म सदैब तपाईको प्रतीक्षामा
तपाई आउने बाटो हेरेर बसेको हुनेछु !
मलाई थाहा छ, तपाई आउनु हुनेछ र
मलाई आफ्नो बनाउनु हुनेछ !!!

Tuesday, March 13, 2012

सहिद, भिजिलान्ते सहिद र उच्छृङ्खल सहिद

“हुँदैन बिहान मिर्मिरे तारा झरेर नगए
बन्दैन मुलुक दुई–चार सपुत मरेर नगए”

प्रयोगवादी कवि भूपी शेरचनले राष्ट्रका लागि आहुति दिने सच्चा देशभक्त विरङ्गनाप्रति सिर्जना गरेका सुन्दर अनुप्रासयुक्त शब्दावली हुन्, यी । राष्ट्र, राष्ट्रियता र अग्रगमनका लागि हाँसी–हाँसी फाँसी स्वीकार्ने वास्तविक नेपाली सन्तान सदैव उँचो छन्, आदरणीय र अनुकरणीय छन् । नसा–नसामा राष्ट्रप्रेमको भाव जागृतगरी आफ्नो बलिदानी समेतलाई आत्मसाथ गर्ने वीर सहिद अमर छन्, अमर हुनेछन् र चीरकाल अमर रहने छन् ।

हरेकवर्ष झैं यसवर्ष पनि ‘सहिद सप्ताह’ धुमधामका साथ मनाइदै छ । परिवर्तनका लागि लडेका ४ सहिद (ज्ञात, अज्ञातका कुरा नगरौं)का नाममा राष्ट्रले प्रत्येकवर्ष सहिद सप्ताह मनाउँदै आएको छ र तिनै ४ वीर सहिदका सालिकमा पुष्पगुच्छा माल्यार्पण गर्दै आएको छ । सहिदलाई सम्मान गर्नु नराम्रो पक्कै होइन, गर्नेपर्छ । तर, हरेकवर्षको एकपटक आफ्नो सालिकमा पुष्पगुच्छाको खात ओड्नकै लागि मात्रै उनीहरुले आफूलाई बली चढाएका हुन् त ? होइनन्, परिवर्तन र अग्रगमनका लागि चितामा होमिएका सहिदहरुको पदचापलाई पछ्याउन नसक्ने ‘स्वार्थी’ हामीले सालिकमा पुष्पगुच्छा अर्पण गर्ने हैसियतसम्म गुमाई सकेका छौं । उनीहरुको आदर्श, मूल्य–मान्यता र सपनाहरुलाई ब्यवस्थित र संस्थागत गरेर नयाँनेपाल निर्माण गर्न नसक्ने ‘चुतिया’हरुले पुष्पगुच्छा अर्पण गरेर वीर सहिदको सालिकलाई किन ‘बिटुलो’ बनाउने ?

अब त सहिदको संख्या पनि अनगिन्ती भईसकेको छ । हामीले त्यही ४ वीर सहिद भन्दा अरु त चिन्दै चिन्दैनौ, जसरी प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जम्बो मन्त्रिमण्डलका आफ्ना सबै मन्त्रीहरु चिन्दैनन् । पहिला–पहिला सर्वसाधारणले राष्ट्रका लागि मर्नेहरुलाई सम्मानित दर्जा दिएर सहिद भन्थे र उनीहरुलाई राष्ट्रको सपुत मानिन्थ्यो । तब त माथीका हरफहरु जस्ता सुन्दर पदावलीहरुको सिर्जना हुन्थ्यो । र, उनीहरुको मृत्युमा सारा नेपाल–नेपालीको कणकणमा राष्ट्रियता घनिभूत भएर संचार हुन्थ्यो । उनीहरु राजनीति गर्थेनन् तर राष्ट्रियताको वकालत गर्थ । अहिलेका राज्यसत्तालाई डो¥याउनेहरु राष्ट्रियताको पक्षमा काम गर्दैनन् खाली स्वार्थको राजनीति मात्रै गर्छन् । तव त सर्वसाधारण वाक्क–दिक्क बनेका छन् र पंक्तिकारले लेखेको अर्को एक लेखमा एक सर्वसाधारण यसरी आफ्नो ‘कमेन्ट’ प्रस्तुत गर्छन्–“हुँदैन बिहान मिर्मिरे तारा झरेर नगए, बन्दैन मुलुक ६०१ (कपुत सभासद) मरेर नगए ।”

हो, अब सहिदलाई पनि बर्गीकरण गर्नुपर्ने बेला आइसकेको छ । कस्तो नेपालीको दूभाग्य ? ‘सहिद’ शब्दमा जति ‘दम’ छ, सहिद बनाई टोपलिएकाहरुमा त्यो दम नभएपछि सहिदको बर्गीकरण हुनु टड्कारो खाँचो छ । (यदी यो कुरा पंक्तिकारको ग्रसित मनोग्रन्थीका कारण उब्जिएका बेवारिसे शब्द मात्रै ठान्नुहुन्छ भने पनि ‘नो कमेन्ट’) हो, सहिदलाई पो सहिद भन्न सकिन्छ भन्या ! ‘जर्वजस्ती विरोध–अवरोध र धम्की लादेर पेस्तोल देखाई तमसुकमा औंठाछाप गर्न लगाए’ जसरी सहिद बनाइएकाहरुलाई एउटा आमनागरिकले कसरी सहिद भन्ने ?

एकमित्रले एकदिन सामाजिक संजाल ट्वीटरमा अब नेपाली शब्दकोषमा रहेको सहिद भन्ने शब्दको अर्थमा पुनरावलोकन गर्नुपर्छ भनेर ट्वीट गर्नुभएको थियो । त्यस्तै अर्को एकमित्रले एक भेटघाटमा अब त स्कुल÷कलेज पढ्ने विद्यार्थीले कम्तिामा १० नम्बर गुमाउने भए भनेर ठट्टा गर्नुभयो । कारण सोध्दा उहाँको जवाफ यस्तो थियो–“फाइनल एक्जाममा–नेपालका सहिदहरु को–को हुन्, उनीहरुका योगदानका बारेमा विवेचना गर्नुहोस् । भनेर प्रश्न सोधियो भने, विचारा परीक्षा दिने विद्यार्थीहरुले कताबाट ती सम्पूर्ण सहिदहरुको नाम जान्नु ? बरु, हाम्रै पालामा ठिक्क थियो, ४ वीर सहिदका बारेमा मज्जाले लेखिन्थ्यो–योगदान र घटनाक्रम । अहिलेका सहिदका नाम कसरी जान्नु, यदी जानीहाले पनि योगदान के लेख्नु ? त्यसैले हो, यहाँ सहिदको अर्थ खोतल्ने प्रयत्न गरिएको ।

सहिद–

ती ४ सहिद जसको चर्चा जति गरे पनि कम छ । माथी पनि गरिइसकेको छ । हो, उनीहरु वास्तविक सहिद, सच्चा सहिद । राष्ट्रका लागि अमूल्य योगदान दिने राष्ट्रका सहिद । यही खण्डमा पहिलो र दोस्रो जनआन्दोलनमा सहिद भएकाहरुलाई पनि राख्न सकिने पंक्तिकारको ठम्याई छ । उनीहरुको योगदान पनि राष्ट्रकै लागि थियो, परिवर्तनकै पक्षमा थियो ।

भिजिलान्ते सहिद–

यस्ता सहिद जो विभिन्न राजनैतिक दलको प्रत्यक्ष खोल ओडेर विभिन्न राजनैतिक आन्दोलनमा सहभागी भए । जुन आन्दोलनको उद्देश्य राष्ट्र परिवर्तन थिएन, एउटा निश्चित दलको स्वार्थपूर्तिमात्रै थियो । अर्थात् यस्ता सहिद जो त्यस्ता आन्दोलनमा ‘रमिते’ बनेर छेउछाउमा उभिएका हुन्थे, त्यहीबेलामा धरपकड वा अन्य वहानमा उनीहरुको ज्यान गयो । उनीहरुको कुनै प्रत्यक्ष योगदान राष्ट्रको लागि रहेन, जसलाई सहिद बनाइरहनु जरुरी थिएन कि ! (तर, उनीहरुको बाँच्न पाउने मानवअधिकार खोसिएको र अनाहकमा ज्यान गुमाएकोप्रति भने पंक्तिकार दुःख व्यक्त गर्दछ ।) यहाँ भन्न खोजिएको के हो भने जो यहाँ भने जसरी मरे, त्यो हुनु हुन्न थियो । कसैको ज्यान जानु, लिनु र बाँच्न पाउने अधिकार कुनै कारण खोसिनु हुँदैन । यदी त्यस्तो हुन पुगेमा उचित क्षतिपूर्तिको व्यवस्था हुनुपर्छ । तर, त्यो क्षतिपूर्तिको नाम ‘सहिद’ चाँही हुँदै होइन । हो, जो त्यस्ता घटनामा परेर सहिद भए, उनीहरुको योगदान पनि त राष्ट्रप्रति भएन कि ! हो, त्यही कारण भिजिलान्ते सहिद, जसलाई नचाहँदा–नचाहँदै राष्ट्रकै सहिद बनाउनु प¥यो ।

उच्छृङ्खल सहिद–

माथी पनि भनिइसकेको छ–कसैको पनि अनाहकमा ज्यान जानु ठिक होइन । उच्छृङ्खल सहिद यस्तो सहिद, जो कतै नीजिस्वार्थको दौरान मृत्युवरण गर्न पुग्छ । यस्तो सहिद जो दुर्घटनामा मारिन्छ अथवा यस्तो सहिद जसलाई मर्ने र मर्नेका परिवारले भन्दा पनि कुनै ‘गोप्य शक्ति’ले सहिद बनाउन दबाब दिन्छ र त्यो व्यक्ति सहिद बन्छ । यसमा यस्ता सहिद पनि पर्छन्, जो राजनैतिक दलका चुरौटे–भरौटे अथवा व्यक्तिगत रिसमा हत्या भएका, प्रेममा किचलोपरी ज्यान गुमाएका आदि । जसको राष्ट्रिय योगदान केही छैन, सहिद हुन लायकको केही कार्य पनि गरेका छैनन् । जसलाई राजमार्ग बन्दगरी, आन्दोलन, तोडफोड, आगजनी जस्ता उच्छृङ्खल कार्यगरी जर्वजस्ती सहिद बनाउन दबाब दिइएको छ र सहिद बनाइएको छ ।

यस्ता फरक विषय र प्रसंगमा मृत्यु भएकाहरु पनि सहिद भएका छन्, हाम्रो मुलुकमा । जुन कुरा सबैलाई जानकारी छ । पंक्तिकारले त्यही सबैले देखेको भोगेको र चित्त दुखाएको विषयलाई उठान गर्ने प्रयत्न मात्र गरेको हो । यदी यस लेखले कसैलाई चोट पु¥याएको छ भने पंक्तिकार माफी चाहन्छ । यो एउटा यर्थाथको व्यङ्ग मात्रै हो, त्यो भन्दा ठूलो अभिष्ट पंक्तिकारको छैन । पंक्तिकारको एउटै अभिष्ट भनेको के हो भने ‘जथाभावी हुत्तिएका फोहोर–मैला’लाई उठाएर सहिद बनाउने काम बन्द होस् ।

No comments:

Post a Comment