सहिदगेटमा चार सहिदसँगै रहेको पूर्वराजा त्रिभुवनको शालिकले सरकारलाई के गर्यो ? कसैलाई पत्तो छैन । एक्कासी मन्त्रिपरिषदको निर्णया आयो–राजा त्रिभुवनको शालिक हटाउने । तर, किन ? जवाफ यस्तो छ– ‘परिवर्तित राजनैतिक व्यबस्थामा निरंकुश राजतन्त्रको प्रतिक मानिने पूर्वराजाको शालिक सम्मानित सहिदसँग हुनु न्यायोचित भएन ।’ यो तिनै प्रधानमन्त्रीले नेतृत्व गरेको मन्त्रिमण्डलको निर्णय हो, जुन प्रधानमन्त्रीको भूमिगतकालमा तत्कालीन संसदीय ब्यवस्थाको हिमायती नेपाली कांग्रेस नेतृत्वको सरकारले ‘टाउकाको मोल’ तोकेको थियो । टाउकाको मोल तोकेको व्यक्ति प्रधानमन्त्री हुन मिल्ने तर आफ्नो शासनकालमा राष्ट्रलाई महत्वपूर्ण योगदान गरेका पूर्वराजाको शालिक भत्काउँदै, हटाउँदै गर्नुपर्ने किन ?
हो, देशमा राजनैतिक परिवर्तनहरु भइरहन्छन्, शासनपद्दतिहरु फेरिइरहन्छन् । यो सामाजिक रुपान्तरणको एउटा पाटो पनि हो । देशलाई जतिखेर जस्तो व्यबस्थाको खाँचो पर्छ, देशको दिशा त्यतैतिर मोडिन्छ । देशको शासनव्यवस्थामा फरक आउने वितिक्कै पूरानो शासनव्यवस्थाका कला, संस्कृति, धरोहरको विनास गर्नु के न्यायसंगत हो ? परिवर्तनको नाममा भौतिक संरचना तोडफोड गर्नु, एकठाउँबाट अर्को ठाउँमा सार्नु उचित हो ? इतिहासलाई निमिट्यान्न पारेर हामी कुन नौलो परिवर्तनको अनुभूति गर्न गइरहेका छौं, सरकार ?
इतिहासलाई पुस्ताहस्तान्तरण गर्नुपर्छ, तबमात्र इतिहास जीवित बन्छ । विदेशमा ऐतिहासिक धरोहरहरुलाई पुस्तौंपुस्तासम्म जीवित राखिन्छ । नेपालमै पनि मल्लकालीन, लिच्छवीकालीन कला, संस्कृति र धरोहरहरु आजसम्मै जीवित छन् । नेपाल एकीकरणगरी पूर्वराजा पृथ्वीनारायण शाहले मल्लकालीन शासनको अन्त्य गरे र शाहवंशीय शासनपद्दति बसाले तर के मल्लकालीन संरचना ध्वस्त पार्दै हिड्ने काम गरे र ? अवश्य गरेनन् र त ति कला, संस्कृति र धरोहरहरु आज हामीले देख्न पाएका छौं । त्यही ऐतिहासिक धरोहरहरुका कारण नेपालको परिचय कला, संस्कृति र सम्पदाले भरिपूर्ण देशको रुपमा विश्वमाझ स्थापित बनेको छ ।
लामो समयदेखि त्यसक्षेत्र (सहिदगेट)मा रहेको पूर्वराजा त्रिभुवनसहितको शालिकले इन्जिनियर प्रधानमन्त्रीको मष्तिस्क किन खलबलियो ? राजधानीको मूख्य स्थानको शोभा बनेर रहेको त्रिभुवनसहितको शालिक आखिरमा किन पचेन, प्रधानमन्त्रीलाई ? र, देशको प्रमुख मुद्दा छोडेर त्यतातिर क्रान्तिकारी कदम चलाउन बाध्य भए । के ग¥यो–त्रिभुवनको शालिकले सरकार ? संविधान बनाउन व्यबधान खडा ग¥यो ?, सहमति निर्माणमा छेकबारको काम ग¥यो ?, कि प्रधानमन्त्रीको राजीनामा माग्ने काम ग¥यो ? नत्र कोही कसैको सोंचसम्म नपुगेको शालिकमा आँखा गाडेर किन देशैभरी ज्वारभाटा ल्याउने काम गर्नुभयो, प्रधानमन्त्री ज्यू ?
एउटा भनाई छ–‘कमिलालाई काल आएपछि पखेंटा पलाउँछ ।’ लोकप्रिय छवि बनाएका व्यक्तिले यस्तो अलोकप्रिय निर्णय र काम गर्दै हिड्नु भनेको ‘कमिलाको पखेंटा पलाउनु’ भन्दा भिन्न छ र ? हैन भने, तर्कसंगत कुरा गर्ने, बुद्धिका ज्ञाता प्रधानमन्त्रीको ‘कुबुद्धी’युक्त निर्णयको सार के ? जनमानसलाई नै अपच हुने कार्य गर्दै हिड्नुले प्रधानमन्त्रीले आफ्नै आयुलाई धावा बोलिरहेका छैनन् र ? देशको मूख्य मुद्दा सल्टाउन लागि पर्नुहोस्, प्रधानमन्त्री ज्यू । जनता साथमा छन् । तर, क्रान्तिकारी परिवर्तनको नाममा देशको एकता भाँड्ने, सम्पदा भत्काउने, परम्परादेखि चल्दै आएको असल मूल्य–मान्यतामा गडबड गर्ने काम कदापी नगर्नुहोला, जुन कुरा जनतालाई नै क्षम्य नहोस् ।
शालिक हटाउने र नहटाउने तर्क–वितर्कबीच विभिन्न राजनैतिक दलका नेताहरुले सार्वजनिक रुपमै आफ्ना अभिव्यक्तिहरु दिइसकेका छन् । विशेषतः कमल थापाको राप्रपा नेपाल सरकारको उक्त निर्णयको विरोधमा हुँकार गर्दै सडकमै झ¥यो र भन्यो–‘इतिहास मेटाउने काम नगर ।’ पूर्वराजा नै सहि त्रिभुवन पनि एक इतिहास नै हुन्, जसको राष्ट्रिय योगदानलाई नेपालीले सम्झिनै पर्छ । तत्कालीन अवस्थाको त्रिभुवनको योगदानलाई अहिले कम आंकलन गरेर अन्यायपूर्ण निर्णय गर्नु उचित ठहरिदैन । हो, हरेक ब्यबस्थाभित्र ‘धमिला माछाहरु’को जन्म हुन्छ । हामी सुझबुझयुक्त नेपालीहरुको काम त्यही ‘धमिला माछाहरु’लाई तेलमा तार्ने हो । तर, धमिला माछाहरुकैबीच केही ‘सङ्ला माछा’को उत्पत्ति भएको पनि हामीले देख्नुपर्छ र कदर गर्न सक्नुपर्छ ।
यस्तै वादविवाद चलिरहँदा सम्मानित सर्वोच्च अदालतले पूर्वराज त्रिभुवनको शालिक नहटाउन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश सुशीला कार्कीको एकल इजलासले मंगलबार सरकारका नाममा उक्त आदेश जारी गरेको हो । सर्वोच्च अदालतको यो अन्तरिम आदेश नै अन्तिम फैसलाको पूर्णपाठ बन्न सकोस् । हाम्रो अपेक्षा यत्ति मात्र हो, सरकार ।
No comments:
Post a Comment