म सदैब तपाईको प्रतीक्षामा
तपाई आउने बाटो हेरेर बसेको हुनेछु !
मलाई थाहा छ, तपाई आउनु हुनेछ र
मलाई आफ्नो बनाउनु हुनेछ !!!

Tuesday, March 13, 2012

भत्किदैछ–‘गुरुकुल’, के भन्छन्–सुनिल पोखरेल ?

खराब मान्छेहरु नमरुन्जेलसम्म केही पनि हुँदैन ।’

“नाटक राम्रो लागे अरुलाई गएर भन्नुहोस्
नराम्रो लागे हामीलाई आएर भनिदिनुहोस् ।”

अब उप्रान्त पुरानोबानेश्वरस्थित आरोहण गुरुकुलको रिमाल र सम नाटकघरमा नाट्यकर्मी सुनिल पोखरेलले सदैव नाटक मञ्चन अघि बोल्ने माथीको संवाद सुनिने छैन । न त सुनिल पोखरेलका चेलाहरुको नै उक्त संवाद रिमाल र सम नाटक घरमा सुनिने छ । कारण, यतिबेला पुरानोबानेश्वरमा रहेको गुरुकुलको भवन धमाधम भत्किदै छ । हो, पंक्तिकार आइतबार (माघ १ गते) गुरुकुलको हातामा पुग्दा गुरुकुलका भौतिक संरचनाहरु धमाधम भत्काइदै थियो र नाट्यकर्मी सुनिल पोखरेल आफ्ना सहयोगीका साथमा गुरुकुल परिसरमै भलाकुसारी गरिरहेका थिए ।

वि.सं. २०३८ सालमा स्थापना भएको आरोहण नाट्य संस्थालाई निरन्तर हाँक्दै र डो¥याउँदै नाट्यकर्मी सुनिल पोखरेल लगायतको टिमले आजभन्दा झण्डै १० वर्षअघि आरोहण गुरुकुलको स्थापना गरेका थिए र नाट्कर्मी सुनिल पोखरेल गुरुकुलका ‘कुलगुरु’ बनेका थिए । यस अवधीमा गुरुकुलले थुप्रै शिष्य जन्माइ सकेको छ भने कयौं नाटक मञ्चन गरिसकेको छ । नाटक विधालाई सम्मानित दर्जा दिन र प्रविधिको उच्च विकासको युगमा पनि आमसर्वसाधारणलाई नाटक हेर्न हलसम्म तान्ने क्षमताको हैसियत बृद्धि गर्नमा गुरुकुलको अहं भूमिका रहेको कुरामा कसैको दुईमत छैन । तर, अब के ?

यसै मेसोमा भत्काइदै गरेको गुरुकुलको प्राङ्गणमा गुरुकुलको अबको योजना, गुरुकुलको इतिहास र वर्तमान स्थितिको बारेमा कुलगुरु तथा नाट्यकर्मी सुनिल पोखरेलसँग शिव अधिकारीले गरेको कुराकानीको अंशः

कति भयो, यस स्थानमा गुरुकुल बसेको ?
– साँढे नौ, १० वर्ष ।

यहाँ नाटकको प्रशिक्षण दिइन्थो, कति जति विद्यार्थी उत्पादन गर्नुभयो ?
– पूरा कोर्ष (जुन २ वर्षको हुन्छ) गर्ने २ दर्जन जतिको हाराहारीमा र छोटो समयको कोर्ष गर्ने १५ सयको हाराहारीमा ।

गुरुकुलमा कति नाटक मञ्चन गर्नुभयो ?
– ३६ वटा नियमित नाटक मञ्चन भए । त्यसबाहेक ४ वटा अन्तर्राष्ट्रिय नाटक महोत्सव र एउटा राष्ट्रिय नाटक महोत्सव भयो ।

अन्तर्राष्ट्रिय नाटक महोत्सवमा कति र कुन–कुन राष्ट्रको सहभागिता रह्यो ?
– सबै कुरा त मलाई याद छैन । सन् २०१० मा भएको पछिल्लो नाटक महोत्सवमा यूरोप, एसिया लगायतका २१ देशको सहभागिता रहेको थियो ।

यो स्थानबाट गुरुकुल हटाउन, भत्काउन खोजेको कसले ?
– जग्गाधनीले, यो प्राइभेट प्रोपर्टी हो ।

यहाँ कतिवर्षे सम्झौता थियो, गुरुकुलको ?
– सुरुमा जम्मा ३ वर्षको थियो । त्यसपछि हामीले सम्झौता बढाउँदै लगेका थियौं ।

केही समय अघि नै गुरुकुल हट्दैछ भन्ने हल्ला चलेको थियो नि ?
– यो २ वर्ष अघिको कुरा हो, त्यतिबेला पनि समय सकिएको थियो तर त्यतिखेर हामी समय बढाउन सफल भएका थियौं ।

गुरुकुलको लागि पशुपति विकास कोषले जग्गा दिंदैछ भन्ने हल्ला साँचो हो ?
– होइन, पशुपति विकास कोषले त्यहाँ सुशील नाहटा हुन्जेल जग्गा दिंदैन । पशुपति विकास कोषबाट केही पनि हुँदैन किनभने बडा खराब मान्छेहरु त्यहाँ छन् । खराब मान्छेहरु नमरुन्जेलसम्म केही पनि हुँदैन ।

त्यसो भए हल्ला के हो त ?
– हामीले जग्गा/स्थान मागेको नेपाल सरकारसँग हो । पशुपति विकास कोष भन्दा ठूलो संस्थासँग मागेका हौं ।

अब गुरुकुल कहाँ बन्छ अथवा के छ योजना ?
– नेपाल सरकारले जहाँ जग्गा दिन्छ, हामी त्यहीँ बनाउँछौं । समाजकल्याण मन्त्रालयसँग कुरा भइरहेको छ, प्रोसेस चलिरहेको छ, हेरौं ।

दर्शक, शुभचिन्तकहरुबाट केही आश्वासन आएको छ कि ?
– छ, कुरो भर्खरै सुरु हुँदैछ । के हुन्छ !

यस स्थान छोड्नुपर्दा कस्तो अनुभव गरिरहनु भएको छ ?
– म सकारात्मक छु । यात्रा भनेको निरन्तर हुन्छ । एउटा ठाउँ बन्द गर्नु भनेको अर्को ठाउँ सुरु हुनु हो । म त्यसरी हेर्छु ।

गुरुकुलको इतिहासमा तपाईले प्राप्त गरेको उपलब्धी के हो ?
– यहाँ आउने दर्शकहरुको माया ।

कसैसँग केही गुनासो अथवा भन्न मन लागेका मनका कुरा केही छन् कि ?
– छैन, त्यस्तो केही छैन ।

No comments:

Post a Comment