एउटा राज्य (कौशाम्वी), जुन सैनिक र शक्तिका हिसावले जीर्ण बनेको छ । अर्को राज्यसँग एक निमेश पनि लड्न सक्ने तागत राख्दैन । जुन राज्यको केही भाग ‘आरुणि’ नामको शत्रुले युद्धमा छिनेर लियो र विस्तारै पूरै राज्यमाथी धावा बोल्न थाल्यो । त्यसपछि जीर्ण राज्यका दुईमन्त्री (रुमण्वान र यौगन्धरायण)ले एउटा षड्यन्त्र गरे । मन्त्रीको षड्यन्त्रलाई रानी (वासवदत्ता)ले पनि साथ दिइन् ।
राजा (उदयन)लाई शिकारमा ठूलो रुची थियो, त्यही बाहना बनाएर दुईमन्त्रीले राजपरिवारका सबै सदस्यहरुलाई एउटा जंगलमा शिकारका लागि लिएर गए र जंगलमा एक शिविर बनाए । राजा शिकार खेल्न गएको मौका छोपी शिविरमा आगो लगाइयो र रानी (वासवदत्ता) र दुई मध्ये एक मन्त्री (यौगन्धरायण) जलेर मरेको झुठ्ठा कहानी बनाइयो
जलेर मरेका भनिएका मन्त्रीले जोगीको छद्म भेषमा रानीलाई आफ्नो बहिनी बनाई अर्को राज्य (मगध राज्यको राजधानी राजगृह)मा लिएर गए । अर्को राज्यको राजकुमारी (पद्मावती)लाई ‘यिनको पति विदेश गएका छन्, केही समयका लागि सुरक्षागरी सेवकका रुपमा राखिदिनु प¥यो’ भनी आग्रह गरे । राजकुमारी पद्मावतीले जोगीको अनुनय सहर्ष स्वीकारिन् ।
रानी जलेर मरेको सुनेर राजा खुब रोए । राजालाई मन्त्रीले सहर (कौशम्वी) फर्काए । मन्त्रीले अर्को राज्यकी राजकुमारी (पद्मावती)सँग विवाह गर्न राजालाई राजी बनाए । त्यसको लागि रानी (जो अर्को राज्यमा त्यही विवाह हुन लागेकी राजकुमारीकोमा सेवक भएर बसेकी छिन्)ले समेत सहयोग गरिन् । विवाह भयो, विवाहपछि दुई राज्य (कौशम्वी र राजगृह) एक भएर शत्रु (आरुणि)सँग लडे र युद्धमा परास्तगरी आफ्नो राज्य सुरक्षित गरे । नाटकको अन्त्यमा रानी र मन्त्री जीवित भएको रहस्य राजा र राजकुमारी समक्ष खोलियो, भेट गराइयो र सबै घटना राज्य बचाउन प्रपञ्च रचेको बताइयो र नाटकलाई टुंग्याइयो ।
शुक्रबार साँस्कृतिक संघ (नाँचघर) जमलमा मञ्चित नाटक स्वप्नवासवदत्ताको कथांश हो, यो । आजभन्दा करिब २७०० वर्ष पहिले ‘भास’ले संस्कृतमा लेखेको यस नाटकलाई नेपालीमा रुपान्तरणगरी मञ्चन गरिएको हो । नाटकमा मूख्यपात्र (रानी)ले आफ्नो राज्यको लागि ठूलो त्याग गरेकी कथा प्रस्तुत गरिएको छ । रानीले राज्यरक्षाको लागि आफ्नै श्रीमान्उपर सौता हाल्न आफू मरेको जस्तो नाटक गरेकी छिन् र छ्दमभेषमा आफ्नै सौताको सेवक बन्न पुगेकी छिन् । नाटकले राज्य (राष्ट्र)का निम्ति जस्तोसुकै त्याग गर्न तत्पर रहनुपर्ने सन्देश दिएको छ ।
नाटककार भासको यस नाटकमा प्रेम, राजनीति र रोमाञ्चकताको त्रिवेणी छ । ६ अंकमा रचित नाटक स्वप्नवासवदत्ता सुखान्त नाटक हो । अभिनयका दृष्टिले संस्कृतका अन्य नाटकको तुलनामा यस नाटकलाई आयोजकले सर्वश्रेष्ठ भनेका छन् । गद्य संस्कृतबाट गद्य नेपालीमा रुपान्तरित यस नाटकमा सरल भाषाको प्रयोग गरिएको छ । नाटकको मूलकथामा पनि सरल भाषा नै भएको आयोजकको दावी छ ।
कथाका दृष्टिकोणले उत्कृष्ट नाटक स्वप्नवासवदत्ता मञ्चमा उत्रिदा भने उति खरो सावित हुन सकेको छैन । नाटकलाई वर्तमान परिवेशमा राष्ट्रका लागि त्याग गर्नुपर्ने संकेतको रुपमा आग्रह गरिएको प्रष्ट हुन्छ । नाटकको जडलाई सुरुमा ‘गोप्य’ राख्न खोजे पनि आमदर्शकले त्यसको रहस्य बुझिसकेका हुन्छन् । नाटकमा निर्देशक प्रभाकरदेव शर्माको कमजोरी यहीँनिर देखिएको छ । त्यसपछि चरित्र अनुसारको पात्र चयनमा पनि निर्देशकले उतिसाह्रो मिहिनेत गरेको ठहरिदैन ।
नाटक कथामा कलात्मक छ तर मञ्चमा त्यो देख्न पाइदैन । पात्रहरुको संवाद बोल्ने शैलीमा ‘दम’ छैन । नाटक प्रस्तुतिकरणमा पनि एकदमै फितलो छ । तथापी, कोरियोग्राफी, ध्वनी, श्रृङ्गार र भेषभुषा भने तारिफयोग्य नै छ । नाटक हतार–हतारमा तयार गरेर फुर्सदमा मञ्चन गरिए जस्तो देखिन्छ । कलाकारहरुलाई माइक र मञ्चको ज्ञान नै नभए जस्तो लाग्छ । तर, नाटकमा भने यसअघि नै स्थापित ‘प्रोफेसनल’ कलाकारहरुको जमघट छ । नाटकमा करिब डेढदर्जन कलाकारहरुको उपस्थिति छ भने नाटक पनि करिब डेढ घण्टाकै छ । साँस्कृतिक संस्थानको प्रस्तुति रहेको नाटक स्वप्नवासवदत्तालाई रत्नराज्यलक्ष्मी क्याम्पसका उपप्राध्यापक घनेन्द्र पोखरेलले नेपालीमा अनुवाद गरेका छन् ।
No comments:
Post a Comment