‘त्यो भ्यालेन्टाइन डे’को अमिट छाप अध्यावधी ह्रदयमा गढेकै छ, दिमागमा अटेकै छ । वास्तवमा कहिल्यै विर्सन नसकिने भ्यालेन्टाइन डेको रुपमा चित्रित हुन पुग्यो–त्यो भ्यालेन्टाइन डे । हाम्रो सन्दर्भमा पनि त्यही भयो । याद छ, फागुन २ गतेको भ्यालेन्टाइन डे ? किन याद नहोला र ? त्यही दिन के त ! जुन दिन काठमाडौंमा ३२ वर्षपछि हिउँ परेको थियो । हो, अब भने सम्भवतः धेरै कुरा ‘क्लिक’ भयो होला, तपाईहरुको दिमागमा पनि । अनि, धेरै कुरा उद्दीग्न भएर आयो होला, ह्रदयमा पनि ।
दिनभरीको एकनासे झरी, राजधानीमै दूर्लभ रुपमा परेको हिउँ र भ्यालेन्टाइन डेको संयुक्त अवसर–त्यसपछि के ? प्रेमालापको अनुपम दिन सावित भएको २०६३ सालको भ्यालेन्टाइन डेको दिन हामी ३ जना सहकर्मी दाजु अशोक शिवाकोटी, सहकर्मी मित्र योगेन्द्र चौलागाईं र मलाई भने छुट्टै चटारोले गाँजेको थियो । हामी त्यही दिन युनिसेफको क्षेत्रीय कार्यालय, जावलाखेलमा ‘मिटिङ एटेन्ड’ गर्न जाँदै थियौं । अर्थात् भ्यालेन्टाइन डेको दिन हाम्रो मिटिङ तय भएको थियो । त्यसैले छाता बोक्ने बानी नभएका हामी अल्लारेहरु घरैबाट रुझ्दै निस्केर जावलाखेलको चोकमा भेट भएका थियौं । सहरका बाटाघाटा, पसल, चोक, क्याफे पूरै गुलावमय बनेका थिए । सहर पूरै प्रेमिल भएको थियो ।
जावलाखेलको ‘मिटिङ प्वाइन्ट’मा हामी भेट्दा तीनै जनाको अंग–अंगमा झरीले स्पर्श गरिसकेको थियो । हाम्रो शरीरको अंग–अंगलाई पानीले खोजी–खोजी चुम्बन गर्न कुनै कसर बाँकी राखेको थिएन । त्यसैले त हामो ओठै समेत निलो भएको थियो–मुसा चुटिएझैं चुटिएका थियौं, हामी–त्यो प्रेमिल दिनमा । र, लुथ्रुक परेर आवाजमा ‘दम’ लेराउने असफल चेष्टगर्दै युनिसेफको कार्यालय छिरेका थियौं । अनि, केही समयको भलाकुसारी लगत्तै त्यहाँबाट बाहिरिएका थियौं ।
पानीले हामीलाई गिज्जाउन छाडकै थिएन, पानी रोकिएकै थिएन । हामी भने कपडा निचोरेर जमेको पानी फाल्दै ‘हट टी’ पिउन जावलाखेल चोकैको क्याफेमा छिरेका थियौं–जुन क्याफे आजसम्मै त्यहीँ ठाउँमा छँदैछ । र, क्याफेभित्र प्रवेशपछि तीनै जनाले लामो श्वास फेरेका थियौं किनकी केही समयको लागि हामी ‘पानी आतंक’बाट बच्न सफल भएका थियौं । हामीले ‘हट–डे’को ‘कोल्ड–मौसम’मा हट टी अर्डर ग¥यौ र युद्धभूमिमा लडेर, बचेर फर्केका लडाकूझैं उत्तेजित भएर तातो चियोको चुस्की लगाउन थाल्यौं ।
हामी तीनै जनाको ‘मन’ त्यतिखेर पुलकित भयो–जतिखेर हाम्रै अगाडिको टेवलमा कसैको प्रतिक्षामा प्रतिक्षारत एक केटी देखिइन् । त्यसो त हामी एक हिसावले खुशी पनि भयौं–क्याफेमा अन्य आगन्तुक कोही पानीबाट चुटिएका जस्तो देखिएका थिएनन् । अरुहरु सबै ‘साधन’ प्रयोग गरेर पानीको चुटाईबाट बचेका देखिन्थे । तर, त्यो केटी पनि हामी जस्तै पानीले चुटिएकी रहिछिन् । पानीले तिनको पनि अंग–अंग स्पर्श गरेकै रहेछ । र, त सेतो सर्ट र रातो कलरको स्कुले स्कर्टमा सजिएकी तिनको वक्षस्थल ढाक्न पहिरिएको रातो रङ्गको भित्रि कपडा बाहिरैबाट सजिलै देख्न सकिनेगरी टल्किरहेको थियो । त्यतिबेलाको त्यो ‘दूर्लभ दृष्य’को देन पानीकै थियो, निरन्तर बर्सिरहेको झरीकै थियो ।
त्यो माहोलको मादकतामा तब पो रंग आयो–जब एक यूवक हातमा ‘रातो गुलाव’ बोकेर क्याफे आयो र त्यो केटीको टेवलमा गएर बस्यो । केटीकै उमेरको त्यो गोरोवर्णको स्कुलकै ड्रेस पहिरिएको केटोले रातो गुलाव केटीतर्फ बढायो र प्रेम ‘प्रपोज’ ग¥यो । केटीले गुलाव सहर्ष स्वीकारिन् र मुसुक्क मुस्कुराई । माहोल जम्यो–अथवा हामी तीन जनालाई चाँही माहोल जमेको जस्तो लाग्यो । हामीले जाडो कम भएको महशुस ग¥यौं । त्यसपछि त्यो प्रपोज गर्ने केटो त्यहाँबाट निस्कियो तर केटी त्यही बसि–एक्लै । हाम्रो चिया सकिएको थिएन, सकिएको भएपनि हामी त्यहाँबाट निस्किने ‘मुड’मा पुगेकै थिएनौं । त्यसपछि त्यो केटीले केटाले दिएको रातो गुलाव आफ्नो ब्यागमा राखि । एकैछिनमा अर्को एक केटो आयो, त्यही केटीनिर गएर बस्यो । हामी चिया पिउँदै दृश्य अवलोकनगर्दै थियौं । तिनीहरु दुवैजनाले एक अर्काबीच भ्यालेन्टाइन डेको उपहार साटासाट गरे । दुवैले एकअर्कालाई अंकमाल गरे । क्याफेका सबैको नजर त्यो जोडीतिर तन्किएपछि तिनीहरुले केही असहज महशुस गरे र क्याफेको कुनाको टेवलमा सरे । त्यसपछि के गरे ? हामीले नियाल्ने कुरो भएन । चिया सकियो, अनि हामी क्याफेबाट बाहिर निस्कियौं ।
राजधानीका अन्य स्थानझैं त्यसबखत जावलाखेलमा पनि दिउँसै हिउँ फुसफुसाउन थाल्यो । मन तरंगित भो तर शरीर थिलथिलो भइसकेको थियो–चिसोले । मुखबाट बुङ्ग चुरोटको धुवाँभित्र तानेर बाहिर मूस्लो फालेझैं चिसोको मूस्लो निस्किनेक्रम अझ बढी तेजहुँदै जाँदै थियो । पानी त अझै रोकिएकै थिएन । हिउँका वर्षाइले चंगा भएका हाम्रा मन हिमपातसँग प्रेमालाप गर्न आतुर थियो । तर, हाम्रो चटारो अझै सकिएको थिएन । वास्तवमै हामी एक्लै थियौं–प्रेम, प्रणय र मनको इच्छालाई तिरस्कार गरेर हामी आफ्नो ‘डेट’लाई उपयोग गर्न लागि प¥यौं । एकनासले परिरहेको झरीमा रुझ्दै फुसफुसाई रहेको हिउँको मीठो दृश्यलाई मनमस्तिकष्मा कैद गरेर हामी दोस्रो ‘डेट’का लागि समाजकल्याण परिषद, लैनचौर लम्किएका थियौं ।
समाजकल्याण परिषदको परिसरबाट बाहिर निस्किदा झरी रोकिएको थियो । नजिकैका डाँडाहरु पूरै हिउँले सेताम्मे भएका देखिन्थे । घाम मन्द–मन्द लागेको थियो । मौसम पूरै खुलेको थियो । मानौं–चीर प्रेमालापमा मदमस्त प्रणय जोडी आफ्नो प्रणय रातको पहिलो सुखानुभूतिपछि यौवनले खुलेका चहकिलो अनुसार लिएर गर्वकासाथ प्रस्तुत भइरहेझैं भएको थियो–प्रकृति । प्रकृतिको त्यो मादक रुपले ‘होटलको कुनामा बस्ने’ त्यो मादक जोडीलाई जस्तै हामीलाई पनि उन्मुक्त, उत्तेजित र लट्ठ बनाइरह्यो । त्यसैले त यस भ्यालेन्टाइन डेको अवसरमा हामीले त्यस दिनलाई नसम्झि रहन सकेनौं । प्रणय दिवशको शुभकामना !
No comments:
Post a Comment