म सदैब तपाईको प्रतीक्षामा
तपाई आउने बाटो हेरेर बसेको हुनेछु !
मलाई थाहा छ, तपाई आउनु हुनेछ र
मलाई आफ्नो बनाउनु हुनेछ !!!

Tuesday, March 13, 2012

बधाई छ– ‘नाम्जे’

एउटा विरानो गाउँ, जो हिजोसम्म गुमनाम थियो, सुनसान थियो । तर, अब दिन फिरेको छ । त्यही गुमनाम गाउँ आज विश्वमाझमा चर्चित भएको छ । सारा नेपाल–नेपाली र सम्पूर्ण विश्वकै पनि ध्यान आफूपट्टि तान्न सफल बनेको छ एउटा सानो गाउँले, एउटा सुन्दर ठाउँले । हो, त्यही गाउँ–पूर्वी नेपालको काखमा अवस्थित सानो मगर गाउँ अर्थात् नाम्जे । ‘विविधता भित्र एकता–एकता भित्र विविधता’ को उपनाम पाएको नेपालीको पहिचानमा नेपालको यस सुन्दर स्थानले अर्को एउटा ताज थपिदिएको छ । हिजोसम्म कोही कसैलाई पत्तोसम्म नभएको नाम्जे आज रातारात ‘हिट’ भएको छ । नेपालीले नै पनि सायदै सुनेको यस स्थान आज विश्वकै प्रमुख १२ गन्तव्यको सुचिमा सुचिकृत भएको छ । हो, करिब एक महिना अघि अमेरिकी समाचार संस्था सीएनएनले नेपालको यस सुन्दर स्थानलाई विश्वकै प्रमुख गन्तव्यभित्र सुचिकृत गरेको छ ।


पूर्वी नेपालको धनकुटास्थित भेडेटार गाविसमा अवस्थित छ–नाम्जे । समुन्द्री सतहबाट करिब ६ हजार फिट उचाईमा रहेको नाम्जेमा मगरबस्ती भएको कुरा नेपाल पर्यटन वोर्डका मिडिया कन्सल्ट्यान्ट शरद प्रधान बताउँछन् । सीएनएनले आफ्नो वेभसाइट संस्करणमा नाम्जेलाई ‘सुन्नैपर्ने र पुग्नैपर्ने’ विश्वका १२ स्थान मध्ये एक भनेर उद्रित गरेको छ । सीएनएनले भनेको छ–‘नाम्जे, सबैभन्दा राम्रो १२ गाउँ मध्ये एक, जुन तपाईंले कहिल्यै सुन्नुभएको थिएन ।’ सीएनएनले कसरी र कुन आधारमा विश्वको गन्तव्यहरुको खोजी गर्छ वा पुग्नैपर्ने भनेर निर्धारण गर्छ, मापदण्ड कसरी तय गर्छ भनेर एकिन कुरा थाहा नभएपनि आफ्ना मुलुकका नागरिकहरुसँगको छलफल र मतका आधारमा स्थान खोजी गर्ने गरेको प्रारम्भिक सूचना आफूले पाएको कन्सल्ट्यान्ट प्रधानको भनाई छ । प्रधानका अनुसार सीएनएनले विश्वका अन्य ११ स्थानसँगै नेपालको नाम्जेमा पनि ‘जाऊ, पुग’ भनेर आफ्ना नागरिक/पाठकलाई भनेको छ ।


मकालु हिमालको फेदिमा रहेको नाम्जे कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड अन्र्तगत भेडेटारबाट साढें तीन किलोमिटरको यो बस्ती उत्तरी मोहडामा ढल्किएको छ । पर्यटकीय गन्तव्यमा सुचिकृत नाम्जे सफा र आकर्षक भएको तर्क बाहिर आइरहे पनि नेपाल पर्यटन बोर्डले भने यस विषयमा थप अनुसन्धान र स्थिति मूल्यांकन गर्ने कार्य गरिरहेको प्रधानले बताए । प्रमुख आकर्षकिय गन्तव्य बनेपछि नेपाललाई फाइदाको विषयमा पंक्तिकारले गरेको जिज्ञासामा प्रधानले यसले नेपाललाई विश्वमा चिनाउने कार्य गरेको बताउँदै यसबाट बाह्य पर्यटकको सम्भावनालाई बढाएको बताए । उनले सीएनएनले सुचिकृत गरेको नाम्जे सामान्य गाउँमात्र भएको बताए । तथापी अब भने नाम्चेको गरिमा बढेको उनको तर्क थियो ।


कसरी भयो नाम्जे प्रमुख गन्तव्य ?

नाम्जे सीएनएनको प्रमुख १२ गन्तव्य मध्ये एक हुनुमा पनि एउटा रोचक तथ्य छ । प्रधानका अनुसार एक अमेरिकी महिला, जो वास्तुकला सम्बन्धी कम्पनीकी संस्थापक अध्यक्ष हुन्, उनले विश्वमा पुग्नैपर्ने स्थान मध्ये नेपालको नाम्जे पनि एक भएको सीएनएनलाई बताएकी थिइन् । वास्तबमा ति अमेरिकी महिला ‘स्टेफेनी ओडगार्ड’कै कारण नाम्जे सीएनएनको प्रमुख १२ गन्तव्य मध्ये एक हुन सफल भएको हो । वास्तबमै ति महिलाले नाम्जेका बारेमा सीएनएनलाई रोचक कुरा बतएकी छिन् । उनले आफ्नो पदयात्राका क्रममा विश्वकै पाँचौं अग्लो मकालु हिमाल सूर्य उदाएको र अस्ताएको बेला एकदमै सुन्दर देखिने समेत बताएकी छिन् । काठमाडौंबाट बुद्ध एयरमा विराटनगर हुँदै नाम्जे पुगेको स्मरण गर्दै उनले त्यहाँका मगर समुदायको सामिप्यताले आफू निकै प्रभावित भएको उल्लेख गरेकी छिन् । उनकै भनाईमा सीएनएनमा प्रकाशित भएको नाम्जे सम्बन्धी कुराहरुको नेपाली रुपान्तरण–“जब मैले नाम्जे घुमे, मलाई मेरो आफ्नो बुबाबाट कहिल्यै टाढा भएको जस्तो लागेन । नाम्जेमा मलाई मेरो आफ्नै घरमा भएजस्तै लाग्यो ।”


यिनै अमेरिकी पर्यटकले नेपालको नाम्जेलाई विश्वका प्रमुख गन्तव्य बनाउन ठूलो मद्दत गरिन् । वास्तवमा सीएनएनले यसअघि कहिल्यै नसुनिएको तर पुग्नैपर्ने स्थानलाई प्रमुख गन्तव्य भनि सुचिकृत गर्ने गरेको सीएनएनमा प्रकाशित लेखले पनि प्रष्ट हुन्छ, कन्सल्ट्यान्ट प्रधानको राय पनि त्यही छ । नाम्जे पनि तिनै मध्येको एक हो । यसअघि कहिल्यै पनि पर्यटकीय गन्तव्य भनेर सम्बोधित नभएको नाम्जे सीएनएनको सुचीका कारण एकाएक पर्यटकीय गन्तव्यको प्रमुख स्थानमा उभ्भिन सफल भएको छ ।


‘हामीले–हामीलाई चिनेनौ, हाम्रो आँखा अरुले नै खोलिदिए ’ यो भनाईसँग ठ्याक्कै मेला खान गएको छ–नाम्जेको सीएनएनमा प्रकाशित विश्वको प्रमुख गन्तव्य मध्येको एक सम्बन्धी लेख । हो, हामीले नदेखेको, हामीले नचिनेको स्थान एक विदेशीले पत्ता लगाएर अन्य नागरिकलाई त्यहाँ जान अपिल गरिन्, यो सम्पूर्ण नेपालीकै गौरबको कुरा हो । हामीले हाम्रो सम्पदा देखेनौ तर एक विदेशीले हामीलाई रातारात ‘हिट’ बनाइदिइन् । अबको हाम्रो दायित्व त्यही आफ्नो ‘हिट’ स्थानको प्रवद्र्धन र सम्बद्र्धन गर्नु हो । त्यहाँ पुग्ने बाटो, त्यहाँ बस्ने सुविधायुक्त होटल, लजको राम्रो व्यबस्था गर्नु हो । आन्तरिक र बाह्य पर्यटक जो नाम्जे जान चाहन्छन्, उनीहरुलाई सुविधासँग त्यहाँ पुगेर फर्किने व्यवस्थाको लागि आवश्यक ति सम्पूर्ण कुराहरुको जोरजाम गर्नु हाम्रो पहिलो दायित्व हो । धन्यवाद–स्टेफेनी ओर्डगार्ड ! बधाई छ–नाम्जे !

No comments:

Post a Comment