हामी चिया पिउँदै दृश्य अवलोकनगर्दै थियौं । तिनीहरु दुवैजनाले एक अर्काबीच भ्यालेन्टाइन डेको उपहार साटासाट गरे । दुवैले एकअर्कालाई अंकमाल गरे । क्याफेका सबैको नजर त्यो जोडीतिर तन्किएपछि तिनीहरुले केही असहज महशुस गरे र क्याफेको कुनाको टेवलमा सरे । त्यसपछि के गरे ? हामीले नियाल्ने कुरो भएन । चिया सकियो, अनि हामी क्याफेबाट बाहिर निस्कियौं ।

राजधानीका अन्य स्थानझैं त्यसबखत जावलाखेलमा पनि दिउँसै हिउँ फुसफुसाउन थाल्यो । मन तरंगित भो तर शरीर थिलथिलो भइसकेको थियो–चिसोले । मुखबाट बुङ्ग चुरोटको धुवाँभित्र तानेर बाहिर मूस्लो फालेझैं चिसोको मूस्लो निस्किनेक्रम अझ बढी तेजहुँदै जाँदै थियो । पानी त अझै रोकिएकै थिएन । हिउँका वर्षाइले चंगा भएका हाम्रा मन हिमपातसँग प्रेमालाप गर्न आतुर थियो । तर, हाम्रो चटारो अझै सकिएको थिएन । वास्तवमै हामी एक्लै थियौं–प्रेम, प्रणय र मनको इच्छालाई तिरस्कार गरेर हामी आफ्नो ‘डेट’लाई उपयोग गर्न लागि प¥यौं । एकनासले परिरहेको झरीमा रुझ्दै फुसफुसाई रहेको हिउँको मीठो दृश्यलाई मनमस्तिकष्मा कैद गरेर हामी दोस्रो ‘डेट’का लागि समाजकल्याण परिषद, लैनचौर लम्किएका थियौं ।

समाजकल्याण परिषदको परिसरबाट बाहिर निस्किदा झरी रोकिएको थियो । नजिकैका डाँडाहरु पूरै हिउँले सेताम्मे भएका देखिन्थे । घाम मन्द–मन्द लागेको थियो । मौसम पूरै खुलेको थियो । मानौं–चीर प्रेमालापमा मदमस्त प्रणय जोडी आफ्नो प्रणय रातको पहिलो सुखानुभूतिपछि यौवनले खुलेका चहकिलो अनुसार लिएर गर्वकासाथ प्रस्तुत भइरहेझैं भएको थियो–प्रकृति । प्रकृतिको त्यो मादक रुपले ‘होटलको कुनामा बस्ने’ त्यो मादक जोडीलाई जस्तै हामीलाई पनि उन्मुक्त, उत्तेजित र लट्ठ बनाइरह्यो । त्यसैले त यस भ्यालेन्टाइन डेको अवसरमा हामीले त्यस दिनलाई नसम्झि रहन सकेनौं । प्रणय दिवशको शुभकामना !


Thursday, March 15, 2012

‘सिम्पल–सिम्पल कान्छी..’ गायिका माण्डवी त्रिपाठीसँग छोटो–मीठो

चलचित्र अन्दाजको अत्यधिक चलेको गीत ‘सिम्पल–सिम्पल कान्छीको डिम्पलपर्ने गाला....’ की गायिका हुन्–माण्डवी त्रिपाठी । गायक दीपक लिम्बूसँग गाएको उक्त संयुक्त गीतले माण्डवीलाई थप चर्चित बनाइदियो । तर, नेपाली साँगीतिक फाँटमा माण्डवी त्रिपाठी नयाँ नाम भने होइन ।

लोक, लोकपप, आधुनिक, तीज र फिल्मकागरी करिब १५ सय गीतमा आवाज दिइसकेकी यी गायिकाको पहिलो आधुनिक एकल एल्बम बजारमा आउने तरखरमा छ । एक साँगीतिक कार्यक्रमको सिलसिलामा भेटिएकी यिनै ‘सिम्पल–गायिका’ माण्डवीसँग शिव अधिकारीले गरेको छोटो–मीठो कुराकानीः

अहिले केमा व्यस्त ?

– प्रोग्रामहरु, महोत्सवहरु भै’राछ, प्लस फिल्मको प्लेब्याक सिंगिङहरु हुँदैछ ।

साँगीतिक फाँटमा आगमन कसरी भयो ?

– मेरो घर लमजुङ सुन्दरबजार हो । घरमा हजुरबुबा, बुबा, दिदीहरु सबैजना गीत गाउनु हुन्थ्यो । त्यहीबेलादेखि स्कुलमा गाउँदा–गाउँदै यसक्षेत्रपट्टी इन्ट्रेस्ट बढ्यो ।

जन्ममिति भन्न मिल्छ ?

– जन्ममिति नभनौं होला...हा..हा...

कतिजति गीत गाउनु भो ?

– मेरो आधुनिक सोलो एल्बम निस्केको छैन । तीजको एल्बमहरुको कुरा छुट्टै भयो । गीत १५ सय जति गाएको छु ।

सोलो एल्बम निस्किदै छ ?

– हजुर, अब छिट्टै माण्डवी नामक सोलो आधुनिक एल्बम बजारमा आउँदै छ ।

कहिलेसम्म आउँछ ?

– यो लोडसेडिङ्गले गर्दा रोकिरहेको छ किनभने टेलिभिजनहरुमा प्रोमो दिनुपर्छ, कसैले हेर्न पाउनु भएन भने अर्थ छैन ।

संगीत केका लागि ?

– पहिले चाँही मान्छेले चिन्ने हुँदा आत्मसन्तुष्टी जस्तो मात्रै लाग्थ्यो । तर, अहिले चाँही नढाँटी भन्नुपर्दा प्रोफेसन भइसकेपछि, बढी आत्मसन्तुष्टी हो, त्यसपछि पैसाको लागि हो ।

संगीतमा लागेर कति पैसा कमाउनु भो ?

– मलाई खानको दुःख भा’छैन...हा....हा....

कुन–कुन देश घुम्नु भो ?

– धेरै देश घुम्न त पा’को छैन । सायद छिट्टै घुम्छु होला । अहिलेसम्म हङकङ, कतार, कोरिया आदि ।

मनपर्ने नेपाली गायक–गायिका ?

– गायिकामा अन्जु पन्त, मेरो सहकर्मी पनि हो । अनि, चलिरहेकोमा भन्नु भो, हैन ? शिव परियार, स्वरुपराज, सत्यराज आचार्य मनपर्छ ।

मनपर्ने नेपाली नेता ?

– को भनौं खोई.........

मनपर्ने नेपाली पुरुष ?

– राजेश हमाल ।

विवाहित कि अविवाहित ?

– विवाहित ।

प्रपोज कत्तिको आउँछ ?

– प्रपोज आउँछ, प्रपोज आउनु त ठूलो कुरै भएन ।

अपोजिट सेक्सको के कुराले आकर्षित गर्छ ?

– त्यस्तो खासै के भन्ने लाग्दैन । एउटा पर्सनालिटी, मान्छे एउटा सभ्य–सौम्य हुन्छ नि, त्यस्तैले ।

वाइन कत्तिको पिउनु हुन्छ ?

– म पिउँदिन ।

पकाउन जानेको परिकार ?

– म पकाउन एकदमै कमाजोर थिएँ तर अहिले विस्तारै–विस्तारै बनाउँछु । विशेष छैन, मेरो ।

साँगीतिक लक्ष्य ?

– पहिलाको लक्ष्य एउटा सिंगर बन्ने थियो । देशभरीको मान्छेले मलाई चिनुन्, सञ्चारमाध्यममा मेरो नाम आओस जस्तो लाग्थ्यो, त्यो भयो । अब भने यही कुरालाई अझै बढाउने मात्रै हो ।

जीवन के हो ?

– लक्ष्यप्रतिको संर्घष जस्तो लाग्छ । असिमित इच्छाहरु बढ्दै–बढ्दै जान्छ । त्यहीप्रति जीवन दौडिरहेको हुन्छ ।


पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठसँग छोटो–मीठो

‘जीवन एउटा कथा हो–हामी त्यसका कलम’

सदीक्षा श्रेष्ठको परिचय नै पूर्व मिस नेपालको रुपमा काफी छ । सन् २०१० मा सम्पन्न मिस नेपालको उपाधी चुम्न सफल सदीक्षा त्यस पश्चात भने औपचारिक रुपमा कुनै क्षेत्रमा आबद्ध भएकी छैनन् । के गर्दै छिन् त सदीक्षा ?, उनको आगामी योजना के छ ? यही विषयमा अनिल महर्जनको सहयोगमा शिव अधिकारीले गरेको छोटो–मीठो टेलिफोन संवाद ।

अहिले के गर्दै हुनुहुन्छ ?

– बिबिएस फस्ट इयरको एक्जामको तयारी गर्दैछु ।

मिस नेपालपछि के–के मा आबद्ध हुनु भो ?

– पढाईमा मात्रै लागिरहेको छु । केही संघसंस्थाले सद्भावना राजदूतका लागि अफर गरिरहेका छन् । तर, म गइसकेकी छैन । पहिला त्यस संघसंस्थाको बारेमा राम्ररी बुझ्न चाहन्छु ।

फिल्म/म्यूजिक भिडियोमा खेल्ने सोचाई छ कि छैन ?

अहिलेसम्म खेलेकी छैन, राम्रो अनुहार मात्रै भएर फिल्म खेल्नलाई पुग्दैन । नसिकी–अभिनय नजानी फिल्मी क्षेत्रमा लाग्नु हुँदैन । डिग्री सकिएपछि राम्रो अर्पच्यूनिटी आएछ भने सोचौला तर त्यतिखेर पनि अभिनय नसिकीकन भने फिल्मी क्षेत्रमा आउँदिन ।

ठ्याक्कै कतिवर्षको हुनु भो ?

– २० वर्ष ।

कसैसँग अफएयर छ कि ?

– छैन ।

प्रपोज कत्तिको आए, आउँछन् ?

– स्कुलमा पढ्दा अलिअलि आए । मिस नेपाल भएपछि आएको छैन । मान्छे मेरो नजिक आउनै हिच्कीचाउँछन् ।

सेक्स अनुभव छ कि छैन ?
– छैन ।

ब्लूफिल्म हेर्नुभएको छ ?

– कृपया यस्तो प्रश्न नगर्नुहोला ।

विवाह कहिले गर्ने ?

– त्यसबारेमा सोच्नको लागि धेरै समय छ । अहिले त भर्खर पढ्दै छु ।

तपाईलाई सुन्दर लाग्ने नेपाली पुरुष ?

– मेरो बाबा ।

जीवन के हो ?

– जीवन एउटा कथा जस्तो हो । हामी त्यसका कलम हौं । हामीले जस्तो कथा लेख्छौं, जीवन त्यस्तै हुन्छ ।

तपाईको अगाडिको लक्ष्य ?

– एउटै लक्ष्य राख्दा लक्ष्यमा पुग्न पनि सकिन्छ, नपुग्न पनि सकिन्छ । यदी लक्ष्यमा पुगिएन भने अप्ठ्यारो हुन सक्छ । त्यसैले जीवनमा आइपरेका अवसरहरुलाई सदुपयोग गर्दै अघि बढ्नुपर्छ ।


Tuesday, March 13, 2012

सहिद, भिजिलान्ते सहिद र उच्छृङ्खल सहिद

“हुँदैन बिहान मिर्मिरे तारा झरेर नगए
बन्दैन मुलुक दुई–चार सपुत मरेर नगए”

प्रयोगवादी कवि भूपी शेरचनले राष्ट्रका लागि आहुति दिने सच्चा देशभक्त विरङ्गनाप्रति सिर्जना गरेका सुन्दर अनुप्रासयुक्त शब्दावली हुन्, यी । राष्ट्र, राष्ट्रियता र अग्रगमनका लागि हाँसी–हाँसी फाँसी स्वीकार्ने वास्तविक नेपाली सन्तान सदैव उँचो छन्, आदरणीय र अनुकरणीय छन् । नसा–नसामा राष्ट्रप्रेमको भाव जागृतगरी आफ्नो बलिदानी समेतलाई आत्मसाथ गर्ने वीर सहिद अमर छन्, अमर हुनेछन् र चीरकाल अमर रहने छन् ।

हरेकवर्ष झैं यसवर्ष पनि ‘सहिद सप्ताह’ धुमधामका साथ मनाइदै छ । परिवर्तनका लागि लडेका ४ सहिद (ज्ञात, अज्ञातका कुरा नगरौं)का नाममा राष्ट्रले प्रत्येकवर्ष सहिद सप्ताह मनाउँदै आएको छ र तिनै ४ वीर सहिदका सालिकमा पुष्पगुच्छा माल्यार्पण गर्दै आएको छ । सहिदलाई सम्मान गर्नु नराम्रो पक्कै होइन, गर्नेपर्छ । तर, हरेकवर्षको एकपटक आफ्नो सालिकमा पुष्पगुच्छाको खात ओड्नकै लागि मात्रै उनीहरुले आफूलाई बली चढाएका हुन् त ? होइनन्, परिवर्तन र अग्रगमनका लागि चितामा होमिएका सहिदहरुको पदचापलाई पछ्याउन नसक्ने ‘स्वार्थी’ हामीले सालिकमा पुष्पगुच्छा अर्पण गर्ने हैसियतसम्म गुमाई सकेका छौं । उनीहरुको आदर्श, मूल्य–मान्यता र सपनाहरुलाई ब्यवस्थित र संस्थागत गरेर नयाँनेपाल निर्माण गर्न नसक्ने ‘चुतिया’हरुले पुष्पगुच्छा अर्पण गरेर वीर सहिदको सालिकलाई किन ‘बिटुलो’ बनाउने ?

अब त सहिदको संख्या पनि अनगिन्ती भईसकेको छ । हामीले त्यही ४ वीर सहिद भन्दा अरु त चिन्दै चिन्दैनौ, जसरी प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जम्बो मन्त्रिमण्डलका आफ्ना सबै मन्त्रीहरु चिन्दैनन् । पहिला–पहिला सर्वसाधारणले राष्ट्रका लागि मर्नेहरुलाई सम्मानित दर्जा दिएर सहिद भन्थे र उनीहरुलाई राष्ट्रको सपुत मानिन्थ्यो । तब त माथीका हरफहरु जस्ता सुन्दर पदावलीहरुको सिर्जना हुन्थ्यो । र, उनीहरुको मृत्युमा सारा नेपाल–नेपालीको कणकणमा राष्ट्रियता घनिभूत भएर संचार हुन्थ्यो । उनीहरु राजनीति गर्थेनन् तर राष्ट्रियताको वकालत गर्थ । अहिलेका राज्यसत्तालाई डो¥याउनेहरु राष्ट्रियताको पक्षमा काम गर्दैनन् खाली स्वार्थको राजनीति मात्रै गर्छन् । तव त सर्वसाधारण वाक्क–दिक्क बनेका छन् र पंक्तिकारले लेखेको अर्को एक लेखमा एक सर्वसाधारण यसरी आफ्नो ‘कमेन्ट’ प्रस्तुत गर्छन्–“हुँदैन बिहान मिर्मिरे तारा झरेर नगए, बन्दैन मुलुक ६०१ (कपुत सभासद) मरेर नगए ।”

हो, अब सहिदलाई पनि बर्गीकरण गर्नुपर्ने बेला आइसकेको छ । कस्तो नेपालीको दूभाग्य ? ‘सहिद’ शब्दमा जति ‘दम’ छ, सहिद बनाई टोपलिएकाहरुमा त्यो दम नभएपछि सहिदको बर्गीकरण हुनु टड्कारो खाँचो छ । (यदी यो कुरा पंक्तिकारको ग्रसित मनोग्रन्थीका कारण उब्जिएका बेवारिसे शब्द मात्रै ठान्नुहुन्छ भने पनि ‘नो कमेन्ट’) हो, सहिदलाई पो सहिद भन्न सकिन्छ भन्या ! ‘जर्वजस्ती विरोध–अवरोध र धम्की लादेर पेस्तोल देखाई तमसुकमा औंठाछाप गर्न लगाए’ जसरी सहिद बनाइएकाहरुलाई एउटा आमनागरिकले कसरी सहिद भन्ने ?

एकमित्रले एकदिन सामाजिक संजाल ट्वीटरमा अब नेपाली शब्दकोषमा रहेको सहिद भन्ने शब्दको अर्थमा पुनरावलोकन गर्नुपर्छ भनेर ट्वीट गर्नुभएको थियो । त्यस्तै अर्को एकमित्रले एक भेटघाटमा अब त स्कुल÷कलेज पढ्ने विद्यार्थीले कम्तिामा १० नम्बर गुमाउने भए भनेर ठट्टा गर्नुभयो । कारण सोध्दा उहाँको जवाफ यस्तो थियो–“फाइनल एक्जाममा–नेपालका सहिदहरु को–को हुन्, उनीहरुका योगदानका बारेमा विवेचना गर्नुहोस् । भनेर प्रश्न सोधियो भने, विचारा परीक्षा दिने विद्यार्थीहरुले कताबाट ती सम्पूर्ण सहिदहरुको नाम जान्नु ? बरु, हाम्रै पालामा ठिक्क थियो, ४ वीर सहिदका बारेमा मज्जाले लेखिन्थ्यो–योगदान र घटनाक्रम । अहिलेका सहिदका नाम कसरी जान्नु, यदी जानीहाले पनि योगदान के लेख्नु ? त्यसैले हो, यहाँ सहिदको अर्थ खोतल्ने प्रयत्न गरिएको ।

सहिद–

ती ४ सहिद जसको चर्चा जति गरे पनि कम छ । माथी पनि गरिइसकेको छ । हो, उनीहरु वास्तविक सहिद, सच्चा सहिद । राष्ट्रका लागि अमूल्य योगदान दिने राष्ट्रका सहिद । यही खण्डमा पहिलो र दोस्रो जनआन्दोलनमा सहिद भएकाहरुलाई पनि राख्न सकिने पंक्तिकारको ठम्याई छ । उनीहरुको योगदान पनि राष्ट्रकै लागि थियो, परिवर्तनकै पक्षमा थियो ।

भिजिलान्ते सहिद–

यस्ता सहिद जो विभिन्न राजनैतिक दलको प्रत्यक्ष खोल ओडेर विभिन्न राजनैतिक आन्दोलनमा सहभागी भए । जुन आन्दोलनको उद्देश्य राष्ट्र परिवर्तन थिएन, एउटा निश्चित दलको स्वार्थपूर्तिमात्रै थियो । अर्थात् यस्ता सहिद जो त्यस्ता आन्दोलनमा ‘रमिते’ बनेर छेउछाउमा उभिएका हुन्थे, त्यहीबेलामा धरपकड वा अन्य वहानमा उनीहरुको ज्यान गयो । उनीहरुको कुनै प्रत्यक्ष योगदान राष्ट्रको लागि रहेन, जसलाई सहिद बनाइरहनु जरुरी थिएन कि ! (तर, उनीहरुको बाँच्न पाउने मानवअधिकार खोसिएको र अनाहकमा ज्यान गुमाएकोप्रति भने पंक्तिकार दुःख व्यक्त गर्दछ ।) यहाँ भन्न खोजिएको के हो भने जो यहाँ भने जसरी मरे, त्यो हुनु हुन्न थियो । कसैको ज्यान जानु, लिनु र बाँच्न पाउने अधिकार कुनै कारण खोसिनु हुँदैन । यदी त्यस्तो हुन पुगेमा उचित क्षतिपूर्तिको व्यवस्था हुनुपर्छ । तर, त्यो क्षतिपूर्तिको नाम ‘सहिद’ चाँही हुँदै होइन । हो, जो त्यस्ता घटनामा परेर सहिद भए, उनीहरुको योगदान पनि त राष्ट्रप्रति भएन कि ! हो, त्यही कारण भिजिलान्ते सहिद, जसलाई नचाहँदा–नचाहँदै राष्ट्रकै सहिद बनाउनु प¥यो ।

उच्छृङ्खल सहिद–

माथी पनि भनिइसकेको छ–कसैको पनि अनाहकमा ज्यान जानु ठिक होइन । उच्छृङ्खल सहिद यस्तो सहिद, जो कतै नीजिस्वार्थको दौरान मृत्युवरण गर्न पुग्छ । यस्तो सहिद जो दुर्घटनामा मारिन्छ अथवा यस्तो सहिद जसलाई मर्ने र मर्नेका परिवारले भन्दा पनि कुनै ‘गोप्य शक्ति’ले सहिद बनाउन दबाब दिन्छ र त्यो व्यक्ति सहिद बन्छ । यसमा यस्ता सहिद पनि पर्छन्, जो राजनैतिक दलका चुरौटे–भरौटे अथवा व्यक्तिगत रिसमा हत्या भएका, प्रेममा किचलोपरी ज्यान गुमाएका आदि । जसको राष्ट्रिय योगदान केही छैन, सहिद हुन लायकको केही कार्य पनि गरेका छैनन् । जसलाई राजमार्ग बन्दगरी, आन्दोलन, तोडफोड, आगजनी जस्ता उच्छृङ्खल कार्यगरी जर्वजस्ती सहिद बनाउन दबाब दिइएको छ र सहिद बनाइएको छ ।

यस्ता फरक विषय र प्रसंगमा मृत्यु भएकाहरु पनि सहिद भएका छन्, हाम्रो मुलुकमा । जुन कुरा सबैलाई जानकारी छ । पंक्तिकारले त्यही सबैले देखेको भोगेको र चित्त दुखाएको विषयलाई उठान गर्ने प्रयत्न मात्र गरेको हो । यदी यस लेखले कसैलाई चोट पु¥याएको छ भने पंक्तिकार माफी चाहन्छ । यो एउटा यर्थाथको व्यङ्ग मात्रै हो, त्यो भन्दा ठूलो अभिष्ट पंक्तिकारको छैन । पंक्तिकारको एउटै अभिष्ट भनेको के हो भने ‘जथाभावी हुत्तिएका फोहोर–मैला’लाई उठाएर सहिद बनाउने काम बन्द होस् ।

भत्किदैछ–‘गुरुकुल’, के भन्छन्–सुनिल पोखरेल ?

खराब मान्छेहरु नमरुन्जेलसम्म केही पनि हुँदैन ।’

“नाटक राम्रो लागे अरुलाई गएर भन्नुहोस्
नराम्रो लागे हामीलाई आएर भनिदिनुहोस् ।”

अब उप्रान्त पुरानोबानेश्वरस्थित आरोहण गुरुकुलको रिमाल र सम नाटकघरमा नाट्यकर्मी सुनिल पोखरेलले सदैव नाटक मञ्चन अघि बोल्ने माथीको संवाद सुनिने छैन । न त सुनिल पोखरेलका चेलाहरुको नै उक्त संवाद रिमाल र सम नाटक घरमा सुनिने छ । कारण, यतिबेला पुरानोबानेश्वरमा रहेको गुरुकुलको भवन धमाधम भत्किदै छ । हो, पंक्तिकार आइतबार (माघ १ गते) गुरुकुलको हातामा पुग्दा गुरुकुलका भौतिक संरचनाहरु धमाधम भत्काइदै थियो र नाट्यकर्मी सुनिल पोखरेल आफ्ना सहयोगीका साथमा गुरुकुल परिसरमै भलाकुसारी गरिरहेका थिए ।

वि.सं. २०३८ सालमा स्थापना भएको आरोहण नाट्य संस्थालाई निरन्तर हाँक्दै र डो¥याउँदै नाट्यकर्मी सुनिल पोखरेल लगायतको टिमले आजभन्दा झण्डै १० वर्षअघि आरोहण गुरुकुलको स्थापना गरेका थिए र नाट्कर्मी सुनिल पोखरेल गुरुकुलका ‘कुलगुरु’ बनेका थिए । यस अवधीमा गुरुकुलले थुप्रै शिष्य जन्माइ सकेको छ भने कयौं नाटक मञ्चन गरिसकेको छ । नाटक विधालाई सम्मानित दर्जा दिन र प्रविधिको उच्च विकासको युगमा पनि आमसर्वसाधारणलाई नाटक हेर्न हलसम्म तान्ने क्षमताको हैसियत बृद्धि गर्नमा गुरुकुलको अहं भूमिका रहेको कुरामा कसैको दुईमत छैन । तर, अब के ?

यसै मेसोमा भत्काइदै गरेको गुरुकुलको प्राङ्गणमा गुरुकुलको अबको योजना, गुरुकुलको इतिहास र वर्तमान स्थितिको बारेमा कुलगुरु तथा नाट्यकर्मी सुनिल पोखरेलसँग शिव अधिकारीले गरेको कुराकानीको अंशः

कति भयो, यस स्थानमा गुरुकुल बसेको ?
– साँढे नौ, १० वर्ष ।

यहाँ नाटकको प्रशिक्षण दिइन्थो, कति जति विद्यार्थी उत्पादन गर्नुभयो ?
– पूरा कोर्ष (जुन २ वर्षको हुन्छ) गर्ने २ दर्जन जतिको हाराहारीमा र छोटो समयको कोर्ष गर्ने १५ सयको हाराहारीमा ।

गुरुकुलमा कति नाटक मञ्चन गर्नुभयो ?
– ३६ वटा नियमित नाटक मञ्चन भए । त्यसबाहेक ४ वटा अन्तर्राष्ट्रिय नाटक महोत्सव र एउटा राष्ट्रिय नाटक महोत्सव भयो ।

अन्तर्राष्ट्रिय नाटक महोत्सवमा कति र कुन–कुन राष्ट्रको सहभागिता रह्यो ?
– सबै कुरा त मलाई याद छैन । सन् २०१० मा भएको पछिल्लो नाटक महोत्सवमा यूरोप, एसिया लगायतका २१ देशको सहभागिता रहेको थियो ।

यो स्थानबाट गुरुकुल हटाउन, भत्काउन खोजेको कसले ?
– जग्गाधनीले, यो प्राइभेट प्रोपर्टी हो ।

यहाँ कतिवर्षे सम्झौता थियो, गुरुकुलको ?
– सुरुमा जम्मा ३ वर्षको थियो । त्यसपछि हामीले सम्झौता बढाउँदै लगेका थियौं ।

केही समय अघि नै गुरुकुल हट्दैछ भन्ने हल्ला चलेको थियो नि ?
– यो २ वर्ष अघिको कुरा हो, त्यतिबेला पनि समय सकिएको थियो तर त्यतिखेर हामी समय बढाउन सफल भएका थियौं ।

गुरुकुलको लागि पशुपति विकास कोषले जग्गा दिंदैछ भन्ने हल्ला साँचो हो ?
– होइन, पशुपति विकास कोषले त्यहाँ सुशील नाहटा हुन्जेल जग्गा दिंदैन । पशुपति विकास कोषबाट केही पनि हुँदैन किनभने बडा खराब मान्छेहरु त्यहाँ छन् । खराब मान्छेहरु नमरुन्जेलसम्म केही पनि हुँदैन ।

त्यसो भए हल्ला के हो त ?
– हामीले जग्गा/स्थान मागेको नेपाल सरकारसँग हो । पशुपति विकास कोष भन्दा ठूलो संस्थासँग मागेका हौं ।

अब गुरुकुल कहाँ बन्छ अथवा के छ योजना ?
– नेपाल सरकारले जहाँ जग्गा दिन्छ, हामी त्यहीँ बनाउँछौं । समाजकल्याण मन्त्रालयसँग कुरा भइरहेको छ, प्रोसेस चलिरहेको छ, हेरौं ।

दर्शक, शुभचिन्तकहरुबाट केही आश्वासन आएको छ कि ?
– छ, कुरो भर्खरै सुरु हुँदैछ । के हुन्छ !

यस स्थान छोड्नुपर्दा कस्तो अनुभव गरिरहनु भएको छ ?
– म सकारात्मक छु । यात्रा भनेको निरन्तर हुन्छ । एउटा ठाउँ बन्द गर्नु भनेको अर्को ठाउँ सुरु हुनु हो । म त्यसरी हेर्छु ।

गुरुकुलको इतिहासमा तपाईले प्राप्त गरेको उपलब्धी के हो ?
– यहाँ आउने दर्शकहरुको माया ।

कसैसँग केही गुनासो अथवा भन्न मन लागेका मनका कुरा केही छन् कि ?
– छैन, त्यस्तो केही छैन ।

राष्ट्र, प्रेम र त्यागको नाटक–स्वप्नवासवदत्ता

एउटा राज्य (कौशाम्वी), जुन सैनिक र शक्तिका हिसावले जीर्ण बनेको छ । अर्को राज्यसँग एक निमेश पनि लड्न सक्ने तागत राख्दैन । जुन राज्यको केही भाग ‘आरुणि’ नामको शत्रुले युद्धमा छिनेर लियो र विस्तारै पूरै राज्यमाथी धावा बोल्न थाल्यो । त्यसपछि जीर्ण राज्यका दुईमन्त्री (रुमण्वान र यौगन्धरायण)ले एउटा षड्यन्त्र गरे । मन्त्रीको षड्यन्त्रलाई रानी (वासवदत्ता)ले पनि साथ दिइन् ।

राजा (उदयन)लाई शिकारमा ठूलो रुची थियो, त्यही बाहना बनाएर दुईमन्त्रीले राजपरिवारका सबै सदस्यहरुलाई एउटा जंगलमा शिकारका लागि लिएर गए र जंगलमा एक शिविर बनाए । राजा शिकार खेल्न गएको मौका छोपी शिविरमा आगो लगाइयो र रानी (वासवदत्ता) र दुई मध्ये एक मन्त्री (यौगन्धरायण) जलेर मरेको झुठ्ठा कहानी बनाइयो

जलेर मरेका भनिएका मन्त्रीले जोगीको छद्म भेषमा रानीलाई आफ्नो बहिनी बनाई अर्को राज्य (मगध राज्यको राजधानी राजगृह)मा लिएर गए । अर्को राज्यको राजकुमारी (पद्मावती)लाई ‘यिनको पति विदेश गएका छन्, केही समयका लागि सुरक्षागरी सेवकका रुपमा राखिदिनु प¥यो’ भनी आग्रह गरे । राजकुमारी पद्मावतीले जोगीको अनुनय सहर्ष स्वीकारिन् ।

रानी जलेर मरेको सुनेर राजा खुब रोए । राजालाई मन्त्रीले सहर (कौशम्वी) फर्काए । मन्त्रीले अर्को राज्यकी राजकुमारी (पद्मावती)सँग विवाह गर्न राजालाई राजी बनाए । त्यसको लागि रानी (जो अर्को राज्यमा त्यही विवाह हुन लागेकी राजकुमारीकोमा सेवक भएर बसेकी छिन्)ले समेत सहयोग गरिन् । विवाह भयो, विवाहपछि दुई राज्य (कौशम्वी र राजगृह) एक भएर शत्रु (आरुणि)सँग लडे र युद्धमा परास्तगरी आफ्नो राज्य सुरक्षित गरे । नाटकको अन्त्यमा रानी र मन्त्री जीवित भएको रहस्य राजा र राजकुमारी समक्ष खोलियो, भेट गराइयो र सबै घटना राज्य बचाउन प्रपञ्च रचेको बताइयो र नाटकलाई टुंग्याइयो ।

शुक्रबार साँस्कृतिक संघ (नाँचघर) जमलमा मञ्चित नाटक स्वप्नवासवदत्ताको कथांश हो, यो । आजभन्दा करिब २७०० वर्ष पहिले ‘भास’ले संस्कृतमा लेखेको यस नाटकलाई नेपालीमा रुपान्तरणगरी मञ्चन गरिएको हो । नाटकमा मूख्यपात्र (रानी)ले आफ्नो राज्यको लागि ठूलो त्याग गरेकी कथा प्रस्तुत गरिएको छ । रानीले राज्यरक्षाको लागि आफ्नै श्रीमान्उपर सौता हाल्न आफू मरेको जस्तो नाटक गरेकी छिन् र छ्दमभेषमा आफ्नै सौताको सेवक बन्न पुगेकी छिन् । नाटकले राज्य (राष्ट्र)का निम्ति जस्तोसुकै त्याग गर्न तत्पर रहनुपर्ने सन्देश दिएको छ ।

नाटककार भासको यस नाटकमा प्रेम, राजनीति र रोमाञ्चकताको त्रिवेणी छ । ६ अंकमा रचित नाटक स्वप्नवासवदत्ता सुखान्त नाटक हो । अभिनयका दृष्टिले संस्कृतका अन्य नाटकको तुलनामा यस नाटकलाई आयोजकले सर्वश्रेष्ठ भनेका छन् । गद्य संस्कृतबाट गद्य नेपालीमा रुपान्तरित यस नाटकमा सरल भाषाको प्रयोग गरिएको छ । नाटकको मूलकथामा पनि सरल भाषा नै भएको आयोजकको दावी छ ।

कथाका दृष्टिकोणले उत्कृष्ट नाटक स्वप्नवासवदत्ता मञ्चमा उत्रिदा भने उति खरो सावित हुन सकेको छैन । नाटकलाई वर्तमान परिवेशमा राष्ट्रका लागि त्याग गर्नुपर्ने संकेतको रुपमा आग्रह गरिएको प्रष्ट हुन्छ । नाटकको जडलाई सुरुमा ‘गोप्य’ राख्न खोजे पनि आमदर्शकले त्यसको रहस्य बुझिसकेका हुन्छन् । नाटकमा निर्देशक प्रभाकरदेव शर्माको कमजोरी यहीँनिर देखिएको छ । त्यसपछि चरित्र अनुसारको पात्र चयनमा पनि निर्देशकले उतिसाह्रो मिहिनेत गरेको ठहरिदैन ।

नाटक कथामा कलात्मक छ तर मञ्चमा त्यो देख्न पाइदैन । पात्रहरुको संवाद बोल्ने शैलीमा ‘दम’ छैन । नाटक प्रस्तुतिकरणमा पनि एकदमै फितलो छ । तथापी, कोरियोग्राफी, ध्वनी, श्रृङ्गार र भेषभुषा भने तारिफयोग्य नै छ । नाटक हतार–हतारमा तयार गरेर फुर्सदमा मञ्चन गरिए जस्तो देखिन्छ । कलाकारहरुलाई माइक र मञ्चको ज्ञान नै नभए जस्तो लाग्छ । तर, नाटकमा भने यसअघि नै स्थापित ‘प्रोफेसनल’ कलाकारहरुको जमघट छ । नाटकमा करिब डेढदर्जन कलाकारहरुको उपस्थिति छ भने नाटक पनि करिब डेढ घण्टाकै छ । साँस्कृतिक संस्थानको प्रस्तुति रहेको नाटक स्वप्नवासवदत्तालाई रत्नराज्यलक्ष्मी क्याम्पसका उपप्राध्यापक घनेन्द्र पोखरेलले नेपालीमा अनुवाद गरेका छन् ।

शालिकले के गर्‍यो, सरकार ?

सहिदगेटमा चार सहिदसँगै रहेको पूर्वराजा त्रिभुवनको शालिकले सरकारलाई के गर्‍यो ? कसैलाई पत्तो छैन । एक्कासी मन्त्रिपरिषदको निर्णया आयो–राजा त्रिभुवनको शालिक हटाउने । तर, किन ? जवाफ यस्तो छ– ‘परिवर्तित राजनैतिक व्यबस्थामा निरंकुश राजतन्त्रको प्रतिक मानिने पूर्वराजाको शालिक सम्मानित सहिदसँग हुनु न्यायोचित भएन ।’ यो तिनै प्रधानमन्त्रीले नेतृत्व गरेको मन्त्रिमण्डलको निर्णय हो, जुन प्रधानमन्त्रीको भूमिगतकालमा तत्कालीन संसदीय ब्यवस्थाको हिमायती नेपाली कांग्रेस नेतृत्वको सरकारले ‘टाउकाको मोल’ तोकेको थियो । टाउकाको मोल तोकेको व्यक्ति प्रधानमन्त्री हुन मिल्ने तर आफ्नो शासनकालमा राष्ट्रलाई महत्वपूर्ण योगदान गरेका पूर्वराजाको शालिक भत्काउँदै, हटाउँदै गर्नुपर्ने किन ?


हो, देशमा राजनैतिक परिवर्तनहरु भइरहन्छन्, शासनपद्दतिहरु फेरिइरहन्छन् । यो सामाजिक रुपान्तरणको एउटा पाटो पनि हो । देशलाई जतिखेर जस्तो व्यबस्थाको खाँचो पर्छ, देशको दिशा त्यतैतिर मोडिन्छ । देशको शासनव्यवस्थामा फरक आउने वितिक्कै पूरानो शासनव्यवस्थाका कला, संस्कृति, धरोहरको विनास गर्नु के न्यायसंगत हो ? परिवर्तनको नाममा भौतिक संरचना तोडफोड गर्नु, एकठाउँबाट अर्को ठाउँमा सार्नु उचित हो ? इतिहासलाई निमिट्यान्न पारेर हामी कुन नौलो परिवर्तनको अनुभूति गर्न गइरहेका छौं, सरकार ?


इतिहासलाई पुस्ताहस्तान्तरण गर्नुपर्छ, तबमात्र इतिहास जीवित बन्छ । विदेशमा ऐतिहासिक धरोहरहरुलाई पुस्तौंपुस्तासम्म जीवित राखिन्छ । नेपालमै पनि मल्लकालीन, लिच्छवीकालीन कला, संस्कृति र धरोहरहरु आजसम्मै जीवित छन् । नेपाल एकीकरणगरी पूर्वराजा पृथ्वीनारायण शाहले मल्लकालीन शासनको अन्त्य गरे र शाहवंशीय शासनपद्दति बसाले तर के मल्लकालीन संरचना ध्वस्त पार्दै हिड्ने काम गरे र ? अवश्य गरेनन् र त ति कला, संस्कृति र धरोहरहरु आज हामीले देख्न पाएका छौं । त्यही ऐतिहासिक धरोहरहरुका कारण नेपालको परिचय कला, संस्कृति र सम्पदाले भरिपूर्ण देशको रुपमा विश्वमाझ स्थापित बनेको छ ।


लामो समयदेखि त्यसक्षेत्र (सहिदगेट)मा रहेको पूर्वराजा त्रिभुवनसहितको शालिकले इन्जिनियर प्रधानमन्त्रीको मष्तिस्क किन खलबलियो ? राजधानीको मूख्य स्थानको शोभा बनेर रहेको त्रिभुवनसहितको शालिक आखिरमा किन पचेन, प्रधानमन्त्रीलाई ? र, देशको प्रमुख मुद्दा छोडेर त्यतातिर क्रान्तिकारी कदम चलाउन बाध्य भए । के ग¥यो–त्रिभुवनको शालिकले सरकार ? संविधान बनाउन व्यबधान खडा ग¥यो ?, सहमति निर्माणमा छेकबारको काम ग¥यो ?, कि प्रधानमन्त्रीको राजीनामा माग्ने काम ग¥यो ? नत्र कोही कसैको सोंचसम्म नपुगेको शालिकमा आँखा गाडेर किन देशैभरी ज्वारभाटा ल्याउने काम गर्नुभयो, प्रधानमन्त्री ज्यू ?


एउटा भनाई छ–‘कमिलालाई काल आएपछि पखेंटा पलाउँछ ।’ लोकप्रिय छवि बनाएका व्यक्तिले यस्तो अलोकप्रिय निर्णय र काम गर्दै हिड्नु भनेको ‘कमिलाको पखेंटा पलाउनु’ भन्दा भिन्न छ र ? हैन भने, तर्कसंगत कुरा गर्ने, बुद्धिका ज्ञाता प्रधानमन्त्रीको ‘कुबुद्धी’युक्त निर्णयको सार के ? जनमानसलाई नै अपच हुने कार्य गर्दै हिड्नुले प्रधानमन्त्रीले आफ्नै आयुलाई धावा बोलिरहेका छैनन् र ? देशको मूख्य मुद्दा सल्टाउन लागि पर्नुहोस्, प्रधानमन्त्री ज्यू । जनता साथमा छन् । तर, क्रान्तिकारी परिवर्तनको नाममा देशको एकता भाँड्ने, सम्पदा भत्काउने, परम्परादेखि चल्दै आएको असल मूल्य–मान्यतामा गडबड गर्ने काम कदापी नगर्नुहोला, जुन कुरा जनतालाई नै क्षम्य नहोस् ।


शालिक हटाउने र नहटाउने तर्क–वितर्कबीच विभिन्न राजनैतिक दलका नेताहरुले सार्वजनिक रुपमै आफ्ना अभिव्यक्तिहरु दिइसकेका छन् । विशेषतः कमल थापाको राप्रपा नेपाल सरकारको उक्त निर्णयको विरोधमा हुँकार गर्दै सडकमै झ¥यो र भन्यो–‘इतिहास मेटाउने काम नगर ।’ पूर्वराजा नै सहि त्रिभुवन पनि एक इतिहास नै हुन्, जसको राष्ट्रिय योगदानलाई नेपालीले सम्झिनै पर्छ । तत्कालीन अवस्थाको त्रिभुवनको योगदानलाई अहिले कम आंकलन गरेर अन्यायपूर्ण निर्णय गर्नु उचित ठहरिदैन । हो, हरेक ब्यबस्थाभित्र ‘धमिला माछाहरु’को जन्म हुन्छ । हामी सुझबुझयुक्त नेपालीहरुको काम त्यही ‘धमिला माछाहरु’लाई तेलमा तार्ने हो । तर, धमिला माछाहरुकैबीच केही ‘सङ्ला माछा’को उत्पत्ति भएको पनि हामीले देख्नुपर्छ र कदर गर्न सक्नुपर्छ ।


यस्तै वादविवाद चलिरहँदा सम्मानित सर्वोच्च अदालतले पूर्वराज त्रिभुवनको शालिक नहटाउन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश सुशीला कार्कीको एकल इजलासले मंगलबार सरकारका नाममा उक्त आदेश जारी गरेको हो । सर्वोच्च अदालतको यो अन्तरिम आदेश नै अन्तिम फैसलाको पूर्णपाठ बन्न सकोस् । हाम्रो अपेक्षा यत्ति मात्र हो, सरकार ।

बधाई छ– ‘नाम्जे’

एउटा विरानो गाउँ, जो हिजोसम्म गुमनाम थियो, सुनसान थियो । तर, अब दिन फिरेको छ । त्यही गुमनाम गाउँ आज विश्वमाझमा चर्चित भएको छ । सारा नेपाल–नेपाली र सम्पूर्ण विश्वकै पनि ध्यान आफूपट्टि तान्न सफल बनेको छ एउटा सानो गाउँले, एउटा सुन्दर ठाउँले । हो, त्यही गाउँ–पूर्वी नेपालको काखमा अवस्थित सानो मगर गाउँ अर्थात् नाम्जे । ‘विविधता भित्र एकता–एकता भित्र विविधता’ को उपनाम पाएको नेपालीको पहिचानमा नेपालको यस सुन्दर स्थानले अर्को एउटा ताज थपिदिएको छ । हिजोसम्म कोही कसैलाई पत्तोसम्म नभएको नाम्जे आज रातारात ‘हिट’ भएको छ । नेपालीले नै पनि सायदै सुनेको यस स्थान आज विश्वकै प्रमुख १२ गन्तव्यको सुचिमा सुचिकृत भएको छ । हो, करिब एक महिना अघि अमेरिकी समाचार संस्था सीएनएनले नेपालको यस सुन्दर स्थानलाई विश्वकै प्रमुख गन्तव्यभित्र सुचिकृत गरेको छ ।


पूर्वी नेपालको धनकुटास्थित भेडेटार गाविसमा अवस्थित छ–नाम्जे । समुन्द्री सतहबाट करिब ६ हजार फिट उचाईमा रहेको नाम्जेमा मगरबस्ती भएको कुरा नेपाल पर्यटन वोर्डका मिडिया कन्सल्ट्यान्ट शरद प्रधान बताउँछन् । सीएनएनले आफ्नो वेभसाइट संस्करणमा नाम्जेलाई ‘सुन्नैपर्ने र पुग्नैपर्ने’ विश्वका १२ स्थान मध्ये एक भनेर उद्रित गरेको छ । सीएनएनले भनेको छ–‘नाम्जे, सबैभन्दा राम्रो १२ गाउँ मध्ये एक, जुन तपाईंले कहिल्यै सुन्नुभएको थिएन ।’ सीएनएनले कसरी र कुन आधारमा विश्वको गन्तव्यहरुको खोजी गर्छ वा पुग्नैपर्ने भनेर निर्धारण गर्छ, मापदण्ड कसरी तय गर्छ भनेर एकिन कुरा थाहा नभएपनि आफ्ना मुलुकका नागरिकहरुसँगको छलफल र मतका आधारमा स्थान खोजी गर्ने गरेको प्रारम्भिक सूचना आफूले पाएको कन्सल्ट्यान्ट प्रधानको भनाई छ । प्रधानका अनुसार सीएनएनले विश्वका अन्य ११ स्थानसँगै नेपालको नाम्जेमा पनि ‘जाऊ, पुग’ भनेर आफ्ना नागरिक/पाठकलाई भनेको छ ।


मकालु हिमालको फेदिमा रहेको नाम्जे कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड अन्र्तगत भेडेटारबाट साढें तीन किलोमिटरको यो बस्ती उत्तरी मोहडामा ढल्किएको छ । पर्यटकीय गन्तव्यमा सुचिकृत नाम्जे सफा र आकर्षक भएको तर्क बाहिर आइरहे पनि नेपाल पर्यटन बोर्डले भने यस विषयमा थप अनुसन्धान र स्थिति मूल्यांकन गर्ने कार्य गरिरहेको प्रधानले बताए । प्रमुख आकर्षकिय गन्तव्य बनेपछि नेपाललाई फाइदाको विषयमा पंक्तिकारले गरेको जिज्ञासामा प्रधानले यसले नेपाललाई विश्वमा चिनाउने कार्य गरेको बताउँदै यसबाट बाह्य पर्यटकको सम्भावनालाई बढाएको बताए । उनले सीएनएनले सुचिकृत गरेको नाम्जे सामान्य गाउँमात्र भएको बताए । तथापी अब भने नाम्चेको गरिमा बढेको उनको तर्क थियो ।


कसरी भयो नाम्जे प्रमुख गन्तव्य ?

नाम्जे सीएनएनको प्रमुख १२ गन्तव्य मध्ये एक हुनुमा पनि एउटा रोचक तथ्य छ । प्रधानका अनुसार एक अमेरिकी महिला, जो वास्तुकला सम्बन्धी कम्पनीकी संस्थापक अध्यक्ष हुन्, उनले विश्वमा पुग्नैपर्ने स्थान मध्ये नेपालको नाम्जे पनि एक भएको सीएनएनलाई बताएकी थिइन् । वास्तबमा ति अमेरिकी महिला ‘स्टेफेनी ओडगार्ड’कै कारण नाम्जे सीएनएनको प्रमुख १२ गन्तव्य मध्ये एक हुन सफल भएको हो । वास्तबमै ति महिलाले नाम्जेका बारेमा सीएनएनलाई रोचक कुरा बतएकी छिन् । उनले आफ्नो पदयात्राका क्रममा विश्वकै पाँचौं अग्लो मकालु हिमाल सूर्य उदाएको र अस्ताएको बेला एकदमै सुन्दर देखिने समेत बताएकी छिन् । काठमाडौंबाट बुद्ध एयरमा विराटनगर हुँदै नाम्जे पुगेको स्मरण गर्दै उनले त्यहाँका मगर समुदायको सामिप्यताले आफू निकै प्रभावित भएको उल्लेख गरेकी छिन् । उनकै भनाईमा सीएनएनमा प्रकाशित भएको नाम्जे सम्बन्धी कुराहरुको नेपाली रुपान्तरण–“जब मैले नाम्जे घुमे, मलाई मेरो आफ्नो बुबाबाट कहिल्यै टाढा भएको जस्तो लागेन । नाम्जेमा मलाई मेरो आफ्नै घरमा भएजस्तै लाग्यो ।”


यिनै अमेरिकी पर्यटकले नेपालको नाम्जेलाई विश्वका प्रमुख गन्तव्य बनाउन ठूलो मद्दत गरिन् । वास्तवमा सीएनएनले यसअघि कहिल्यै नसुनिएको तर पुग्नैपर्ने स्थानलाई प्रमुख गन्तव्य भनि सुचिकृत गर्ने गरेको सीएनएनमा प्रकाशित लेखले पनि प्रष्ट हुन्छ, कन्सल्ट्यान्ट प्रधानको राय पनि त्यही छ । नाम्जे पनि तिनै मध्येको एक हो । यसअघि कहिल्यै पनि पर्यटकीय गन्तव्य भनेर सम्बोधित नभएको नाम्जे सीएनएनको सुचीका कारण एकाएक पर्यटकीय गन्तव्यको प्रमुख स्थानमा उभ्भिन सफल भएको छ ।


‘हामीले–हामीलाई चिनेनौ, हाम्रो आँखा अरुले नै खोलिदिए ’ यो भनाईसँग ठ्याक्कै मेला खान गएको छ–नाम्जेको सीएनएनमा प्रकाशित विश्वको प्रमुख गन्तव्य मध्येको एक सम्बन्धी लेख । हो, हामीले नदेखेको, हामीले नचिनेको स्थान एक विदेशीले पत्ता लगाएर अन्य नागरिकलाई त्यहाँ जान अपिल गरिन्, यो सम्पूर्ण नेपालीकै गौरबको कुरा हो । हामीले हाम्रो सम्पदा देखेनौ तर एक विदेशीले हामीलाई रातारात ‘हिट’ बनाइदिइन् । अबको हाम्रो दायित्व त्यही आफ्नो ‘हिट’ स्थानको प्रवद्र्धन र सम्बद्र्धन गर्नु हो । त्यहाँ पुग्ने बाटो, त्यहाँ बस्ने सुविधायुक्त होटल, लजको राम्रो व्यबस्था गर्नु हो । आन्तरिक र बाह्य पर्यटक जो नाम्जे जान चाहन्छन्, उनीहरुलाई सुविधासँग त्यहाँ पुगेर फर्किने व्यवस्थाको लागि आवश्यक ति सम्पूर्ण कुराहरुको जोरजाम गर्नु हाम्रो पहिलो दायित्व हो । धन्यवाद–स्टेफेनी ओर्डगार्ड ! बधाई छ–नाम्जे !

एसपी रमेश खरेलसँग छोटो–मीठो

नेपाल प्रहरीको इतिहासमा जनताले अत्यधिक रुचाएका सीमित प्रहरी कर्मचारीहरुको सूचीमा अग्रपंक्तिमा दरिन सफल भएका छन्, यतिखेर एसपी रमेश खरेल । विगत ७ महिनादेखि जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत खरेल आज भन्दा करिब २२ वर्षअघि सिपाहीबाट प्रहरी सेवामा प्रवेश गरेका हुन् । एसपी खरेलसँग शिव अधिकारीले गरेको छोटो–मीठो टेलिफोन संवाद ।

१. घुस कति पटक लिनुभयो ?

– उपहार लिएको छु, घुस आजसम्म लिएको छैन ।

२. घुस दिन कस्ता–कस्ता पृष्ठभूमिका मानिसहरु आएका छन् ?

– पहिला पहिला धेरैथरीका मानिसहरु आए, अहिले कोही पनि आउँदैनन् ।

३. कहिले काँही घुस लिइदिउँ जस्तो लाग्दैन ?

– लोभ, लालच हुन्छ तर पेशाप्रतिको इमान्दारिता र पेशागत धर्मले त्यो कार्य गर्न दिंदैन । म आत्मा बेच्न सक्दिन ।

४. दैनिक कार्यमा राजनैतिक दबाब कत्तिको आउँछ ?

– पहिला–पहिला धेरै आउँथे, आजभोलि दबाब भन्दा पनि अनुरोध चाँही आउँछ ।

५. पर्सा जिल्लाको विगत ७ महिनाको अवस्था कस्तो छ ?

– राम्रै छ, गर्नुपर्ने काम धेरै छ । हामी सबैजना जुटिरहेका छौं । अपराधीहरुलाई कानूनी दायारा ल्याउने प्रयास भइरहको छ । हामीले सबै अपराधीहरुलाई समान सोचेर व्यबहार गरिहेका छौं । धनी, गरिबको आधारमा अपराधीहरुलाई तलमाथी गरिएको छैन ।

६. तपाईको परिवारमा को–को छन् ?

– आमा, श्रीमती, एक छोरा र एक छोरी छन् ।

७. जवानीमा कसैको प्रेममा पर्नु भयो कि ?

– म अस्कल कलेज पढ्ने बेलामा कोही एकलाई मन पराउँथे तर त्यो मेरो ‘वान साइटेड लभ’ मात्र थियो । मैले कहिल्यै 'प्रपोज' गर्ने आँट गर्न सकिन ।

८. ह्याण्डसम हुनुहुन्छ, प्रपोज त धेरै आए होलान् ?

– म पटक्कै ह्याण्डसम छैन । प्रपोज पनि कहिल्यै आएन । मैले पनि कहिल्यै–कसैलाई प्रपोज गरिन ।

९. केटी मान्छेका के कुराले आकर्षित गर्छन् ?

– बोल्ने शैली, शारीरिक बनावट यस्तै–यस्तैले ।

१०. प्रहरी सेवामा नआउनु भएको भए अहिले के गर्दै हुनुहुन्थ्यो होला ?

– म पहिला बास्केटबल, ह्याण्डबल खेल्थे । खेल पृष्ठभूमी भएकाले सायद तिनै खेलको प्रशिक्षक बनिरहेको हुन्थे होला ।

११. जीवनलाई कसरी परिभाषित गर्नुहुन्छ ?

– समाजलाई केही दिन सकियो भने, आफ्नो कर्तव्य पूरा गर्न सकियो भने, शान्ति–सुरक्षा कायम गर्न सकियो भने मेरो जीवनले सार्थकता पाउँछ जस्तो लाग्छ । जीवनलाई सार्थक बनाउन अरुलाई केही दिन सक्नुपर्छ ।